अङ्क 47चैत्र 2069वर्ष 9

अघिल्लो अङ्कबाट क्रमशः

रङ्गभूमि- ७

--मुन्सी प्रेमचन्द

चञ्चल प्रकृतिका बालकहरूका लागि अन्धाहरू रमाइलो गर्ने साधन हुन्छन्। सूरदासलाई तिनका निर्दयी बाल-क्रीडाहरूबाट यति धेरै पीडा हुन्थ्यो कि उनी सखारै घरबाट निस्किन्थे र साँझबत्ती बालेपछि फिर्थे। जुन दिन घरबाट निस्कन ढिलो हुन्थ्यो त्यसदिन ठूलो बिपत्ति आइलाग्थ्यो। सडकमा यात्रीहरूसँग त उनलाई खासै डर लाग्दैनथ्यो तर गल्लीहरूमा भने हरेक पाइलामा उनलाई कुनै न कुनै दुर्घटनाको डर लाग्थ्यो। कसैले उनको लट्ठी खोसेर भाग्थ्यो भने कसैले भन्थ्यो - "सूरदास, अगाडि खाल्डो छ, बायाँतिर लाग।" सोझा सूरदास बायाँ घुम्थे र खाल्डामा जाकिन्थे।  ती मध्येमा बजरङ्गीको छोरो घीसू यति दुष्ट थियो कि सूरदासलाई सताउनलाई नै भनेर उज्यालो हुनभन्दा एक घण्टा पहिले नै उठ्थ्यो। सूरदासको लट्ठी खोसेर भाग्दा उसलाई साह्रै मज्जा लाग्थ्यो।

एक दिन सूरदास सूर्योदय भन्दा पहिले नै घरबाट निस्किँदा घीसू एउटा साँघुरो गल्लीमा लुकीरहेको थियो। सूरदासलाई त्यहाँ पुग्दा केही शङ्का लाग्यो र उभिएर चाल सुन्न थाले। घीसू हाँसो थामिँदै थामिएन। झ्याप्पै सूरदासको लट्ठी पक्रियो तर सूरदासले लट्ठी दह्रो गरी समातेका थिए। पूरै जोड लगाएर तान्दा पनि लट्ठी खुस्किएन र ऊ आफैँ लड्यो। शिरमा चोट लाग्यो, रगत निस्कियो। रगत देखेपछि चिच्याउँदै घरतिर भाग्यो। बजरङ्गीले किन रोएको के भयो भनेर सोध्दा घीसूले केही जबाफ दिएन। केटाकेटीलाई कुन न्यायालयमा आफ्नू जीत हुन्छ भन्ने कुरा राम्ररी थाहा हुन्छ। आमासँग गएर भन्यो - "सूरदासले मलाई धकेल्यो।" आमाले शिरको चोट देखिन्, उनका आँखा रिसले राता भए। घीसूको हात समातेर बजरङ्गी सामु उभिइन् र भनिन् - "अब यो अन्धालाई बिपद आएजस्तो छ। केटालाई रगत निस्कने गरी ठेलेछ। त्यत्रो आँट। पैसाको सबै घमण्ड उतारिदिउँला।"

बजरङ्गीले शान्त भावले भने - "यसैले जिस्क्यायो होला। ऊ बिचरा त यसबाट ज्यान जोगाउँदै हिँड्छ।"

जमुनीले भनिन् - "जिस्क्याएकै भए पनि शिर फुट्ने गरी धकेल्नु हुन्छ त ? अन्धालाई त सबै केटाकेटीले जिस्क्याउँछन् तर सबैसित जुध्नु त भएन नि।"

यत्तिकैमा सूरदास आएर उभिए। अनुहारमा ग्लानि भरिएको थियो। जमुनीले फुत्त उसका छेउमा गएर बिजुली कड्केझैँ कड्किएर भनिन् - "किन सूरे, साँझ पर्ने बित्तिकै लोटा लिएर दूध लिन त आउँछौ त। आज घीसुवाले अलिकति लट्ठी पक्रिँदा  शिरमा चोटै लाग्ने गरी धकेल्नुपर्‍यो ? जुन थालमा खान्छौ, त्यसैमा छिँड पार्छौँ ? किन ? पैसाको घमण्ड धेरै भयो कि कसो ?

सूरदासले भने - भगवान् जान्दछन्, मैले घीसूलाई चिन्दै चिनिनँ। लाग्यो कुनै छुल्याहा केटो होला, दह्रोसँग लट्ठी पक्रिएर बसेको। उसको हात चिप्लियो र लड्यो। घीसू हो भन्ने थाहा भएको भए लट्ठी दिइहाल्थेँ। यतिका दिन बिते, कसैले भनून् मैले बिनसित्तीमा कुनै केटालाई कुटेको छ भनेर। तिमीहरूले दिएको खान्छु, तिम्रै छोरालाई कुट्छु होला त ?"

जमुनीले भनिन् - "होइन, अब तिमीलाई घमण्ड भएको हो। भिक्षा माग्छौ र पनि लाज लाग्दैन ? सबलाई बराबरी देख्छौ। आज त मैले रगतको घुट्को पिएर थामेँ नत्र जुन हातले धकेलेका थियौ त्यसैमा आगो लगाइदिन्थेँ।"

बजरङ्गी जमुनीलाई रोक्न खोज्दै थिए, अरूले पनि सम्झाइरहेका थिए तर उनले सुनीरहेकी थिइनन्। बिचरा सूरदास अपराधीझैँ वाक्यका बाणहरू सहीरहेका थिए। मुखबाट एउटै शब्द पनि निस्किएको थिएन।

भैरो ताडी उतार्न जाँदै थिए, रोकिएर सूरदासमाथि अरू दुई-चार बाछिटा उछिट्याउन भ्याए - "जमाना त्यस्तै छ। सबभन्दा राम्रो रोजगारी नै भिक्षा माग्नु भएको छ। चार दिन अगाडिसम्म घरमा भुजिया न भाङ थियो, अहिले दुईचार पैसावाला मान्छे भए। पैसा हुन्छ र नै घमण्ड पनि हुन्छ। हामीजस्ता एक रुपैयाँ कमाएर दुई खर्च गर्नेले घमण्ड कताबाट गर्ने ?"

जगधर अरूका अगाडि त भिजेको बिरालो नै हुन्थे तर सूरदासलाई धिक्कार्न उनी पनि अघि सरे। सूरदासलाई लट्ठी किन छाडिन भन्ने पछुतो लागिरहेको थियो। अर्को लट्ठी त भेटिन्थ्यो नै। जगधर र भैरोका कटु वाक्यहरू सुनेर उनी झन् दुःखी भैरहेका थिए। आफ्नै दीनतामा रून मन लागि रहेको थियो। अचानक मीठू पनि त्यहीँ आइपुग्यो। ऊ पनि चकचकको राजा थियो, घीसूभन्दा दुई औँला अग्लो। जगधरलाई देख्ने बित्तिकै सरस पद गाएर जिस्क्याउन थाल्यो-

लालू का लाल मुंह, जगधरका काला

जगधर तो हो गया, लालू का साला।

(राते को रातो मुख, जगधरको कालो, जगधर त भै नै गयो, रातेको सालो।)

भैरोलाई पनि उसले स्वरचित पदावली सुनायो-

भैरो, भैरो ताड़ी बेच

या बीवी की साड़ी बेच।

(भैरो, भैरो ताड़ी बेच, या स्वास्नीको सारी बेच)

रिसाउनेहरू किन रिसाउँछन् हुन्छन् यसको निर्णय त मनोविज्ञानका पण्डितहरूले नै गर्लान्। हामीले साधारणतया मानिसहरूलाई प्रेम र भक्तिका भावनाहरूले मात्र रिसाएका वा उत्तेजित भएका देखेका छौँ। कोही राम वा कृष्णको नामैदेखि रिसाउँछन् तर उनीहरूलाई लाग्छ उनीहरूको नाम लिइँदा ईश्वरको नाम लिइन्छ। कसैलाई बालबालिकाले घेरिएर रिसाउन मन लाग्ला। बैगुन र माछादेखि मानिस रिसाएका यी अखाद्य वस्तुहरूलाई सबैले घृणा गरून्  भनेरै हो कि ! सारांशमा रिसाउनु वा झर्किनु एउटा दार्शनिक प्रक्रिया हो र यसको एउटै मात्र उद्देश्य सत्-शिक्षा हो। तर भैरो र जगधरमा यस्तो भक्तिमयी उदारता कहाँ पाउनु ? यिनले त्यो बाल-विनोदको मजा लिन कसरी जानून् ? दुवै झर्किए। जगधरले मीठूलाई गाली गर्न थाले तर भैरोलाई त्यस गालीले मात्र चित्त बुझेन। उनले मीठूलाई च्याप्पै समाते र तीन-चार झापड ठोके र निर्दयताका साथ कान निमोठ्न थाले। मीठू कराउन थाल्यो। सूरदास दीन भावले शिर झुकाएर बसेका थिए। मीठू रोएको सुन्ने बित्तिकै उनको पारो चढ्यो। टाउको उठाएर फुटेका आँखाले हेर्दै भने - "भैरो, भलो चाहन्छौ भने त्यसलाई छाडीदेऊ, नत्र ठीक हुन्न। उसले त्यस्तो के गर्‍यो र यसरी खनिएका छौ ? उसको कोही छैन जस्तो लाग्छ । म हुन्जेलसम्म कसैले उसलाई कर्के आँखाले हेर्न सम्म सक्तैन। कुनै ठालूसँग हात मिलाएको भए बहादुरी देखिन्थ्यो, यो बालकलाई कुटेर के देखाउन खोजेको ?"

भैरोले भने - "पिटेको त्यस्तो दुख्छ भने, किन रोक्दैनौ यसलाई ? हामीलाई जिस्क्यायो भने हामी त पिट्छौँ। एकपल्ट मात्र होइन, हजारपल्ट। तिमी जे गर्ने हो गर।"

जगधरले भने - "केटालाई हप्काउनु त परै जाओस्, अझ पुल्पुल्याउँछौ। तिम्रो प्याउलो होला, अरूलाई के....।"

सूरदासले भने - "अब चुप पनि लाग, आएछन् कहाँबाट न्याय गर्न। केटाकेटीले त्यसै त गर्छन् तर पिटिहाल्ने त हैन नि। तिमीहरूलाई अरू कसैले जिस्क्याएको भए चूँ पनि गर्ने थिएनौ। म पनि थाहा पाउँछु त, तिमीहरू जताबाट गए पनि केटा ताली पड्काइ-पड्काइ जिस्क्याउँछन् र आँखा चिम्लेर आफ्नो बाटो हिँड्छौ। तिमीहरूलाई थाहा छ, आमाबाबु भएका केटाकेटीलाई पिट्ता आँखा निकाल्छन्। केराका लागि त भुत्ते(ठीकरा) पनि धारिलै हुन्छ।

भैरोले भने - "अरू केटाकेटीसँग के बराबरी गरेको नि ? दरोगाको गाली खायौँ भन्दैमा डूमको पनि गाली खानू ? अहिले त दुई झापट मात्र कस्या छु, फेरि जिस्क्यायो भने उठाएर पछारिदिन्छु, मरोस् बाँचोस्।"

सूरदासले मीठूको हात पक्रिँदै भने - "मीठू लु जिस्क्या त। यिनले के गर्दा रहेछन् हेरौँ। आज जे हुनुछ यहीँ होस्।"

तर मीठूको गाला अझै पोलीरहेको थियो र मुख पनि सुन्निएको थियो। रुन बन्द गरेकै थिएन। भैरोको रौद्र रूप देखेर बचेको साहस पनि उड्यो। जति उकासे पनि उसको मुख नखुले पनि सूरदासले झर्किएर भने - "लू मै जिस्क्याउँछु, हेरूँ के गर्दा रहेछन्।"

यति भनेर उनले लट्ठी दह्रो गरी समाते र बारम्बार तिनै पदहरू भन्नलागे मानौ कुनै बालकले आफ्नो पाठ याद गर्दै छ -

भैरो, भैरो ताड़ी बेच

या बीवी की साड़ी बेच।

(भैरो, भैरो ताड़ी बेच, या स्वास्नीको सारी बेच)

एकै सासमा कैयन् पल्ट यिनै पद रटिरहे। भैरो पहिले त रिसले उन्मत्त भएका थिए तर सूरदासको बाल हठ देखेर उनलाई हाँसो उठ्यो। अरू हाँस्न थाले। अब सूरदासलाई आफू कति विविश र दीन छु भन्ने कुराको बोध भयो। उनले सोचे - "मेरो क्रोधको सम्मान हो यो। म सबल भैदिएको भए मेरो क्रोध देखेर यी थरथर काम्ने थिए। नत्र यसरी उभिएर हाँसिरहने थिएनन्। लाग्दो यो यसले हाम्रो के पो बिगार्न सक्छ र ? भगवान्‌ले यस्तो अपङ्ग नबनाइदिएको भए यस्तो दुर्गती त हुने थिएन।" यस्तो सोचले उनका आँखाबाट अचानक आँसू खसालीदियो। ती आँसू जति रोक्दा पनि रोकिएनन्।

बजरङ्गीले भैरो र जगधर दुवैलाई हप्काए(धिक्कारे)- "लाज लाग्दैन, अन्धासित जोरी खोज्न ? एक त केटालाई झापड हानेर मुखै रातो बनाइदियौ, त्यसमाथि गर्जिन्छौ ? ऊ पनि छौरै हो, कुनै गरिबको होला। त के भो ? जति माया र ममता उसले पाएको छ त्यत्तिको ठालूका घरकाले पनि पाएको हुन्न। जसरी अरूले जिस्क्याउँछन् उसैगरी उसले पनि जिस्क्याउँछ। यसमा यति धेरै बिच्किने कुरै के छ र ?" जमुनीतिर हेर्दै थपे - "यो सबै तेरै कारणले गर्दा भएको, आफ्नो छाउरालाई हकार्दिन अनि बिचरो अन्धामाथि रिस पोख्छे।"

जमुनी सूरदास रोएको देखेर आत्तिएकी थिईन्, उनलाई थाहा थियो दीन-दुःखीको पुकार कति बलियो हुन्छ। लज्जित स्वरमा भनिन् - "मलाई के थाहा लहरो तान्दा पहरो गर्जिन्छ भनेर। (मीठूलाई) आऊ मीठू बाछो समात, म दूध दुहुन्छु।"

प्याउला केटाकेटी त्यान्द्राले हिर्काएको पनि सहन सक्तैनन्। मीठू दूधको लोभले पनि फकिन नमानेपछि जमुनीले आएर उसका आँसु पुछिन् र अँगालामा बोकेर घर लगिन्। उनलाई रिस चाँडै उठ्थ्यो तर पग्लिन पनि बेर लाग्दैनथ्यो।

मीठू जमुनीसँग गयो, भैरो र जगधर पनि आ-आफ्नो बाटो लागे तर सूरदास सडकतिर गएनन्। आफ्नै झुप्रामा गएर आफ्नै विवशतामा रून थाले। आफ्नो अन्धोपनमा उनलाई जति दुःख आज लागेको थियो त्यति कहिल्यै लागेको थिएन। सोच्न थाले - "मेरो दुर्गति म अन्धो भएकैले त हो, भिक्षा मागेर खान्छु। मेहनतको कमाइ खाएको भए म पनि घाँटी ठाडो पारेर हिँड्न सक्थेँ होला। मेरो पनि आदर-सम्मान हुन्थ्यो। कमिलाजस्तो पैतालामुनि किचिन्नथेँ। आज भगवान्‍ले अपङ्ग नबनाइ दिएका भए, ती दुईले केटालाई पिटेर हाँस्दै यसरी जान सक्थे ! हरेकको गर्दन बटारीदिन्थेँ। बजरङ्गीलाई किन कसैले केही भन्न आँटै गर्दैनन् ? घीसूले भैरोको ताडीको हाँडी फोर्दा कैयन् रूपैयाँको नोकसानी भयो तर भैरोले चूँसम्म पनि गरेन। जगधरलाई त घीसूकै कारणले घरबाट निस्कन गाह्रो छ। आठ-दस दिन अघि मात्रै त हो, उसले जगधरको खोँचा नै पल्टाइदिएको। जगधरले चूँ गर्न सकेन। थाहा छ तिनलाई अलिकति तात्‍ने बित्तिकै बजरङ्गीले घाँटी ङ्याक्छ। पूर्वजन्ममा कुन पाप गरेँहुँला जसले मलाई यस्तो सजाय भोग्न विवश पारीरहेको छ ! अनि भिक्षा नमागेर खानु के ? जिन्दगी पेट पाल्नका लागि मात्र पनि त होइन। अगाडिका लागि पनि केही त गर्नै पर्‍यो। यस जन्ममा अन्धो भै गएँ, केही गरिन भने अर्को जन्ममा अझै दुर्दशा होला। पित्रीको ऋण शिरमाथि छ, गया गएर श्राद्ध पनि गरिन भने तिनले के सम्झेलान्, आफ्नो वंश नासिएको ठान्लान्। मैले यो ऋण चुक्ता गरिन भने, अरू कसले गर्छ र ? के उद्यम गरूँ ? कुनै ठालूका घरमा गएर पङ्खा हल्लाउन सक्छु तर यस्तो काम पनि त वर्षभरीमा चार महिनामात्रै हुन्छ, बाँकी महिना के गर्ने ? सुनेको त छु अन्धाले कुर्सी, मुडा, दरी, टाट बुन्न सक्छन् रे तर कहाँ र कसबाट सिकूँ यी काम गर्न ? जे होला, अब भिक्षा माग्दिनँ।"

चारैतिर निराशा मात्र देखेपछि सूरदासलाई जमिन बेच्ने विचार पनि आयो। फेरि सोच्न थाले - "यसदेखि बाहेक मेरो कुनै उपाय पनि रहेन। कहिले सम्म पुर्खाको नामलिँदै रोइ रहूँ। साहेब किन्नका लागि मुख बाएर बसिरहेका छन्। दाम पनि राम्रै दिएका छन्। दिऊँ क्या र उनैलाई। चार-पाँच हजार निकै राम्रो रकम हो। आफ्नो घरमा साहूझैँ बसेर आरामको बाँसुरी बजाउँछु। मान्छेले घेरेर बस्छन्, टोलमा पनि नाम राम्रै होला। आज ममाथि शानोसौकत देखाउने मानिसहरू भोली मेरै खुसामद गर्न थाल्नेछन्। हद्द भए टोलका गाईवस्तु खान नपाएर यताउति हिँड्लान्, हिँडिरहून्। म के गरूँ त। सकुन्जेल गरेकै हो, अब सक्दिनँ त के गरूँ ? जसका गाई चर्छन्, कसैले मलाई केही गर्दैनन्। कोही मेरो पक्षमा भैदिएको भए, भैरो मलाई रूवाएर यसरी जुँगा मुसार्दै जानसक्थ्यो र ? यति पनि हुन सक्तैन भने किन अर्काका लागि मरिमेट्नु ? जीऊ रहे जहान् छ, तर इज्जत नरहे बाँच्नु बेकार छ।"

मनमा यस्तै विचार बोक्दै सूरदास आफ्नो झुप्राबाट निस्किए र लट्ठी टेक्दै गोदामतिर लम्किए। गोदामछेऊमा दयागिरीसँग भेट भयो। उनले सोधे - "यता कता हिँडेको सूरदास, तिम्रो ठाउँ त पछाडि नै छाडिइसक्यो।"

सूरदासले भने - "यिनै मियाँसँग अलिकति कुरा गर्नु थियो।"

दयागिरीले भने - "जमिनका बारेमा हो ?"

सूरदासले भने - "हो, यो जमिन बेचेर कतै तीर्थयात्रामा जाऊँ जस्तो लागेको छ। यस टोलमा अब अटाउन सकिनँ।"

दयागिरीले भने - "सुनेको थिएँ, आज भैरोले तिमीलाई पिट्ने धम्की दियो रे ?"

सूरदासले भने - "मैले नसहेको भए, उसले त मारेरै छाड्ने थियो। पूरै टोल बसेर हाँसीरह्यो। कसैका मुखबाट अन्धो र अपाहिजलाई किन अन्याय गर्छौ भनेर एकै वाक्य निस्केन। मेरा लागि हितको एक शब्द नभए मचाहिँ किन अरूका लागि मरूँ ?"

दयागिरीले भने - "हुन्न सूरे, म तिमीलाई जमिन बेच्न सल्लाह दिन्नँ। धर्मको फल यही जीवनमा पाइन्न। हामीले त आँखा बन्द गरेर नारायणमाथि भरोसा गर्दै धर्म मार्गमा हिँड्नुपर्छ। साँच्चै भन्दा आज भगवानले तिम्रो धर्मको परीक्षा लिएका हुन्। सङ्कटका बेलामा नै धैर्य र धर्मको परीक्षा हुन्छ। गुसाईँजीले भन्नुभएको छ - धीरज, धर्म, मित्र अरू नारी, आपति काल परखिए चारी। (धैर्य, धर्म, मित्र र नारीलाई आपद परेका बेला परीक्षा लिनु)। जमिन छँदैछ, त्यत्तिकै छाडिदेऊ। गाईवस्तु चर्छन्, यही कति पुण्यको काम हो। कसलाई थाहा र कुनै बेला कुनै दानी, धर्मात्मा आएर धर्मशाला, कुवा, मन्दिर या त्यस्तै केही बनाइदिऊन्। त्यसबेला तिमी मरेर पनि अमर हुनेछौ। रह्यो तीर्थ यात्राको कुरा त्यसका लागि रूपैयाँको आवश्यकतै छैन। साधु-सन्तहरू जीवनभरी यही गरेर हिँड्छन् तर कसैले घरैबाट पैसाको थैली बाँधेर त हिँड्दैनन्। म पनि शिवरात्री पछाडि वद्रीनारायण जानेवाला छु। तिमी पनि मसँगै हिँड। बाटामा तिम्रो एकै कौडी पनि खर्च हुँदैन। यसको जिम्मा मेरो रह्यो।"

सूरदासले भने - "हुन्न बाबा, यस्तो अन्याय सहन सक्तिनँ। भाग्यमा धर्म गर्न लेखेकै छैन भने कसरी गरूँ ? तर यिनलाई पनि त थाहा होस्, सूरदास पनि केही हो।"

दयागिरी - "सूरे, आँखा बन्द भएपछि केही देखिन्न। यो त अहंकार हो, यसलाई हटाऊ नत्र यै जन्म पनि खेर जान्छ। यही अहंकार नै सबै पापहरूको मूल हो। मैं अरू मोर तोर तैं माया, जेहि बस कीन्हें जीव निकाया। न यहाँ तिमी छौ, न तिम्रो जमिन, न तिम्रो कुनै मित्र छ, न शत्रु, जता हेर भगवान् नै भगवान्। ज्ञान-मान जहं एकै नाहीं, देखत ब्रह्म रूप सब गाहीं। यस्ता झगडामा नफँस।"

सूरदासले भने - "बाबाजी, भगवान्‌को दया नहुन्जेल भक्ति र वैराग्यमा कसैको पनि मन लाग्दैन। यसबेला मेरो हृदय रोइरहेको छ, त्यसमा उपदेश र  ज्ञानका कुरा पुग्दैपुग्दैनन्। भिजेको दाउरा चुल्हामा कसरी बल्छ र !"

दयागिरी - "पछुताउँछौ, अरू त के र ?"

यति भनेर दयागिरी आफ्नो बाटो लागे। उनी नित्य गङ्गास्नान गर्न जान्थे। उनी गएपछि सूरदासले मनमनै सोचे - "यिनले पनि मलाई ज्ञानको उपदेश दिए। दीन-दुःखीमाथि नै उपदेशको दाउ चल्छ, ठालूलाई त कसैले उपदेश दिँदैन। त्यहाँ गएर त सबै चाकरी गर्छन्। मलाई ज्ञान सिकाउन हिँडेका। दुई छाक खान पाएका छन्, एक छाक मात्र खान परोस् त सबै ज्ञान निस्किएर रित्तिन्छन्।"

वेगले कुदेको गाडी वाधा हटाएर अघि बड्छ। सूरदास अरूले सम्झाउँदा झन् जिद्दी भए। सीधै गोदामको बरन्डामा गएर अडिए। त्यसबेला त्यहाँ चमारहरूको भीड थियो। छालाको खरीद बिक्री भैरहेको थियो। चौधरीले भने - "आऊ सूरदास कता हिँड्यौ ?"

सूरदासले यतिका मानिसबीचमा आफ्नो ईच्छा प्रकट गर्न सकेनन्। सङ्कोचले उनको बोली बन्द गर्‍यो। भने - "केही होइन, त्यत्तिकै हिँडेको थिएँ।"

ताहिरले भने - "साहबले यिनबाट गोदाम पछाडिको जमिन माग्नुभएको छ। मागेको दाम पनि दिन तयार हुनुहुन्छ। तर यी जे गरे पनि मान्दैनन्। उहाँले पनि कति सम्झाउनुभयो, मैले पनि कति भनेँ तर यिनका मनमा केही गरे कुरो घुसेन।"

लज्जा अत्यन्त निर्लज्ज हुन्छ। अन्तिम समयमा, हामीले उल्टो सास चल्दैछ भनेर मानेका बेला, अचानक लज्जा चैतन्य हुन्छ र पहिलेभन्दा धेरै कर्तव्यपरायण हुन्छ। दुरावस्थाबाट घेरिएर हामी कुनै मित्रसित सहायताको याचना गर्न उसकहाँ जान्छौँ तर मित्रसित आँखा जुधेपछि लज्जा हाम्रो सामुन्ने यसरी आउँछ कि हामीलाई यताउतीको कुरा गराएर त्यहाँबाट भगाउँछ। यहाँसम्म कि यसले आफ्नो अन्तर्वेदना झल्किने गरी एउटै शब्द पनि हाम्रो मुखबाट निस्कन दिँदैन।

ताहिर अलीको कुरा सुन्ने बित्तिकै सूरदासको लज्जा उम्लिएर बाहिर आयो। भने - "मियाँ साहेब, त्यो जमिन त पिता-पुर्खाको निसानी हो, त्यसलाई म कसरी बिक्री गर्न सक्छु ? मैले धर्मका लागि साँचेर राखेको हो त्यो।"

ताहिर अलीले भने - "रुपैयाँ पैसा बिना धर्म कसरी हुन्छ त ? पैसा पाएपछि नै त तीर्थ जान्छौ होला, साधु-सन्तको सेवा गर्छौ होला, मन्दिर-कुवा बनाउँछौ होला, हैन ?"

चौधरीले भने - "सूरे, यसबेला राम्रो दाम पाइऩ्छ। हाम्रो सल्लाह मान्छौ भने देऊ। तिम्रो भलो पनि त केही भएको छैन त्यसले।"

सूरदासले भने - "टोलभरीका गाईवस्तु चर्छन्, त्यसले पुण्य भएको छैन र ? गाईको सेवाभन्दा ठूलो अरू पुण्य के हुन्छ र ?"

 

...आगामी अङ्कमा क्रमशः

 

हिन्दीबाट अनुवादः कुमुद अधिकारी।

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :