अङ्क 46साउन 2069वर्ष 9

मन्त्रणा

- दीपक शर्मा

 

तुफानको आँखा ? कनकलतालाई आज अखबारमा देखेर भूगोलको किताबमा भएको तुफानको तसवीर र व्याख्याको सम्झना भयोः 'प्रत्येक तुफानको आँखाको आकारको एउटा केन्द्र हुन्छ। प्रचण्ड हावाहरूको भुमरी र मूसलधार बादलहरूको गुच्छा दुई सय माइल प्रतिघण्टाको घुमाउरो गतिले त्यस आँखाको परिक्रमा गर्छन् तर आँखा शान्त रहन्छ, सुख्खा रहन्छ, त्यसमा केही असर पर्दैन.....।'

यही डिसेम्बरको पछिल्लो हप्ता हरीश पाठक उसलाई मेरो क्लिनिकमा लिएर आएको थियो, - 'हर फादर्स डेथ ह्याज डिमेन्टेड हर।' (यसका बाबुको मृत्युले यसलाई विक्षिप्त बनाएको छ।) खुट्टा खिइने चालले कनकलता उसका पछिपछि थिई र मेरा सामुन्ने को कुर्सीमा पोकोझैँ समेटिएकी थिई। महँगो डिजाइनर सलवार-सुटसँग महीन रूपमा कढाई गरिएको बदामी रङको पसमीनाको खास्टो बेरेकी थिई। तर उसको पहिरनले भन्दा उसको तात्तातै काटेको कपालले मेरो ध्यान तानेको थियो। लामो स्वरूपको उसको अनुहार विशुद्ध भारतीय थियो र कानमा सकिने उसको कपालको कट विशुद्ध विदेशी।

'सि इज इन अ डिप्लोरेबल स्टेट।'(यो सोचनीय अवस्थामा छे।) हरीश पाठकले एउटा रेशमी रूमालसहितको आफ्नो महँगो ट्वीड कोट लगाएको थियो जसमा समरूप रङहरू थिएः गहिरो रातो, हलुका हरियो र तीखो कालो। उसको अनुहारमा फुर्ति देखिन्थ्यो र ओठहरूमा लीलाको भावना। आँखा सानै भए पनि चमकदार र उत्साहले भरिएका थिए।

'सविता,' मैले आफ्नी सेक्रेटरीलाई बोलाएँ - 'उहाँको फर्म तयार छ ?'

मसित एपोइन्टमेन्ट लिनका लागि क्लाइन्टले एउटा फर्म किनेर भर्नुपर्छ। पहिलो पाँचवटा सेसनको रकम एकैपल्ट जमा गर्नुपर्छ र बिरामीका पारिवारिक पृष्ठभूमिका बारेमा सोधिएको प्रश्नावलीको उत्तर भर्नुपर्छ।

'तयार छ, डाक्टर साहब।' सविताले कनकलताको फर्म मेरा हातमा दिई र भनी - 'उहाँलाई भित्र लैजाऊँ ?'

भित्रको कोठमा त्यो 'काउच' छ जसमा स्थान ग्रहण गरेपछि मनोरोगीले नअनकनाई आफ्ना अवोध रहस्यहरू ममाथि ओकल्छन्, म उनीहरूको उन्माद तौलिन्छु र आफ्नो मन्त्रणा साध्ने गर्छु।

'हुन्छ, म आइहालेँ।'

'आइ ट्रस्ट, यु विल स्ट्रेटन हर आउट।'(मलाई लाग्छ तपाईँले उसलाई सीधा पारिदिनुहुनेछ) हरीश पाठकले मबाट आश्वासन लिन चाहेको मैले बुझे, 'द होल टाउन सेज यु आर द बेस्ट थेरापिस्ट।' (शहर भरिकाले तपाईँलाई सर्वोत्तम मनोचिकित्सक ठान्छन्।)

'सर्वोत्तम हैन, अनुभवी।' म हाँसेँ - 'केवल अनुभवी।'

म तीस वर्षसम्म स्थानीय मेडिकल कलेजको मनोरोग विभाग सम्बद्ध थिएँ र एक वर्ष पहिले अवकाश लिएकी हुँ।

'तपाईँले यसै वर्ष पिता गुमाउनु भयो ?' मैले आफ्नो सेसन सुरु गरेँ।

फर्ममा कनकलताको पिताको मृत्युको मिति ११ अप्रिल २००२ उल्लेख गरिएको थियो।

'हो। मुखमा तमाखू राख्ने बित्तिकै अचानक उहाँको स्वास नलीमा केही पस्यो र उहाँ खोक्ताखोक्तै एकाएक चुप लाग्नुभयो।'

'तीनजना भाइहरू छन् ?'

'सँगै तीनजना भाउजूहरू पनि छन्। तिनैले गर्दा भाईहरू सबै छुट्टिएका छन्। त्यति ठूलो बेकरी थियो। तीन टुक्रा बनाइदिए। त्यति ठूलो घर थियो त्यसलाई पनि तीन भाग लगाए।

'तपाईँलाई केही दिएनन् ?

'अहँ, दिएनन्।'

'तपाईँका दिदी/बहिनी पनि छैनन्। आमा पनि बीस वर्ष पहिले नै बितेकी। आपत्ति प्रकट गर्ने तपाईँका श्रीमान् मात्रै ?'

'हो, उहाँ मात्रै।'

'उनले केही भनेनन् ? तपाईँसँग ? तपाईँका भाइहरूसँग ?'

'अहँ।' उसका स्वरमा अस्थिरता देखा पर्न थालेको थियो।

'तपाईँको बिहे, पोहोर १३ डिसेम्बर, २००१ मा भएको हो ?' म अगाडि बढेँ।

'हो..।' उसको शिर हल्लियो।

'उमेरमा तपाईँको श्रीमान् तपाईँभन्दा नौ वर्ष जेठा छन्। तपाईँ तेत्तीसकी उनी बयालिसका ?'

'उहाँकी पहिली श्रीमती मभन्दा जेठी थिइन्। सात वर्षले।'

'तपाईँ उनलाई चिन्नुहुन्थ्यो ?' फर्ममा हरीश पाठकले पहिली पत्नीका बारेमा एकै शब्द पनि उल्लेख गरेका थिएनन्।

'अँ, उनी त्यही स्कुलमा पढाउँथिन् जहाँ म अहिले पढाइरहेकी छु।'

'कसरी मरिन् त ?'

'क्यान्सरले। ब्लड क्यान्सर।'

'तपाईँकी सौताकी छोरी बाह्र वर्षकी छ। कत्तिको मिल्नुहुन्छ, ऊसित ?'

'ऊ हरेक कुरामा मलाई चिल्छे। मलाई देख्ने बित्तिकै नाक खुम्च्याउँछे, ओठ फर्फराउँछे, गाला चबाउँछे, बङ्गारा घोट्छे, आँखा कर्क्याउँछे, दाँत किटकिट्याउँछे र आफ्ना कपीमा मेरा कार्टुन बनाउँछे....।'

प्रमाणका रूपमा उसले आफ्ना पर्सबाट केही नमूनाहरू निकालेर मेरा अगाडि फिँजाइदिई। 'कार्टुनमा श्याल लेखेको छ र गाला चाहिँ मेरो। चौसिँहनी लेखेको छ र आँखाचाहिँ मेरा छन्। बिरालो लेखेकी छे र ओठहरू मेरा छन्.....।'

काँचा, नगढिएका, मोटा-पातला, उल्टा-सुल्टा ती रेखाहरूमा कुनै ढङ्ग थियो न कुनै रूप। तर पनि एउटा अनौठो आकर्षण, जबरजस्त वेग थियो तिनमा। साथै थियो असाधारण समानता - कनकलताको गाला, आँखा र ओठहरूसँग।

सेसनको विस्तृत वर्णन नगरेर म यति मात्र भन्छु कि बाँकी रहेको सबै समय कनकलताले सौतेनी छोरीले दिएको उत्पीडनका बारेमा ब्याख्या गरेरै बिताई।

'म्याडम जान सक्नुहुन्छ, डा. साहब ?' सवितालाई मेरो स्थायी आदेश छ - सेसन सुरू भएको पचास मिनेट पछि ऊ मेरा कोठामा आउनुपर्छ।

'हुन्छ, उहाँको श्रीमान् लिन आउनुभयो ?'

      'हजुर, उहाँकी छोरी पनि हुनुहुन्छ....।'

      कनकलताभन्दा पहिले म बाबुछोरी भए ठाउँमा पुगेँ। दुवैजना नै त्यस भित्ता नजिकै उभिएका थिए जहाँ मैले दुईवटा पुनर्मुद्रित तसवीरहरू टाँगेकी थिएँ - एन्ड्र्यु वाथको पेन्टिङ 'क्रिस्टिनाज वर्ल्ड' र चार्ल्ज सुकसेन्कको कार्टुन 'अ थन्डरिङ ह्याङओभर'।

      'सुकसेन्क ? वाथ ?' म छेउमा पुग्ने बित्तिकै हरीश पाठक मतिर फर्कियो।

      'तपाईँ यी दुवैलाई चिन्नुहुन्छ ?' मलाई अचम्म लागिरहेको थियो। बीसौँ शताब्दीका वाथ का तुलनामा उन्नाइसौँ शताब्दिका सुकसेन्कलाई धेरै कम मानिसले चिन्छन्।'

      'नट जस्ट मी। माइ डटर टु।'(ममात्र हैन, छोरी पनि चिन्दछे।) हरीश पाठकले आफ्नो गर्दन हल्लायो।

      'ओलिवर ट्विस्टका चित्रहरू सुकसेन्कले नै त बनाएका हुन्।' केटी चुइगम चबाइरहेकी थिई। नीलो जिन्स पाइन्टसँग उसले चहकिलो पहेँलो रङको पोलो नेक पुलओभर लगाएकी थिई। उसको कपाल कटाई कनकलतासँग पूरै मिल्थ्यो र अनुहारसँग सुहाएको पनि थियो। अनुहार केही गोलो तर निधार निकै चौडा थियो। नाक निकै चुच्चो। ओठहरू आफ्ना बाबुका जस्ता पातला र नाकका पोरा पनि उसकै जसरी बटारिएका।

      'ओलिभर ट्वीस्ट तिमीले पढेकी छौ ?' मैले प्रोत्साहित गर्नका लागि भनेँ। उसित कुरा गर्न ममा तीब्र उत्कन्ठा उत्पन्न भइरहेको थियो। कनकलता जस्ता बोर्डरलाइन पर्सनालिटी केसहरूमा फ्यामिली थेरापीले राम्रा नतिजा देखाइसकेका थिए।

      'पढेकी छु।' केटीले चुइगम चबाई र सुकसेन्कतिर कुरा फर्काई - 'सुकसेन्कको यो कार्टुन मैले पहिलो पल्ट देखेकी हुँ। यसमा डेमन्स(पिशाच) हरूलाई उसले साना बनाएका छन् र बाँकी फर्निचर र मानिसलाई सामान्य आकारमा राखेका छन्....।'

      यो कार्टुन साँच्चै मजाको छ।  सोफा र पुरुष एकदम सही अनुपातमा बनाइएका छन् भने तिनलाई चिमटा र मार्तोलले ढाल्न खोज्ने पिशाचहरूचाहिँ हास्यास्पद सीमासम्म पुड्का।

      'क्रिस्टिनाज वर्ल्ड' मैले फेरि उसको उत्सुकता जगाउन खोजेँ - 'यो पनि पहिलै पल्ट देखेको हो ?'

      'हैन, हैन, हैन।' अति विश्वस्त, अकाल प्रौढ त्यस केटीले आफूलाई निकै माथिल्लो आसनमा लगेर राखी - 'यो मैले हेरिसकेकी थिएँ। वाथको परिचय सहित। इनसाइक्लोपिडिया ब्रिटानिकाको वेबसाइटमा। तर यी रङहरू तिनमा हेर्न पाएकी थिइनँ। यतापट्टिको घाँस खैरो थिएन र उतापट्टिको हरियो पनि थिएन त्यसमा...।'

      'क्रिस्टिनाज वर्ल्डका बारेमा केवल यति भनौँ कि त्यस पेन्टिङमा निर्जन, खैरो घाँसमा आफ्ना कुइना र हत्केला अड्याएर एक्ली उदास युवती यतापट्टि पिठ्यूँ फर्काएर उतापट्टिको मृगतृष्णु दुनियाँतिर पुग्ने दाउमा छ जहाँ चम्किलो र हरियो घाँसमा केही घरहरू बिछाइएका छन् ।

      'ड्रइङमा छोरीको रूची तपाईँले बढाउनुभएको हो ?'

      'यप्।' उसको अनुहार गर्वले पोतिएको थियो।

      'तपाईँ भित्र आउनुहोस् त एक्लै।' मैले भनेँ।

      ४

      भित्र पुगेर हरीश पाठक कतै बसेन। मन्द उज्यालो फ्याँकिरहेको टेबल ल्याम्प नजिक गएर उभियो। अलिक उज्याला बल्ब जलाएर म उसका छेउमा गएँ।

      'कनकलताका अनुमानहरू सायद निष्पक्ष र तटस्थ छैनन्। सायद अनुकूलताको विरूद्ध जानु उसको आदतमै पर्दैन कि....।'

      'यु मिन, अ म्याल-अड्याप्टिभ ह्याबिट ?' मनोविश्लेषणमाथि राम्रै सामग्री जम्मा पारेको रहेछ हरीश पाठकले। आफ्नो लेटरहेड भएको कागजमा मैले म्यालेरिलका डोजहरू लेखिदिएँ।

      'म्यालेरिल ? अ न्युरोलेप्टिक ?' उसले सोध्यो।

      'न्युरोलेप्टिक। यो मेरो पहिलो रोजाइ हो। अमोनो एमाइन अक्सिडेज इनहिबिटरलाई म दोस्रा नम्बरमा राख्छु। न्युरोलेप्टिकका नतिजा राम्रा छन्। एक दुईवटा केसमा मात्र मांसपेसीहरूको सञ्चालनमा अनपेक्षित गतिका गुनासाहरू सुनिएका थिए तर यसकै सेवनले दुई हप्ता भित्रैमा रोगीहरूलाई सामान्य अवस्थामा ल्याइदिएको छ।'

      'फाइन।' समाप्तिको मुद्रामा हरीश पाठकले काँध उचाल्यो।

      पर्सी साढे सात बजे कनकलताको साटो म तपाईँकी छोरीलाई भेट्न चाहन्छु। एउटा पूरै सेसन....।'

      'फ्यामिली थेरापी.....।' ऊ हाँस्न थाल्यो।

      'आपत्ति के छ र ?' मैले हाँस्दै भने - 'विश्वास गर्नुस्, तपाईँकी छोरीलाई तपाईँ विरूद्ध अलिकति पनि भड्काउँदिनँ। वचन दिन्छु....।'

      'डन।' ऊ मान्यो।

      ५

तेस्रो दिन केटी आउने बित्तिकै मैले उसलाई 'गुड-इनफ-ड्र-अ-पर्सन-टेस्ट' दिएँ।

'कसको चित्र बनाउन चाहन्छ्यौ ?' मैले सोधेँ।

'तपाईँकै बनाऊँ ?' उसका अनुहारमा पनि उसकै बाबुको जस्तो लीला भावना देखा पर्‍यो।

'बनाइदेऊ।' मैले भनेँ।

मेरो डेस्कमा राखेको पेन्सिल टिपी, कागज तानी र सुरु गरी।

बाह्र वर्षसम्मका बच्चाहरूलाई मनोचिकित्सकले यस्तो टेस्ट प्राय दिन्छन्। उनीहरूको बुझ्ने क्षमता मापन गर्नका लागि। मापनका दुईवटा आधारहरू राखिन्छन्। पहिलो बच्चाले जस्तो चित्र बनाएको छ त्यही अनुसार त्यस व्यक्तिमा गुणात्मकताको अंश छ कि छैन र दोस्रो चित्रमा दिइएका जानकारी कति मात्रामा सही छन्।

चित्र पूरा भएको हेरेपछि मलाई अनायास हाँसो उठ्यो। मेरो कपालदेखि बाहेक सबै कुरो टेडो मेडो, तल-माथि परेको थियो। मेरो शङ्काको पुष्टि भएको थियो। दुई दिन पहिले जतिबेला कनकलतासँग मेरो सेसन चलिरहेको थियो, बाहिर रिसेप्सनमा बाबु छोरी बसेका थिए। छोरीले म कस्ति छु भनेर सोधेपछि हरीश पाठकले सवितासँग कागज र पेन्सिल मागेका थिए र त्यहीँ बसीबसी मेरो एउटा स्केच बनाएका थिए। सविताले ठूलो बठ्याइँ गरेर त्यो कागज खोसेकी थिइन्। उसले चित्र लगेर आफ्ना पति र छोराछोरीलाई देखाउन चाहन्छु जसले 'तिमी यसरी डराउने डाक्टर कस्ती छे ?' भनेर सोधेका सोध्यै गर्छन्।

निसन्देह केटीको स्केच हरीश पाठकको जस्तो गुणात्मक त थिएन तर यसमा पनि सबैभन्दा बढी महत्त्व मेरो कपाललाई दिइएको थियो। कपाल कोरेका डिजाइनहरू, कैँची-मोड, काइँयोको पट्टी, सिउँदो र पाटाहरू निकै मसिनो गरी बनाइएका थिए। जहाँबाट मेरा कपाल रङ-सामग्रीको लामो प्रयोगका कारण झरेका थिए, त्यस ठाउँमा केशान्तर राखिएको थियो।

'तिमी त राम्रो ड्रइङ बनाउँदिरहिछौ। तिम्री आमाले पनि राम्रो ड्रइङ बनाउनुहुन्थ्यो ?'

'होइन, ड्रइङ त बाबाको मात्र विषय हो। मेरी आमा पढ्न रुचाउनुहुन्थ्यो।'

'अनि तिम्री नयाँ आमा ? केके छ शोख उहाँको ?'

'कनकलतालाको ?' उद्दण्ड केटीले आफूभन्दा एघार वर्ष जेठी कनकतलाको नामलाई अलिकति इज्जत पनि दिइन - 'ऊ त साह्रै दुष्ट छे। मेरी आमा अस्पतालमा  भर्ना भएका बेला मेरो बुबालाई बिहे गर्न उकास्थी, मेरो कारण देखाएर..।'

'तिमीलाई कसले भन्यो ?'

'मलाई थाहा छ नि। मेरी आमा मरेकै दिन त्यसले बजार गएर बिहेको साडी किनेकी छे।'

'तिमीलाई कसले भन्यो ?' मैले दोहोर्‍याएर सोधेँ।

'बुबाले। मलाई सबैकुरा भन्नुहुन्छ।'

'कनकलतासित प्रेम गर्दिनँ पनि भन्नु हुन्छ ?'

'कनकलतासँग उहाँको कहिल्यै प्रेम थिएन। उसैले मात्र बुबालाई खोजेको खोजै गर्थी।'

'तिम्रै अगाडि ? तिम्री आमा अगाडि ?'

'अगाडि पनि पछाडि पनि। मेरी आमाकी साथी बन्दा बन्दै, बुबाकी साथी बन्न खोजेकी।'

'कहिले देखि चिन्छ्यौ उसलाई ?'

'सानैदेखि। जैले हाम्रा घरमा आउँथी। कहिले केक बोकेर त कहिले बिस्कुट बोकेर। कहिले स्यान्डविच त कहिले कबाब....।'

'त्यसबेला तिमीलाई ऊ राम्री लाग्दिनथी ?'

'म उसका बारेमा केही सोच्दै सोच्दिन थिएँ। न राम्रो, न नराम्रो।'

'अनि अब ?'

'अब ऊ बौलाएकी छे।' केटी फ्याट्टै हाँसी - 'उसका भाउजूहरूले केक-सेक, बिस्किट-सिस्किट, बन-सन सबै बन्द गराएका छन्....।'

'तिमीलाई ऊप्रति दया आउँदैन ?'

'किन आउँनु ? उसलाई हाम्रो कुनै चिन्ता छैन। न मेरो, न बाबाको, न घरको।'

'आफ्नो चिन्ता गर्छे ? आफ्नो परवाह गर्छे ?'  केटी मेरा अनुहारमा एककोहोरो हेर्न थाली।

त्यस दिन फेरि मैले हरीश पाठकलाई भित्र बोलाएँ, एक्लै।

'तपाईँले नै लानु भएको रहेछ नि दुवैलाई समुद्रमा..।' मैले भनेँ।

'ह्वाट ?' हरीश पाठकले अनभिज्ञता जताए।

'पत्नीलाई जलमग्न गर्नका लागि छोरीलाई जलपोत बनाइराख्नुभएको छ......।'

'ह्वाट फर ?'(केका लागि ?)

'कनकलतालाई आफ्ना पिताको सम्पत्तिको भाग नलाग्ने देखेपछि तपाईँले नै तुफान खडा गर्नु भो। त्यही तुफानले छोरीलाई पनि डुबाउँछ भन्ने तपाईँलाई थाहा थिएन ?'

'से इट अगेन।'(फेरि भन्नोस् त ।)

'तपाईँले चाहे त्यो तुफान रोक्न सक्नुहुन्छ, त्यसलाई फर्काउन सक्नुहुन्छ।'

'आइ सस्पेक्ट सेनिलिटी ह्याज स्ट्रक यु।' (मलाई लाग्छ तपाईँलाई सठियाले भेटेको छ।) हरीश पाठक तुरन्तै दौडियो। हतारमा कनकलताको अर्को अपोइन्टमेन्ट लिन पनि बिर्सियो।

तपाईँले बुझीहाल्नुभयो होला, कनकलता त्यही स्त्री हो जसको तसवीर आजको अखबारमा छापिएको छ। तेस्रो पृष्ठमा। उसको आत्महत्याको सूचना सहित। तेह्र डिसेम्बर २००२ बेलुका कनकलताले म्यालेरिल को अतिमात्रा सेवन गर्दा उनका पति दोस्रो बिहेको पहिलो वार्षिकी मनाउने तयारीमा लागेका थिए।

---

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :