अङ्क 43साउन 2067वर्ष 7

रङ्गभूमि

(भाग- ३)

मिस्टर जान सेवकको बङ्गला सिगरामा थियो। उनका पिता ईश्वर सेवकले सेनाबाट पेन्सन पाएपछि त्यहाँ घर बनाएका थिए र अहिलेसम्म घरमा मालिक उनी नै थिए। उनका पुर्खाहरूको अत्तोपत्तो थिएन, न चासो र खोजीको विषय नै थियो। एउटा कुरा अवश्य थियो त्यो के भने प्रभु ईसा मसीहको शरणमा जाने गौरव उनका पितालाई थियो। उनलाई अझै पनि आफ्नो बाल्यावस्था केही याद आउँथ्यो। उनी आमासँग गङ्गास्नानका लागि जाने गर्दथे। आमाको दाह-संस्कार पनि बिर्सेका थिएनन्। आमाको देहान्तपछि उनका घरमा कैयन् सैनिकहरू पसेर पितालाई पक्रेर लगेको पनि उनको स्मृतिमा छ। त्यसपछिको स्मृति चाहिँ विसृङ्खल भएको छ। उनको गोरो कायाबाट, उनी उच्च वंशका थिए भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ र सायद उनका पूर्खाको निवास पनि यसै क्षेत्रमा हुँदो हो।

उनको बङ्गला सिगरामा त्यस बेला बनेको थियो जतिबेला जमिनको खासै मूल्य हुँदैनथ्यो। आँगनमा फूल-पातको साटो सागसब्जी र फलका रूखहरू थिए। गमलाहरू पनि सुरुचि र उपयोगिता अनुसार थिएनन्। परवल, फर्सी, सिमी आदिका लहराहरू थिए जसले बङ्गलाको शोभा बढाउनुका साथै सागसब्जी पनि दिन्थे। एउटा किनारामा खपटाको बरन्डा थियो, जसमा गाई-भैँसी बाँधिएका हुन्थे। अर्कातिर तबेला थियो। मोटरको सोख न बाबुलाई थियो न छोरालाई। बग्गी राख्दा किफायत पनि हुन्थ्यो र आराम पनि। ईश्वर सेवकलाई त मोटरहरूदेखि घृणा नै थियो। मोटरको ध्वनिले शान्ति भङ्ग हुन्थ्यो। बग्गीको घोडालाई आँगनमा लामो डोरीले बाँधेर छोडिन्थ्यो। तबेलाबाट बगैँचाका लागि मल प्राप्त भैहाल्थ्यो र एउटा सइसबाटै प्रायः काम चलिहाल्थ्यो। ईश्वर सेवक गृह-प्रबन्धमा निपुण थिए र घरका कार्यहरूमा उनको रुचि अलिकति पनि कम भएको थिएन। उनको आरामकुर्सी बङ्गलाको बार्दलीमा लडिरहन्थ्यो। उनी बिहानदेखि बेलुकासम्म त्यस कुर्सीमा बसेर जान सेवकको फिजुलखर्च र घरको बर्बादीको गनगन गरिरहन्थे। उनी अहिले पनि नियमित रूपमा घण्टादुएक जान सेवकलाई उपदेश दिइरहन्थे, सायद त्यही उपदेशको फल थियो जान सेवकको धन र मान दिनानुदिन बढिरहेको थियो। 'किफायती' उनका जीवनको मूल तत्व थियो जसको उल्लङ्घन उनलाई असह्य हुन्थ्यो। उनी आफ्ना घरमा धनको अपव्यय देख्‍न सक्तैनथे, चाहे त्यो पाहुनाको नै किन नहोस्। धर्मानुरागी यति थिए कि नबिराईकन दिनको दुईपल्ट गिर्जाघर जान्थे। त्यसका लागि उनको अलग्गै तामदान थियो। एकजना मान्छेले तामदान तानेर गिर्जाघरको द्वारसम्म पुर्‍याउँथ्यो। उसलाई उनी तुरुन्तै घर फर्काउँथे। त्यस ठाउँमा तामदान रुँगिरहन आवश्यक थिएन र उसले घर आएर अरू काम गर्न सक्थ्यो। प्रायःजसो उनी लिन आउने समय पनि भन्थे र एक-दुई घण्टापछि उसले फेरि तामदानमा हालेर तान्दै घर लिएर आउँथ्यो। फर्किँदा पनि उनी यथासक्य खाली हात फर्किँदैनथे। कहिलेकाहीँ दुई-चार वटा मेवा, सुन्तला र सेर-आधासेर मकै लिएर फर्किन्थे। गिर्जाघरको पादरीले उनको सम्मान गर्थे। उनको मण्डलीमा उनीजति बयोवृद्ध र धर्मको यतिसारो प्रेमी मानिस अर्को थिएन। उनी धर्मोपदेशहरूलाई तन्मयताका साथ सुन्थे र त्यति नै भक्तिका साथ कीर्तनमा भाग लिन्थे। उनको यो व्यवहारलाई आदर्श मान्न सकिन्थ्यो।

बिहानीको बेला थियो। मानिसहरू जलपान गरेर भर्खर मेचबाट उठेका थिए। जान सेवकले गाडी तयार गर्ने आदेश दिए। ईश्वर सेवक आफ्ना कुर्सीमा चियाको कप समातेर बसेका थिए र चियामा किन त्यति धेरै चिनी हालेको भनी गनगन गरिरहेका थिए- 'चिनी पेट फुटुन्जेल खानेकुरा त होइन अनि फेरि ढिलो पच्छ र महँगो पनि छ। आधाले नै चिया राम्रो बन्न सक्थ्यो। चिनी पेट भर्ने कुरा त हैन। सैयौँ पटक भनिसकेँ, तर कसले सुन्छ र ? मलाई त सबैले कुकुर न सम्झिन्छन्। कुकुर भुकेको कसले वास्ता गर्छ र ?'

मिसेज सेवकले भने धर्मानुराग र मितव्ययिताको पाठ राम्ररी अभ्यास गरेकी थिइन्। लज्जित हुँदै भनिन् - 'पिताजी, क्षमा गर्नुहोला। आज सोफीले चिनी बढी हालिछ। भोलिदेखि तपाईँले भन्नु पर्नेछैन। तर के गर्नु यहाँ फिक्का चिया त कसैलाई मनै पर्दैन।'

ईश्वर सेवकले उदास अनुहारले भने - 'मलाई के गर्नु छ र, प्रलयसम्म पर्खेर त बस्दिनँ, तर घर बर्बाद हुने लक्षण भने यिनै हुन्। ईसू मलाई आफ्नो शरणमा लेऊ।'

मिसेज सेवकले भनिन् - 'म भूल स्वीकार गर्छु। मैले चिनी अड्कलेर हाल्नुपर्थ्यो।'

ईश्वर सेवकले भने - 'अरे, यो आजको या नयाँ कुरा हो र ? दिनदिनै त यही हुन्छ। जानलाई लाग्छ, म घरको मान्छे, मै कमाउँछु, खर्च किन नगर्नु ? तर धन कमाउनु एउटा कुरा हो, त्यसको सद्‌व्यय गर्नु अर्को। चलाख मान्छे त्यसलाई भन्छन् जसले धनको उचित उपयोग गर्छ। यताबाट ल्याएर उता खर्च गर्‍यो, उतबाट ल्याएर यता, अनि फाइदा के भयो ? बरू नकमाएकै भलो। राम्रो जातको घोडा नकिन भनेर सम्झाइमात्र रहेँ। आवश्यकतै के थियो र ? घोडादौडमा भाग लिनु त छैन। एउटा टट्टूबाटै काम चलिहाल्थ्यो। यहाँ त कति न अरूको घोडाले जित्यो भने, इज्जत जाने जस्तो। टाढा जानु थिएन। टट्टू भएको भए छ सेरको साटो दुई सेर दाना खान्थ्यो। आखिर चार सेर दाना त त्यत्तिकै खेर गयो नि हैन। तर मैले भनेको कसले सुन्छ र ? ईसू मलाई आफ्नो शरणमा लेऊ। सोफी छोरी, यता आऊ, पवित्र श्लोकहरू सुनाऊ।'

सोफिया प्रभु सेवकका कोठामा बसेर ईसा मसीहको त्यस कथनमाथि चर्चा गरिरहेकी थिइन् जसमा गरिबहरूका लागि आकाशको राज्य हुन्छ र धनीहरूलाई स्वर्ग जान त्यति नै असम्भव हुन्छ जति उँटलाई सियोमा छिर्न, भन्ने कुरा थियो। उनलाई शङ्का लागिरहेको थियो, के दरिद्र हुनु स्वयम्‌मा कुनै गुण हो र धनी हुनु अवगुण ? उनका बुद्धिले यस कथनको सार्थकतालाई ग्रहण गर्न सकिरहेको थिएन। के ईसा मसीहले आफ्ना भक्तहरूलाई खुसी पार्न मात्रै धनको यति धेरै निन्दा गरेका हुन् ? पहिलेपहिले केवल दीनदुःखी, दरिद्र र समाजका पतीत जनताहरूले मात्र ईसा मसीहको शरण लिएका थिए। त्यसैले उनले धनको त्यति साह्रो अवहेलना त गरेका हैनन् ? शिरदेखि पाउसम्म अधर्म र अविचारमा डुबेका गरिबहरू पनि प्रशस्तै छन्। सायद तिनकै दुष्टता नै तिनीहरूको गरिबीको कारण होला। केवल दरिद्रताले मात्र ती सब पापहरूको प्रायश्चित गर्छ र ? हृदय ऐनाझैँ निर्मल भएका धनीहरू पनि प्रशस्तै छन्। के तिनीहरूको वैभवले तिनीहरूका सबै सत्कर्महरूलाई मटियामेट पार्छ र ?

सोफिया सत्यासत्यको निरूपणमा सधैँ व्यस्त रहन्थिन्। धर्मका तत्वहरूलाई बुद्धिको कसौटीमा जाँच्ने उनको स्वाभाविक गुण थियो। उनी तर्क र बुद्धिले स्वीकार नगरुन्जेल केवल धर्म-ग्रन्थका आधारमा कुनै सिद्धान्तलाई मान्न सक्तिनथिन्। उनका मनमा शङ्का उब्जिने बित्तिकै प्रभु सेवकको सहायताले निवारणको चेष्टा गर्थिन्।

सोफियाले भनिन् - 'म यस विषयमा निकैबेर देखि ध्यान दिइरहेकी छु तर पनि केही बुझिरहेकी छैन। मसीहले दरिद्रतालाई किन यति साह्रो महत्त्व दिएका र धन-वैभवलाई निषिद्ध भनेका ?'

प्रभु सेवकले भने - 'गएर मसीहालाई नै सोध न।'

सोफियाले भनिन् - 'तिमीलाई के लाग्छ ?'

प्रभु सेवकले भने - 'म केही बुझ्दिनँ र बुझ्न पनि चाहन्न। भोजन, निद्रा र विनोद यिनै मनुष्यका तीन तत्वहरू हुन्। यसदेखि बाहेक सबै गोरखधन्दा हो। म धर्मलाई बुद्धिदेखि एकदम अलग कुरा मान्छु। धर्मलाई तौलिनका लागि बुद्धि त्यति नै अनुपयुक्त हुन्छ जति बैगुन तौलिनका लागि सुनारको काँटा। धर्म धर्मै हो, र बुद्धि, बुद्धि नै। या त धर्मको प्रकाश यति तेजोमय छ कि बुद्धिका आँखा नै खुल्न पाउँदैनन्, या यति अन्धकार छ कि बुद्धिले केही देख्‍नै सक्तैन। व्यर्थका कुरामा टाउको घुमाउँछ्यौ। सुन्यौ आज बुबाले जाँदाजाँदै के भनेर जानुभयो ?'

सोफियाले भनिन् - 'मेरो ध्यान त्यतातिर गएन।'

प्रभु सेवक - 'मेसिनहरूको अर्डर तुरुन्तै दिनु अरे। उहाँले त्यो जमिन लिने निश्चय गरिसक्नुभएको छ। ठाउँ मन पर्‍यो रे र छिटोभन्दा छिटो शिलान्यास गर्न चाहनुहुन्छ। तर मलाई यस कामले विचलित बनाएको छ। मैले यो व्यवसाय सिक्न त सिकेँ तर साँच्चै कुरा गर्ने हो भने त्यहाँ पनि मेरो मन चाहिँ यसमा लागेको होइन। धेरैजसो समय दर्शन, साहित्य र काव्यको यात्रामा काटिन्थ्यो। त्यहाँका ठूल्ठूला विद्वान् र साहित्य-सेवीहरूसँग कुरा गर्दा जुन आनन्द आउँथ्यो त्यो कारखानामा कसरी आउँछ र ? साँच्चै भन्दा म त्यसैका लागि त्यहाँ गएको थिएँ। अब त सङ्कटमा परिसकेँ। यो काम जिम्मा लिइनँ भने बुबाको मन दुख्छ, उहाँलाई आफ्ना हजारौँ रूपैयाँ बर्बाद भएको लाग्ला। मेरो अनुहारदेखि नै घृणा गर्न थाल्नुहोला। काम सुरु गरूँ, मेरो अनिच्छाले लाभको साटो हानी भयो भने के गर्ने ! मलाई यस काममा अलिकति पनि रुचि छैन। बस्न एउटा झुप्रो र दर्शन अनि साहित्यका पुस्तकहरूले भरिएको एउटा पुस्तकालय भए पुग्यो। अरू कुनै कुराको इच्छा छैन। हजुर्बाले तिमीलाई बोलाउनुभयो। जाऊ नत्र उहाँ यहीँ आउनुहुन्छ र घण्टौँ बकवास गर्नुहुन्छ।'

सोफियाले भनिन् - 'यो विपत्ति मेरा टाउकामा नराम्ररी आइलाग्यो। पढ्न बस्ने बित्तिकै बोलाइहाल्नुहुन्छ। अचेल उत्पत्तिको कथा पढ्न लगाइरहनुभएको छ। मलाई त हरेक कुरामा शङ्का लाग्छ। केही भनूँ भने रिसाइहाल्नुहुन्छ। समय त्यत्तिकै बित्छ।'

मिसेज सेवक छोरीलाई बोलाउन आउँदै थिइन्। अन्तिम शब्दहरू उनका कानमा परे। रिसले रनक्क भइन्। भित्र पसेर भनिन् 'ठीक हो, ईश्वर ग्रन्थ पढ्नु बेकारको कुरा हो। मसीहको नाम लिनु पनि पाप हो। तँलाई त त्यही अन्धो माग्नेका कुरामा आनन्द आउँछ, हिन्दूहरूका गफ पढ्न मन लाग्छ, ईश्वर-वाक्य त तेरा लागि विषसमान छ। भगवान्‍ नै जानून् कहाँबाट तेरा दिमागमा त्यस्तो विचार जन्मियो। जतिबेला पनि पवित्र धर्मको निन्दा गरिरहेकै मात्र देख्छु। तैँले ईश्वर-वाक्यलाई कपोलकल्पित मान्छेस् तर अन्धाका आँखामा सूर्यको प्रकाश पुगेन भने त्यसमा सूर्यको दोष हुँदैन, अन्धा आँखाहरूकै दोष हुन्छ। आज संसारका तीन चौथाई मानिसहरूले जुन महात्मालाई मानेका छन्, जसका लागि ज्यान दिन पनि तयार छन्, त्यस्ता महात्मादेखि मन विमुख हुन्छ भने, त्यो तेरो दुर्भाग्य र दुर्बुद्धिकै कारण हो। भगवान्‌ले तेरो हालत देखेर दया गरून्।'

'महात्मा ईसाप्रति मेरा मुखबाट कहिल्यै कुनै अनुचित शब्द निस्केको छैन। मैले उहाँलाई धैर्य, त्याग र सद्‌विचारका अवतार मानेकी छु। उहाँलाई श्रद्धा गर्नुको आसय भक्तहरूले उहाँका उपदेशहरूमा भरेका असङ्गत कुराहरू र तिनबाट जन्माइएका विभूतिहरूलाई पनि श्रद्धा गरिरहनु पक्कै हैन। यस्तो अनर्थ प्रभु मसीहसँग मात्र गरिएको छैन, संसारका सबै महात्माहरूसँग गरिएको छ।'

'तैँले ईश्वर-ग्रन्थका प्रत्येक शब्दलाई श्रद्धा गर्नुपर्छ, नत्र तैँले आफूलाई प्रभु मसीहको भक्तमा गणना गर्न पाउँदिनस्।'

'त्यसो भए म बाध्य भएर उहाँको घेराबाट निस्कन्छु किनकि बाइबलका प्रत्येक शब्दहरूलाई म श्रद्धा गर्न सक्तिनँ।'

'तँ बिधर्मिणी र भ्रष्टा होस्। प्रभु मसीहले तँलाई कहिल्यै क्षमा गर्ने छैनन्।'

'यदि धार्मिक सङ्कीर्णताबाट टाढा बस्दा यी नामहरू दिइन्छन् भने मलाई स्वीकार गर्नमा कुनै आपत्ति छैन।'

मिसेज सेवकलाई अब असह्य भयो। उनले अहिलेसम्म घातक हमला गरेकी थिइनन्। मातृस्नेहले रोकेको थियो। तर सोफियाको बितन्डाले उनको धैर्य समाप्त पारिदियो। भनिन् - 'प्रभु मसीहदेखि विमुख हुनेलाई यस घरमा ठाउँ छैन।'

प्रभु सेवकले भने - 'आमा, तपाईँ घोर अन्याय गर्दै हुनुहुन्छ। सोफियाले प्रभु मसीहमा विश्वास छैन भनेर कहिले भनी र ?'

मिसेज सेवकले भनिन्- 'ऊ त्यही गरिरहेकी छे। तिमीले नबुझेका मात्रै हौ। ईश्वर ग्रन्थमाथि श्रद्धा नगर्नुको अर्थ अरू के हुनसक्छ र ? प्रभु मसीहका अलौकिक कार्यहरूमा अविश्वास र उनका नैतिक उपदेशहरूमा शङ्का हुन्छ ? यसले उहाँका प्रायश्चितका तत्वहरूलाई मान्दिन, उहाँका पवित्र आदेशहरूलाई स्वीकार गर्दिन।'

प्रभु सेवकले जबाफ दिए - 'मैले यसलाई मसीहको आदेशको उल्लङ्घन गरेको त कहिल्यै देखिनँ।'

सोफियाको जबाफ थियो - 'धार्मिक विषयहरूमा म आफ्नो बुद्धि र विवेकबाहेक अरू कसैको आदेश मान्दिनँ।'

मिसेज सेवकले भनिन्- 'म तँलाई आफ्नो सन्तान मान्दिनँ र तेरो अनुहार पनि हेर्न चाहन्नँ।'

यति भनेर उनी सोफियाको कोठामा पसिन्। टेबलमा राखिएका बौद्ध-धर्म र वेदान्तका कैयन् ग्रन्थहरू निकालेर बरन्डामा फ्याँकिदिइन्। आवेशमा ती ग्रन्थलाई कुल्चँदै बाहिर गएर ईश्वर सेवकसँग भनिन् - 'बाबा, तपाईँले सोफीलाई बिनासित्तिमा बोलाइरहनुभएको छ। ऊ चाहिँ प्रभु मसीहको निन्दा गर्दै छे।'

ईश्वर सेवक यसरी तर्सिए मानौँ जिउमा बल्दै गरेको कोइला परेको होस् र आफ्ना ज्योतिविहीन आँखाहरूलाई उघारेर भने - 'के अरे, सोफी प्रभु मसीहको निन्दा गर्दै छे अरे ? सोफी !'

मिसेज सेवकले भनिन् - ' हो, सोफी। भन्छे उसलाई प्रभु मसीहका विभूतिहरूमाथि, उहाँका उपदेश र आदेशहरूमाथि विश्वास छैन रे।'

ईश्वर सेवकले गहिरो सास तानेर भने - 'प्रभु मसीह, मलाई आफ्नो शरणमा लेऊ। आफ्ना भड्किएका भेडाहरूलाई सत्मार्गमा ल्याऊ। कहाँ छे सोफी ? मलाई उसकहाँ लैजाऊ। मेरो हात पक्रेर उठाऊ। खुदा, मेरी नातिनीको हृदय आफ्ना ज्योतिले जगाऊ। म उसका खुट्टा समाउँछु, उसलाई मनाउँछु, उसलाई दीनताले फकाउँछु। मलाई उसकहाँ पुर्‍याऊ।'

मिसेज सेवकले भनिन्- 'मैले त गर्दागर्दा हारिसकेँ। उसलाई खुदाले नै सरापेका छन्। म त्यसको अनुहार हेर्न पनि चाहन्नँ।

ईश्वर सेवकले भने - 'त्यस्तो कुरा नगर। ऊ पनि मेरै रगत हो, मेरै ज्यान हो, मेरो प्राण हो। म उसलाई हृदयमा राख्छु। प्रभु मसीहले पनि विधर्मीहरूलाई अँगालो मार्नुभएको थियो, कुकर्मीहरूलाई शरण दिनुभएको थियो, उहाँले मेरी सोफियालाई पक्कै क्षमा गर्नुहुनेछ। हे ईसू मलाई शरणमा लिनुहोस्।'

यतिभन्दा पनि मिसेज सेवकले उनलाई सहारा दिइनन् र ईश्वर सेवक आफैँ लट्ठी टेक्दै सोफीका कोठातिर हिँडे र ढोकामा पुगेर भने - 'नानी सोफी, कहाँ छ्यौ ? यता आऊ नानी, तिमीलाई अँगालामा बाधूँ। मेरा मसीह ईश्वरको प्यारो सन्तान हुनुहुन्थ्यो, उहाँ दीनहरूको सहायक, निर्बलहरूको रक्षक, दरिद्रहरूको मित्र, डुब्दै गरेकाको सहारा, पापीहरूको उद्धारक, दुःखीहरूलाई पार गर्नेवाला हुनुहुन्थ्यो। यस्तो कुन अवतार छ जसको यति ठूलो काख होस्, जसमा संसारका पापहरू र नराम्रा कामहरू अटाउन्। उहाँ नै यस्तो अवतार हो जसले दुरात्माहरूलाई, अधर्मीहरूलाई, पापीहरूलाई मुक्तिको सूचना दिनुभयो। नत्रभने हामीजस्ता मलिन आत्माहरूको मुक्ति कहाँ सम्भव थियो र ? हामीलाई तार्ने को थियो र ?'

यति भनेर उनले सोफीलाई छातीमा टाँसे। आमाका कठोर शब्दहरूले उनको निर्बल क्रोधलाई जगाइदिएको थियो। आफ्ना कोठामा आएर उनी रोइरहेकी थिइन्। मन बारम्बार उद्विग्न भइरहेको थियो। सोच्थिन् - 'अहिल्यै, तत्क्षण घर छाडेर निस्कीजाऊँ । के यो अनन्त संसारमा मेरा लागि ठाउँ छैन र ? आफू परिश्रम गर्न सक्छु, आफ्नो भार पनि सम्हाल्न सक्छु। आत्मस्वतन्त्रताको हत्या गरेर यदि जीवनका चिन्ताहरूबाट निवृत्ति हुने भए त के ? मेरो आत्मा यति तुच्छ बस्तु त हैन कि पेटै पाल्नका लागि त्यसको हत्या नै गर्नु परोस्।'

प्रभु सेवक आफ्नी बहिनीसँग सहानुभूति राख्थे। धर्ममाथि उनी सोफियाभन्दा पनि कम श्रद्धा राख्दथे। तर उनी आफ्ना स्वतन्त्र विचारहरूलाई मनमै सञ्चित गरेर राख्थे। गिर्जाघर पनि जान्थे, पारिवारिक प्रार्थनामा पनि भाग लिन्थे, यहाँसम्म कि धार्मिक भजनहरू पनि गाउँथे।  उनी धर्मलाई गम्भीर विचारको क्षेत्रभन्दा बाहिरको कुरा मान्थे। उनी गिर्जाघर त्यही भाव लिएर जान्थे जुन थिएटर जाँदाको हुन्थ्यो। पहिले आफ्नो कोठाबाट बाहिर हेरे कतै आमाले हेरिरहेकी त छैनन्। नत्र बज्र आफ्नै शिरमा पनि बज्रिन सक्थ्यो। त्यसपछि चुपचाप कोठाबाट निस्केर सोफिया छेउमा गएर भने- 'सोफी किन केटाकेटी बन्छ्यौ ? सर्पका मुखमा औँलो हाल्नु कहाँको बुद्धिमानी हो ? आफ्ना विचारहरू मनमै राख न। जुन कुरा मान्न मन लाग्छ मान, नलागे नमान। यसरी ढोल बजाएर के फाइदा ? समाजको अमिल्दो बनेर के फाइदा ? कसले तिम्रो मनमा हेर्छ र ?'

सोफियाले दाइलाई अवहेलनाको दृष्टिले हेरेर भनिन् - 'धर्मका विषयमा म आफ्ना कर्मलाई वचनअनुसार नै राख्‍न चाहन्छु। चाहन्छु दुवैबाट एउटै स्वर निस्कियोस्। धर्मको ढोङ गर्नु मेरो क्षमताबाहिरको कुरा हो। आत्माको आवाजका लागि म संसारका सबै दुःखहरू झेल्न तयार छु। यदि यस घरमा मेरा लागि कुनै स्थान छैन भने ईश्वरले बनाएको विस्तृत संसार त छ। कहीँ कतै निर्बाह गरिहाल्छु। म सारा बिडम्बनाहरू सहन्छु, लोकनिन्दाको पनि मलाई चिन्ता छैन तर आफ्नै नजरबाट तल झरेर म बाँच्न सक्तिनँ। मेरा लागि चारै दिशाका द्वारहरू बन्द भएको मान्दा पनि म आत्मालाई बेच्नुको साटो भोकै मर्न धेरै राम्रो मान्दछु।'

प्रभु सेवकले भने- 'दुनियाँ तिमीले बुझेभन्दा धेरै साँघुरो छ।'

सोफियाले भनिन् - 'चिहानका लागि त ठाउँ भेटिइहाल्छ नि।'

अचानक ईश्वर सेवकले सोफियालाई अँगालो हाले र भक्तिले गद्‌गद् भएका नेत्रका जलले उनको हृदयलाई शान्त पार्न थाले। सोफियालाई उनको श्रद्धालुपन देखेर दया जाग्यो। कुन त्यस्तो निर्दयी प्राणी होला जसले सोझो बालकको काठको घोडाको निन्दा गरेर उसको मन दुःखाओस्, उसका मधुर सपनाहरूलाई विसृङ्खलित गरोस्।

सोफियाले भनिन् - 'हजुर्बा, तपाईँ यो कुर्सीमा आएर बस्नुहोस्। तपाईँलाई उभिन गाह्रो हुन्छ।'

ईश्वर सेवकले भने - 'तिमीले आफ्नै मुखले प्रभु मसीहमा विश्वास गर्छु नभनुञ्जेल म तिम्रो द्वारमा भिखारीझैँ यसरी नै बसिरहन्छु।'

सोफियाले भनिन् - 'हजुर्बा, मैले प्रभु मसीहमा विश्वास गर्दिनँ या उहाँमा श्रद्धा गर्दिनँ भनेर कहिल्यै भनेकै छैन। म त उहाँलाई महान् आदर्श पुरुष, क्षमा तथा दयाका अवतार नै मान्छु र मानिरहन्छु।'

ईश्वर सेवकले सोफियाको निधार चुमे र भने- 'बस्, मेरो चित्त शान्त भयो। ईसू, मलाई शरणमा लेऊ। अब म बस्छु, मलाई ईश्वर वाक्य सुनाऊ, कानहरूलाई प्रभु मसीहका वाणीहरूले पवित्र गर।'

सोफियाले नाईँ भन्न सकिनन्। 'उत्पत्ति'को एउटा श्लोक लिएर पढ्न थालिन्। ईश्वर सेवक आँखा बन्द गरेर कुर्सीमा बसे र तन्मयताका साथ सुन्न थाले। मिसेज सेवकले यो दृश्य देखिन् र विजय गर्वले मुस्कुराउँदै त्यहाँबाट हिँडिन्।

समस्या त हल भयो तर ईश्वर सेवकको मलमले उनको अन्तस्करणको घाउ जाती भएको थिएन। दैनन्दिन उनका मनमा धर्मसम्बन्धी शङ्काहरू उब्जिरहन्थे र उनलाई घरमा बसिरहन गाह्रो लाग्थ्यो। विस्तारै प्रभु सेवकको सहानुभूति पनि क्षीण हुन थालेको थियो। जान सेवकलाई उनको मानसिक विप्लव निवारणका लागि आफ्नो व्यावसायिक कामबाट फुर्सद नै थिएन। मिसेज सेवक सम्पूर्ण निरङ्कुशता सहित उनीमाथि शासन गर्दथिन्। सोफियाका लागि सबैभन्दा कठिन परीक्षा ईश्वर सेवकलाई बाइबल पढेर सुनाउँदा हुन्थ्यो। यसबाट बच्नका लागि उनी नित्य नयाँ बहानाहरू खोज्थिन्। जसका कारण उनलाई आफ्नै कृत्रिम जीवनदेखि घृणा लाग्थ्यो। उनलाई बारम्बार घर छोडेर बाहिर कतै जाने र स्वाधीन भएर सत्यासत्यको खोजी गरौँझैँ लाग्थ्यो तर त्यही इच्छालाई व्यवहारमा उतार्न खोज्दा उनी सङ्कोचले विवश हुन्थिन्। पहिलेपहिले प्रभु सेवकसँग आफ्ना शङ्काहरू व्यक्त गरेर हलुका हुन्थिन् तर प्रभु सेवकको उदासीनतासँगै उनमा पनि उसप्रति आदर घट्तै गइरहेको थियो। उनलाई लाग्थ्यो प्रभु सेवकको मन भोग र विलासको दास हो, जसलाई सिद्धान्तसित कुनै सरोकार छैन। यहाँसम्म कि प्रभु सेवकका काव्य-रचनाहरू, जुन उनी ध्यान दिएर सुन्ने गर्थिन्, ती पनि कृत्रिम भावले भरिपूर्ण लाग्थे। उनी टाउको दुखेको बहाना बनाएर टार्थिन् र मनमनै सोच्थिन् - यिनलाई यी पवित्र आवेगहरूलाई व्यक्त गर्ने के अधिकार छ जसका आधारहरू आत्म-दर्शन र अनुभवमा छैनन्।

एकदिन घरका सबैजना गिर्जाघर जान लाग्दा सोफियाले टाउको दुखेको बहाना बनाइन्। यतिञ्जेल त उनी शङ्का, उपशङ्का हुँदाहुँदै पनि हरेक आइतबार गिर्जाघर जाने गर्थिन्। प्रभु सेवकले उनको मनोभाव बुझे र भने - 'सोफी, गिर्जाघर जानका लागि तिमीलाई के आपत्ति छ ? त्यहाँ गएर आधाघण्टासम्म चुप लागेर बस्नु कुनै गाह्रो काम हैन।'

प्रभु सेवक सधैँ आनन्दले गिर्जाघर जाने गर्थे। उनलाई तडक-भडक, पाखण्ड, ढर्रा र बनावटीपन आदिका दार्शनिक विषयहरूमा मीमांशा गर्नका लागि सामग्री जम्मा गर्ने अवसर जुर्थ्यो। सोफियाका लागि भने साधना कुनै विनोदको वस्तु नभएर शान्ति र तृप्तिको वस्तु थियो। भनिन्- 'तिम्रा लागि सजिलो होला, मेरा लागि छैन।'

प्रभु सेवकले भने - 'किन आफ्नो ज्यान खतरामा हाल्दैछ्यौ। आमाको स्वभाव त जानेकै छ्यौ ?'

'मैले तिमीसँग सल्लाह मागेको हैन। आफ्नो कामको जिम्मेवारी म आफैँ लिन सक्छु र त्यसका लागि तयार पनि छु।'

त्यसैबेला मिसेज सेवकले आएर सोधिन् - 'सोफी, गिर्जाघर जान पनि नसक्ने गरी कपाल दुख्यो ?'

सोफियाले भनिन् - 'जान त सक्छु तर जान चाहन्नँ।'

मिसेज सेवकले सोधिन् - 'किन ?'

'मेरो इच्छा। मैले गिर्जाघर जान्छु भनेर प्रतिज्ञा त गरेकी छैन।'

'हामी कतै मुख देखाउन लायक नरहौँ भन्ने तेरो इच्छा हैन त ?'

'बिलकुलै हैन, म त यति चाहन्छु कि मलाई गिरजाघर जानका लागि दबाब नदिइयोस्।'

ईश्वर सेवक पहिले नै आफ्नो तामदानमा हिँडिसकेका थिए। जान सेवकले आएर सोफियालाई सोधे - 'कपाल निकै दुखेको छ ? म फर्किँदा औषधि लिएर आउँला, पढ्न अलि कम गरेर घुम्न जाने गर।'

यति भनेर उनी प्रभु सेवकसित फिटनमा आएर बसे। तर मिसेज सेवक त्यति सजिलै सोफियालाई छोड्ने पक्षमा थिइनन्। भनिन् - 'तँलाई प्रभु ईसुप्रति त्यति साह्रो घृणा छ ?'

सोफियाले जबाफ दिइन् - 'म उहाँलाई हृदयदेखि नै श्रद्धा गर्छु।'

'तँ झूटो बोल्छेस् !'

'हृदयमा श्रद्धा नभए म यो कुरा कहिल्यै बोल्ने थिइनँ।''

'तँ प्रभु मसीहलाई आफ्नो मुक्तिदाता मान्छेस् ? तलाईँ उहाँले उद्धार गर्नुहुन्छ भन्ने विश्वास छ ?'

'पटक्कै छैन। मलाई विश्वास छ, मेरो मुक्ति यदि हुन्छ भने मेरै कर्महरूबाट हुन्छ।'

'तेरा कर्मले तेरा मुखमा मोसो मात्रै लाग्छ, मुक्ति त परै जाओस्।'

यति भनेर मिसेज सेवक फिटनमा आएर बसिन्। साँझ परिसकेको थियो। सडकमा ईसाइहरूका दलका दल ओभरकोट लगाएर, माघको जाडोमा खुम्चिँदै तर खुसी हुँदै गिर्जाघर गइरहेका थिए। तर सोफियालाई सूर्यको मलिन ज्योति पनि असह्य भैरहेको थियो। उनी लामो निश्वास तानेर बसिन्। 'तेरा कर्मले तेरा मुखमा मोसो मात्रै लाग्छ' यो वाक्यले उनको अन्तस्करणलाई भालाले झैँ घोचिरहेको थियो। सोच्न थालिन् - 'मेरो स्वार्थ-सेवाको यही नै उचित दण्ड हो। म पनि कस्ती, केवल रोटीका लागि आफ्नो आत्माको हत्या गरिरहेकी छु। अपमान र अनादरका झोँक्काहरू सहिरहेकी छु। यस घरमा मेरा हितैषी को छन् र ? को छ जसले म मरेको खबर सुनेर दुईचार थोपा आँसु बगाओस्। सायद मेरो मृत्युले यिनीहरूलाई खुसी दिन्छ होला। म यिनका नजरमा त्यति तल झरिसकेँ। धिक्कार छ यस्तो जीवनप्रति। मैले देखेकी छु - हिन्दूहरूका घरमा भिन्न मतका मानिसहरू कति प्रेमले मिलेर बस्छन्। बाबु सनातन धर्मी छ भने छोरो आर्यसमाजी। पति ब्रह्मसमाजको हो भने पत्‍नी पाषाण-पूजक। सबैले आआफ्नो धर्म पालना गरेकै छन्। कसैले कसैलाई केही भन्दैन। हाम्रामा चाहिँ आत्मालाई कुल्चिएका कुल्चियै छन्। अनि फेरि ठोकुवा गर्छन् हाम्रो शिक्षा र सभ्यता विचार-स्वतन्त्रताको पोषक हो रे। हाम्रामा पनि प्रभु सेवकजस्ता उदार विचारका मान्छे नभएका होइनन् यथार्थमा उनको उदारता विवेकशून्यता मात्र हो। यस्ता उदार भन्दा त अनुदार नै राम्रा। अनुदारहरूमा केही विचार त हुन्छ नै, बहुरूपी त हुँदैनन् उनीहरू। आमालाई त्यस्तो के विचार आउँछ जसले बारम्बार मलाई शब्दबाणले प्रहार गर्नुहुन्छ। उहाँका मनमा मेरो अरू कोही छैन, ठाउँ-ठेगान केही छैन भन्ने लाग्दो हो। म पनि उहाँलाई देखाइदिन्छु कि म आफ्ना खुट्टामा उभिन सक्छु भनेर। अब पनि यस घरमा बसिरहनु नरकबास समान हुनेछ। यस्तो बेइमानीको रोटी खानु भन्दा त भोकै मर्न राम्रो। जे होस्, मान्छे हाँसे हाँसून्, स्वतन्त्र त हुन्छु। कसैका व्यङ्ग्यवाण त सहनु पर्दैन। '

यस्तै कुरा सोच्दै कुनै स्थान निश्चित नगरी सोफिया आँगन बाहिर निस्किइन्। उनलाई त्यस घरको वायु पनि दूषित लागिरहेको थियो। उनी हिँड्दै गइन् तर मनमा लगातार कहाँ जाऊँ भन्ने प्रश्न उठिरहन्थ्यो। हिँड्दै उनी बाक्लो बस्ती भए ठाउँमा पुगिन् जहाँ उनलाई आवारा केटाहरूले जिस्क्याउन थाले। तर उनी लाजले शिर निहुर्‍याउनुको साटो ती कुवासनामयी दृष्टिहरूको जबाफ घृणायुक्त आँखाहरूले दिँदै जान्थिन्, जसरी बेगवान् जलधारा ढुङ्गाहरूलाई लत्याउँदै अगाडि बढ्छ। हिँड्दाहिँड्दै उनी दशाश्वमेध घाटतिर जाने खुला सडकमा आइपुगिन्।

उनलाई लाग्यो खोलाका किनारतिर डुल्दै जाऊँ, कतै कुनै सज्जनसँग भेट भैहाल्छ कि ! दुईचार जनासँग नभेटी, उनीहरूलाई आफ्नो हालत नबताई, कसले सहानुभूति प्रकट गर्ला र ? कसले हृदयको कुरा जानेको छ ? त्यसै पनि सहृदयी मानिसहरू सौभाग्य विना भेटिँदैनन्। आफ्नै मातापिता शत्रु भएका बेला अरूबाट के आशा गर्न सकिन्छ र ?

यस्तै नैराश्य भाव लिएर उनी हिँड्दै गर्दा ठूलो दरबार देखियो जस अगाडि ठूलो हरियो मैदान थियो। भित्र जानका लागि ठूलो फाटक थियो र त्यसमाथि सुनौलो गजुर थियो। त्यस फाटकबाट भवनसम्म सुन्दर बाटो थियो जसका दुवैपट्टि लहरा र गुलाबका ड्याङहरू थिए। ती हरिया घाँसमा बसेर कैयन् नर-नारीहरू माघको शीतल वायुको आनन्द लिइरहेका थिए। कोही पल्टिएका थिए र कोही अडेस लाग्ने कुर्सीहरूमा बसेर सिगरेट पिइरहेका थिए।

सोफियाले सहरमै यस्तो रमणीय स्थान देखेकी थिइनन्। उनलाई सहरको मध्य भागमा भएको यस्तो स्थानले आश्चर्यमा पारिदियो। उनी एउटा बेन्चमा बसिन् र सोच्न थालिन् - अब त मानिसहरू चर्चबाट आए होलान्। मलाई घरमा नदेखेर छक्क पर्लान्, सोच्लान् कतै घुम्न गएकी होली। म रातभरी यहाँ बसे पनि कसैलाई चिन्ता हुनेछैन। सबै आरामले खाइपिई गरेर सुत्‍नेछन्। अँ हजुर्बालाई चाहिँ दुःख लाग्नेछ, त्यो पनि बाइबल पढेर सुनाउने कोही भएन भनेर। आमालाई त खुसी नै लाग्ला किनकि आँखाबाट पर त गई। मेरो परिचय पनि कसैसँग छैन। त्यसैले त 'सबैँसँग भेटघाट गरिरहनुपर्छ कहिले के पर्छ थाहा हुन्न' भनेको होला। कैयन् वर्ष बिते र पनि कसैसँग मित्रता भएन। नैनितालमा मसँग एउटी रइसकी छोरी पढ्‌थिन्, कति राम्रो नाम थियो - इन्दु। कोमल स्वभावकी थिइन्। कुरैपिच्छे प्रेम बर्सिन्थ्यो। हामी अँगालो हालेर डुलिहिँड्थ्यौँ। त्यसबेला त्यहाँ इन्दु जति राम्री र सुशील केटी कोही थिएन। मेरा र उनका विचारहरूमा कति सादृश्य थियो। कतैबाट उनको ठेगाना भेटे पनि जाने थिएँ र पाँचदस दिन पाहुना लाग्ने थिएँ। उनका पिताको राम्रो नाम थियो - कुँवर भरतसिंह। पहिले यो कुराको ध्यानै भएन नत्र पोस्टकार्ड पठाउँथे। मलाई बिर्सेकी त पक्कै छैन होला, त्यति निष्ठुर पनि त नहोली। कमसेकम मानव चरित्रको अनुभव त हुने थियो।

हामीलाई बाध्यतामा त्यस्ता मानिसका सम्झनाहरू पनि आउँछन् जसलाई हामीले बिर्सिसकेका हुन्छौँ। विदेशमा आफ्ना टोलको हजाम या मेतर नै भेटिए पनि हामी तिनीहरूलाई अँगालामा बाँध्छौँ, चाहे देशभित्र हुँदा एकै वाक्य नबोलौँ।

 

क्रमशः

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :