अङ्क ४२असोज २०६६वर्ष ६

रङ्गभूमि

प्रेमचन्द

भाग - २

सूरदास लठ्ठी टेक्तै विस्तारै हिँड्न थाले। बाटामा हिँड्दाहिँड्दै सोच्न थाले - 'यस्तो हुन्छ ठूला मानिसहरूको स्वार्थ ! पहिले कसरी ठूला हुन्थे, मलाई कुकुरभन्दा पनि नीच माने, तर त्यो जमिन मेरो हो भन्ने चाल पाउनेबित्तिकै कसरी चिल्लो घस्न थालेका। मानौँ म तुरुन्तै जमिन दिइहाल्छु। पाँच रूपैयाँ देखाउँथे, मैले रूपैयाँ देख्तैनदेखेजस्तो। पाँच रूपैयाँ के पाँच सय दिए पनि जमिन दिन्नँ। छरछिमेकलाई कुन मुख देखाउनु ? यिनको कारखानाको लागि बिचरा गाईहरू खान नपाई यताउति दौडिऊन् ! इसाईहरूलाई अलिकति पनि दया-धर्मको विचार हुँदैन। बस, सबैलाई ईसाई बनाउँदै हिँड्छन् त्यत्ति हो। केही दिनु नभए पहिले नै दुत्कारेको भए भैहाल्थ्यो। एक माइल कुदाएपछि भन्छन् - पर हट्। यिनीहरूमध्ये केटीको चाहिँ स्वभाव राम्रै लाग्यो। उसमा केही दया-धर्म रहेछ। बूढी त पूरै कर्कसा रहिछ, सोझो मुखले बोल्दा पनि नबोल्ने। यस्तो घमण्ड, मानौ रानी भिक्टोरिया नै होस्। राम-राम ! गलेर फतक्कै भएँ, सास अझै बढिरहेको छ। यस्तो त आजसम्म भएको थिएन, यत्रो दौडाएर कसैले खाली हात पठाएको थिएन। भगवान्‌को सायद यस्तै इच्छा हुँदो हो। मन, यति दुःखी न हो। माग्नु तेरो काम हो, दिने त अर्कैले हो। उनीहरूको आफ्नो धन हो, दिएनन् त कुन ठूलो कुरा भो ? साथीभाइलाई जमिन माग्दै थिए भनूँ कि ? हुन्न। सबै अत्तालिन थाल्लान्। मैले त जबाफ दिइहालेँ, अब अरूलाई भन्ने प्रयोजन नै के र ?'

यिनै कुरा सोच्तै उनी आफ्ना घरमा आए। उनको घर सामान्य झुप्रो थियो। आँगनमा एउटा नीमको वृक्ष थियो। ढोकाको ठाउँमा बाँसका भाटाहरूले बनेको टाटी थियो। टाटी हटाए। कम्मरबाट पैसाको सानो पोको निकाले जसमा आज दिनभरीको कमाई थियो। झुप्राको छानामा छामछुम गरेर एउटा थैली निकाले जुन उनको जीवनको सर्वस्व थियो। पैसाको पोको कसैले नसुन्ने गरी थैलीमा राखे र थैलीलाई छानामा लुकाएर छिमेकबाट आगो मागी ल्याए। नीमको रूखमुनि सुकेका झिँगटी थिए, तिनैलाई सोहोरेर चुल्हामा आगो सल्काए। झुप्रो हलुका अस्थिर उज्यालोले प्रकाशवान भयो। कस्तो बिडम्बना, कस्तो नैराश्य - पूर्ण दारिद्र्य थियो, न खाट, न ओछ्यान, न भाँडाकुँडा। एउटा कुनामा माटाको घैँटो थियो जसको आयुको अनुमान त्यसमा लागेको काइबाट गर्न सकिन्थ्यो। चुल्हाका छेउमा एउटा हाँडी थियो। एउटा पुरानो, छान्नेझैँ दूला परेको तावा, एउटा सानौ कठौती र एउटा लोटा। यति नै उनको सम्पत्ति थियो। मानव लालसाको कति संक्षिप्त रूप।

सूरदासले आज जति अनाज पाएका थिए, सबै हाँडीमा हालिदिए। अलिकति जौ, अलिकति गहूँ, केही दाना मटर, केही दाना चना र एक-दुई मुठ्ठी चामल। त्यसमाथि अलिकति नुन थपे। 'कसैले यस्तो खिचडी चाखेको छ ?' उनमा सन्तोषको मिठास थियो जुन संसारको कुनै वस्तुबाट प्राप्त हुँदैन। हाँडीलाई चुल्हामा बसालेर उनी घरबाट निस्किए। द्वारमा टाटी लगाए र सडकमा निस्के। एउटा बनियाँको दोकानमा गएर अलिकति आँटा र एक पैसाको शख्खर लिए। आँटा कठौतीमा राखेर गुँदे र आधाघण्टासम्म चुल्हाको खिचडीको मधुर आलाप सुनिरहे। मधुरो प्रकाशमा उनको दुर्बल शरीर र उनको जीर्ण वस्त्रले मनुष्यको जीवन-प्रेमको उपहास गरिरहेको थियो।

खिचडी उम्लिएर निकै पल्ट आगो निभ्यो। बारम्बार आगो फुक्दा सूरदासका आँखाबाट आँसु बग्न थाल्यो। आँखाहरूले देख्‍न त सक्तैनथे तर रूनचाहिँ सक्थे। अन्त्यमा त्यो षड्‌रस युक्त लिटो तैयार भयो। हाँडी उतारेर तल राखे। चुल्हामा तावा राखे र हातैले रोटी बनाउँदै पकाउन थाले। अन्दाज पनि कति ठीक थियो भने, सबै रोटीहरू समान आकारका बन्थे। न साना, न ठूला, न काँचा, न डढेका। तावाबाट निकालेर कोइलामा फुलाउँथे र पर्तिर भुइँमा राख्थे। रोटी पकाइसकेपछि उनी ढोकामा गए र ठूलो स्वरमा बोलाउन थाले - 'मिट्ठू, आऊ नानी खाना तयार छ।' तर मिट्ठू नआएपछि द्वारमा टाटी लगाएर नायकरामको बरन्डामा गएर 'मिट्ठू, मिट्ठू' बोलाउन लागे। मिट्ठू त्यहीँ सुतिरहेको थियो, आवाज सुनेर ब्यूँझियो। बाह्र-तेह्र वर्षको सुन्दर हँसमुख बालक थियो मिट्ठू। स्वस्थ शरीर र सुडौल हातखुट्टा भएको ऊ सूरदासको भाइको छोरा थियो। ऊ तीन वर्षको हुँदादेखि सूरदासले नै उसको भरणपोषण गरिरहेका थिए। उसका आमाबाबुलाई प्लेगको महामारीले लगेको थियो। सूरदास मिट्ठूलाई प्राणभन्दा बढी माया गर्थे। आफू भोकै बसेर पनि उसलाई दिनको तीन छाक अवश्य खुवाउँथे। आफूले मटर चबाएर भए पनि उसलाई कहिले शख्खर रोटी, कहिले घिउ र नूनसँग रोटी ख्वाउँथे। भिक्षामा कसैले लड्डू वा मिठाई दिए, जतनका साथ गम्छाको फेरमा बाँध्थे र बेलुका मिट्ठूलाई नै दिन्थे। सबैसँग भन्थे - 'यो बुढेसकालका लागि गरेको हुँ। अहिले त हातखुट्टा चलेका छन्, माग्छु खान्छु तर बस्न-उठ्न नसकेका बेला एक लोटा पानी कसले देला ?'

मिट्ठूलाई सुतिरहेको देखेर बोके। झुप्राको द्वारमा लगेर उसलाई उतारे। ढोका खोले, मिट्ठूको हात-मुख धोइदिए र रोटी-शख्खर अगाडि राखिदिए। मिट्ठूले रोटी देखेर सन्किएर भन्यो - 'खान्न रोटी र शख्खर।' अनि ऊ उठ्यो।

सूरदास उसलाई फकाउन थाले - 'हेर नानी, कति राम्रो शख्खर छ, रोटी पनि नरम छन्, गहुँका हुन्। खाऊ त।'

'अहँ, खान्न।'

'त के खान्छौ नानी !'

'म त दूधरोटी खान्छु।'

'यसपल्ट चाहिँ खाऊ न त, बिहान दूध ल्याइदिउँला।'

मिट्ठू रून थाल्यो। सूरदास उसलाई फकाएर हारेपछि, आफ्नै भाग्यमाथि रूँदै उठे, लठ्ठी पक्रिए र छामछामछुमछुम गर्दै बजरङ्गी अहीरकहाँ गए जुन उनको झुप्रोबाट सबैभन्दा नजिक थियो। बजरङ्गी खाटमा बसेर नरिवलको पानी पिइरहेका थिए। उनकी स्त्री जमुनी भान्सा बनाइहेकी थिइन्। आँगनमा तीन-चारवटा भैँसी, चारपाँचवटा गाई बाँधिएका थिए र चारो खाइरहेका थिए। बजरङ्गीले सूरदासलाई देखेर सोधे - 'कता हिँड्यौ सूरे ? आज बग्गीमा बसेका  कसकसले तिमीसँग कुरा गरे ?

सूरदासले भने - 'तिनै गोदामका साहेब थिए।'

'तिमी त गाडीका पछिपछि थुप्रै कुद्यौ। केही हात लाग्यो ?'

'ढुङ्गा हात लाग्यो। इसाईहरूमा पनि कहीँ दया र धर्म हुन्छ र ? तिनैले मेरो जमिन लिने रे !'

'गोदाम पछाडिको हैन त ?'

'हो, थुप्रै लोभ्याइरहेका थिए, तर मैले मानिनँ।'

सूरदासले सोचेका थिए, अहिले यो कुरा कसैलाई नसुनाउँला तर यहाँ दूध लिनका लागि उनलाई खुसी पार्नु जरूरी भएको थियो। आफ्नो त्याग देखाएर उनी प्यारो बन्न चाहन्थे।

बजरङ्गीले भने - 'तिमीले मानेकै भए पनि कसले छाड्थ्यो र ? तीन-चारवटा गाउँका बीचमा एउटा त्यही जमिन त खाली छ। त्यो पनि उम्क्यो भने हाम्रा गाई-भैँसी कहाँ चर्छन् फेरि ?'

जमुनीले भनिन् - 'म त सबै वस्तुभाउ उनकै दैलामा बाँधेर आउँथे।'

'मेरो ज्यान गए पनि बेच्दिनँ। हजार-पाँच सयको के कुरा भयो र ? भाउजू, एक घुट्की दूध भए दिनुहोस् न। मिट्ठू खान बसेको छ। शख्खर-रोटी छुँदा पनि छुँदैन रे। दूध कि दूध रटिरहेको छ। घरमा नभएका कुरामा नै जिद्दी गर्छ। दूध पाएन भने आज भोकै सुत्छ।'

बजरङ्गीले भने - 'लैजाऊ न, दूध को अनिकाल छैन। भर्खर दुहेको छ। घिसूकी आमा, एक मख दूध देऊ सुरेलाई।'

जमुनीले भनिन्-'एकछिन पर्ख है, सूरे। हात खाली भएपछि दिन्छु।'

बजरङ्गीले भने - 'वहाँ मिठुवा खान बसेको छ, भन्छेस् हात खाली भएपछि दिन्छु। तँ उठ्दिनस् भने मैँ दिन्छु।'

जमुनीलाई राम्ररी थाहा थियो यी बुद्धूदास उठे भने पावाको साटो आधासेर दिएर पठाउँछन्। उनी झट्टै भान्साबाट निस्किइन्, एउटा मखमा आधा पानी राखिन् र त्यसमाथि दूध हालेर सूरदास भए ठाउँमा गइन् र हितैषी बोलीमा भनिन् - 'यी लेऊ, केटाको जिब्रो तिमीले यति सारो बिगारेका छौ कि दूध बिना गाँस नै निल्न सक्तैन। बाबु बाँचुन्जेल पेटभरी चना पनि खान पाउँदैनथ्यो, अहिले दूध बिना गाँसै छिर्दैन।'

'के गर्नु भाउजू, रून थाल्छ, माया लाग्छ।'

'एक दिन काम लाग्छ भनेर अहिले यसरी पालनपोषण गर्दै छौ तर हेर्दै जाऊ एक अँजुली पानी पनि दिँदैन। मेरो कुरा मनमा राख। पराईको छोरो आफ्नो कहिल्यै हुँदैन। हात-खुट्टा लागेपछि, तिमीलाई दुत्कारेर अलग्गै बस्न थाल्छ। तिमी आफ्नै लागि सर्प पालिरहेका छौ।'

'म मेरो धर्म गर्छु। मान्छे भयो भने किन जस दिँदैन होला। अँ आफ्नै भाग्य खोटो भयो भनेचाहिँ कसैले केही गर्न सक्तैन। आफ्नैले पनि ठूला भएर मुख फर्काइहाल्छन्।'

'मेरा भैँसी चराएर ल्याउन भन्देऊ न त। जवान भैसक्यो, कहिलेसम्म बालखै बनिरहन्छ ? घिसूकै जोडी त हो। मेरो कुरा मनमा राख। अहिलेदेखि नै काममा नलाए, खेलाडी भएर निस्कन्छ। कुनै काममा उसको मन लाग्दैन र जिन्दगीभरी तिम्रा टाउकामा बसेर फुरौला खाइरहन्छ।'

सूरदासले यसको केही जबाफ दिएनन्। दूधको मख लिए र लठ्ठीले छाम्दै घरतिर हिँडे। मिट्ठू भुइँमै सुतिरहेको थियो। उसलाई फेरि उठाए र दूधमा रोटी भिजाएर आफ्नै हातले खुवाउन थाले। मिट्ठू निदाएकोझैँ थियो तर रोटीको गाँस मुखअगाडि आउने बित्तिकै उसको मुख आफैँ खुल्थ्यो। उसले सबै रोटी खाएपछि सूरदासले उसलाई चटाईमा सुताए अनि हाँडीबाट पञ्चमेलको खिचडी निकालेर खाए। पेट भरिएन, हाँडी पखालपुखुल पारेर पिए। अनि मिट्ठूलाई बोके, द्वारमा टाटी लगाए र मन्दिरतिर हिँडे।

बस्तीको पल्लो कुनामा ठाकुरजीको मन्दिर थियो । ठाउँ अग्लो थियो र मन्दिरको चारैतिर तीन-चार गज चौडा चौतारो थियो। टोलको भेला हुने ठाउँ यही थियो। प्रायःजसो दिनैभरी पाँच-दसजना मानिस त्यहाँ पल्टिएका वा बसेका हुन्थे। एउटा पक्की इनार पनि थियो जसका छेउमा जगधर नाम गरेको ठेलावाला बस्थ्यो। ठेलामा तेलका मिठाई, बदाम, रामदानाको लड्डू आदि बेच्न राख्थ्यो। यात्री आउँथे, उसबाट मिठाई किन्थे, इनारको पानी पिउँथे र आफ्नो बाटो लाग्थे। मन्दिरका पुजारीको नाम दयागिरी थियो र उनी मन्दिरकै छेउको कुटीमा बस्थे। सगुण ईश्वरका उपासक थिए। भजन-कीर्तनलाई मुक्तिको मार्ग मान्थे र निर्वाणलाई ढोँग मान्थे। सहरका पुराना रईस कुंवर भरतसिंहकामा उनको मासिकवृत्ति बाँधिएको थियो। त्यसैबाट ठाकुरजीको भोग लाग्थ्यो। बस्तीबाट पनि केही न केही पाइहाल्थे। निःस्पृह मानिस थिए, लोभले छोएको पनि थिएन। सन्तोष र धैर्यका मूर्ति थिए। दिनभरी भगवत् भजनमा मग्न रहन्थे। मन्दिरमा एउटा सानो मण्डली थियो। दिनभरीको कामधन्धाबाट निवृत्त भएर, राति आठ-नौ बजे केही भक्तजनहरू जम्मा हुन्थे र एक-दुई घण्टा भजन गाउँथे। ठाकुरदीन भजन गाउनमा निपुण थिए, बजरङ्गी करताल बजाउँथे, जगधरलाई तम्बूरामा दक्षता हासिल थियो भने, नायकराम र दयागिरी सारङ्गी बजाउँथे। मजीरा बजाउनेको सङ्ख्या भने घटबढ भैरहन्थ्यो। अरू केही बजाउन नजान्नेले मजीरा बजाउँथे। सूरदास यस मण्डलीका मुटु थिए। उनी ढोल, मजीरा, करताल, सारङ्गी र तम्बूरामा समान रूपले अभ्यस्त थिए। गायनमा पनि उनको स्थान अग्र थियो। छेउछाउका टोलहरूमा पनि त्यति राम्रो गाउने कोही थिएन। ठूमरी र गजलमा उनको रूचि थिएन। कबीर, मीरा, दादू, कमाल, पलटू आदि सन्तहरूका भजनमा उनी मस्त हुन्थे, तन-मनको सुद्धि हराउँथ्यो। भएभरका चिन्ता र क्लेशहरू भक्तिसागरमा विलीन हुन्थे।

सूरदासले मिट्ठूलाई लिएर त्यस ठाउँमा पुग्दा, मण्डली जमिसकेको थियो। सभासदहरू आइसकेका थिए, सभापति मात्र बाँकी थिए। उनलाई देख्‍ने बित्तिकै नायकरामले भने - 'कति ढिलो गरेको, आधाघण्टादेखि बाटो हेरिरहेका छौँ। यो केटो बेकारमा तिमीलाई आइलाग्यो, हाम्रै घरबाट मागेर ख्वाइदिए हुन्थ्यो!'

दयागिरीले भने - 'यहाँ आए त हुन्थ्यो, ठाकुरजीको प्रसादले नै पेट भरिने थियो।'

सूरदासको जबाफ थियो - 'तिमीहरूले दिएकै त खान्छ, म त बनाइदिने मात्रै हुँ।'

जगधरले भने - 'केटालाई यति धेरै टाउकामा चढाउनु ठीक हुन्न। बालखलाई झैँ काखमा बोकी हिँड्छौ। मेरो विद्याधर यसभन्दा दुई वर्ष कान्छो छ र म कहिल्यै काखमा च्यापेर हिँड्दिनँ।'

सूरदासले भने - 'बाबुआमा बिनाको केटो अलिक हठी भएको छ! अँ, आज के अब ?'

दयागिरीले भने - 'पहिले रामायणको एउटा चौपाई गाऔँ।'

सबैले आआफ्ना बाजाहरू सम्हाले। सुर मिल्यो र आधाघण्टासम्म रामायण पाठ भयो।

नायकरामले भने - 'वाह, सूरदास वाह ! अब त तिम्रै आवाजको गुञ्जन छ।

बजरङ्गीले भने - 'मेरा दुवै आँखाको साटो यो कला दिए म सजिलै साट्छु।'

जगधरले भने - 'भैरो अहिलेसम्म आएका छैनन्, उनी नभई त मण्डली जम्दैन।'

'ताडी बेचिरहेको होला। पैसाको लोभ साँच्चै राम्रो हुँदैन। घरमा भएको भनेको एउटी काम गर्ने केटी र बूढी आमा मात्रै हो। मोरो दिन रात कामकै हाई-हाई गरिरहन्छ। दिनभरी काम गरे त भैहाल्यो नि, राति कमसेकम भगवान्‌को भजन गर्नु।'

'सूरेको सास फुल्छ, उसको फुल्दैन।'

'तिमी आफ्नो ठेला बेच न, तिमीलाई के थाहा, सास फुल्नु भनेको के हो ? सूरदासले जति सास बाँधेर गाउँछन् त्यति अरूले गरून् त, कलेजो फाटेन भने...। हाँसखेल होइन यो।'

सूरदासले भने - 'अरे भाइहरू झगडा किन गरेको। मैले कहिले मलाई गाउन आउँछ भनेको छु र ? तिमीहरूकै आज्ञाले राम्रो-नराम्रो जस्तो हुन्छ सुनाइदिन्छु।'

यतिबेलै भैरो पनि आएर बसे। बजरङ्गीले ब्यङ्ग्य कस्तै भने - 'ताडी पिउन कोही आएन ? यति छिटै दोकान बन्द गरेको ?'

ठाकुरदीनले भने -'थाहा छैन, हातखुट्टा धोएर ठाकुरजीका मन्दिरमा आए कि त्यत्तिकै ? सफाईको त अब कुरै रहेन।'

भैरोले प्रतिवाद गरे - 'तिमी सधैँ यहाँ नुहाएर आउँछौ ?'

ठाकुरदिनको जबाफ थियो - 'पान बेच्नु कुनै नीच काम त होइन।'

भैरोले भने- 'जस्तो पान, त्यस्तै ताडी। पान बेच्नु कुनै ऊँचो काम पनि होइन।'

ठाकुरदिनको तर्क थियो - 'पान त भगवान्‌लाई भोग लगाइन्छ। ठूलठूला जनैधारीले मेरो हातको पान खान्छन्। तिम्रा हातको पानी पनि कसैले खाँदैनन्।'

नायकरामले भने - 'ठाकुरदीन, तिमीले यो चाहिँ खरो कुरा गर्‍यौ। अछूतलाई कसैले केही पनि छुवाउँदैन।'

भैरोले भने - 'मेरो दोकानमा एक दिन आएर बस न, म देखाइदिइ हाल्छु नि, कस्ताकस्ता धर्मात्मा र तिलकधारी आउँछन्। जोगीका जातलाई कसैले पान खाँदै गरेको देखेको छ ? ताडी, गाँजा, चरस पिएको जहिले पनि देख्‍न सकिन्छ। कस्ताकस्ता महात्मा आएर खुसामद गर्छन्।'

नायकरामले भने - 'ठाकुरदीन अब जबाफ देऊ त। भैरो पढेलेखेका भए यिनले वकिलका कान पनि काट्ने थिए।'

भैरोले फेरि थपे - 'मैले त साँच्चै भनेको जस्तो ताडी त्यस्तै पान। अझ परातको ताडी त मानिसले औषधिझैँ पिउँछन्।'

जगधरले बीचैमा भने - 'साथीहरू, एक-दुईवटा भजन त गाउन देऊ। ठाकुरदीन, किन मान्दैनौ तिमी हार्‍यौ, भैरोले जिते। कुरा सकियो त।'

नायकरामले भने - 'अरे, हार किन मान्ने ? शास्त्रार्थ हो कि दिल्लगी ? अँ ठाकुरदीन, कुनै जबाफ तुरुन्तै सोच।'

ठाकुरदिनले भने - 'मेरो दोकानमा उभिएपछि मान्छे खुसी हुन्छन्। केवडा र गुलाबको सुगन्ध उड्छ। यसका दोकानमा उभियो भने दुर्गन्धले नाकै फाट्छ। उभिनै सकिँदैन। नालामा पनि त्यति दुर्गन्ध हुँदैन।'

बजरङ्गीले थपे - 'मैले एकघन्टासम्म पनि शासन गर्न पाउने हो भने, सबभन्दा पहिले सहरभरीका ताडीका दोकानहरूमा आगो सल्काउँथे।'

नायकरामले भने - 'भैरो अब देऊ यसको जबाफ, दुर्गन्ध त साँच्चै हुन्छ, हैन ?'

भैरोले प्रतिवाद गरे - 'एउटा मात्र हैन, सैयौँ जबाफ छन्। पान कुहियो भने, कसैले माटाको मोलमा पनि किन्दैन तर ताडी जति सड्छ त्यति त्यसको मोल बढ्छ। सिरका बन्छ जसको मोल नै एक रूपैयाँ बोतल पर्छ, जसलाई ठूलठूला जनैधारीहरूले प्रयोग गर्छन्।'

नायकरामले खुसी हुँदै समर्थन गरे - 'कति राम्रो कुरा गरेको, खुसी लाग्यो। मेरो अख्तियारी भएको भए यतिबेलै तिमीलाई वकालतको अनुमति पत्र दिन्थेँ। ठाकुरदीन अब हार मान, सक्तैनौ भैरोसँग।'

जगधरले भने - 'भैरो तिमी किन चुप लाग्दैनौ ? पण्डाजीलाई त चिन्दछौ हैन, अरूलाई भिडाएर तमासा हेर्ने उहाँको सोख हो र काम पनि। म हारेँ, तिमीले जित्यौ भन्दैमा तिम्रो पुरुषार्थ कहाँ घट्छ र ?'

भैरोले भने - 'किन भन्नु ? कुरा गर्नमा म कोहीभन्दा कम छु र ?

जगधरले भने - 'त्यसो भए ठाकुरदीन तिमी चुप लाग।'

ठाकुरदीनले भने - 'हुन्छ ल, चुप लाग्छु, अरू के गर्नु र। केही भजनकीर्तन होला भनेर यहाँ आएको, व्यर्थको झगडामा फँसियो। पण्डितजीलाई त के, हात खुट्टा नहल्लाईकन पञ्चामृत र लड्डू खान पाइहाल्नुहुन्छ, अनि उहाँलाई यस्तै दिल्लगी फुर्छन्। यहाँ पहिलो प्रहरदेखि उठेर काममा जोतिनुपर्छ।

जगधरले भने - 'अब भनवान्‌सित भेट भयो भने पण्डाको घरमा जन्म दिनु भनी बर माग्छु।'

नायकरामले भने - 'साथीभाइ हो, मलाई केही नगर है, दुब्लोपातलो छु।  म त चाहन्छु जलपानका लागि तिम्रै ठेलाबाट मिठाई लिऊँ, तर त्यसमा त्यति धेरै झिँगा बसेका हुन्छन् कि खान मनै लाग्दैन।'

जगधर - (रिसाएर) 'तिमीले खाएनौ भन्दैमा, मिठाईहरू कुहिँदैनन् र म भोकै पनि पर्दिनँ। दिनभरीमा रूपैयाँ- बीस आना कमाइपनि हाल्छु। जसले सित्तैका रसगुल्ला भेट्छ, उसलाई मेरा मिठाई किन खानुपर्‍यो ?'

ठाकुरदीनले भने - 'पण्डाजीको आमदानीको कुनै भरोसा हुँदैन। जति दैनिक पाउँछन् त्यो थोरै नै हो, त्यसमाथि भोजनको पनि भर छैन। मौकामा कोई अन्धो, गाँठवाला फँस्यो भने, हाती-घोडा, जग्गाजमिन सबै दिन्छन्। यस्ता भगवान् अरू कति छन र?'

दयागिरीले भने - 'केही होइन, ठाकुरदीन, पसिनाको कमाई हो भने त्यो हाम्रो आफ्नै कमाई हो। मेरो कमाईको हालत बजरङ्गीसँग सोध।'

बजरङ्गीले भने - अरूको कमाई पसिनाको भए तिम्रो कमाई रगतको हो। अरू पसिना बगाउँछन्, तिमी रगत बगाउँछौ। हरेक जजमानपिच्छे एउटा रगतको नदी बग्छ। जसले ठेलामा मिठाई राखेर दिनभरी झिँगा मार्छन् तिनले तिम्रो कमाई कस्तो हुन्छ भन्नेकुरा कसरी जान्दछन् र ?'

जगधरले भने - 'होला नि, मुख हेरेर भन्न आएका छौ, एक सेर दूधलाई अढाई सेर बनाएको चाहिँ कहाँ गो ? अनि फेरि भगवत्‌भक्ति ?'

बजरङ्गीले भने - 'यदि कसैले मेरा दूधमा एक थोपो पानी भेट्यो भने म उसको टाँगमुनिबाट छिर्न तयार छु। हामी त दूधमा पानी हाल्नुलाई गौ-हत्या जत्तिकै मान्छौँ। तिमीजस्तो तेलको मिठाईलाई घिउको भनेर बेच्दैनौँ। सोझा केटाकेटीलाई ठग्दैनौँ।

जगधर - 'ल भाइ, तिमी जित्यौ मै हारेँ। तिमी शुद्ध, तिम्रो दूध पनि शुद्ध। हामी खराब, हाम्रा मिठाई पनि खराब। अब भो।'

बजरङ्गीले भने - 'मेरो स्वभाव तिमी जान्दैनौ, अहिल्यै देखाउँछु, साँचो भनेर सयौँ लात हान्दा पनि हुन्छ तर झूठो कुराले मेरा शरीरमा आगो लाग्छ।'

भैरोले भने - 'बजरङ्गी धैरै ठूलो कुरा नगर। आफैँ मपाईँ भएर केही हुनेवाला छैन। मलाई मुख खोल्न बाध्य नपार। मैले पनि तिम्रो दूध खाएको छु। त्यो भन्दा त मेरो ताडी नै राम्रो।'

ठाकुरदीनले भने - 'अरे भाइ, मुखले जो जति इमानदार बने पनि शुद्ध दूध अब सपना भइसक्यो। दूध डढीसक्ता पनि तरको नामै छैन। त्यसबेलाको दूधको अर्कै कुरा थियो, एक आँचमै पनि अँगुलजति तर लाग्थ्यो।'

दयागिरी - 'अहिले त दूध पाइएको पो छ, राम्रो-नराम्रो जस्तो भएपनि। कुनै दिन यस्ता आउलान् जतिबेला दूधले आँखा भिजाउन पनि पाइनेछैन।'

भैरो - 'हालत यस्तो छ कि घरकीले सेरको तीन सेर नबनाई सुखै छैन। त्यसमाथि शुद्धताको कुरा। शुद्ध माल बेचेर त टाट पल्टिए त हो नि। त्यस्ता ठाटबाट एकै दिन चल्नेवाला छैनन्।'

बजरङ्गीले भने - 'पसिनाको कमाइ खानेहरूको टाट पल्टिँदैन। टाट तिनीहरूको पल्टिन्छ जो अरूको कमाई खाएर मोटाइरहन्छन्। सहरमा छौ, यसैमा भाग्यलाई धन्यवाद देऊ, गाउँमा भएका भए मुखमा झिँगा मात्र बस्नेथिए। म त ती सबैलाई पापी मान्छु जसले औने-पौने गरेर, यताको माल उता र उताको माल यता गरेर आफ्नो भुँडी भर्छन्। साँचो कमाई तिनीहरूकै मात्रै हो जसले छाती फोरेर धरतीबाट धन निकाल्छन्।'

बजरङ्गीले भन्न त भने तर सँगसँगै लज्जित पनि भए। यी कुराका लपेटमा त्यहाँका सबै मानिसहरू पर्दथे। उनी भैरो, जगधर र ठाकुरदीनलाई लक्ष्य गरेर भन्न चाहन्थे तर भनेको कुराले सूरदास, नायकराम, दयागिरी सबैलाई पापीको श्रेणीमा ल्याएर राखिदियो।

नायकरामले भने - 'ल भाइ, तिमीले त हामीलाई पनि अरूसँगै लग्यौ। एउटा पापी त मै भएँ, दिनभरी डुलिहिँड्छु र ठूलठूलालाई प्राप्त नहुने भोजन गर्छु।'

ठाकुरदीनले भने - 'अर्को पापी म, आफ्नो शोखको चीज बनाएर रोटी कमाउँछु। संसारमा तमोली रहेनन् भने कसको हानी हुन्छ ?'

जगधरले थपे - 'तेस्रो पापी म हुँ, दिनभरी औनेपौने गरिरहन्छु। स्याउ र खुम खान पाएनन् भने कोही मरि त हाल्दैन।'

भैरोले भने - 'तिमीभन्दा ठूलो पापी त म हुँ, किनकि सबैलाई नशा खुवाएर आफ्नो पेट भर्छु। साँच्चै भन्दा यो भन्दा नराम्रो काम केही छैन। आठै प्रहर नशाबाजहरूसँग बस्नु, उनीहरूकै कुरा सुन्नु। यस्तो पनि कुनै जीवन हो ?'

दयागिरीले भने - 'के हो बजरङ्गी ? साधुसन्तहरू सबैभन्दा पापी हुने भए, उनीहरू केही गर्दैनन् नि त, हैन ?'

बजरङ्गीले भने - 'होइन बाबा,  भगवान्‌को भजनभन्दा ठूलो कुन उद्यम हुन्छ र ? राम-नामको खेती त सबै कामहरूभन्दा ठूलो हो।'

नायकरामले भने - 'यहाँ त एक्ला बजरङ्गी पुण्यात्मा छन्, अरू सबका सब पापी छन्।'

बजरङ्गीले भने - 'साँचो कुरा गर्ने हो भने, सबैभन्दा ठूलो पापी त म हुँ, जो गाईको पेट काटेर, बाछाहरूलाई भोकै राखेर आफ्नो पेट पाल्छु।     

सूरदासले भने - 'भाइ, खेती सबैभन्दा उत्तम हो, पशुपालन त्यसभन्दा मध्यम हो। फरक त्यति नै हो। पशुपालनलाई किन पाप भन्छौ, र किन आफू पापी बन्छौ ? अँ सेवा घृणित हो, त्यसलाई पाप भने भो। अहिलेसम्म त तिमीहरूमाथि भगवान्‌को कृपा छ, आआफ्नो काम गरिरहेका छौ, तर अब यस्ता नराम्रा दिन आइरहेका छन्, तिमीहरूले सेवा-सुश्रुषा गरेर पेट पाल्नु पर्नेछ। जब तिमी आफ्ना नोकर आफैँ नभएर अर्काको नोकर हुन्छौ, तिमीमा नीति र धर्मको कुनै निसानी रहने छैन।'

सूरदासले यी कुरा गम्भीर भाव लिएर भनेका थिए, कुनै ऋषिले भविष्यवाणी गरेझैँ। सबै चुपचाप भए। ठाकुरदीनले चिन्तित भएर भने - 'किन सुरे, कुनै विपत्ति आउँदै छ कि क्या हो ? मलाई त तिम्रो कुरा सुनेर डर लागिरहेको छ। कुनै आपत् त आइलाग्दै छैन ?'

सूरदासले भने - 'लक्षण त त्यस्तै देखिइरहेका छन्। छालाको गोदामवाला साहेबले तमाखूको कारखाना खोल्ने अरे। मेरो जमिन मागिरहेका छन्। कारखाना खुल्नु भनेकै हामीमाथि विपत्ति आइलाग्नु हो।'

ठाकुरदीनले भने - 'त्यसो भने आफ्नो जमिन किन दिन्छौ ?'

'मैले दिने वा नदिने कुरा होइन। मैले दिए पनि नदिए पनि जमिन हातबाट फुत्किन्छ। पैसावालहरूले जे पनि गर्न सक्छन्।'

बजरङ्गीले भने - 'साहेब पैसावाल आफ्ना घरका होलान्, हाम्रो जमिन के खाएर
लिन्छन् ? टाउका छिनिन्छन्। टाउका । ठट्टा होइन यो।'

यिनै कुराहरू हुँदै गर्दा सैयद ताहिर अली आएर नायकरामसँग भने - 'पण्डाजी, तपाईँलाई केही भन्नु छ, यता आउनुहोस् त।'

बजरङ्गीले भने - 'त्यही जमिनका बारेमा कुरा गर्न होइन ? त्यो जमिन बिक्नेवाला छैन।'

ताहिरले भने - 'मैले तिमीसँग सोधेकै छैन। तिमी त्यस जमिनका मालिक-मुखिया पनि होइनौ।'

बजरङ्गीले फेरि भने - 'मैले भनिदिएँ नि, जमिन बिक्दैन, मालिक जो भए पनि होस्।'

ताहिर अलीले भने - 'हिँड्नुहोस् पण्डाजी, हिँड्नुहोस्, उहाँलाई बक्न दिनुहोस्।'

नायकरामले भने - 'तपाईँलाई जे भन्नुछ भन्नोस्, यी सबै आफ्नै मान्छे हुन्। कसैसँग छेकबार छैन। सुन्दा सबैले सुन्छन्, जे निधो हुन्छ, सबैको सल्लाहले हुन्छ। भन्नुस् के भन्नु
छ ?'

ताहिरले मुख खोले - 'त्यही जमिनका बारेमा कुरा गर्नु थियो।'

नायकरामले भने - 'त गर्नुहोस् न, जमिनका मालिक तपाईँका अगाडि नै छन्। जे भन्नुछ उनैलाई भन्दा भैगयो। मलाई बीचमा पसेर दलाली गर्नु छैन। सूरदासले साहेबलाई हुँदैन भनिसकेपछि अब के बाँकी रह्यो र ?'

बजरङ्गीले भने - 'पण्डाजीलाई बीचमा पसाएर काम बनाउने सोचेका हुँदा हुन् यिनले। साहेबलाई भनिदिनु, यहाँ हैकम चल्दैन।'

ताहिरले भने - 'तिमी अहीर हौ, त्यसैले यति तात्तिइरहेका छौ। साहेबलाई चिनेका छैनौ र ठूलठूला कुरा गरिरहेका छौ। जतिबेला साहेबले जमिन लिन खोज्छन्, तिमीले रोकेर हुनेवाला छैन। सहरका हाकिमहरूसँग उनको हिमचिम कत्तिको छ भन्नेकुरा त थाहै छ होला। उनकी छोरीको टीकाटालो जिल्लाको हाकिमसँग हुनेवाला छ। उनको कुरा काट्ने आँट कसैमा छैन। सोझो तरिकाले, मञ्जुरीले दिन्छौ भने देऊ राम्रो मोल पाउँछौ, यताउता गर्‍यौ भने जमिन त फुत्किन्छ नै, हातमा पनि केही पर्दैन। रेलका मालिकहरूले जमिन आफूसँगै ल्याएका थिए र ? हाम्रै जमिन त लिएका हुन् नि। त्यही तरिकाले यो जमिन फुत्किँदैन र ?'

बजरङ्गीले भने - 'तिमीलाई पक्कै रकम दिएको होला र नै यति धेरै वकालत गरिरहेका छौ।'

जगधरले भने - 'उनीबाट जे पाउनुहुन्छ, त्यो हामीबाटै लिनुस् र साहेबलाई जमिन पाइँदैन भनेर भनिदिनुस्। तपाईँ त झुक्याउनमा एक नम्बर हुनुहुन्छ, उनलाई यस्तो झुक्याउनुहोस् कि उनको मगज खलबलियोस्।'

ताहिरले भने - 'वकालत गरेको रूपैयाँ-पैसाको लोभमा हैन। आफ्ना मालिकको आँखामा छारो हालेर एक कौडी लिनु पनि अपराध मान्छु। उनको नुन खाएको छु त्यसैले उनको वकालत गर्छु।'

जगधरले भने - 'ल, साहेब, भुल भयो। माफ गर्नुहोला। मैले त संसारको चलनको कुरा गरेको थिएँ।'

ताहिरले सूरदाससँग भने - 'त, सूरदास, म साहेबलाई के भनूँ ?'

सूरदासले भने - 'बस्, जमिन बिक्दैन रे भनिदिनु।'

ताहिरले भने - 'म फेरि भन्छु, तिमीलाई धोका हुन्छ। साहेबले जमिन लिइछोड्छन्।'

सूरदासले भने - 'म बाँचुन्जेल त जमिन दिन्नँ। मरेपछि जे होस्।'

ताहिर अली गएपछि भैरोले भने - 'दुनियाँले आफ्नो फाइदा मात्रै हेर्छ। आफ्नो कल्याण भएपछि अरू मरून् या बाँचून्। बजरङ्गी तिम्रा गाई त्यहाँ चर्छन्, त्यसैले त्यो जमिन बिकेन भने राम्रो। मेरा गाईवस्तु छैनन्। कारखाना खुल्यो भने मेरो त बिक्री चौगुना बढ्छ। यो कुरा किन अरूको दिमागमा आउँदैन। तिमी सबैका तर्फबाट बचाऊ गर्ने को हौ ? सूरेको जमिन हो, उसले बेचोस् वा राखोस्, तिमीलाई के चासो बीचमा पस्न ?'

नायकरामले भने - 'हो बजरङ्गी, तिमीसँग केको सरोकार, तिमी को हौ बीचमा पस्ने ? भन भैरोको कुराको जबाफ देऊ।'

बजरङ्गीले भने - 'वास्ता-सरोकार किन छैन। दस गाउँ-टोलका जनावरहरू त्यहाँ चर्न आउँछन्, ती कहाँ जान्छन् ? साहेबका घरमा कि भैरोका घरमा ? यिनलाई आफ्नो दोकानको चिन्ता। कसैको घर किन फोर्दैनौ ?, छिटै धनी हुन्छौ त।'

भैरोले भने - 'तिमी नै फोर, दूधमा पानी मिसाएको चाहिँ कसले हो ?'

दयागिरीले भने - 'भैरो, साँच्चै तिमी झगडालू छौ। तिमीलाई प्रिय वचन बोल्न आउँदैन भने चुप लागेर किन बस्तैनौ ? धेरै कुरा गर्नु पनि बुद्धिमानीको लक्षण हैन। मूर्खता हो।'

भैरोले भने - 'ठाकुरजीको भोगको बहानामा दैनिक मोही खान पाइहाल्छौ अनि बजरङ्गीको जयगान नगरेर कसको गर्छौ त ?'

नायकरामले भने - 'केटाले कुराचाहिँ पक्का गर्छ, एकपल्ट सुनेपछि कसैले मुख खोल्न सक्तैन।'

ठाकुरदीनले भने - 'अब आजको भजनभक्ति सकियो। ढोल-मजीरा थन्क्याइदेऊ।'

दयागिरी - 'भोलिदेखि तिमी यहाँ नआऊ है भैरो।'

भैरोले प्रतिवाद गरे - 'किन नआउनू ? तिमीले बनाएको मन्दिर त होइन। मन्दिर त भगवान्‌को हो। तिमीले भगवान्‌को दरबारमा आउनबाट कसलाई रोक्न सक्छौ र ?'

नायकरामले भने - 'लेऊ बाबाजी अब, पेट भरियो कि भरिएन ?'

जगधरले भने - 'ल बाबाजी तिमी नै चेत, यसबाट साधुसन्तको महिमा घट्तैन। भैरो साधुसन्तको कुरालाई नराम्रो मान्नु हुँदैन।'

भैरोले भने - 'तिमी नै चापलुसी गर। किनकि चापलुसीकै रोटी खान्छौ। यहाँ कसैबाट दब्नुछैन।'

बजरङ्गी - 'ल, अब चुप लाग भैरो, धेरै भो। सानो मुख, ठूला कुरा।'

नायकराम - 'त भैरोलाई किन धम्क्याउँछौ ? के भगौडा सम्झेका छौ ? जब तिमीले कुस्ती जितेका थियौ, त्यसबेला तिम्रै बोलबाला थियो। अचेल भैरोको छ।'

उता भैरो नायकरामको व्यङ्ग्यमा झर्किनु रिसाउनको साटो हाँस्न थाले। व्यङ्ग्यमा विष थिएन, रसैरस थियो। शङ्खेकीरा पनि मरेर रसै हुने हो।

भैरो हाँस्न थालेपछि सबैले आआफ्ना बाजागाजा सम्हाले र भजन गाउन थाले। सूरदासको सुरिलो तानले आकाश-मण्डलमा नृत्य गरिरहेको भान भैरहेको थियो। मानौँ प्रकाश-ज्योतिले जलको अन्तस्थलमा नृत्य गर्छ -

झीनी-झीनी बीनी चदरिया

काहे कै ताना, काहे कै भरनी, कौन तार से बीनी चदरिया ?

इंगला-पिंगला ताना-भरनी, सुखमन तार से बीनी चदरिया,

आठ कंवल-दल-चरखा डोले, पाँच तत्त, गुन तीनी चदरिया,

साईँ को सियत मास दस लागै, ठोक -ठोक बीनी चदरिया।

सो चादर सुर-नर-मुनि ओढैं, ओढिकै मैली कीनी चदरिया,

दास कबीर जतन से ओढी, ज्यों कि त्यों धर दीनी चदरिया।

कुरैकुरामा रात निकै बितिसकेको थियो। एघारको घण्टी पनि बजेको सुनियो। सबैले आआफ्नो बाजागाजा सम्हालेर राखे। सभा विसर्जित भयो। सूरदासले मिट्ठूलाई काखमा उठाए र आफ्ना झुप्रामा ल्याएर टाटीमा सुताए। आफू भुइँमा पल्टिए।

 --

क्रमशः

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

 

 

 

 

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :