अङ्क ४८फागुन २०७०वर्ष १०

गताङ्कबाट जारी

रङ्गभूमि -८

--मुन्सी प्रेमचन्द

 

ताहिरले जबाफ दिए - "आफ्नो पेट पाल्नका लागि त भिक्षा माग्दै हिँड्छौ, गर्‍यौ अर्कालाई पुण्य। जसका गाई चर्छन् तिनले तिम्रो कुनै कुरा सोध्दैनन्, गुण मान्नु त परै जाओस्। धर्ममा लागेर तिम्रो यस्तो हालत भइरहेको छ, नत्र हण्डर खाँदै हिँड्दै किन गर्थ्यौ र !"

ताहिर अलि आफैँमा दयालु मानिस थिए, तर अन्य धर्महरूको अवहेलना गर्न उनलाई सङ्कोच लाग्दैनथियो। वास्तवमा उनी इस्लामदेखि बाहेक अन्य धर्मलाई धर्म नै मान्दैनथिए।

सूरदासले उत्तेजित भएर भने - "मियाँ साहेब धर्म दया जनाउनका लागि गरिँदैन। परोपकार गर्ने हो र त्यसलाई बिर्सिदिने हो।"

ताहिर अलीले भने - "पछुताउँछौ तिमी नै। साहेबसँग जेजे भन्छौ, उहाँले त्यही गर्नुहुन्छ। तिम्रा लागि घर बनाइदिनुहुन्छ, महिनावारी खाइखर्च दिनुहुन्छ, मिठुवालाई कुनै मदरसामा पढ्न पठाइ दिनुहुन्छ, उसलाई नोकर राख्नुहुन्छ, तिम्रा आँखाको औषधि गराउनुहुन्छ, सम्भव छ जाति पनि होस्। मानिस बन्छौ, मानेनौ भने हण्डर खाँदै हिँड्छौ।"

सूरदासलाई अन्य कुनै प्रलोभनहरूको त असर भएन तर दृष्टि लाभको सम्भावनाले उनलाई केही नरम बनाइदियो। भने - "जन्मैदेखि अन्धाहरूको पनि उपचार हुन्छ त ?"

ताहिरले भने - "तिमी जन्मकै अन्धा हौ र ? त्यसो भए त कोनि ! तर तिमीलाई उहाँले यति धेरै आरामका सामानहरू जमा गरिदिनुहुन्छ कि तिमीलाई आँखाको आवश्यकता नै हुनेछैन।"

सूरदासले भने - "साहेब नराम्रो बदनामी हुन्छ। मान्छेले चारै दिशाबाट धिक्कार्न थाल्छन्।"

चौधरीले भने - "तिम्रो सम्पत्ति हो, बिक्री गर या बन्धकी राख, अर्कालाई दखल दिन किन यति चासो ?"

मूर्खहरूसँग युक्ति त हुँदैन, र युक्तिको उत्तर उनीहरू हठले दिन्छन्। युक्ति कायल हुनसक्छ, नरम हुनसक्छ, भ्रान्त हुनसक्छ तर हठलाई कसले कायल गर्ने ?

सूरदासको जिद्दीले ताहिर अलीलाई रिस उठ्यो। भने - "तिम्रो भाग्यमा मागेर खान लेखेको छ भने कसले के गर्न सक्छ र ! यी ठूला मानिसहरूसँग सङ्गत गरेका छैनौ। अहिले फकाइ रहेका छन्, क्षतिपूर्ति पनि दिन तयार छन्, तर तिम्रो चित्त ठीक छैन। उनीहरूको कानुनी दाउ लगाएर जमिन कब्जा गरि दुई-चार सय क्षतिपूर्तिका रूपमा फ्याँकिदिन्छन् अनि थाहा पाउँछौ। टोलवासीहरूसँग अलमलिएर बसेका छौ। तर हेर्दै जाऊ, कोही फर्किएर आउनेछैनन्। साहेबले त यो जमिन लिन्छन् लिन्छन्, चाहे तिमी खुसीले देऊ वा रोएर।"

सूरदासले सगर्व उत्तर दिए - "खान साहेब, यदि जमिन जान्छ भने त्यसैसित मेरो ज्यान पनि जान्छ।" यति भनेर उनले दाउरा सम्हाले र अफ्नो अड्डामा आएर बसे।

अर्कापटि दयागिरिले आएर नायकरामलाई यो सबर सुनाए। बजरङ्गी पनि बसेका थिए। यो खबर सुन्ने बित्तिकै दुवैजनाको हंशले ठाउँ छोड्यो। सूरदारकै भरमा दुवैजना दिनभरी उफ्रिरहेका थिए, त्यसदिन ताहिर अलीले त्यस्ता कुरा गरे, र आज सूरदासले धोका दियो। बजरङ्गीले चिन्तित भएर भने - "अब के गर्नु पन्डाजी, भन्नुहोस्।"

नायकरामले भने - "गर्नु के र, जस्तो गरेको छ, त्यस्तै भोग्नुपर्‍यो। गएर आफ्नी श्रीमतिलाई सोध न। उसैले त हो, यो आगो लगाएको। सूरदास मिठुवाप्रति ज्यान दिन तयार छ भन्ने जान्दाजान्दै किन भैरोलाई मरम्मत नगरेको ? म भएको भए भैरोलाई दुई-चार कुरा नसुनाइ जान दिने थिइनँ, केही नभए देखाउनकै लागि मात्र भए पनि। ती बिचरालाई आफ्ना लागि गर्ने कोही छ भन्ने पनि थाहा हुन्थ्यो। आज उसलाई निकै दुःख लाग्यो, नत्र जमिन बेच्ने कुरा उसले कहिल्यै सोचेको थिएन।"

बजरङ्गीले भने - "अरे अब केही उपाय निकाल्छौ कि बसेर बितेको कुरा सम्झिँदै रुन्छौ ?"

नायकरामले भने - "उपाय अब एउटै छ। सूरे आउने बित्तिकै उसका पाउ पर, उसलाई भरोसा दिलाऊ, जसरी मान्छ त्यसरी नै मनाऊ, दाजु-भाइ भन, मान्यो भने ठीकै छ, नत्र भने साहेबसित झगडा गर्न तयार होऊ, उनलाई कब्जा गर्न नदेऊ, जो कोही पनि जमिनका छेउमा आउँछ उसलाई कुटेर भगाऊ। मैले त यस्तै सोचेको छु। आज सूरेलाई आफ्नै हातले बनाएको दुधिया ख्वाउँछु र मिठुवालाई पेटभरी मिठाइ खुवाउँछु। अनि पनि मानेन भने, हेरौँला।"

बजरङ्गीले भने - "मियाँ साहेबकहाँ गए हुन्न ? सूरदासले उनीसँग कति कुरा गरेका होलान्। कतै लेखा-पढी गराउनु भनेर आएका पनि हुनसक्छन्, त्यसो भए जति बिन्ती भाऊ गरे पनि आफ्नो कुरा फेर्दैनन्।"

नायकरामले भने - "म त्यस मुन्सीको द्वारमा जान्न। उसको पारो आकाश चड्छ फेरि।"

बजरङ्गी - "होइन पन्डाजी। मेरा लागि भएमात्र भए पनि हिँड न।"

अन्तमा नायकराम राजी भए। दुवै ताहिर अलीकहाँ पुगे। त्यहाँ यसबेला केही चालचुल थिएन। खरीदको काम सकिएको थियो। चमारहरू हिँडिसकेका थिए। ताहिर अली एक्लै बसेर हिसाब-किताब हेरिरहेका थिए। हिसाबमा केही गडबडी थियो। बारम्बार जोड्थे, तर गलतीमा आँखा पुगिरहेको थिएन। अचानक नायकरामले भने - "सुन्नुहोस् त मुन्सीजी, आज सूरेसँग केही कुराकानी भयो ?"

ताहिर अलीले भने - "अहो पन्डाजी, आउनुहोस्, माफ गर्नुहोला म हिसाब मिलाउन व्यस्त थिएँ। यी मूढामा बस्नुहोस्। सूरेसँग कुनै कुरा निश्चित हुँदैन। उसलाई दसा लागेको छ। आज जमिनसँगै मेरो ज्यान पनि जान्छ भनेर धम्की दिएर गएको छ। गरिब मान्छे हो, मलाई त दया लाग्छ। आखिरीमा साहेबले कुनै कानुनको त्यान्द्रो पक्रेर जमिन कब्जा गर्छन्, अलिअलि क्षतिपूर्ति पाइए पाइयो नत्र त्यसको पनि कुनै आस नगरे हुन्छ।"

नायकरामले भने - "सूरे राजी नभइकन कसरी साहेबले यो जमिन लिन्छन् ! हेर बजरङ्गी, कुरै त्यही हो, सूरे त्यति काँचो मान्छे होइन।"

"साहेबलाई पनि तपाईँहरू चिन्नु नै हुन्छ।"

"म साहेब र साहेबका बाबु दुवैलाई चिन्छु। हाकिमहरूको खुसामद गरेर आज ठूला पल्टिएका छन्।"

"अचेल जमाना नै चापलुसीको त हो। उनले यो जमिन नलिइ अब मान्दैनन्।"

"त्यसो भए यता पनि यो कुरा पक्का हो, जसरी भए पनि जमिन कब्जा हुनबाट रोक्ने, चाहे ज्यानै जाओस्। यसैका लागि मरिमेट्नो हो। हाम्रा हजारौँ यात्रीहरू आउँछन्। ती सबैलाई त्यही खेतमा राख्छु। जमिन गयो भने तिनलाई टाउकामा राख्न सक्छु र ? तपाईँ साहेबलाई भन्दिनुहोला, यहाँ उनको केही लाग्दैन। हामी पनि केही तागत राख्छौँ। बाह्रै मास खुल्लम-खुल्ला जुआ खेल्छौँ। एकै दिनमा हजारौँ रूपैयाँको हेरफेर हुन्छ। थानेदारदेखि सुपरिन्टेन्डेन्टसम्मलाई थाहा छ, तर कसैको हिम्मत छैन यहाँ आउन। रगत सम्म लुकाएका छौँ।"

"त्यसो भए तपाईँ यी सब कुरा किन मलाई भनीरहनु भएको ? म के जान्दिनँ र ? तपाईँले सैयद रजा अली थानेदारको नाम त सुन्नु भएकै होला, म उहाँकै छोरो हुँ। यहाँको कुन पन्डालाई मैले चिनेको छैन र ?"

"ल घरमै वैद्य भएपछि को मर्छ र ? त्यसो भए तपाईँ त घरकै मान्छ हुनुभो। दरोगाजी जस्तो को अफिसर हुन सक्ला र ? भन्नुहुन्थ्यो, नानी चाहे जे गर तर मेरो जालमा नपर्नु। मेरो आँगनमा रमाइलो हुन्थ्यो, उहाँ कुर्सीमा बसेर हेर्नुहुन्थ्यो। भीड लागेको हुन्थ्यो। केही कुरा गडबड हुने बित्तिकै सुनाइदिन्थेँ। पिठ्यूँमा हात मुसारेर भन्नुहुन्थ्यो - अब जाऊ, म हेर्छु। अब यस्ता मान्छे कहाँ। सत्ययुगी मानिसहरू हुन्थे त्यसबेला । तपाईँ त आफ्नै भाइ पर्नुभयो। साहेबलाई कुरा किन सुनाउनुहुन्न ? भगवान्‌ले तपाईँलाई विद्या-बुद्धि दिएका छन्, बीसौँ बहाना बनाउन सक्नुहुन्छ। बर्खामा पानी जम्छ, धमिरा धेरै छन्, हिलो हुन्छ, यस्ता कति बहाना छन्।

"पन्डाजी, तपाईँसँग भाइचारा भएपछि के लुकाउनु र ? साहेब पल्लै छेउका कुटिल छन्। हाकिमहरूसँग पनि उनको मेलजोल छ। जमिन सित्तैमा लिन्छन्। सूरेले सय-दुईसय भेटे पनि मेरो इनाम-सिनाम त हराउँछ नै। तपाईँ सूरेँसँग कुरा मिलाउनुहोस्, उसलाई पनि फाइदा होस्, मलाई पनि फाइदा होस्, तपाईँलाई पनि फाइदा होस्।"

"तपाईँले त्यताबाट जति इनाम-सिनाम पाउनुहुन्छ त्यो हामीबाटै लिनुहोस्। यसै बहानामा तपाईँको खातिरदारी गरौँला। म त दरोगाजीलाई जस्तो ठान्थेँ, तपाईँलाई पनि त्यस्तै ठान्छु।"

"मुआजल्लाह, पन्डाजी त्यस्तो कुरा नगर्नुहोस्। म मालिकको आँखा छलेर एक कौडी लिनु पनि पाप सम्झिन्छु। उहाँले आफ्ना खुसीले दिए हात फैलाएर लिन्छु, तर लुकेर लिन्नँ। खुदाले त्यस्तो बाटाबाट बचाउन्। पिताजीले त्यति कमाउनुभयो तर मर्ने बेलामा घरमा कात्राका लागि एक कौडी पनि थिएन।"

"अरे यार, मैले तिमीलाई घुस दिने कहाँ भनेको हो र ! तिम्रो हाम्रो भाइचारा जमेपछि हाम्रो काम तपाईँले गर्ने, तपाईँको काम हामीले गर्ने। यो कहाँको घुस हो  र ?"

"होइन पन्डा जी, खुदाले मेरो नियत सफा राखून्। म जसको नुन खान्छु उसैको जुँगा मल्न सक्तिनँ। म जुन रूपमा छु त्यसैमा खुसी छु। कर्ममाथि दृष्टि भयो भने, मेरो भलाई को पनि कुनै बाटो निस्किएला।"

"सुन्छौ, बजरङ्गी दरोगाजीको कुरा। हिँड चुप लागेर घरमा बस, जे हुन्छ हेर्दै जाऔँला। अब त साहेबसँगै भिड्ने हो।"

बजरङ्गीका विचारमा नायकरामले त्यति मान-मनितो गरेका थिएनन् जति गर्नुपर्ने थियो। आफ्नो काम साध्न आएका थिए कि धमास देखाउन। दीनता देखाउँदा जुन काम  बन्छ त्यो त धमास दिँदा त बन्दैन। नायकरामले लट्ठी काँधमा हाले र हिँडे।

बजरङ्गीले भने - "म गोरू हेरेर आउँछु है त्यतैबाट।" खास अक्कडो मानिस थिए। नाकमा झिँगा बस्न पनि नदिने। पूरै टोल उनको रिसको डरले काम्थ्यो तर उनी कानुनी कार्वाहीबाट डराउँथे। पुलिस र अदालतको नामैले उनको प्राण जाला जस्तो हुन्थ्यो। नायकरामको चाहिँ सधैँ अदालतमा काम हुन्थ्यो र उनी त्यसमा अभ्यस्त थिए। बजरङ्गीलाई आफ्नो जिन्दगीमा कहिल्यै बयान दिने स्थिति सिर्जना भएको थिएन। नायकराम हिँडेपछि ताहिर अली पनि घर गए तर बजरङ्गी त्यतै छेउछाउ डुल्न थाले, ताहिर अली बाहिर निस्किहाले आफ्नो दुखेसो सुनाउन पाइन्छ कि भनेर।

ताहिर अलीका पिता पुलिस विभागमा जवानको जागिर बाट थानाध्यक्षको पदमा पुगेका थिए। मर्ने बेलामा सम्पत्ति छोड्नु त कता हो कता, उनको अन्तिम संस्कार गर्दा पनि ऋण लाग्यो। ताहिर अलीका जिम्मामा दुईजना विधवाहरू र तिनका सन्तानको भार छाडेर गए। उनले तीनपल्ट बिहे गरेका थिए। पहिली पत्नीबाट ताहिर जन्मेका थिए, दोस्रीबाट माहिर अली र जाहिर अली तथा तेस्रीबाट जाबिर अली। ताहिर अली धैर्यवान र विवेकी मान्छे थिए। पिताको मृत्युपछि एक वर्ष सम्म जागिर(रोजगार)को खोजीमा निकै यताउति डुले। कतै पशुशालामा खरिदारको जागिर भेटे भने कतै औषधि व्यापारीको एजेन्ट भए त कतै कर-सङ्कलन कार्यालयमा खरिदार। यता केही दिन देखि जान सेवककहाँ स्थायी रूपले नोकरी गरिरहेका थिए। उनको आचार-विचार आफ्ना पिताभन्दा सर्वदा भिन्न थिए। सधैँ रोजा-नमाज पढ्ने र मन सफा भएका मानिस थिए। दोस्रो बाटाको कमाइबाट कोसौँ टाढा थिए। उनकी आमा त मरिसकेकी थिइन् तर दुईजना उनका विमाताहरू जीवित थिए। बिहे पनि भैसकेको थियोः स्त्रीका अतिरिक्त एउटा छोरो-साबिर अली र एउटी छोरी- नसीमा थिए। यति ठूलो परिवार थियो र तलब भने महिनाको तीन रूपैयाँ। यस्तो महँगीको समयमा, जबकि यसको पाँचगुना आयमा पनि निर्वाह हुन हुन सक्तैनथियो, उनलाई घरबार चलाउन निकै कष्ट हुन्थ्थो तर नियतमा कैले खोट आएन। ईश्वर-भीरुता उनको चरित्रको प्रधान गुण थियो। उनी घरमा पुग्दा, माहिर अली पढिरहेका थिए, जाहिर र जाबिर मिठाइका लागि रोइरहेका थिए र साबिर आँगनमा उफ्रीउफ्री बाजराको रोजी खाइरहेका थिए। ताहिर अली तख्तामा बसे र दुईजना भाइलाई काखमा राखेर फुल्याउन थाले। उनकी ठूली विमाताले - जसको नाम जैनब थियो - ढोकामा उभिएर नायकराम र बजरङ्गीको कुरा सुनिन्। बजरङ्गी दस कदममात्र हिँडेका थिए, माहिर अली बोलाउन लागे - "ए हजुर, ए हजुर, यता आउनुहोस् न है, आमाले बोलाइरहनु भा छ।"

बजरङ्गी फर्किए। केही आस पलायो। फर्केर बरन्डामा उभिए। टाटको पर्दा पछाडि उभिएकी जैनबले सोधिन् - "के कुरा थियो ?"

बजरङ्गीले भने - "त्यही जमिनको कुरा थियो। साहेब यसलाई किन्ने भन्नुहुन्छ। हाम्रो गुजारा नै यसै जमिनबाट हुन्छ। मुन्सीजीलाई यस्तो झगडा मिलाइ दिनुहोस् भनेर अनुरोध गरेको। दृष्टि-दस्तुर दिन पनि तयार छु तर मुन्सीजी सुन्नै मान्नुहुन्न।"

जैनबले भनिन् - "किन सुन्नुहुन्न ! नसुने गरिबहरूको श्राप कसलाई लाग्छ ? तिमी पनि त पाखे नै रहेछौ, उहाँलाई के भन्न गएका ? यस्ता कुरा पुरुषलाई भनेर हुन्छ ? मलाई भनेको भए मै मिलाइ दिन्थेँ।

जाबिरकी आमाको नाम रकिया थियो। उनी पनि आएर उभिइन्। दुवैजना छाया जस्तै दिनभरी सँगसँगै हुन्थे। दुवैको भावना एक, हृदय एक, विचार एक थिए। सौताको कुनै कतै अंश पनि थिएन। दिदी-बहिनीको जस्तो प्रेम थियो। भनिन् - "अनि के त यस्ता कुरा पुरुषलाई भनेर हुन्छ र ?"

बजरङ्गीले भने - "माताजी म पाखे मान्छे, मलाई के थाहा। अब तपाईँहरूनै मिलाइ दिनुहोस्। गरिब मान्छे हुँ, केटा-केटी बाँच्छन्।"

जैनबले भनिन् - "साँच्चै भन त यो कुरा मिल्यो भने कतिसम्म दिन सक्छौ ?"

बजरङ्गीले भने - "बेगम साहेब, पचास रूपैयाँसम्म दिन तयार छु।"

जैनबले भनिन् - "तिमी पनि गजबै गर्छौ। पचास रूपैयाँमा यति ठूलो काम सल्टाउन खोज्छौ ?"

रकियाले विस्तारै भनिन् - "ए दिदी, बिच्किन्छ है !"

बजरङ्गीले भने - "के गरौँ बेगम साहेब, गरिब मान्छे हुँ। केटाहरूलाई दूध-दही जे भन्नुहुन्छ ख्वाउँदै गर्छु; तर नगदी त योभन्दा बढी दिन सक्तिनँ।"

रकियाले भनिन् - "ठीकै छ, पैसा बन्दोबस्त गर। खुदाले चाहनुभयो भने सबै कुरा ठीक हुन्छ।

जैनबले (विस्तारै) भनिन् - "रकिया तिम्रो हतारले म आजित भैसकेँ।"

बजरङ्गीले भने - "आमा हजुर, यो काम भयो भने पूरै टोलले तपाईँको यश गाउने छ।"

जैनबले भनिन् - "तर तिमी त पचास रूपैयाँभन्दा माथि जाने नामै लिँदैननौ। यति त साहेबले नै दिनुहुन्छ। फेरि किन नराम्रो लज्जास्पद काम गर्नु ?"

बजरङ्गीले भने - "आमा हजुर, म बाहिरको मान्छे कहाँ हुँ र, पाँच-दस रूपैयाँ अरू जोगाड गरिदिन्छु। दुई दिनको समय दिनुहोस्। त्यतिन्जेल मुन्सीजीलाई भनेर साहेबलाई भनसुन गर्न लगाइदिनुहोस्।"

जैनबले भनिन् - "वाह महतो, तिमी त निकै बाठा पो रहेछौ। सित्तैमा काम निकाल्न खोज्दा रहेछौ। पहिले रूपैयाँ ल्याउ, त्यसपछि तिम्रो काम नभए हाम्रो जिम्मा।"

बजरङ्गी खुसी हुँदै अर्को दिन आउने बाचा गरेर गएपछि जैनबले रकियालाई भनिन् - "तिमी कति हतार गर्छ्यौ। चमारहरूसँग दुई पैसामै छाला लिन पनि तयार भयौ। म भए दुई आना लिने थिएँ र तिनले खुसीले नै दिन्थे। यही गोठालो पनि सय रूपैयाँ गनेर जान्थ्यो। हतार गरेपछि गरज परेको मानिस चनाखो हुन्छ। आफूलाई बेकुफ बनाएको सम्झिन्छ। जति ढिलो गऱ्यो, जति रूखो भयो त्यति नै विश्वास बढ्छ।"

रकियाले भनिन् - "धेरै रूखो हुँदा पनि निशानाले धोका दिने हो कि भन्ने डर लाग्छ दिदी।"

जैनबले भनिन् - "यस गोठालाले रूपैयाँ पक्कै ल्याउँछ। आजैदेखि ताहिरको कान भर्न (फकाउन) थाल। श्रापको डर देखाउनु पर्छ। उसलाई हातमा लिने यही एउटा तरिका हो।"

रकियाले भनिन् - "यदि साहेबले मानेनन् भने ?"

जैनबले भनिन् - "तेसै हुँदा पनि हामी बिरूद्ध कसले नालिस गर्छ र ?"

ताहिर अली खाना खाएर पल्टिएका मात्र थिए, जैनबले आएर भनिन् - "साहेबले अर्काको जमिन किन लिन खोजेका होलान् ? बिचराहरू रोइ कराइ गरिरहेका छन्।"

ताहिर अलीले भने - "सित्तैमा लिन खोजेका हुन् र, उचित क्षतिपूर्ति त दिइहाल्छन् नि।"

जैनबले भनिन् - "यो त गरिबहरूमाथि अन्याय भयो।"

रकियाले भनिन् - "अन्याय मात्र हैन, यो त अत्याचार हो। दाइ, मलाई यस अत्याचारमा नपार्नुहोस्, खुदाले मलाई पनि बाल-बच्चा दिएका छन्, केकस्तो आइपर्छ, म यो श्राप टाउकामा लिन्न भनेर साहेबलाई स्पष्ट भन।"

जैनबले भनिन् - "पाखे त छन् नै, तिम्रा टाउकामा चढ्लान्। टोलका मान्छे हुन्, जीउ ज्यानको कुरा हो, दुश्मनी लिन मिल्दैन भनेर स्पष्टै भन।"

रकियाले भनिन् - "जीउज्यानको खतरा त हुन्छ नै, यी पाखे कसैका हुँदैनन्।"

ताहिरले भने - "तपाईँले पनि केही हल्ला सुन्नुभएको छ ?"

रकियाले भनिन् - "अँ, यी सबै चमारहरू भन्दै थिए, साहेबले जमिन लिए भने रगतको खोलो बगाउँछौँ। सुनेदेखि मेरो त होश ठाउँमा छैन।"

जैनबले भनिन् - "कुरै त होश उड्ने छ।"

ताहिरले भने - "सबैले मलाई त्यत्तिकै बदनाम गरिरहेका छन्। म न लिनमा छु, न दिनमा। साहेबले त्यस अन्धासँग जमिनका बारेमा कुरा गर्न हुकुम दिएका थिए। मैले त हुकुम मानेको मात्रै हुँ जुन मेरो कर्तव्य पनि थियो तर मूर्खहरू मैले नै साहेबलाई जमिन किन्न उकासेको ठानिरहेका छन्। खुदा जान्दछन्, मैले त्यस कुराको कतै सुइँको पनि दिएको छैन।"

जैनबले भनिन् - "मलाई बदनामीको डर त छैन, तर म खुदाले गर्ने विनाशबाट डराउँछु। विवश मानिसका दुःख किन शिरमाथि राख्छौ ?"

ताहिरले भने - "मलाई किन श्राप लाग्छ र ?"

जैनबले भनिन् - "अरू कसलाई लाग्छ त, छोरालाई ?  यहाँ तिमी नै छौ, साहेब त छैनन्। उनी त भुसमा आगो सल्काएर टाढाबाट तमासा हेर्छन्, जे पर्छ तिम्रै थाप्लामा पर्छ। त्यसमाथि कब्जा त तिमीले नै गर्नु पर्छ। मुद्दा चले भने बहस तिमीले गर्नुपर्छ। होस् भाइ, म यो आगोमा फाल हान्न चाहन्नँ।"

रकियाले भनिन् - "मेरो माइती गाउँमा एउटा कारिन्दाले कुनै मोहीको जमिन लिएको थियो। त्यसको दोस्रो दिन उसको जवान छोरो मऱ्यो। उसले गरेको त जमिन्दारको आदेशले थियो तर आपद त गरिबलाई आइलाग्यो। धनसम्पत्ति भएकालाई श्राप पनि कहाँ लाग्छ र ? त्यसको मार त गरिबहरूलाई नै पर्छ। हाम्रा केटाकेटीहरूलाई दैनिक कसै न कसैको आँखा लाग्छ, तर आजसम्म कुनै अङ्ग्रेजका छोराछोरीहरूलाई आँखा लागेको थाहा छैन। उनीहरूमा यस्ता कुराको असर नै हुँदैन।"

यो साँच्चिकै कुरा थियो। ताहिर अलीलाई यसको अनुभव थियो। उनका घरका सबै केटाकेटीहरू बुटी र यन्त्रले पुरिएका हुन्थे र त्यसमाथि पनि हरेक दिन झार-फूक र मन्साउने-सन्साउने गरिरहनु पर्थ्यो।

धर्मको मुख्य स्तम्भ डर हो। अनिष्टको शङ्कालाई भगाउनुहोस्, अनि तीर्थ-यात्रा, पूजा-पाठ, स्नान-ध्यान, रोजा-नमाज जस्ता कुराको चिन्ह पनि रहँदैन। मसजिदहरू खाली देखिन्छन् र मन्दिरहरू सुनसान।

...

अर्को अङ्कमा जारी..

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

 

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :