अङ्क 43साउन 2067वर्ष 7

दुलही

- रवीन्द्रनाथ ठाकुर

कुरा निकै पुरानो हो। मैले बाल्यकालमा पढ्नेगरेको स्कुलमा एकजना तल्ला श्रेणीहरूमा पढाउने शिक्षक पण्डित शिवरामसित हामी गणित पढ्ने गर्थ्यौँ। उहाँको दाह्रीजुँगा सफाचट हुन्थ्यो, कपाल पनि फैदैबाट छाँटिएको हुन्थ्यो र त्यसका बीचमा सानो टुप्पी शोभायमान देखिन्थ्यो। उहाँलाई देख्नेबित्तिकै केटाहरूको सातो जान्थ्यो।

प्रायः डस्ने अङ्ग भएका जनावरहरूमा दाँत हुँदैन तर हाम्रा पण्डित शिवरामसित दुवै थिए। पहिलो त उहाँका थप्पडहरू हामीमाथि विरूवामा असिना परेझैँ बर्सिन्थे भने अर्कातिर उहाँका कठोर वचन सुन्दा सबैलाई आफ्नो न्वारानको सम्झना हुन्थ्यो।

पण्डितजीलाई गुरु-शिष्यको सम्बन्ध पहिलेको जस्तो रहेन र अब विद्यार्थीले गुरुलाई देवताजस्तै भक्ति गर्दैनन् भन्ने कुरामा पीर लाग्थ्यो। यसरी पीर मानेर उहाँ उपेक्षित देव-महिमाहरू बालकहरूका शिरमा हालिदिनुहुन्थ्यो र कहिलेकाहीँ गहिरो हुँकार पनि गर्नुहुन्थ्यो। त्यस हुँकारभित्र त्यति निकृष्ट कुराहरू पनि हुन्थे कि देवताको बज्रको अर्को रूप बुझ्नका लागि कसैलाई कठिन पर्दैनथ्यो।

जे होस् हाम्रा स्कुलको कुनै विद्यार्थीले यी पण्डितलाई चन्द्र, इन्द्र, वरूण वा कार्तिकेय मान्दैनथे। मात्रै यमराजसँग उहाँको बराबरी हुन्थ्यो। यतिका दिनको सेवापछि उहाँको देवालयको यात्रा ढिलो नहोस् भन्ने चाहनु कुनै खराब कुरा हैन र डर पनि होइन।

तर नरदेवताभन्दा खतरनाक अरू कुनै देवता हुँदैनन् भन्ने कुरा त हामीलाई थाहा थियो नै। देवलोकका देवताहरू भोजन घाँटीसम्म हुनेगरी खाँदैनन्। रूखबाट दुएक फलहरू टिपेर खान्छन् र  प्रशन्न हुन्छन्। नभए मागेर पनि खाँदैनन्। तर हाम्रा पण्डित नामका देवता मानिसहरूबाट अलिक धेरै नै आशा राख्‍नुहुन्थ्यो। हामीबाट अलिकति गल्ती हुनासाथ कुट्न दौडिनुहुन्थ्यो। त्यसबेला उहाँ कुनै दृष्टिले पनि देवता देखिनुहुन्नथ्यो।

हाम्रा शिवनाथ पण्डितको केटाकेटीलाई सताउने साह्रै दह्रो हतियार थियो जुन साधारणजस्तो लागे पनि खतरनाक थियो। उहाँ केटाहरूका नयाँ नाम राख्‍नुहुन्थ्यो। नाम यद्यपि परिचयदेखि बाहेक केही होइन तर मानिसहरू त्यही नामको प्रसिद्धिका लागि कति हो कति दुःख झेल्छन्। नामकै रक्षाका लागि मानिसहरू मर्छन् पनि।

यस्ता नामैका लागि मरिमेट्ने मनुवाहरूको नाम बिगारिदिनु, तिनको प्राण लिनुभन्दा ठूलो मर्ममा चोट पुर्‍याउनु हो जस्तो लाग्छ। उदाहरणका लागि भूतनाथ नाम भएका व्यक्तिलाई नलिनीकान्त भनियो भने उसलाई असहनीय हुन्छ।

यसले मानिसहरूको बानीको एउटा खास तत्व थाहा पाइन्छ। मानिसले मूर्तलाई भन्दा अमूर्तलाई राम्रो मान्छ, अर्थात् सुनचाँदीलाई भन्दा कुरालाई, प्राणभन्दा सम्मानलाई र आफूभन्दा नामलाई प्यारो मान्छ।

मानवस्वभावको यही भित्री रूपबाट प्रभावित भएर पण्डितजीले जब शशीशेखरको नाम छुचुन्द्रो राख्‍नुभयो, ऊ साह्रै दुःखी भयो। विशेषतः उसको दुःख यस कारण पनि बढ्यो कि यस नामले बोलाउँदा उसका अनुहारमा राम्ररी हेरिन्थ्यो। तर उसले शान्त भाव देखाएर सबै कुरा सहेरै बस्यो। पण्डितजीले आशुतोषको नाम दुलही राखिदिनुभएको थियो। यस नामसँग सम्बन्धित एउटा इतिहास पनि छ।

आशुतोष आफ्नो कक्षामा निकै सरल र सोझो केटो थियो। ऊ जहिले पनि शान्त रहन्थ्यो। लाग्थ्यो झैझगडा गर्नु उसको जन्मपत्रिकामै लेखेको छैन। ऊ लजालु पनि थियो। सायद उमेरमा पनि सबैभन्दा कान्छो हुँदो हो, त्यसैले सबैको कुरा सुनेर हाँसिमात्र रहन्थ्यो। पढ्नमा साह्रै मन लगाउँथ्यो। विद्यालयका अनेक केटाहरू ऊसँग मित्रता गाँस्न चाहन्थे तर ऊ कसैसँग खेल्नेसम्म पनि गर्दैनथ्यो। छुट्टी हुने बित्तिकै घर जान्थ्यो।

दिउँसो उसकी घरकी नोकर्नी एउटा दुनामा केही मिठाई र सानो गिलासमा पानी लिएर आउँथी। आशुतोषलाई साह्रै लाज लाग्थ्यो। ऊ सोच्थ्यो जति छिटो नोकर्नी फर्किई त्यति राम्रो। उसलाई आफू स्कुलको विद्यार्थी बाहेक अरू केही हो, भन्ने कुरा कसैलाई थाहा नहोस् भन्ने लाग्थ्यो। उसलाई आफू कुनै घरको मान्छे हो, आमा-बाबुको छोरा हो र दाजुदिदीको भाइ हो भन्ने कुरा पनि लुकाउने कुरा हो जस्तो लाग्थ्यो। त्यसैले उसको प्रयास जहिले पनि आफ्नो कुरा अरू कसैले चाल नपाओस् भन्ने नै हुन्थ्यो।

पढ्नलेख्‍न ऊबाट कहिल्यै गल्ती हुँदैनथ्यो। कुनैकुनै दिन स्कुल जान ढिलो हुन्थ्यो। त्यस्ता बेलामा शिवनाथ पण्डितले कारण सोध्दा ऊ केही जबाफ दिन सक्तैनथ्यो। त्यसैले कहिलेकाहीँ गाली पनि खानुपर्थ्यो। पण्डितजी उसलाई घुँडामा हात राख्‍न लगाएर सिँढीमा उभ्याउनुहुन्थ्यो र चारै कक्षाका केटाहरू उसलाई त्यस अवस्थामा हेरेर जिस्क्याउँथे।

एक दिन ग्रहणको छुट्टी थियो। त्यसको भोलिपल्ट कुर्सीमा बसिरहेका पण्डितजीले आशुतोषलाई मसी लागेको झोलामा किताब र पाटी राखेर अरू दिनभन्दा केही लजाएझैँ गरी क्लासभित्र पस्दै गरेको देख्‍नुभो।

शिवनाथ पण्डितले रूखो हाँसो हासेर भन्नुभयो – ‘ए, दुलही आई हैन ?

छुट्टी हुनुभन्दा अगाडि सबै केटाहरूलाई भेला पारेर उहाँले भन्नुभयो – ‘सुन, ल सबैले सुन..............’

आशुतोषलाई पृथ्वीको गुरुत्वाकर्षण शक्तिले आफूलाई तानिरहेकोझैँ लाग्यो। तर पनि ऊ धोतीको फुर्को दुई खुट्टाबीचमा झुन्ड्याएर ठाउँमा बसिरह्यो। त्यसबेलासम्म आशुतोषको उमेर पनि निकै भैसकेको थियो र उसका जीवनमा निकै ठूल्ठूला दुःख र लाजका दिन पनि आएका थिए तर उसको त्यो कलिलो हृदयमा त्यस दिनको इतिहासको तुलना अरू कुनै दिनसँग हुन सक्तैन। कुरा सानै भए पनि, मान्नै पर्छ त्यसमा केही रहस्य छ।

आशुतोषकी एउटी बहिनी छे। आफ्नो उमेर बराबरको कोई नभएकाले उसकी बहिनी ऊ सँगै खेल्ने गर्दछे।

फलामको रेलिङले घेरिएको र अगाडि ठूलो गेट भएको घर आशुतोषकै थियो। छेउमा ग्यारेज पनि थियो। त्यस दिन निकै मजाले पानी परेको थियो। केही मानिसहरू जुत्ता हातमा लिएर र छाता ओडेर आऊजाऊ गरिरहेका थिए। तिनलाई कतै हेर्ने फुर्सत थिएन। बादल लागेर अँध्यारो भएका बेला, वर्षाका झमझम शब्दहरू सुनिइरहेका थिए। छुट्टीका दिन भएकाले बरन्डामुनिको सिँढीमा बसेको आशुतोष आफ्नी बहिनीसँग खेलिरहेको थियो।

त्यस दिन उसका पुतलीहरूको बिहे थियो। बिहेको तयारीका सम्बन्धमा आशुतोष बहिनीलाई गम्भीरताका साथ बुझाइरहेको थियो। तर पुरोहित कसलाई बनाउने भन्ने समस्या भइरहेको थियो। त्यति नै बेला बहिनी झट्ट उठेर  दौडिई र अगाडि उभिएको एकजना मानिससँग भनी – ‘तपाईँ हाम्रो पुरेत बन्ने हो ?’

आशुतोषले फर्केर हेरे। शिवनाथ पण्डित आफ्नो भिजेको छाता लिएर त्यहाँ ओत लागेर बस्नु भएको थियो। उहाँ त्यही बाटो भएर जाँदै हुनुहुन्थ्यो। वर्षा धेरै भएका कारण त्यहाँ अडिनु भएको थियो। त्यसैबेला केटीले पुरोहित बनिदिन जिद्दी गरेकी थिई।

पण्डितजीलाई देख्‍नेबित्तिकै आशुतोष खेल्न छाडेर दौडिँदै घरभित्र पसेको थियो। उसको छुट्टीको दिन त्यत्तिकै बरबाद भएको थियो।

अर्का दिन स्कुलमा रूखो बोलीले पण्डितजीले घटना उल्लेख गरीकन उसको नाम दुलही राखी दिनुभयो। त्यसबेला पनि सँधै गरेजस्तो उसले भरसक हाँस्ने प्रयत्न गर्दै अरूको हाँसोमा सामेल हुने प्रयास गर्‍यो। त्यत्तिकैमा घण्टी लाग्यो र सबै कक्षाबाहिर निस्किए अनि अलिकति मिठाई र चम्किलो फूल भएको गिलासमा पानी लिएर नोकर्नी आइपुगी।

त्यसबेला हाँस्ने कोसिस गर्दागर्दै उसको मुख रातो भयो, पीडाको अधिकताले नसाहरू फुले र वेगसँग निस्कन खोजेका आँसु रोक्दारोक्दै पनि रोकिएनन्।

¯¯¯

बङ्गालीबाट अनुवादः कुमुद अधिकारी।

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :