अङ्क 45मङ्सिर 2068वर्ष 8

अघिल्लो अङ्कबाट क्रमशः

रङ्गभूमि (भाग-५)

-- मुन्सी प्रेमचन्द

 

प्रभु सेवकको अनुहार उज्यालो भयो। भने - 'साँच्चै, कहाँ ? उसको कुनै चिठी आयो कि ?

जान सेवकले भने - 'कुँवर भरतसिंह का घरमा छे। जाऊ खाना खाऊ। तिमी पनि जान पर्छ।'

प्रभु सेवकले भने - ' म त फर्केर मात्र खाना खान्छु। भोकै हरायो। सञ्चै त छ नि ᣃ?'

मिसेज सेवकले भनिन् - 'हो, राम्ररी बसेकी छे। खुदाले यहाँबाट रिसाएर हिँडेको सजाय दिएका छन्।'

प्रभु सेवकले भने - 'यदि सोफीले बाटो बिराएकी छ भने सयमा उनान्सय ईसाईहरूले बिराएका छन्। ऊ धर्मको आडम्बर देखाउन जान्दिन, त्यही उसको दोष हो। नत्र प्रभु मसीह प्रति उसको जति श्रद्धा छ त्यति तिनमा पनि नहोला जसले उहाँमा ज्यान समर्पण गर्छन्।'

'थाहा भो, तिमी निकै उसको पक्ष लिन सक्छौ। मलाई यी तर्क सुन्ने फुर्सत छैन।'

यति भनेर मिसेज सेवक त्यहाँबाट हिँडिन्। भोजन गर्ने समय भएको थियो। सबैजना कुर्सीमा बसे। प्रभु सेवकलाई जति आग्रह गरे पनि गएनन्। तीनै जना फिटनमा बसे। ईश्वर सेवकले हिँड्न लागेका जान सेवकलाई भने - 'सोफीलाई लिएरै आउनू। र यस अवसरलाई चिप्लिन नदिनु। प्रभु मसीहले तिमीलाई सुबुद्धि दिऊन्, मनोरथ सफल पारून्।'

केही बेरमा फिटन कुँवर साहेबको घरमा पुग्यो। कुँवर साहेबले तत्परताका साथ उनीहरूको स्वागत गरे। मिसेज सेवकले मनमै सोचिन् - 'सोफियासँग एकै शब्द पनि बोल्दिनँ। टाडै उभिएर हेरिरहन्छु।' तर सोफियाको कोठामा पुग्ने बित्तिकै ओइलाएको अनुहार देखेर शोकले कलेजो दुख्यो। मातृस्नेह उम्लियो। अधीर भएर सोफियालाई अँगालो हालिन्। आँखाबाट आँसु बग्न थाले। यसै प्रवाहमा सोफियाको मनोमालिन्य पनि पखालियो। उनले पनि दुवै हातहरू आमाको काँधमा राखिन् र कैयन् मिनट दुवै जना स्वर्गीय आनन्दमा लिप्त रहे। जान सेवकले सोफियाको निधारमा चुम्बन गरे तर प्रभु सेवक आँखाभरी आँसु पारेर छेउमा उभिइरहे। अङ्कमाल गरौँ भने हृदय फाट्ने डर उनलाई लाग्यो। यस्ता अवसरहरूमा उनका भाव र भाषा दुवै शिथिल हुने गर्थे।

जान सेवक छोरीलाई हेरेर कुँवर साहेबसँग बाहिर निस्केपछि मिसेज सेवकले भनिन् - 'त्यस दिन के भयो तलाईँ र यहाँ आइस् ? नचिनेका मान्छेकहाँ बस्दाबस्दा नियास्रो लाग्यो होला। यी धनको घमण्डले मानिसले चूर भएका मानिसले तेरो के वास्ता गरे होलान् र ?'

सोफियाले जबाफ दिइन् - 'होइन आमा, त्यस्तो केही छैन। घमण्डले त यहाँका कुनै मान्छेलाई छोएको पनि छैन। सबैजना विनय र सहृदयताका सजीव मूर्ति छन्। यहाँसम्म कि नोकर-चाकरहरूले पनि यिनकै इसारामा काम गर्छन्। मलाई आज चौथो दिनपछि मात्र होस खुल्यो। यी मानिसले सेवासुश्रुषा नगरेका भए मैले कति हप्ता ओछ्यान पर्नु पर्थ्यो कुन्नि ! म घरमै भएकी भए पनि यसभन्दा बढी आरामले त बस्ने थिइनँ।'

'तैँले आफ्नो ज्यानै खतरामा हालिस्, यिनले यति पनि नगरून् त !'

'होइन आमा, यी मानिसहरू अत्यन्त सुशील र सज्जन छन्। रानीज्यू आफैँ आएर मलाई पङ्खाले हम्किरहनु हुन्छ। कुँवर साहेब पनि दिनको कैयन् पल्ट आएर हेरेर जानु हुन्छ। इन्दुसँग त मेरो बहिनीको साइनै गाँसिएको छ। यिनी तिनै हुन् जससँग म नैनीतालमा पढ्थेँ।

'(झर्किँदै) तँ त अर्काको गुण मात्रै देख्छेस्। अवगुणजति जम्मै आफ्ना घरकालाई जिम्मा लाउँछेस्। यहाँसम्म कि अर्काको धर्म पनि आफ्नोभन्दा राम्रो छ तेरा लागि।'

प्रभु सेवकले भने - 'आमा ! तपाईँ त सानो कुरामा पनि च्याँठिनु हुन्छ। कसैले आफूलाई राम्रो व्यवहार गरेको छ भने उसको गुण मान्ने कि नमान्ने ? कृतघ्नताभन्दा ठूलो अरू कुनै दोष छैन।'

मिसेज सेवकले भनिन् - 'नयाँ कुरा कहाँ हो र यो ? घरकाहरूको निन्दा गर्ने त यसको बानी नै छ। मैले भन्दा यसलाई अरूले नै बढी प्रेम गर्छन् भन्ने कुरा मलाई जनाउन खोज्दै छे। हेरूँ न, यहाँबाट जाँदा के उपहार दिँदा रहेछन् ! कहाँ हुनुहुन्छ तेरी रानी साहेब ? म पनि उहाँलाई धन्यवाद दिऊँ। उहाँबाट आज्ञा लिऔँ र घर जाऊँ। बुबा एक्लै हुनुहुन्छ, अत्तालिइसक्नु भयो होला।'

सोफियाले भनिन् - 'उहाँ तपाईँलाई भेट्न निकै उत्सुक हुनुहुन्थ्यो। हाम्राबीच नबोलाई आउन अनुचित नलागेको भए आइसक्नुहुन्थ्यो।'

प्रभु सेवकले भने - 'आमा तपाईँ सोफीलाई दुई-चार दिन यतै आरामले बस्न दिनोस्। यसलाई उठ्न पनि गाह्रो भैरहेको छ। हेर्नु त कति दुब्लाएकी छे !'

सोफियाले भनिन् - 'रानीजीले पनि अहिले मलाई जान नदिने कुरा गरिरहनु भएको थियो।'

मिसेज सेवकले भनिन् - 'आफूलाई नै जान मन छैन किन भन्दिनस्। उहाँ तलाईँ यति माया गर्ने को होला र ?'

'आमा तपाईँले ममाथि अन्याय गरिरहनुभएको छ। म अब एकै दिन पनि यहाँ बस्न चाहन्नँ। यी भद्र मानिसलाई अरू कष्ट दिन्नँ। तर अब देखि ममाथि अत्याचार हुँदैन भन्ने कुरामा मलाई आश्वस्त पारियोस्। मेरो धार्मिक स्वतन्त्रतामाथि केही बाधा नहालियोस्।'

प्रभु सेवकले भने - 'सोफी तिमी किन व्यर्थमा यी सब कुरा गर्छ्यौ ? तिमीसँग कस्तो अत्याचार गरिएको छ ? तिललाई पनि पहाड बनाउने ?'

मिसेज सेवकले भनिन् - 'हैन, तैँले यो कुरा सोधेर ठीकै गरिस्। म पनि भ्रममा रहन चाहन्नँ। मेरा घरमा प्रभु ईशु मसीहका विरोधीहरूलाई कुनै ठाउँ छैन।'

प्रभु सेवकले भने - 'आमा, तपाईँ त्यत्तिकै सोफीसँग विवाद गर्नुहुन्छ। कुनै बहुलाईले यी कुरा बोल्दैछ भन्ने सम्झिनुहोस् न।'

मिसेज सेवक - 'के गरूँ, मैले तेरो जस्तो दर्शन पढेको छैन। यथार्थलाई सपना मान्न सक्दिनँ। यस्तो चरित्र त तत्वज्ञानीहरूको मात्र हुन्छ। मलाई आफ्नो सन्तानप्रति माया छैन भन्ने कसैले नठानोस्। खुदाले जान्दछन् मैले तिमीहरूका लागि कति कष्ट गरेकी छु भनेर। त्यसबेला तिमीहरूका बुबा एउटा कार्यालयमा क्लर्क हुनुहुन्थ्यो। घरका सम्पूर्ण कामहरू मैले नै गर्नुपर्दथ्यो। बजार जाने, खाना पकाउने, बडार-कुँडार गर्ने। तिमीहरू दुवैको स्वास्थ्य बालापनमा कमजोर थियो। हरेक दिन एउटा न एउटा रोगले समातेको हुन्थ्यो। घरको कामबाट अलिकति फुर्सत हुने बित्तिकै डाक्टरकहाँ जानु पर्थ्यो। धेरैजसो त तिमीहरूलाई काखमा बोकेरै रात कट्थ्यो। यति आत्मसमर्पण गरेर पालेका सन्तानलाई ईश्वरबाट विमुख भएको देख्दा दुःख र क्रोधले बहुलाही जस्ती हुन्छु। म तिमीहरूलाई साँचो, ईमानका पक्का, ईशु मसीहको भक्त बनाउन चाहन्थेँ। यसको विपरित तिमीहरू प्रभु मसीहबाट टाढा हुँदा, उहाँको उपदेश र उहाँका अलौकिक कृत्यहरूमाथि शङ्का गर्दा, मेरो हृदय टुक्रैटुक्रा हुन्छ र लाग्छ सोफीको अनुहार पनि नहेरूँ। मलाई मसीह संसारमा सबैभन्दा प्यारा लाग्छन्, मेरो ज्यान भन्दा पनि प्यारा।'

सोफियाले भनिन् - 'तपाईँलाई ईशा त्यति प्यारा छन् भने, मलाई पनि आफ्नो आत्मा, आफ्नो इमान कम प्यारो छैन। म तिनमा कुनै प्रकारको अत्याचार गर्न सक्तिनँ।'

मिसेज सेवकले भनिन् - 'खुदाले तेरो यो अभक्तिको सजाय दिनेछन्। म उनलाई यही प्रार्थना गर्छु कि मैले फेरि तेरो अनुहार हेर्नु नपरोस्।'

यति भनेर मिसेज सेवक कोठाबाट बाहिर निस्किइन्। रानी र इन्दु उताबाट आउँदै थिए, ढोकामै भेट भयो। रानीजीले मिसेज सेवकलाई अँगालो हालेर कृतज्ञतापूर्ण शब्दहरूको नदी बगाइन्। मिसेज सेवकलाई त्यस साधु प्रेममा बनावटीपनको गन्ध आयो। तर रानीलाई मानव-चरित्रको ज्ञान थिएन। इन्दुसँग भनिन् - 'हेर, सोफियालाई भन्देऊ, अहिले हिँड्ने तयारी नगर भनेर। मिसेज सेवक तपाईँ मेरा लागि सोफियालाई दुई चार दिन यतै छाडी दिनुहोस्। म सविनय अनुरोध गर्दछु। न अझै मेरो मन उनीबाट अघाएको छ न मैले उनको सेवा गर्ने मौका नै पाएकी छु। म उनलाई तपाईँकहाँ पुर्‍याउने वाचा गर्दछु। जतिन्जेल उनी यहाँ बस्छिन् त्यतिन्जेल तपाईँसँग भेट भैरहने छ। धन्य हुनुहुन्छ तपाईँ जसले यति सुशीला छोरीलाई जन्म दिनु भयो। यिनी दया र विवेक कि मूर्ति छन्। आत्मत्याग त यिनमा कति हो कति भरिएको छ।'

मिसेज सेवकले भनिन् - 'म यसलाई लान जबरजस्ती गर्दिनँ। जतिन्जेल मन लाग्छ राख्‍नुहोस्।'

'हवस्, हवस्, म यही त चाहन्थेँ। तपाईँले मलाई आफ्नै बनाउनुभयो। तपाईँबाट यस्तै आस गरेकी थिएँ। तपाईँ यति सुशीला नभएकी भए, सोफियामा यी गुण कहाँबाट आउने थिए र ? एउटी मेरी छोरी इन्दु छे जसलाई राम्ररी कुरा गर्न पनि आउँदैन। ठूलो रियासत की रानी हो, तर मेरो वार्षिक आय कति हो भन्ने कुरा थाहा छैन। लाखौँका गहना सन्दूकमा थन्किएका छन् तर छुँदा पनि छुन्न। अँ, डुल्न दियो भने चाहिँ दिन गएको पनि पत्तो पाउँदिन। किन इन्दु, मैले झूठो भने ?'

इन्दुले भनिन् - 'त के गरूँ ! एक मन गहना शरीरभरी लादेर बसीरहूँ ? मलाई यसरी आफ्नो शरीर अँठ्याउन मन लाग्दैन।'

रानीले भनिन् - 'सुन्नुभो यसको कुरा, गहनाले यसको शरीर अँठ्याउँछ रे। आउनुहोस् अब म तपाईँलाई मेरो घर देखाउँछु। इन्दु, चिया तयार गर्न लगाऊ।'

मिसेज सेवकले भनिन्- 'मिस्टर सेवक बाहिर पर्खिरहनुभएको होला। ढिलो हुन्छ।'

'अरे, यति छिटै। कमसेकम आज यहाँ भोजन त गर्नुहोस्। लन्च पछाडि हावा खान जाऔँला, फर्केर फेरि एकछिन गफिऔँला अनि डिनर गरेपछि गाडीमा तपाईँहरूलाई पठाउँला।'

मिसेज सेवकले अस्वीकार गर्न सकिनन्। रानीले उनको हात समातिन र आफ्नो राजभवन घुमाउन थालिन्। मिसेज सेवकलाई आधाघण्टासम्म त लाग्यो उनी इन्द्रलोकको यात्रा गरिरहेकी छन्। भवनमात्र कहाँ थियो र ? आमोद, विलास, रसज्ञता र वैभवको क्रीडास्थल नै थियो राज भवन। संगमरमरको भुइँमा बहुमूल्य गलैँचा ओछ्याइएका थिए, जसमाथि हिँड्दै खुट्टा भासिन्थे। भित्ताहरूमा मनोहर मोजाइकसँगै ठूल्ठूला ऐनाहरू, आँखै मुग्ध पार्ने बुट्टाहरू, सीसाका बहुमूल्य प्राप्य-अप्राप्य वस्तुहरू, प्राचीन चित्रकारका कृतिहरू, चिनियाँ माटोका विलक्षण फूलदानीहरू, जापान, चीन, यूनान र इरानका कला निपुणताका उत्तम नमूना, सुनका गमला, लखनऊका बोलूँलाझैँ मूर्तिहरू, इटालीमा बनेका हात्ती-दाँतका पलङ, काठका सुन्दर दराज, चौखट, किस्ती, आँखै लोभ्याउने पिजँडामा उफ्रिरहेका थरीथरीका चराहरू, आँगनमा संगमरमरको तलाऊ र त्यसका किनारमा संगमरमरकै अप्सराहरू - मिसेज सेवकले यी सबै कुरामा कुनैको पनि प्रशंसा गरिनन्, कहीँ कतैबाट पनि विस्मय वा आनन्दको एक शब्द पनि उनका मुखबाट निस्किएन। उनलाई खुसीको साटो ईर्ष्या लागिरहेको थियो। ईर्ष्यामा त गुणग्राहिता हुँदैन। उनी सोच्दै थिइन् - 'यिनी एकजना भाग्यमानी रहिछन् जसलाई भोग विलासका यति धेरै सामग्री ईश्वरले प्रदान गरेका छन्। ममात्र अभागिनी रहिछु एउटा झुप्रामा बसेर दिन बिताउनु पर्ने। सजावट र बनावट को त के कुरा गर्नु, आवश्यकता नै पूरा हुँदैनन्। त्यसमाथि बिहान देखि बेलुका सम्म छाती फुट्ने गरी काम गर्नुपर्छ। यहाँ त कसैले सिन्को भाँचेको पनि देखिँदैन। तर यस्तो कुराबाट किन दुःख मान्नु र ? ईश्वरका राज्यमा त धनीको कुनै भाग नै हुँदैन। त्यो त हाम्रै भागमात्र हुन्छ। धनीहरूलाई त कुकुरलाईजस्तै दुत्कारिन्छ, कोही हेर्न समेत आउँदैन।'

यस्ता विचारले उनलाई केही आराम भयो। ईर्ष्याको व्यापकता नै साम्यवादको लोकप्रियताको कारण हो। रानीलाई भने आफ्नो कुनै पनि वस्तुको बखान मिसेज सेवकले नगरेकाले आश्चर्य लाग्यो र मन नपराएको हो कि भन्ने भान पर्‍यो। उनले हरेक चित्र, हरेक वस्तुलाई हजारौँ हजार खर्च गरेकी थिइन्। यतातिर अरू कसैकहाँ पनि यस्ता वस्तुहरू थिएनन्। अप्राप्य वस्तुहरू, लाखौँ रूपैयाँमा पनि किन्न सकिन्नथ्यो। मिसेज सेवकले केही पनि नभन्नु चाहिँ यी सबै चीजबीचका बारेमा ज्ञानको अभावकै कारण हो भन्ने रानीलाई लागिरहेको थियो।

तर रानीलाई निराशाले घेरेन। मिसेज सेवकलाई बगैँचा देखाउन लागिन्। अनेक किसिमका फूलहरू र बिरूवाहरू देखाइन्। माली अत्यन्तै बाठो थियो। प्रत्येक बिरूवाको गुण र इतिहास बताउँथ्यो। कहाँबाट ल्याइएको, कहिले ल्याइएको, कसरी ल्याइएको, सुरक्षा कसरी गरिन्छ सबै बताउँथ्यो। यतिभन्दा पनि मिसेज सेवकले मुख खोलेकी थिइनन्। अन्त्यमा उसले जेरूसेलमबाट ल्याएको सानो र कोमल जडी-बुटीको बिरूवा देखायो। कुँवर साहेबले अत्यन्त होशियारीपूर्वक ल्याएका थिए र त्यसबाट एउटा पत्ता पलाउनु पनि शुभ-समाचार भन्दा कम हुन्नथ्यो। मिसेज सेवकले तुरुन्तै त्यस गमलालाई उठाइन्, आँखामा छुवाइन्, चुम्बन गरिन् र भनिन् - 'यति दुर्लभ वस्तुको दर्शन आज सौभाग्यले पाएँ।'

रानीले भनिन् - 'कुँवर साहेब पनि यसलाई ठूलो स्नेह आदर गर्नुहुन्छ। यो सुक्यो भने दुई दिनसम्म उहाँलाई भोक पनि लाग्ने छैन।'

यत्तिकैमा चिया तयार भयो। मिसेज सेवक बेन्चमा बसिन्। रानीलाई चियामा त्यति सारो रुचि थिएन त्यसैले विनयको आचार-विचार, सेवा-भक्ति र परोपकार-प्रेमको प्रशंसा गर्न थालिन्। यहाँसम्म कि मिसेज सेवकलाई वाक्क लाग्न थालेको थियो। यसको साटो उनी आफ्ना सन्तानको बखान गर्न सक्तिनथिन्।

उता जान सेवक र कुँवर साहेब दीवानखानामा बसेर लन्च गरिरहेका थिए। चिया र अन्डासँग कुँवर साहेबलाई रुचि थिएन। विनय पनि यी दुवै वस्तुहरूलाई त्याज्य मान्दथे। जान सेवक त्यस्ता मानिसमा पर्दथे जसको व्यक्तित्वले तुरुन्तै अरूलाई आकर्षित गर्छ। उनका कुराहरू विचारले भरिएका हुन्थे र अरू मानिसहरू आफ्ना कुरा भुलेर उनका कुरा सुन्न थाल्थे। उनको बोली शब्दको आडम्बर मात्र हुँदैनथ्यो। अनुभवशीलता र मानव-चरित्रका निकै राम्रा ज्ञाता थिए। ईश्वरदत्त प्रतिभा थिए अन्यथा कुनै पनि सभामा सम्मान प्राप्त गर्न असम्भव हुन्थ्यो। त्यसबेला उनी भारतको व्यावसायिक र औद्योगिक दुर्बलतामाथि आफ्नो विचार प्रकट गरिरहेका थिए। अवसर भेटेर ती साधनको पनि उल्लेख गर्थे जुन यी कु-दशा निवारणका लागि उनले सोचेका थिए। अन्त्यमा भने - 'हाम्रो जातिको उद्धार कला-कौशल र उद्योगको उन्नतिमा नै छ। यस सिगरेट कारखानाबाट कम्तिमा एक हजार जना मानिसको समस्या हल हुन्छ र तिनका शिरबाट खेतीको बोझ हट्नेछ। जति जमिनमा एकजनाले खनजोत गर्न सक्छ त्यसमा घरभरिका मान्छे लाग्नु व्यर्थ कुरा हो। मेरो कारखानाले यस्ता बेकारहरूलाई रोटी कमाउने अवसर दिनेछ।

      कुँवर साहेबले भने - 'अनाज लगाउने ठाउँमा तमाखू लगाएपछि अनाज त महँगो हुने भइहाल्यो।'

जान सेवकले भने - 'मेरो विचारमा तमाखू खेतीको असर जुट, सनपाट, तिलहन र अफीममा पर्छ। निर्यात केही कम होला। तर गल्लामा यसले के असर पार्ला र ? फेरि हामीले अहिले सम्म बाँझै रहेका जमिनहरूलाई पनि प्रयोग गर्नु पर्छ।'

      'तर तमाखू कुनै राम्रो कुरा त हैन। यसको गणना त मादक पदार्थमा हुन्छ र यसको स्वास्थ्यमा पनि नराम्रो असर पर्छ।

      '(हाँस्दै) यी सबै डाक्टरका कल्पनामात्र हुन्, जसमा गम्भीरतापूर्वक सोच्नु पनि मुर्खता हुन्छ। डाक्टरले भनेजस्तै गर्नखोज्दा त जीवन नै अन्त्य हुन्छ। दूधमा सिलका कीरा हुन्छन्, घ्यूमा बोसो धेरै हुन्छ, चिया र कफी उत्तेजक हुन्छन्, यहाँसम्म कि सास फेर्ने हावाबाट पनि कीटाणु शरीरभित्र पस्छन्। तिनका सिद्धान्त अनुसार सारा संसार कीटाणुहरूले भरिएको छ, जसले हाम्रो ज्यान लिएरै छाड्छन्। व्यवसायीहरू यी सबै गोरखधन्दामा पर्दैनन्, तिनको लक्ष्य केवल वर्तमान स्तिथिहरू मात्र हुन्छन्। हामीले देखिरहेका छौँ यस देशमा करोडौँ रूपैयाँका सिगरेट र सिगार आयात गरिन्छन्। यो विदेशिएको धन प्रवाह रोक्ने हाम्रो कर्तव्य होइन र ? यी कुरा छाडेर हाम्रो आर्थिक जीवन कहिल्यै राम्रो हुनेछैन।

      यति भनेर जान सेवकले गर्वपूर्ण आँखाहरूले कुँवर साहेबलाई हेरे। कुँवर साहेबको शङ्का धेरै हदसम्म निवृत्त भैसकेको थियो। वादीलाई निरूत्तर भएको देखेपछि हामीलाई आनन्द लाग्छ। भाग्दै गरेको कुकुरलाई त बच्चाले पनि निर्भय भएर ढुङ्गा हान्छ।

      जान सेवकले निःशङ्क भएर फेरि भने - 'मैले यी सबै कुरालाई ध्यानमा राखेर नै यसलाई(प्रभु सेवकलाई देखाउँदै) यस व्यवसाय सम्बन्धी वैज्ञानिक ज्ञान प्राप्त गर्नका लागि अमेरिका पठाएँ। मेरो कम्पनीका धेरैजसो सेयर बिकिसकेका छन् तर पूरै पैसा असुल भएको छैन। त्यसैले मैले दस पैसा प्रति रूपैयाँ असुलेर काम गर्ने निधो गरेको छु। एकाध वर्षमा आशातीत सफलता प्राप्त भएपछि पूँजी त आफैँ दौडेर आउनेछ। छानामा बसेको परेवा आ-आ भन्दा आउँदैन तर भुइँमा अलिकति चारो छर्ने बित्तिकै तुरुन्तै ओर्लिन्छ। मलाई पहिलो वर्षमै पच्चीस प्रतिशत लाभ हुने आस लागेको छ। यो प्रस्पेक्टस हेर्नुहोला। मैले लाभको अनुमान निकै ध्यान दिएर मात्र गरेको छु। बढ्छ, कम हुँदैन।

      कुँवर साहेबले भने - 'पहिलो वर्ष नै पच्चीस प्रतिशत ?'

      'हजुर, मज्जाले। तपाईँसँग सेयरका लागि अनुरोध गर्ने थिएँ तर जबसम्म एक वर्षको लाभ देखाउँदिन, आँट गर्न सकिनँ। तर यति निवेदन गर्छु कि त्यसबेला सयको सेयर सयमै नमिल्ला। दुईसय त भैहाल्छ।'

      'अझै मलाई एउटा शङ्का लागिरहेको छ। यस व्यवसाय बाट यति धेरै लाभ हुन्छ भने, अहिलेसम्म यस्ता कम्पनीहरू किन खुलेनन् ?'

 

क्रमशः...............

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

 

Share |

प्रतिक्रियाहरू

Dinesh Poudel
Ramro.


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :