अङ्क 45मङ्सिर 2068वर्ष 8

एक ढाकी माटो

-- माधवराव सप्रे

कुनै जमिन्दार श्रीमानको महलका छेउमा एउटी गरिब विधवाको झुप्रो थियो। जमिन्दार साहेब आफ्नो महलको हाता त्यस झुप्रोसम्म बढाउन चाहन्थे। विधवालाई अनेकौ पल्ट त्यो झुप्रो हटाउन भने पनि। तर ती विधवा त्यहाँ कैयौँ वर्षदेखि बसेकी थिइन्।

विधवाका प्रिय पति र एक्लो छोरो त्यसै झुप्रामा बितेका थिए। बुहारी पनि पाँच वर्षकी कन्यालाई छाडेर परलोक गएकी थिइन्। अब तिनै नातिनीमात्र वृद्धावस्था की साथी र सहारा थिईन्। आफ्नो पहिलेको स्थिति सम्झदैँ बेलाबेलामा ती विधवा कोकोहोलो गर्दै रून्थिन्। अझ छिमेकी जमिन्दार श्रीमानको कुरा सुनेपछि त उनी मृतप्राय भएकी थिइन्।

त्यस झुप्राप्रति तिनको यति ठूलो प्रेम थियो कि केही गर्दा पनि तिनले झुप्रो छाड्न चाहिनन्। जमिन्दारका सबै प्रयत्‍नहरू असफल रहे। त्यसपछि उनी जमिन्दारीको कुटिल चाल चल्न थाले। बाघको छाला काढ्ने क्षमता भएका वकिलहरूको थैली भरि दिएर अदालतद्वारा झुप्रामा कब्जा जमाए र विधवालाई त्यहाँबाट निकालिदिए। विचरी विधवा छेउछाउमा कतै शरण लिएर दिन काट्न थालिन्।

एक दिन जमिन्दार श्रीमान झुप्राका छेउमा डुल्दै कामदारहरूलाई काम अह्राइरहेका बेला विधवा हातमा एउटा ढाकी लिएर आइपुगिन्। श्रीमानले उनलाई देख्‍ने बित्तिकै हटाउन आफ्ना नोकरहरूलाई अह्राए। तर विधवाले अनुरोध गरिन् - 'महाराज, यो झुप्रो तपाईँकै भयो। म झुप्रो दावी गर्न वा लिन आएकी हैन। एउटा बिन्ती बिसाउन पाऊँ।'

जमिन्दारले स्वीकृतिसूचक टाउको हल्लाएपछि उनले भनिन् - 'महाराज, यो झुप्रो छुटेपछि मेरी नातिनीले केही खाएकी-पिएकी छैन। भन्छे आफ्नै घर जाने अनि मात्र खाने। केही नलागे पछि मैले यस झुप्राबाट एक ढाकी माटो लगेर त्यसैको चुलो बनाएर रोटी पकाएर ख्वाउने विचार गरे। यसमा मेरो आस नातिनीले रोटी खान्छे कि भन्ने मात्र हो। तपाईँले आज्ञा दिए म एक ढाकी माटो लैजाऊँ !' जमिन्दार श्रीमानले उनलाई आज्ञा दिए।

विधवा झुप्राभित्र छिरिन्। त्यहाँ छिर्ने बित्तिकै पुराना कुराको स्मृतिले उनका आँखाबाट धर्धरी आँसु खस्न थाले। जसोतसो आन्तरिक दुःखलाई सहँदै एक ढाकी माटो भरेर बाहिर लिएर आइन्। त्यसपछि जमिन्दारसँग प्रार्थना गर्न थालिन् - 'महाराज कृपया अलिकति ढाकी उचाल्न सहयोग गर्नुहोस् न, म टाउकामा बोक्छु।'

जमिन्दार पहिले त निकै रिसाए तर विधवाले बारम्बार हात जोडेर बिन्ती गरेपछि उनले कुनै नोकरलाई नअह्राई आफैँ ढाकी उचाली दिने निधो गरे। तर जसै उनले टोकरी समाते, उनलाई ज्ञात भयो, यो काम उनीबाट हुनेवाला छैन। त्यसपछि त उनले भए भरको शक्ति लगाएर ढाकी उचाल्न खोज्दा पनि एक हात उचाल्न सकेनन्। उनले लज्जित भएर भने - 'यो ढाकी म उचाल्न सक्तिनँ।'

यो सुनेपछि विधवाले भनिन् - 'महाराज, तपाई नरिसाउनु होला। तपाईँले यति जाबो एक ढाकी माटो त उचाल्न सक्नुभएन। यस झुप्रामा त यस्ता हजारौँ ढाकी माटो छ। तपाईँको जीवनभरि त्यत्रो माटाको भारी उचालिरहन सक्नुहुन्छ ? विचार गर्नुहोला।'

धनको मात लागेर गर्वित जमिन्दारले आफ्नो कर्तव्य बिर्सेका थिए। तर विधवाको भनाइ सुन्ने बित्तिकै उनका आँखा खुले। आफूले गरेको कुरामा पश्चाताप गर्दै जमिन्दारले विधवासँग क्षमा मागे र झुप्रो उनलाई फर्काइदिए।

***

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

 

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :