अङ्क 46साउन 2069वर्ष 9

पछिल्लो अङ्कबाट क्रमशः

रङ्गभूमि - ६

-मुन्सी प्रेमचन्द

जान सेवकले हाँस्दै भने - 'त्यसैले त अहिलेसम्म शिक्षित समाजमा व्यवसायिक बुद्धि विकास भएको छैन। मान्छेका नसा नसामा दासता घोलिएको छ। कानुन र सरकारी सेवा बाहेक अन्त दृष्टि कसैले राख्दैराख्दैन। दुई-चारवटा कम्पनी खुलेका पनि थिए तर तिनले विशेषज्ञको परामर्श र अनुभवको लाभ लिन पाएनन्। पाएकै भए पनि त्यो निकै महँगो पर्‍यो। मसिनरी झिकाउनका लागि पनि एकको दुई दिनुपर्‍यो। प्रबन्ध राम्रो हुन सकेन। विवश भएर कम्पनीहरूलाई कारोबार बन्द गर्नुपर्‍यो। यहाँ प्रायः सबै कम्पनीहरूको हालत त्यस्तै छ। डाइरेक्टर का थैली भरिन्छन्, सेयर बेच्न र विज्ञापनमा लाखौँ रूपैँया उडाइन्छन्, निकै उदारता सहित दलालहरूलाई आदर-सत्कार गरिन्छ, भवन बनाउँदै पूँजीको ठूलो भाग खर्च हुन्छ, म्यानेजर पनि निकै धेरै वेतनभोगी राखिन्छ। अनि परिणाम के त ? डाइरेक्टरले आफ्नो गोजी भर्छन्, म्यानेजरले पुरस्कार लिन्छन्, दलालले आफ्नो दलाली लिन्छन्। अर्थात् सबै पूँजी बाहिरबाहिरै सकिन्छ। मेरो सिद्धान्तले भन्छ, कमसेकम खर्च र धेरै  भन्दा धेरै नाफा। मैले दलालीमा एकै कौड़ी खर्च गरेको छैन। ममा विज्ञापनको मद पनि छैन। म्यानेजरका लागि पनि पाँच सय मात्र वेतन निश्चित गरेको छु जबकि अरू कारखानाहरूमा हजार त सजिलै दिन्छन्। त्यसमाथि घरको मान्छे। डाइरेक्टरलाई त भ्रमण खर्चदेखि बाहेक केही नदिँदा पनि हुन्छ।

कुँवर साहेब सांसारिक व्यक्ति थिएनन्। उनको धेरैजसो समय धर्म-ग्रन्थहरू पढ्नमै बित्थ्यो। उनी आफ्नो धार्मिक एकाग्रतामा बाधा पर्ने गरी कुनै काम गर्न र काममा भाग लिन चाँहदैन थिए। धूर्तहरूले उनलाई मानव चरित्रको छिन्द्रान्वेशी बनाएका थिए। उनी कसैलाई विश्वास गर्दैनथे। पाठशाला र अनाथालायहरूलाई चन्दा दिन निकै डराउँथे र धेरैपल्ट यस्ता कुरामा औचित्यको सीमा नाघेर बाहिर निस्किन्थे - कतिपय सुपात्रहरूलाई पनि उनीबाट निराश हुनु पर्थ्यो। तर जहाँ संयमशीलता त्यसरी सशङ्कित हुन्छ, त्यहाँ लाभ को विश्वास हुँदाहुँदै पनि चाहिएभन्दा बढी निशङ्क हुन्छ। मिस्टर जान सेवकको भाषण व्यावसायिक ज्ञानले परिपूर्ण थियो तर कुँवर साहेबमा भने उनको व्यक्तित्वको प्रभाव बढी पर्‍यो। उनका दृष्टिमा जान सेवक अब केवल धनका उपासक नभएर हितैषी मित्र पनि भए। यस्ता मानिसले उनलाई कसरी सल्लाह दिन सक्थे र। कुँवरले भने - 'जब तपाईँ यसरी किफायती काम गर्नुहुन्छ भने तपाईँको उद्योग पक्कै सफल हुन्छ। यसमा कुनै सन्देह छैन। सायद तपाईँलाई थाहा छैन, मैले यहाँ एउटा सेवा समिति खोलेको छु। केही दिनदेखि त्यसैको धुन सवार थियो। अहिले त्यसमा लगभग एकसय जना स्वयम्‌सेवक छन्। मेला र भीडभाडमा जनताको रक्षा गर्नु तिनको मुख्य काम हो। मलाई लाग्छ तिनलाई आर्थिक कठिनाईहरूबाट सधैँका लागि मुक्त गरिदिऊँ। हाम्रा देशका संस्थाहरू धेरैजसो धनाभावकै कारण अल्पायुका हुन्छन्। म यस संस्थालाई सुदृड़ बनाउन चाहन्छु र यसबाट देशको कल्याणै हुनेछ भन्ने मेरो हार्दिक अभिलाषा छ। म कसैबाट यस कामका लागि सहयोग लिन चाहन्नँ। त्यसैले त्यसको सञ्चालनका लागि स्थायी कोषको व्यवस्था गर्न चाहन्छु। तपाईँलाई आफ्नो मित्र र हितचिन्तक मानेर सोध्छु के तपाईँको कारखानाको सेयर लिए पछि यी मेरा उद्देश्य पूरा हुन्छन् ? तपाईँका हिसाबमा कति रूपैँया लगानी गर्दा मासिक हजार जतिको आम्दानी हुन्छ ?'

जान सेवकको व्यावसायिक लोलुपताले उनको सद्भावनालाई शिथिल बनाएको थिएन।  कुँवर साहेबले निर्णय जिम्मा दिएर उनलाई द्विविधामा पारेका थिए। यस्तो समस्या पहिले नै आउने चाल पाएको भए नाफा हुने तरिका बताउँदा अलिक धेरै सावधान हुने थिए। गैरहरूसँग छल गर्न त छूट पनि छ तर यस्ता स्वार्थ-भक्तहरू त कमै भेटिन्छन् जसले मित्रलाई नै फँसाउन्। सरल प्राणीहरूमाझ त कपट पनि लज्जित हुन्छ।

जान सेवक यस्तो उत्तर दिन चाहन्थे जुन स्वार्थ र आत्मा दुवैलाई स्वीकार्य होस्। भने - 'कम्पनीको जुन स्थिति छ, त्यो मैले तपाईँ सामु राखिदिइ सकेँ। सञ्चालन विधि पनि भनिसकेको छु। मैले सफलताका सबै उपायहरूमा ध्यान दिएको छु। कतिपय कुरामा मेरो गल्ती हुन सक्छ। अनि सबभन्दा ठूलो कुराचाहिँ मनुष्य विधाताको हातको खेलौना मात्र हो। उसका सबै अनुमान, बुद्धिमत्ता, शुभ-चिन्ताहरू नैसर्गिक शक्तिका अधीनमा हुन्छन्। सुर्तीको उत्पादन बढाउन किसानलाई पेश्की पनि दिनै पर्‍यो।  एक रातको ढिलाई पनि कम्पनीका लागि घातक हुन सक्छ। डडेको एक टुक्रा सिग्रेटले पनि कारखानालाई खरानी बनाउन सक्छ। जहाँसम्म मेरो परिमित बुद्धिको कुरा छ, मैले बढाई-चढाई गरेर केही भनेको छैन। आकस्मिक बाधाहरूलाई मध्यनजर गर्दै तपाईँले लाभको अनुमान केही घटाउन सक्नुहुन्छ।'

'कतिसम्म त ?'

'बीस रूपैयाँ सयकडा सम्झ।'

'कम्तिमा पन्ध्र रूपैँया सयकडा।' कुँवर साहेबले  भने - 'म पहिलो वर्ष दश रूपैँया र त्यसपछि पन्ध्र रूपैयाँ सयकडामा सन्तुष्ट हुन्छु।'

जान सेवकले भने - 'त्यसो हो भने सेयर लिन ढिला नगर्नुहोस्। खुदाको कृपाले तपाईँले कहिल्यै निराश हुनु पर्नेछैन।'

सय-सय रूपैँयाको सेयर थियो। कुँवर साहेबले पाँचसय सेयर लिने वाचा गरे र भने - 'भोलि पहिलो किस्ताको दसहजार रूपैयाँ बैङ्कबाट तपाईँलाई पठाई दिन्छु।'

जान सेवकको ठूलो भन्दा ठूलो सफलता पनि यति धेरै उचाईमा पुगेको थिएन। उनी आफ्नै सफलतामा प्रशन्न भए। तर उनको आत्माले सरल हृदय सज्जन पुरुषलाई धोका दियो भनेर उनको तिरस्कार गरिरहेको थियो। उनको मनले आफैँलाई भनिरहेको थियो - तिमीले देशको व्यावसायिक उन्नतिलाई नभएर आफ्नो स्वार्थका लागि यो प्रयत्न गरेका हौ। आफूलाई देशको सेवक बनाएर आफ्ना पाँचैवटा औँला घिउमा डुबाउन चाहन्छौ। तिम्रो मनोवान्छित उद्देश्य यही हो कि नाफाको ठूलोभन्दा ठूलो हिस्सा आफैँ हजम गर। तिमीले त यो लोकोक्तिलाई प्रमाणित गरिदियौ - बनियाले जानीजानी मार्छ, चोरले अन्जानमा मार्छ।(बनिया मारे जान, चोर मारे अन्जान)

कुँवर साहेबको सहयोगले जनतामा कम्पनीको धाक जम्ने विश्वास नभएको भए जान सेवक स्पष्ट शब्दमा कम्पनी तपाईँलाई यति सेयर दिन सक्तैन भन्थे। एउटा परोपकारी संस्थाको धन कुनै संदिग्ध व्यवसायमा लगाएर संस्थाको अस्तित्वलाई खतरामा पार्नु स्वार्तपरतताको तीतो प्रयास थियो, तर धनका देवता आत्माको बलिदान नपाई प्रसन्न हुँदैनन् नै। यति कुरा स्पष्टै थियो कि जान सेवकले यतिन्जेलसम्म आफ्नो स्वार्थका लागि यो नाटक गरेका थिए, उनको नियत सफा थिएन र लाभलाई विभिन्न नाउँमा आफ्नै हातमा राख्न चाहन्थे। तर अब उनले निःस्पृह भएर असल नियतले व्यवहार गर्ने निश्चय गरे। भने - 'म कम्पनीका संस्थापकका हैसियतले तपाईँप्रति यस सहायताको लागि हृदयदेखि नै अनुगृहित छु। खुदाले चाहे भने तपाईँले आजको निर्णयले गर्दा कहिल्यै पछुताउनु पर्नेछैन। म तपाईँसँग एउटा अर्को अनुरोध पनि गर्छु। तपाईँका कृपाले मलाई धृष्ट बनाइदिएको छ। मैले कारखानाका लागि छानेको जमीन पाण्डेपुर अघि पक्की सडकका छेउमा छ। रेलवे स्टेसन पनि त्यहाँबाट नजिक छ र छेउछाउमा थुप्रै गाउँहरू छन्। दस बीघाको प्लट छ। जमीन अहिले पर्ती नै छ। बस्तीका बस्तुभाउ त्यसमा चर्न आउँछन्। त्यसको मालिक भने एउटा अन्धो फकीर छ। त्यतातिर हावा खान गएका बेला उसलाई देख्नु पनि भएको होला।'

कुँवर साहेबले भने - 'हो, हो, हिजै त गएको थिएँ। त्यही कालो-कालो, दुब्लो-दुब्लो, सवारीसाधन पछिपछि कुदिहिँड्ने, हैन त ?'

जान सेवकले भने -'हो, त्यै हो। त्यो जमिन उसैको हो। तर ऊ त्यसलाई कुनै हालतमा पनि छोड्न चाहिरहेको छैन। मैले पाँच हजार सम्म त दिएँ तर मानेन। निकै सनकी जस्तो छ। भन्छ - म त्यहाँ धर्मशाला, मन्दिर र तलाऊ बनाउँछु। दिनभरी भिक्षा मागेर गुजारा चलाउँछ। त्यसमाथि इच्छा त्यति ठूला। टोलवासीका डरले ऊसँग मुद्दा-मामिला गर्न साहस पनि छैन। अनि मलाई निजी कुरामा सरकारको सहायता लिन पनि उचित लाग्दैन। तर यस्तो अवस्थामा त्यही उपाय नगरी होलाजस्तो पनि छैन। अनि यो फेरि त्यति धेरै निजी कुरा पनि रहेन। नगरपालिका र सरकारलाई यस कारखानाबाट वर्षको हजारौँ रूपैँया आमदानी हुन्छ, हजारौँ शिक्षित र अशिक्षित मनुष्यहरूको उपकार हुन्छ। यस हिसाबबाट हेर्दा यो सार्वजानिक काम हुन्छ र सरकारको सहायता लिने नियमको उल्लङ्घन पनि हुँदैन। हजुरले केही कोसिस गर्नुभए काम सजिलै हुने थियो कि !'

कुँवर साहेबले भने - 'मेरो कुनै दबाब त्यस फकीरमा चल्दैन। चली हाले पनि म उसबाट केही काम लिन चाहन्न।'

जान सेवकले भने - 'हजुरले एकपल्ट राजा साहेब चतारी.............।'

कुँवर साहेबले भने - 'अहँ, म उनलाई केही भन्न सक्तिनँ। उनी मेरा ज्वाईँ हुन् र यस्ता विषयमा उनीसित कुरा गर्नु नीति विरूद्ध हुन्छ। उहाँ तपाईँको अंशियार हुनुहुन्न र ?'

जान सेवकले भने - 'हुनुहुन्न। उहाँ आफैँ अथाह सम्पत्तिको मालिक भएर पनि धनीहरूको उपेक्षा गर्नुहुन्छ। उहाँका विचारमा कलकारखानाहरूले पुँजीवालाहरूको प्रभुत्व बढाएर जनतालाई अपकार गर्छन् रे। तिनै विचारले त उहाँलाई यहाँको प्रधान बनाएको हो।'

कुँवर साहेबले भन्नुभयो - 'यो त आआफ्नो सिद्धान्त न भयो। हामी द्वैध जीवन बाँच्छौँ। र मेरा विचारमा जनतावाद का प्रेमीहरू उच्च वर्गमा जति भेटिन्छन् त्यति निम्न वर्गमा पनि भेटिन्नन्। जे होस्, तपाईँ उहाँलाई भेट्नुहोस्। के गरूँ, सहरका छेउछाउमा कतै एक एकड जमिन पनि छैन, नत्र तपाईँलाई यो समस्या हुने थिएन। मेरा योग्य अरू केही काम भए म जहिल्यै हाजिर छु।'

जान सेवकले भने - 'म अब तपाईँलाई धेरै कष्ट दिन चाहन्न। म आफैँ उहाँसित भेटेर कुरागर्छु।'

कुँवर साहेबले भने - 'मिस सोफिया, जाति हुन्जेल त यहीँ बस्छिन् हैन त, तपाईँलाई केही आपत्ति त छैन।'

जान सेवकले त्यस विषयमा दुई-चार अरू कुरा गरेर त्यहाँबाट विदा भए। मिसेज सेवक पहिलेदेखि नै फिटनमा गएर बसिसकेकी थिइन्। प्रभु सेवक विनयसित बगैँचामा घुमिरहेका थिए।  विनयले आएर जान सेवकसित हात मिलाए। प्रभु सेवक भने अर्का दिन भेट्ने वाचा गर्दै बुबासँग हिँडे। बाटामा कुरा हुन थाले।

जान सेवकले भने - 'आज एउटा भेटमा त्यति काम भयो जति महिनौको दौड-धूपमा पनि सम्भव  हुँदैनथ्यो। कुँवर साहेब सज्जन मान्छे हुनुहुन्छ।  पचास हजारको सेयर लिनुभयो। यस्तै राम्रा मान्छे दुई-चार जना भेटिए भने नौका पार लाग्ने थियो।'

प्रभु सेवकले भने - 'यस घरका सबै प्राणीहरू दया र धर्मका पुतला छन्। विनय सिंह जस्तो वाक्-मर्मज्ञ त मैले देखेकै थिइनँ। मलाई त तिनसँग प्रेम भैसक्यो।'

'केही कामको कुरा गर्‍यौ कि गरेनौ ?'

'अहँ, तपाईँको जस्तो उनलाई कामका कुरामा अलिकति पनि रूची छैन। उहाँले सेवा-व्रत लिइसक्नु भएको छ। यतिका बेर आफ्नै समितिको मात्र चर्चा गरिरहनु भयो।'

'तिम्रो यो परिचयले चतारीका राजा साहेबमा केही प्रभाव पार्न सक्छ ? विनय सिंहले राजा साहेबलाई भनेर हाम्रो काम केही गर्न सक्नुहुन्छ ?'

'उहाँलाई कसले भन्ने ? म त आँट गर्न सक्तिनँ। उहाँलाई तपाईँले स्वदेश-अनुरागी सन्यासी सम्झिँदा भयो। मलाई पनि आफ्नो समितिमा आउन आग्रह गरिरहनु भएको छ।'

'गयौ हैन त !'

'गएको छैन। सोचेर उत्तर दिन्छु भनेको छु। सोच-विचार नगरीकन यति कठोर व्रत धारण गर्न कसरी सक्छु र ?'

'तर सोच्नैका लागि भनेर महिनौँ लगाउने होइन। दुई-चार दिनमा केही कामका कुरा गर्ने अधिकार पाएँ जस्तो लागेपछि आएर नाम लेखाउनु।' अनि पत्नीतिर फर्केर जान सेवकले भने - 'अनि तिम्रो रानीसँग चाहिँ कस्तो रह्यो त ?'

मिसेज सेवकले भनिन् - 'मलाई त तीदेखि घृणा पो लाग्यो। अहिले सम्म मैले यस्तो घमण्ड त कसैमा देखेकी थिइनँ।'

प्रभु सेवकले प्रतिवाद गरे - 'आमा तपाईँले घोर अन्याय गरिरहनु भएको छ।'

मिसेज सेवकले भनिन् - 'तिम्रा लागि देवी होलिन्, मेरा लागि त होइनन्।'

जान सेवकले भने - 'उहाँसँग तिमी मिल्दिनौ भन्ने मलाई पहिले नै लागेको थियो। कामका कुरा न तिमीलाई आउँछन् न उहाँलाई। तिमीहरूको काम भनेकै एक अर्काको दोष निकाल्नु हो। अनि सोफियालाई किन नल्याएको ?'

मिसेज सेवकले भनिन् - 'आए पो ल्याउने, घिसारेर ल्याउने हैन क्यारे !'

जान सेवकले भने - 'ऊ आफैँ न आएकी हो कि रानीले नदिएकी हुन् ?'

प्रभु सेवकले जबाफ दिए - 'ऊ त आउन तयार थिई तर उसमाथि धार्मिक अत्याचार नहोस् भन्ने सर्त राखेकी थिई ।'

जान सेवकले भने - 'यिनलाई त्यो सर्त किन मन्जुर हुन्थ्यो र !'

मिसेज सेवकले भनिन् - 'हो त्यस सर्तमा त म उसलाई घर लान सक्तिनँ। मेरा घरमा बस्ने हो भने मेरो कुरा मान्नै पर्छ।'

जान सेवक - 'तिमेरू दुवैको बुद्धिसँग चाहिँ केही सरोकार छैन। तिमी हठी छौ ऊ जिद्दी। उसलाई फकाई-फुल्याई गरेर चाँडो ल्याउनुपर्छ।

प्रभु सेवकले भने - 'आमाले आफ्नो हठ छोड्नु भएन भने ऊ आउँदिन।'

जान सेवकले भने - 'कहाँ जान्छे र ?'

प्रभु सेवकले भने - 'उसलाई कतै जानै पर्दैन। रानीले उसका लागि दिलोज्यान दिन्छिन्।

जान सेवकले भने - 'यो बेला मुढा चढ्ने त हैन। दुई मध्ये एकले त दब्नै पर्छ।'

सबैजना घर पुगेपछि गाडीको आवाज सुनेर ईश्वर सेवकले स्नेही स्वरले भने - 'सोफी आइन् हैन, ल आऊ म तिमीलाई अङ्कमाल गरूँ। ईसू मलाई आफ्नो शरणमा लेऊ।'

जान सेवकले भने - 'बुबा, ऊ अझै आउन सक्ने भएकी छैन। निकै अशक्त भएकी छे। दुई-चार दिन पछि आउँछे।'

ईश्वर सेवकले भने - 'गजब खुदाको ! उसको त्यस्तो स्थिति छ अनि तिमेरले उसलाई त्यत्तिकै छोडेर आयौ ? तिमेरका मनमा अलिकति पनि मान-अपमानको विचार आएन ? तिमेरको रगत सेतो भएकै हो ?'

मिसेज सेवकले भनिन् - 'तपाईँ गएर खुसामद गर्नुभयो भने आउँछे होला। मैले भन्दा त आइन। काखमा बोकेर ल्याऊँ भने केटाकेटी होइन।'

जान सेवक - 'बुबा, सोफी उहाँ आरामले बसिराखेकी छे। राजा-रानी दुवैले उसलाई माया गर्नुहुन्छ। साँचो कुरा गर्दा रानीले नै बिदा नदिएको हो।'

ईश्वर सेवकले भने - 'कुँवर साहेबसँग कामको कुरा केही भयो कि भएन ?'

जान सेवकले भने - 'हजुर, बधाई छ। पचास हजारको गोटी हात लागेको छ।'

ईश्वर सेवकले भने - 'धन्य हो, धन्य हो। ईसू मलाई आफ्नो छायामा राख।' यति भन्दै उनी आफ्नो आराम-कुर्सीमा बसे।

--

 

अर्को अङ्कमा क्रमशः ......

हिन्दीबाट अनुवादः कुमुद अधिकारी।

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :