अङ्क ४९भदौ २०७२वर्ष १२

गताङ्कबाट जारी

 

रङ्गभूमि-९

 

-मुन्सी प्रेमचन्द

 

ताहिर अलीलाई डरले परास्त गर्‍यो। स्वामीभक्ति र कर्तव्य पालनाले ईश्वरीय कोपको प्रतिकार गर्न सकेन।

--

चतारीका राजा महेन्द्रकुमार सिंह युवावस्थामै आफ्न कार्यदक्षता र वंश-प्रतिष्ठाका कारण म्युनिसिपालिटीका प्रमुख(प्रधान)मा निर्वाचित भएका थिए। विचारशीलता उनको चरित्रको दिव्य गुण थियो। रइसहरूको विलासलोलुपता र सम्मानप्रेम उनको स्वभावमा लेसमात्र पनि थिएन। साधारण वस्त्र लगाउँथे, ठाट-बाट घृणा गर्थे र व्यसनले त उनलाई छोएको पनि थिएन। घोडादौड, सिनेमा, थिएटर, राग-रङ, सयर र सिकार; बुद्धिचाल वा तास खेलाइको कुनै प्रयोजन उनलाई थिएन। हो, केही थियो भने त्यो थियो उद्यान सेवासँग प्रेम। उनी नित्य घण्टा दुई घण्टाका लागि आफ्नो वाटिकामा काम गर्थेँ। बाँकी रहेको समय नगरको निरीक्षण र नगर-संस्थाहरूको सञ्चालनमा बिताउँथे। राज्याधिकारीहरूसँग उनी आवश्यकता बिना धेरै कम भेट गर्थे। उनको कार्यकालमा हाकिमका बङ्गलाहरू भएका ठाउँमा मात्र ध्यान दिइँदैन थियो, नगरका अँध्यारा गल्लीहरू, दुर्गन्धले भरिएका नालाहरू, विस्तृत सडकहरू र विनोद-स्थानहरूको सफाई पनि त्यत्तिकै जरूरी ठानिन्थ्यो। त्यसैले ठूलाबडाहरू उनीबाट टाढै रहन्थे, उनलाई दम्भी र अभिमानी सम्झिन्थे। तर नगरका सानाभन्दा साना मानिसले उनमा अभिमान वा अविनयको गुनासो गरेका थिएनन्। जहिले पनि जुनसुकै प्राणीसँग पनि प्रसन्न मुख लिएर भेट गर्थे। जनताले नियम उल्लङ्घन गरेर उनीहरूलाई जरिवाना तिराउने आवश्यकता धेरै कम पर्दथ्यो। उनको प्रभाव र सद्भावले कठोर नीतिहरूलाई छोपेर राखेका थिए। उनी अत्यन्त मितभाषी थिए। वृद्धावस्थामा मौन विचार-प्रौढताको द्योतक हुन्छ, र युवावस्थामा विचार-दारिद्र्यको; तर राजा साहेबको वाक्-संयमले यस धारणालाई असत्य सिद्ध गरेको थियो। उनका मुखबाट निस्केका हरेक कुराहरू विवेक र विचारले परिष्कृत हुन्थे। ऐश्वर्यवान् ताल्लुकेदार भएर पनि उनको झुकाव साम्यवादतिर थियो। सम्भवतः यो उनको राजनैतिक सिद्धान्तहरूको प्रतिफल थियो; किनकि उनको शिक्षा, उनको प्रभुत्व, उनको परिस्थिति, उनको स्वार्थ सबै यस झुकावका प्रतिकूल थिए; तर उनको संयम र अभ्यासले यी सबैलाई उनको विचार-क्षेत्रबाट निकालेर स्वभावमा मिसाइदिएको थियो। नगर निर्वाचन-क्षेत्रहरूको परिमार्जनमा उनको भूमिका प्रमुख थियो। त्यसैले सहरका अन्य रइसहरू उनीसँग जोगिन्थे र उनको जनवादलाई आफ्नो अधिकार रक्षाको साधन मात्र मान्थे। उनले दीर्घकालिन रूपमा त्यस्तो सामान्य पदमा बसिरहनका लागि त्यस्तो आवरण धारण गरेका थिए। पत्रिकाहरूमा कहिलेकाहीँ यस सम्बन्धी टीका-टिप्पणीहरू पनि हुन्थे, तर राजा साहेब त्यसको प्रतिवाद गर्नका लागि आफ्नो बुद्धि र समय खर्चिँदैनथे। यशस्वी बन्नु उनको जीवनको प्रमुख उद्देश्य थियो। तर उनलाई त्यस्तो महान पदमा पुग्नका लागि सेवा, त्यो पनि निस्वार्थ सेवा बाहेक अन्य कुनै तरिका छैन भन्ने पनि राम्ररी थाहा थियो।

बिहानीको समय थियो। राजा साहेब स्नान-ध्यानबाट निवृत्त भएर नगरको निरीक्षण गर्न हिँड्न आँटेका थिए। त्यत्तिकैमा जान सेवकको भिजिटिङ कार्ड आइपुग्यो। जान सेवकको राज्यका अधिकारीहरूसँग धेरै मेलजोल थियो र उनको सिगरेट कम्पनीका धेरैजसो साझेदार पनि तिनै अधिकारीहरू थिए। राजा साहेबले कम्पनीको नियमावली पढेका थिए; तर जान सेवकसँग उनको भेट कहिल्यै भएको थिएन। दुवैले एक-अर्कालाई अविश्वास गर्थे, जसको आधार हल्ला मात्र हुन्थ्यो। राजा साहेब उनलाई चाप्लुस(खुसामदी) र समय-सेवक मान्थे। जान सेवकलाई भने राजा साहेब एउटा रहस्यझैँ लाग्थे। हिजो राजा साहेब इन्दुलाई भेट्न गएका थिए। त्यहीँ उनको भेट सोफियासँग पनि भयो। जान सेवकको केही चर्चा पनि भयो। त्यसबेला जान सेवकका विषयमा आफ्नो धारणामा निकै परिवर्तन आएको थियो। उनी कार्ड पाउने बित्तिकै बाहिर निस्किए, र जान सेवकसँग हात मिलाएर बैठककोठामा लिएर आए। जान सेवकलाई कोठा कुनै योगीको कुटीझैँ लाग्यो, जहाँ सजावट र अलङ्कारहरूको नामोनिसान थिएन। केही कुर्सीहरू र एउटा टेबलदेखि बाहेक त्यहाँ केही थिएन। अँ केही थियो भने कागज र समाचारपत्रका थुप्राहरू टेबलमाथि छरपस्ट थिए।

हामी कसैलाई भेट्नासाथ आफ्नो सूक्ष्म-बुद्धिमार्फत उसले आफ्नो विषयमा राखेका भावनाहरू जान्दछौँ। मिस्टर सेवकलाई केही बेर त मुख खोल्ने साहसै भएन, कुनै समयोचित भूमिका पनि दिमागमा आएन। एकजना पृथ्वीसँग र अर्को आकाशसँग त्यस्तो अगम्य सागर पार गर्ने सहायता मागिरहेको थियो। राजा साहेबलाई भूमिका त दिमागमा आएको थियो - सोफियाको अनुपम त्याग र सेवाको प्रशंसाभन्दा ठूलो कुन भूमिका हुन सक्थ्यो र। तर कतिपय मानिसहरूलाई कसैको प्रशंसा गर्न जति सङ्कोच लाग्छ त्यति नै सुन्न पनि। जान सेवकमा यस्तो सङ्कोच थिएन। उनी निन्दा गर्न र प्रशंसा गर्न दुवैमा समान रूपले कुशल थिए। भने - तपाईँको दर्शन गर्ने इच्छा धेरै दिनको थियो; तर परिचय नभएकाले आउन सकिनँ। र, साँच्चिकै भन्दा (हाँसेर) अधिकारीहरूका मुखहरूबाट तपाईँका विषयमा यस्ता-यस्ता कुरा सुन्थेँ, जसले यस इच्छालाई व्यक्त हुनै दिँदैनथ्यो। तर निर्वाचन क्षेत्रहरूलाई सुगम बनाउनका लागि तपाईँले जुन विशुद्ध देशप्रेमको परिचय दिनु भएको छ, त्यसले हाकिमहरूको मिथ्याक्षेपहरूको पोल खोलीदिएको छ।

अधिकारीहरूको मिथ्याक्षेपहरूको चर्चा गरेर जान सेवकले आफ्नो वाक-चातुर्यको प्रमाण प्रस्तुत गरे। राजा साहेबको सहानुभूति पाउनका लागि यसभन्दा सरल उपाय कुनै थिएन। राजा साहेबलाई अधिकारीहरूसँग यही गुनासो थियो, यसैका कारण उनलाई आफ्नो कार्य सम्पादनमा कठिनाई उत्पन्न हुन्थ्यो, बिलम्ब हुन्थ्यो, र बाधा हुन्थ्यो। उनले भने - कर्मचारीहरूले मेरो यति अविश्वास गर्छन्, यही नै मेरो दुर्भाग्य हो। मेरो अपराध यति मात्रै हो कि म स्वास्थ्य र सुविधाहरू जति कर्मचारीहरू र रइसहरूलाई आवश्यक ठान्छु त्यतिनै जनताका लागि पनि ठान्छु।

मिस्टर सेवकले भने - महाशय, यी मान्छेको दिमागको कुरै नगर्नुस। संसारै आफ्नो उपयोगका लागि ठान्छन्। अन्य कसैलाई यसमा जीवित रहने अधिकारै छैन। जसले यिनका ढोकामा टाउको टेक्तैनन्, ती अपवादी हुन्, अशिष्ट हुन्, राजद्रोही हुन्; जसमा राष्ट्रियताको लेसमात्र पनि आभास होस् - विशेषतः त्यो व्यक्ति जसले यहाँ कला-कौशल र व्यवसायलाई पुनर्जीवित गर्न चाहन्छ - दण्डनीय छ। राष्ट्र सेवा यिनका दृष्टिमा अधम पाप हो। तपाईँले मेरो सिगरेट कारखानाको नियमावली त हेर्नुभयो होला ?

महेन्द्रले भने - हो, हेरेको थिएँ।

जान सेवकले भने - नियमावली निस्नके बित्तिकै अधिकारी वर्गको दृष्टि मबाट हट्यो। म उनीहरूको कृपा-पात्र थिएँ, कैयन् अधिकारीहरूसँग मेरो मित्रता थियो। तर त्यसै दिनदेखि म उनीहरूको वर्गबाट टाट पल्टाइएँ, मेरो हुक्का-पानी(दाना-पानी) बन्द भयो। उनीहरूकै देखासिखी हिन्दुस्तानी कर्मचारीहरू र रइसहरूले पनि आनाकानी गर्न थाले। अब म तिनका दृष्टिमा सैतानभन्दा पनि खतरनाक हुँ।

यति लामो भूमिकापछि मात्र जान सेवक आफ्नो कुरामा आए। अनकनाउँदै आफ्नो उद्देश्य प्रकट गरे। राजा साहेब मानव-चरित्रका ज्ञाता थिए, नक्कली तिलकधारीहरूलाई राम्रैसँग चिन्थे। उनका छक्याउन सजिलो थिएन। तर समस्या यस्तो आयो कि उनलाई आफ्नो धर्म-रक्षा(कर्तव्य-रक्षा)का लागि अविचारको शरण पर्नु पर्‍यो। अन्य कुनै अवसर हुन्थ्यो भने उनी त्यतातिर छड्के आँखाले पनि हेर्ने थिएनन्। एकजना दीन-दुर्बल अन्धो व्यक्तिको जमिन, उसको एकमात्र जीविकाको आधार, उसको कब्जाबाट निकालेर एकजना व्यवसायीलाई हस्तान्तरण गर्नु उनको सिद्धान्त विपरित थियो। तर आज पहिलो पल्ट उनले आफ्नो नियमलाई थन्क्याउनु परेको थियो। मिस सोफियाले आफ्नो एक निकटतम सम्बन्धीको प्राण रक्षा गरेको कुरा जान्दाजान्दै, जान सेवकसँग सद्व्यवहार गर्नाले कुँवर भरतसिंहलाई एउटा ठूलो ऋणबाट मुक्ति मिल्छ भन्ने जान्दाजान्दै, उनी यस प्रस्तावको अवहेलना गर्न सक्तैनथे। कृतज्ञताले हामीबाट त्यस्ता कुराहरू गराउँछ जुन नियमका दृष्ठिमा त्याज्य हुन्छन्। यो त्यस्तो जाँतो हो जसले हाम्रा सिद्धान्त र नियमहरूलाई पिँध्छ। मान्छे जति निःस्पृह हुन्छ, उपकारको बोझ त्यतिनै असह्य हुँदै जान्छ। राजा साहेबले यस मुद्दालाई जान सेवकको इच्छाअनुसार तय गर्ने वचन दिए, जान सेवक आफ्नो सफलतामा पुक्क फुलेर घर आए।

स्त्रीले सोधिन् - के निधो गरेर आउनुभो ?

जान सेवकले भने - त्यही जुन निधो गर्न गएको थिएँ।

स्त्रीले भनिन् - राम्रै भो, मलाई त आस थिएन।

जान सेवकले भने - यो सबै सोफीले लगाएको गुणका कारण हो। नत्र महाशय, सोझो मुखले कुरा गर्ने पनि थिएनन्। यो उसैको आत्मसमर्पणको शक्ति हो, जसले महेन्द्रकुमार सिंह जस्ता अभिमानी र अविवेकी व्यक्तिलाई तल पारीदियो। यसरी भेटे मानौँ म उनको पुरानो मित्र हूँ। यो एउटा गाह्रो काम थियो, र सफलताका लागि म सोफीप्रति आभारी छु।

मिसेज सेवक(रिसाएर) - त्यसो तिमी गएर लिएर आउन त। मैले रोकेकी त छैन। मलाई यस्ता कुरा किन बारम्बार सुनाइरहन्छौ ? यदि म तिर्खाएरै मर्न लागेँ भने पनि ऊसँग पानीसम्म माग्ने छैन। मलाई लोलो-पोतो आउँदैन। जे मनभित्र छ, त्यही मुखमा पनि। यदि ऊ खुदाबाट टाढिएर आफ्नो जिद्दीमा अडिइरहन सक्छे भने, म पनि आफ्नो इमानमा दृड रहन्छु, किन उसको चापलूसी गरूँ ?

प्रभु सेवक दिनमा एकपल्ट सोफियासँग भेट्न जान्थे। कुँवर साहेब र विनय दुवैको विनयशीलता र शालीनताले उसलाई मन्त्रमुग्ध गरिदिएको थियो र कुँवर साहेब पारखी थिए। उनले पहिलो दिनमै एकै दृष्टिमा बुझेका थिए - यो साधारण बुद्धिको युवक होइन। त्यपपछि उनले छिटै उसको रूचि साहित्य र दर्शनतिर भएको पनि बुझे। वाणिज्य र व्यापारसँग उनको त्यतिनै भक्ति थियो जति विनयको जमिनदारीसँग। त्यसैले उनी प्रभु सेवकसँग प्रायः साहित्य र काव्य आदि विषयमा छलफल गरिरहन्थे। उनी उसको प्रवृत्तिलाई राष्ट्रियताका भावनाहरूले अलङ्कृत गरिदिन चाहन्थे। प्रभु सेवकलाई पनि उनी काव्य-कलाका मर्मज्ञ भएको कुरा थाहा भयो। उनलाई त्यस्तो स्नेह भयो जुन कविहरू र रसिकहरूलाई हुने गर्दछ। उसले उनलाई आफ्ना कैयनर काव्य रचनाहरू सुनाएको थियो र उनको उदार अभ्यर्थनाबाट उसलाई नसा लागेझैँ हुन्थ्यो। ऊ जहिले पनि रचना-विचारमा मग्न रहन्थे। प्रायजसो नयाँ साहित्य-सेवेकहरूमा हुने शङ्का र नैराश्य कुँवर साहेबको प्रोत्साहनले विश्वास र उत्साहका रूपमा परिवर्तित भएको थियो। त्यही प्रभु सेवक जसले पहिले हप्तौँ कलम उठाउँदैनथ्यो, अहिले एकै दिनमा कैयन् कविताहरू लेखिसक्थ्यो। उसका भाव-उद्गारहरूमा सरिताजस्तै प्रवाह र बाहुल्यको अभिर्भाव भएको थियो। यतिबेला ऊ बसेर केही लेखिरहेको थियो। जान सेवकलाई आउँदै गरेको देखेर खबर के छ भनी बुझ्न आयो। जमिन पाउनका लागि देखिएका कठिनाइहरूले उसलाई त्यसको झन्झटमा केही दिनसम्म फँस्नु पर्दैन कि भन्ने आस लागेको थियो। मनको यस्तो हालतमा आमाका अन्तिम शब्दहरू उसलाई साह्रै प्रिय लागे। भने - आमा यदि तपाईँलाई सोफीले त्यहाँ अपमान र निरादर सहीरहेकी छे र अल्छी लागेपछि आउँछ जस्तो लाग्छ भने, तपाईँ ठूलो गलती गर्दै हुनुहुन्छ। सोफी त्यहाँ वर्षौँ बसे पनि तिनीहरूले उसलाई छाड्ने छैनन्। मैले यतिका उदार र शीलवान प्राणीहरू देखेकै छैन। अँ, सोफीको आत्मअभिमानले लामो समयसम्म त्यहीँ बसेर उनीहरूको आतिथ्य र सज्जनताको उपयोग गर्न भने दिँदैन। यी दुई हप्तामा ऊ जति क्षीण भएकी छे, त्यति त महिनौँ बीमारी हुँदा पनि हुन्न। उसलाई संसारका सबै सुखहरू प्राप्य छन्; तर शीतप्रधान देशको बिरूवा उष्ण देशमा जतिसुकै जतन गरे पनि दिनदिनै सुकेर जान्छ, त्यस्तै हालत उसको पनि छ। उसलाई दिनरात कहाँ जाऊँ, कसो गरूँ भन्ने चिन्ता लागिरहन्थ्यो; यदि तपाईँले छिटै उसलाई यहाँ बोलाउनु भएन भने, पछुताउनु पर्ला। ऊ अचेल बौद्ध र जैन ग्रन्थहरूको अध्ययनमा लागेगी छे, र ऊ हामीबाट सधैँका लागि छुट्टिइ भने आश्चर्य मान्नु पर्दैन।

जान सेवकले भने - तिमी त सधैँ त्यहीँ जान्छौ, किन लिएर नआएको त ?

मिसेज सेवकले भनिन् - मलाई उसको कुनै सुर्ता छैन। प्रभु मसीहसँग द्रोह गर्नेले मेरा घरमा आश्रय पाउँदैनन्।

प्रभु सेवकले भने - गिरजाघर नजाँदैमा प्रभु मसीहसँग द्रोह गरेको हुन्छ भने, म पनि आजदेखि जान्नँ। मलाई पनि निकालिदिनु घरबाट।

मिसेज सेवक(रूँदै) - मेरो नै यहाँ के छ र ? यदि म नै विषको गाँठो हुँ भने, मुखमा कालो पोतेर किन ननिस्किऊँ ? तिमी र सोफी आनन्दले बस, मेरो मालिक खुदा नै हो।

जान सेवकले भने - प्रभु तिमी मेरै अगाडि आफ्नी आमाको अपमान गर्न पाउँदैनौ।

प्रभु सेवकले भने - खुदाले नचाहून्, म आफ्नी आमाको अपमान गरूँ। तर म देखाउने धर्मका लागि आफ्नो आत्मामा यस्तो अत्याचार हुन दिन्नँ। तपाईँहरू रिसाउनु हुन्छ भनेर मैले यस विषयमा कहिले मुख फोरिनँ। अन्य कुनै कुरामा त धर्मको कुरा गरिँदैन, खाली देखाउने धर्मका लागि मात्र धर्मानुराग गरिन्छ भने, मलाई त शङ्का लाग्छ कि कहीँ कतै यसको उद्देश्य नै केही अरू नै त होइन ?

जान सेवकले भने - तिमीले कुन कुरामा मलाई धर्मविरूद्ध आचरण गरेको देख्यौ ?

प्रभु सेवकले भने - सयौँ पल्ट भैसक्यो। एकपल्ट भए पो भन्नु।

जान सेवकले भने - हुँदैन, एउटै मात्र बताऊ।

प्रभु सेवकले भने - त्यो विवश अन्धाको जमिन कब्जा गर्नका लागि तपाईँले जुन उपायहरूको प्रयोग गर्नु भएको छ, के ती धर्मसङ्गत छन् ? धर्मको अन्त्य त्यसबेलै भयो जतिबेला उसले आफ्नो जमिन जेगरे पनि नदिने बतायो। अब कानुनी विधानहरूले, कूटनीतिले, धमकीले आफ्नो स्वार्थ पूरा गर्नु तपाईँलाई धर्मसङ्गत लाग्छ होला; तर मलाई त सर्वथा अधर्म र अन्याय नै लाग्छ।

जान सेवकले भने - तिमी यतिबेला होसमा छैनौ, म तिमीसँग वाद-विवाद गर्न चाहन्नँ। पहिले गएर शान्त भएर आऊ अनि म तिमीलाई यसको उत्तर दिन्छु।

प्रभु सेवक क्रोधले भरिएर आफ्नो कोठामा गएर र के गरूँ सोच्न थाल्यो। यहाँ सम्म उसको सत्याग्रह शब्दमा सीमित थियो, र अब त्यसलाई कार्यान्वयन गर्ने बेला आएको थियो। तर कार्यान्वयनको शक्ति उसको चरित्रमा भएको एउटामात्र अभाव थियो। यस्तो उद्विग्न हालतमा ऊ कहिले एउटा कोट लगाउँथ्यो र कहिले त्यसलाई फुकालेर अर्को लगाउँथ्यो। कहिले कोठा बाहिर निस्कन्थ्यो कहिले भित्र पस्थ्यो। त्यत्तिकैमा जान सेवक आएर बसे र गम्भीर भएर भने - प्रभु आज तिम्रो आवेश देखेर मलाई जति दुःख लागेको छ त्योभन्दा धेरै चिन्ता लागेको छ। मलाई अहिले सम्म तिम्रो व्यावहारिक बुद्धिमा विश्वास थियो; तर अब सो विश्वास उठेको छ। मलाई लागेको थियो तिमी जीवन र धर्मबीचको फरक राम्ररी बुझ्दछौ; तर अब लाग्दैछ तिमी पनि सोफी र उसकी आमाजस्तै भ्रममा परेका छौ। के तिमीलाई लाग्छ हरेक दिन गिर्जाघर जाने, भजन गाँउने, आँखा बन्द राखेर ईश-प्रार्थना गर्ने मजस्ता हजारौँ मानिसहरू धर्मानुरागमा डुबेका छन् ? कदापि छैनन्। यदि अहिलेसम्म तिमीलाई थाहा छैन भने अब थाहा हुनु पर्‍यो धर्म मात्र एउटा स्वार्थ - सङ्गठन हो। सम्भवतः तिमीलाई ईसा मसीहमा विश्वास होला, सायद तिमी उनलाई खुदाको सन्तान वा कम्तिमा महात्मा मान्दा हौ, तर मलाई त त्यति पनि विश्वास छैन। मेरा हृदयमा उनीप्रति त्यतिनै श्रद्धा छ, जति कुनै मामूली फकीरप्रति। फकीरले पनि त त्यस्तै दान र क्षमाको महिमा गाउँदै हिँड्छ, परलोकका सुखको राग अलाप्छ। ऊ पनि त्यति नै रागी, त्यति नै दीन र त्यति नै धर्मरत छ। तर यत्तिको अविश्वास हुँदाहुँदै पनि म हरेक आइतबार काम छोडेर गिर्जाघर जान्छु। नजाँदा आफ्नै समाजमा अपमान हुन्छ, त्यसले मेरो व्यवसायमा असर गर्दछ। अनि आफ्नै घरमा अशान्ति फैलिन्छ। म केवल तिम्री आमाका निम्ति आफूमाथिको यस्तो अत्याचार सहन्छु र तिमीलाई पनि यही अनुरोध गर्छु कि व्यर्थको दुराग्रह नराख। तिम्री आमा क्रोधयोग्य छैनन्, दयायोग्य छिन्। भन तिमीलाई केही भन्नु छ ?

प्रभु सेवकले भने - छैन।

जान सेवकले भने - अब फेरि यस्तो उच्छृङ्खलता देखाउँदैनौ हैन ?

प्रभु सेवकले मुस्कुराउँदै भने - देखाउँदिन।

 

-0-

आगामी अङ्कमा जारी...

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

 

 

 

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :