अङ्क ४१भाद्र २०६६वर्ष ६

रङ्गभूमि

प्रेमचन्द

 भाग - १

सहर धनीहरूको बसोबास गर्ने र क्रय-विक्रय गर्ने स्थान हो। सहरभन्दा बाहिरको जमिन उनीहरूकै मनोरञ्जन र विनोदको ठाउँ हो। सहरका मध्यमभागमा तिनैका छोराछोरीहरू पढ्ने पाठशाला र मुद्दा लड्ने अड्डाहरू हुन्छन्, जहाँ न्यायका नाममा गरिबका घाँटी रेटिन्छन्। सहर वरिपरि गरिबहरूकै बसोबास हुन्छ। बनारस सहरको पान्डेपुर यस्तै बस्ती हो जहाँ न सहरको दीयाको ज्योति पुग्छ न सहरका बाछिटाहरू। सहरको जलस्रोतको प्रवाह त परै जाओस्। सडक किनारामा ससाना बनियाँ र हलवाईहरूका दोकानहरू छन् र तिनका पछाडि एक्कावाला, गाडीवान, ग्वाला र मजदुरहरू बसोबास गर्छन्। दुईचार घर बिग्रेका हाकिमहरूका पनि छन् जो हीनावस्थाका कारण सहरबाट लखेटिएका छन्। यहीँ एकजना अन्धा चमार बस्छन् जसलाई मानिसहरू सूरदास भन्छन्। भारतवर्षमा अन्धाहरूका लागि न नाम जरूरी हुन्छ न काम। सूरदास उनीहरूको सर्वमान्य नाम र भिक्षा माग्नु उनीहरूको सर्वमान्य काम मानिन्छ। सूरदासका गुणहरू पनि जगत्‌प्रसिद्ध छन् – गाउनु-बजाउनुमा विशेष रूचि, हृदयमा अनुराग, अध्यात्म र भक्ति विशेषमा प्रेम उनका स्वाभाविक लक्षणहरू हुन्। उनको बाह्य दृष्टि बन्द र अन्तर्दृष्टि खुल्ला हुन्छ।

सूरदास क्षीणकाय, दुर्बल र सरल व्यक्ति थिए। उनलाई दैवले कदाचित् भिक्षा माग्नकै लागि बनाएका थिए। उनी नित्य लट्ठी टेक्तै पक्की सडकमा आएर बस्थे र यात्रीहरूको जीवन र दीर्घायुको कामना गर्थे। ‘दाता ! भगवान्‌ले तपाईँको कल्याण गरून्- ‘ यही उनको बोल्ने वाक्य थियो जसलाई उनी दोहोर्‍याइरहन्थे। उनले यसलाई मानिसको दया र प्रेरणा पाउने मन्त्र ठानेका होलान्।  पैदलयात्रीहरूका लागि उनी आफ्नै ठाउँमा बसीबसी मङ्गल कामना गर्थे भने कुनै एक्का आएको चाल पाएमा त्यसकै पछिपछि दगुर्थे। बग्गीहरू आएमा त उनका खुट्टाले पखेटा लागेझैँ उफ्रिन थाल्थे। तर छिटो दौडने गाडीहरूलाई भने उनले आफ्ना शुभेच्छाहरूभन्दा निकै पर ठानेका थिए। बिहानदेखि बेलुकासम्मको उनको समय शुभकामनाहरूमै बित्थ्यो। यहाँसम्म कि पुस-माघको कठ्याङ्ग्रिदोँ जाडो र बैसाख-जेठको लूमा पनि उनले कहिल्यै आफ्नो काम छाडेनन्।

कार्तिक महिना थियो। वायुमा सुखद शीतलता छाएको थियो। साँझ पर्नै लागेको थियो। सूरदास आफ्नो ठाउँमा मूर्तिवत् एक्का वा बग्गीका आवाजहरू सुन्नलाई कान थापेर बसेका थिए। सडकका दुई किनारामा रूखहरू थिए। गाडावालहरूले तिनका फेदमा गोरूगाडी बिसाउँथे र आफ्ना बलिया गोरूहरूलाई टाटका टुक्रामा भूस र दाना खुवाउँथे। गाडावालाहरू आगो सल्काउँथे, कोही ओढ्नेमा आँटा गुँद्थे र कोही गोलागोला रोटीहरू बनाउँदै आगामा सेक्न थाल्थे। कसैलाई भाँडा चाहिँदैनथियो। सितनका लागि घुइँयाको भूरता नै प्रशस्त हुन्थ्यो र यस्तो दरिद्रतामा पनि उनीहरूलाई केही चिन्ता थिएन। बस्थे रोटी सेक्थे, खान्थे र गाउँथे। गोरूका घाँटीमा बाँधिएको घन्टीले मजीराको काम गरिरहेको हुन्थ्यो। गनेस नाम गरेका गाडावालले सूरदासलाई सोधे- ‘के छ भक्त, बिहे गर्छौ ?’

सूरदासले टाउको हल्लाएर भने – ‘कोही छे कतै?’

'छ, एउटी गाउँमा तिम्रै जातकी हो, सूरिया। भन्छौ भने कुरा चलाऊँ ? तिम्रा भोजमा दुई दिन मजाले रमाउँला।'

'यो भिक्षा माग्नेलाई कुनै धन प्राप्त हुने ठाउँ भनेको भए, माग्ने कामबाट मुक्ति मिल्थ्यो कि ? अहिले आफ्नै पेटको चिन्ता छ, एउटी अन्धी फेरि थपिई भने थप चिन्ता बढ्ने निश्चित छ। यस्तो बन्धनमा म खुट्टा हाल्नेवाला छैन। बन्धनै भए बरू सुनको होस्।'

'लाख रूपैयाँकी सेविका चाहँदैनौ त ? बेलुका तिम्रा गोडा मालिस गर्छिन्, कपालमा तेल लगाइदिन्छिन्, तिमी फेरि जवान हुनेछौ, यी हड्डीहरू पनि देखिनेछैनन्।'

'अनि रोटीहरूको सहारा पनि हराउनेछ। यिनै हड्डी देखेर त मान्छेमा दया जाग्छ। मोटाघाटालाई कसले भिक्षा दिन्छ र ? उल्टै गालीगलौज मात्र पाइन्छ।'

'होइन हौ, उसैले तिम्रो सेवा पनि गर्छे र रोटी पनि दिन्छे। बेचन साहूकहाँ तोरी केलाई भने चार आना दैनिक त पाइहाल्छे।'

'अनि त अझै दुर्गति हुने भो, श्रीमतीको कमाई खाएर कसैलाई मुख देखाउन लायक पनि हुन्न।'

अचानक एउटा बग्गी आउँदै गरेको सुनियो। सूरदास लट्ठी टेकेर उठे। यो उनको कमाईको समय थियो। यतिबेला सहरका रइस र महाजनहरू हावा खान निस्कन्थे। बग्गी छेउमा आउने बित्तिकै सूरदास ' दाता ! भगवान्‌ले तपाईँको कल्याण गरून्।' भन्दै दौडिन थाले।

बग्गीको अगाडिको गद्दीमा मि. जान सेवक र उनकी पत्‍नी मिसेज सेवक बसेका थिए। अर्को गद्दीमा उनीहरूकै जवान छोरो प्रभु सेवक र उनकी बहिनी सोफिया थिइन्। जान सेवक खाइलाग्दा र गोरा मान्छे थिए। बूढो भएर पनि उनका अनुहारमा लाली हराएको थिएन। कपाल र दाह्री खिचडीझैँ देखिन्थ्यो। पोसाक अङ्ग्रेजी थियो जुन उनलाई सुहाएको पनि थियो। मुखाकृतिबाट गर्व र आत्मविश्वास झल्किन्थ्यो। मिसेज सेवकलाई भने समयले निकै सताएको थियो। अनुहार चाउरी परेको थियो र उनका हृदयबाट पनि सङ्कीर्णता झल्किन्थ्यो जसलाई सुनको चस्माले छेक्न नसकेको देखिन्थ्यो। प्रभु सेवकको जीउडाल ठिकैको, शरीर तन्दुरुस्त र मुख निस्तेज देखिन्थ्यो। उनका आँखाहरूमा चस्माका साथै गम्भीरता सहित विचारको गाढा रङ देखिन्थ्यो। आँखाबाट करूणाको ज्योति निस्केझैँ लाग्थ्यो। उनले प्रकृतिको सौन्दर्य पान गरेझैँ लाग्थ्यो। मिस सोफिया भने ठूलठूला रसिला आँखा भएकी लज्जाशील युवती थिइन्। देह अति कोमल थियो मानौँ पञ्चतत्वको साटो फूलहरूबाट उनको सृष्टि भएको होस्। रूप पनि अति सौम्य थियो मानौँ लज्जा र विनयकी मूर्ति हुन्। शिरदेखि पैतालासम्म चेतनैचेतना थियो, जडताको कहीँ कतै आभाससम्म पनि थिएन।

सूरदास त्यही बग्गीका पछिपछि दौडिरहेका थिए। त्यति टाढासम्म र त्यति वेगले त कुनै सिद्धहस्त धावक पनि दौडन सक्तैनथ्यो। मिसेज सेवकले नाक खुम्च्याएर भनिन् – 'यस दुष्टको चिच्याहटले त कानका पर्दा पनि च्यातिने भो, यो यत्तिकै दौडिरहन्छ ?'

जान सेवकले भने – 'यस देशबाट यो आपत् कहिले टर्ने हो ? जुन देशमा भिक्षा माग्नु लज्जास्पद कुरा होइन, यहाँ सम्म कि सर्वश्रेष्ठ जातिहरूले पनि भिक्षा माग्ने कार्यलाई आफ्नो जीवनवृत्ति बनाएका छन्, जहाँ महात्माहरूको पनि एकमात्र आधार त्यही हो, त्यस देशको उद्धार हुन अझै सदीयौँ लाग्छ।

प्रभु सेवकले भने – 'यहाँ यो प्रथा चलेको त प्राचीनकालदेखि नै हो। वैदिक कालमा पनि राजपुत्रहरू विद्या लाभ गर्ने बेलामा भिक्षा मागेर नै आफ्नो र गुरूको गुजारा चलाउँथे। ज्ञानीहरू र ऋषिहरूका लागि यो कुनै अपमानको कुरा थिएन, किनकि उनीहरू माया-मोहबाट मुक्त रहेर ज्ञान प्राप्ति गर्नका लागि दयाको आश्रय लिन्थे। त्यसै प्रथाको अहिले अनुचित प्रयोग भइरहेको छ।  मैले त यहाँसम्म सुनेको छु कि कैयन् जमिन्दार ब्राह्मणहरू घरबाट खाली हात मुद्दा लड्छन्, दिनभरी छोरीको बिहे वा कुनै सम्बन्धीको मृत्युको बहानामा भिक्षा माग्छन्, बेलुका इज्जत बेचेर पैसा बनाउँछन्, तिनै पैसा अन्तमा कचहरीका कर्मचारी र वकिलहरूका गोजीमा पुग्छन्।'

मिसेज सेवकले भनिन् – ' सइस, त्यस अन्धालाई भाग्न भन, पैसा छैन।'

सोफियाले भनिन्- 'होइन आमा, पैसा भए दिइहाल्नुस् न। बिचरा आधा माइलदेखि दौडिरहेको छ, नदिए निराश हुन्छ। उसको आत्मा कति दुख्तो हो !'

'त्यसलाई कसले दौडिनु भनेको थियो र ? दौडेपछि खुट्टा दुख्छ नै।'

'होइन आमा केही दिनु न। हेर्नुस कति स्याँस्याँ फ्याँफ्याँ भैसक्यो।'

प्रभु सेवकले गोजीबाट पर्स निकाले तर तामा वा निकलको कुनै सिक्का भेटिएन। चाँदीको सिक्का दिऊँ भने आमा रिसाउने डर। बहिनीसँग भने – 'सोफी, खुजरा पैसा रहेनछ। सइस अन्धालाई भनिदेऊ, विस्तारै गोदामसम्म आओस्, त्यहाँ कतै पाइन्छ कि।'

तर सूरदासलाई त्यतिले कसरी सन्तोष हुन्थ्यो र। उनलाई गोदाममा उनका लागि कोही पर्खेर बसेको हुँदैन भन्ने कुरा थाहा थियो। कतै बग्गी अगाडि गयो भने त यत्रो मेहनत खेर जाने भो। त्यसैले उनले बग्गी छाडेनन्। पूरै एक माइलसम्म दौडेकादौडै भए। गोदाम आएपछि बग्गी रोकियो र सबैजना त्यसबाट उत्रिए। सूरदास हरिया वृक्षका आडमा ठूटो उभिएझैँ, उभिएका थिए। सास बढेको थियो र सम्हालिन खोजिरहेका थिए।

मि. जान सेवकले त्यहाँ छालाको खरिदबिक्री केन्द्र खोलेका थिए। ताहिर अलि नामका व्यक्ति उनका कर्मचारी बरन्डामा बसेका थिए। साहेबलाई देख्‍ने बित्तिकै उठेर सलाम गरे।

जान सेवकले सोधे- 'भन्नुस् खान साहेब, छालाबाट आमदानी कस्तो छ ?'

ताहिरले भने – 'हजुर, जस्तो हुनुपर्थ्यो त्यस्तो त छैन, तर अब राम्रै हुन्छ भन्ने आस चाहिँ छ।'

'त्यसो भए केही दौडधूप गर्नुहोस्। एकै ठाउँ बसेर त काम चल्दैन। छेउछाउका गाउँमा घुम्नुहोस्। म्युनिसिपलका चेयरम्यान साहेबसँग भनेर यहाँ एउटा रक्सी र ताडीको दोकान खोलीदिऊँ भन्ने लागेको छ। त्यसो भए छेउछाउका चमारहरू सधैँ यहाँ आउँछन् र तपाईँलाई उनीहरूसँग घुलमिल हुने मौका जुर्छ। अचेल यस्ता ससाना दाउपेच नगरी कामै चल्दैन। मलाई नै हेर्नुस् न कुनै दिन त्यस्तो बित्दैन जुन दिन सहरका दुई-चार धनीमानीसँग भेट नहोस्। दस हजारको एउटै पोलिसी हातलाग्यो भने पनि कैयन् दिनको भागदौड ठेगान लाग्छ।'

'हजुर मलाई पनि सुर्ता लागिरहेकै छ। मालिकलाई दुईचार पैसा नाफा नभए उसले किन व्यवसाय गर्छ भन्ने जानेकै छु। तर हजुरले जुन तलब मेरा लागि तोक्नु भएको छ, त्यसले गुजारा भैरहेको छैन। बीस रूपैयाँले त खानपिन पनि पर्याप्त हुँदैन, त्यसमाथि सबैको आवश्यकता हेर्नैपर्‍यो। तपाईँलाई केही भन्ने आँट पनि आउँदैन, नभनी पनि हुँदैन, नभनेर फेरि कसलाई
भन्नु ?'

'अलिक दिन काम गर्नुस्, त्यसपछि बढुवा होला। कहाँ छ तपाईँको हिसाब-किताब, खै हेरूँ त !'

यति भनेर जान सेवक बरन्डाको भत्किन लागेको मूढामा बसे। मिसेज सेवक कुर्सीमा बसिन्। ताहिर अलीले हिसाब-किताबको खाता अगाडि ल्याएर राखिदिए। साहेबले हेर्न थाले। दुई-चार पन्ना यताउति पल्टाएपछि नाक खुम्च्याएर भने – 'अहिलेसम्म तपाईँले हिसाब-किताब तरिका पुर्‍याएर राख्‍न जानेको छैन, त्यसमाथि भन्नुहुन्छ बढुवा गरिदिनु। हिसाब त ऐनाझैँ हुनुपर्‍यो नि। यहाँ त केही चाल पाइन्न। तपाईँले कतिको माल किन्नुभयो, कति माल बेच्नुभयो। खरीददारलाई दिइने छूटको उल्लेख पनि यहाँ छैन।'

'त्यसलाई पनि दर्ता गर्नु र ?'

'किन, त्यो मेरो आमदानी होइन र ?'

'मैले त त्यसलाई आफ्नो हक ठानेको थिएँ।'

'पटक्कै होइन। म तपाईँलाई जालसाजीको मुद्दा लगाउन सक्छु।(रिसाएर) कामदारको हक हो, अँ, ..। तपाईँको हक तपाईँको तलब मात्रै हो, त्यसदेखि बाहेक केही हैन, बुझ्नुभो !'

'हजुर अबदेखि यस्तो गल्ती हुँदैन।'

'अहिलेसम्म यसमा तपाईँले जति रकम असूल गर्नुभो, त्यो आमदानीमा देखाउनुहोस्, हिसाब-किताबको मामिलामा म अलिकति पनि छूट दिन्नँ।'

'हजुर रकम साह्रै थोरै हुन्छ।'

'कुनै छूट हुँदैन, एक पैसा नै भए पनि तपाईँले लेख्‍नै पर्छ। अहिले त्यो रकम सानो होला, तर केही दिनमै त्यो सैयौँमा पुग्न सक्छ। त्यही रकमले म यहाँ एउटा सन्डे स्कुल खोल्न चाहन्छु। बुझ्नुभो ? मेम साहेबको ठूलो अभिलाषा छ। ल, ठीक छ, अब भन्नुहोस् तपाईँले भनेको त्यो जमिन कहाँ छ ?'

गोदामपछाडि एउटा फराकिलो मैदान थियो। छेउछाउका जनावरहरू त्यहाँ चर्न आउँथे। जान सेवकले त्यही मैदान किनेर त्यहाँ सिगरेटको कारखाना खोल्न चाहेका थिए। प्रभु सेवकलाई त्यससम्बन्धी अध्ययन गर्न अमेरिका पठाइएको थियो। जान सेवकसँगै प्रभु सेवक र मिसेज सेवक पनि जमिन हेर्न आएका थिए। पिता र पुत्रले जमिनको विस्तारको अनुमान गरे। कहाँ कारखाना राख्‍ने, कहाँ गोदाम, कहाँ कार्यालय, कहाँ म्यानेजरको बङ्गला, कहाँ श्रमिकका कोठाहरू, कहाँ कोइला राख्‍ने ठाउँ आदि र पानी ल्याउने व्यवस्थामा बाबुछोराबीच धेरैबेरसम्म कुरा भइरह्यो। अन्त्यमा जान सेवकले ताहिर अलीसँग सोधे – 'यो जमिन कसको हो ?'

'हजुर, ठ्याक्कै त थाहा छैन, अहिले सोधिहाल्छु, सायद नायकराम पण्डाको हो कि ?'

'तपाईँले यो जमिन कतिसम्ममा मिलाउन सक्नु हुन्छ ?'

'मलाई त उसले बेच्छ जस्तो लाग्दैन।'

'किन बेच्तैन, उसको बाबुले पनि बेच्नु पर्छ। उसको हैसियत के छ र ? एक रूपैयाँको सत्र आना दिनुहोस् र आकाशबाट तारा पनि मगाउनुहोस्। उसलाई मकहाँ पठाउनुहोस्, मै कुरा गर्छु।'

प्रभु सेवकले भने – 'मलाई त यहाँ कच्चा पदार्थ पाइँदैन कि भन्ने लागिरहेको छ ? यतातिर सूर्ती खेती कम गर्छन्।'

जान सेवकले भने – 'कच्चा पदार्थ पैदा गराउने गर्ने काम त तिम्रो हो। किसानलाई उखू वा जौसँग विशेष प्रेम त हुँदैन। तिनले जेबाट राम्रो पैसा आउँछ त्यसैको खेती गर्छन्। यस कुराको खासै चिन्ता छैन। खाँ साहेब, त्यस पण्डालाई भोलि मकहाँ पठाइदिनुहोला है।'

'हुन्छ हजुर, उसलाई भन्छु।'

'भन्ने हैन, पठाउने। तपाईँले यति पनि गर्न सक्नुभएन भने म तपाईँलाई कारोबारको ज्ञान अलिकति पनि नभएको मान्नेछु।'

मिसेज सेवकले अङ्ग्रेजीमा भनिन् – 'तपाईँले यहाँ अलिक अनुभवी मान्छे राख्‍नुपर्‍यो।'

जान सेवकले अङ्ग्रेजीमै उत्तर दिए – 'अहँ, मलाई त अनुभवी मान्छेहरूबाट डर लाग्छ। तिनका अनुभवले आफ्नै फाइदाको कुरा सोच्छन् हामीलाई बेफाइदा हुन्छ। यस्ता मानिसबाट म टाडै रहन्छु।'

यस्तै कुरा गर्दै तीनैजना फेरि बग्गीतिर लागे। पछिपछि ताहिर अली पनि थिए। त्यहाँ सोफिया उभिएर सूरदाससँग कुरा गरिरहेकी थिइन्। प्रभु सेवकलाई देख्‍ने बित्तिकै भनिन् – 'प्रभु, यो अन्धो त कुनै ज्ञानी पुरुषझैँ लाग्छ, पूरै फिलोसफरजस्तो।'

मिसेज सेवकले भनिन् – 'तँ जता गए पनि कोही न कोही ज्ञानी मान्छे भेटिहाल्छेस्। के हो अऩ्धा ? तँ किन भिक्षा माग्छस् ? काम किन गर्दैनस् ?'

सोफियाले अङ्ग्रेजीमा भनिन्- 'आमा यो अन्धो मान्छे पटमूर्ख त हैन।'

सूरदासलाई सोफियाबाट त्यति सम्मान पाइरहेका बेलामा मिसेज सेवकका शब्दहरू अपमानजनक लागे । आफ्नो आदर गर्ने व्यक्ति सामु अपमान कैयन् गुणा असह्य लाग्छ। उनले शिर ठाडो पारेर भने – 'भगवान्‌ले जन्म दिएका छन्, उनकै चाकरी गर्छु। अरू कसैको गरेको छैन र हुन पनि सक्तैन।'

'तेरा भगवान्‌ले तँलाई किन अन्धो बनाए त ? भिक्षा माग्न भनेर ? तेरा भगवान् त अन्यायी पो रहेछन्।'

सोफियाले फेरि अङ्ग्रेजीमा भनिन् – 'आमा, किन यसको अनादर गर्नुहुन्छ ? मलाई लाज लागिसक्यो।'

सूरदासले भने – 'भगवान् अन्यायी हुँदैनन्। मेरो पूर्वजन्मको कमाई नै यस्तै थियो। जस्तो कर्म गरेको थिएँ त्यस्तै फल भोगिरहेछु। यो सबै भगवान्‌को लीला हो। उहाँ ठूलो खेलाडी हो। उहाँले घरबार बनाउँदै बिगार्दै गर्नुहुन्छ। उहाँको कसैसँग बैर छैन। उहाँले कसैलाई अन्याय गर्नुहुन्न।'

सोफियाले भनिन् – 'म अन्धी भएकी भए ईश्वरलाई कहिल्यै माफ गर्ने थिइनँ।'

सूरदासले जबाफ दिए- 'मिस साहेब, आफ्नो पाप सबैले भोग्नै पर्छ। यसमा भगवान्‌को केही दोष छैन।

सोफियाले आमासँग भनिन्- 'आमा, यही रहस्य म बुझ्दिनँ। यदि प्रभु यिसुले आफ्नो रगतले हाम्रो पापको प्रायश्चित गरे भने, इसाईहरूको अवस्था समान किन छैन ? अन्य धर्ममा जस्तै हाम्रामा पनि धनी-गरिब, राम्रा-नराम्रा, लूला-लङ्गडा, सबै खालका मानिसहरू छन्। किन होला ?'

मिसेज सेवकले उत्तर दिन नपाई सूरदासले भने – 'मिस साहेब हामीले आफ्नो पापको प्रायश्चित आफैँ गर्नुपर्छ। यदि कसैले हाम्रा पापका भारहरू आफ्नो शिरमा लिन्छ भने, संसारमा अँध्यारो मात्रै हुनेछ।

मिसेज सेवकले भनिन् – 'सोफी अफसोस् छ कि यति मोटो कुरो पनि तँ बुझ्दिनस्, जबकि रेवरेन्ड पिमले तेरो शङ्काको समाधान कैयन् पटक गरेका छन्।'

प्रभु सेवकले सूरदाससँग भने – 'तिम्रा विचारमा हामी सबैले वैरागी हुनुपर्छ हैन ?'

'हो, जबसम्म हामी वैरागी हुँदैनौँ तबसम्म दुःखबाट बच्न सक्तैनौँ।'

जान सेवकले भने – 'शरीरमा खरानी घसेर भिक्षा माग्नु सबभन्दा दुःखको कुरा हो, यसले हाम्रो दुःख कति कम गर्न सक्ला र ?'

'साहेब, वैरागी हुनका लागि खरानी घस्न र भिक्षा माग्नु पर्दैन। हाम्रा महात्माहरूले लामो जटा पाल्नु र खरानी घस्नुलाई पाखण्ड भनेका छन्। वैराग्य त मनभित्रबाट उत्पन्न हुने कुरा हो। बस्ने संसारमै हो, तर लिप्त नभैकन। यसैलाई वैराग भन्दछन्।

मिसेज सेवकले भनिन् – 'हिन्दूहरूले यी कुरा यूनानका stoic हरूबाट सिकेका हुन्, तर यिनीहरू तिनलाई व्यवहारमा उतार्न कति कठिन हुन्छ भन्ने कुरा बुझ्दैनन्। मान्छेमा दुःख वा सुखको असर पर्दैनपर्ने कुरा कहीँ हुन्छ र ? यही अन्धाले अहिले पैसा पाएन भने मनमनै हजारौँ गालीहरू बर्साउँछ।'

जान सेवकले उत्तर दिए – 'ठीक छ यसलाई केही नदेऊ। हेरौँ के भन्दो रहेछ। अलिअलि पनि गनगन गरेछ भने कोर्राले हान्छु। अनि वैराग सबै बिर्सिन्छ। (सइससँग) गाडी घुमाऊ, क्लब हुँदै बङ्गलातिर जाऊँला।'

सोफियाले अनुनय गरिन् – 'आमा, केही त दिनु न, बिचरा त्यति टाढाबाट आस लिएर दौडँदै आयो।'

प्रभु सेवकले भने – 'ओहो, मैले त पैसा साट्ने कुरा बिर्सिएँछु।'

जान सेवकले भने – 'अहँ, हुँदैहुँदैन। केही नदिने। म यसको वैरागलाई पाठ पढाउन चाहन्छु।'

बग्गी हिँड्यो। सूरदासले निराशाको मूर्ति बनेर बग्गीतिर अन्धा आँखाले हेरिरहे। उनलाई मानिसहरू यति निर्दयी हुनसक्छन् भन्ने लागिरहेकै थिएन। उनी उपचेतनाका अवस्थामा बग्गी पछिपछि कैयन् पाइला हिँडे। अचानक सोफियाले भनिन् – 'सूरदास, विस्मत् छ, मसँग यतिबेला पैसा छैन। फेरि आउँदा तिमीले निराश हुनु पर्दैन।'

अन्धाहरू सूक्ष्मदर्शी हुन्छन्। सूरदासले स्थिति राम्ररी बुझिसकेका थिए। हृदयमा क्लेश नै भए पनि लापरवाहीसँग भने – 'मिस साहेब, अब किन चिन्ता गर्नुहुन्छ ? भगवान्‌ले तपाईँको कल्याण गरून्। तपाईँको दया ममा छ, यही ठूलो कुरा हो।'

सोफियाले आमातिर फर्केर भनिन् – 'आमा देख्‍नुभो, यसको मन अलिकति पनि मैलो भएको छैन।'

प्रभु सेवकले भने- 'अँ, हेर्दा त दुःखी देखिँदैन।'

जान सेवकले भने – 'उसको मनलाई सोध त।'

बग्गी विस्तारै हिँडिरहेको थियो। त्यसैबेला ताहिर अलीले बोलाए – 'हजुर, त्यो जमिन पण्डाको होइन रहेछ, सूरदासको हो रे, यिनले भन्दै छन्।'

साहेबले गाडी रोक्ने आदेश दिए। लज्जित आँखाहरूले मिसेज सेवकतिर हेरे। गाडीबाट उत्रेर सूरदासका छेउमा गए र नम्र भावले सोधे – 'हो सूरदास, त्यो जमिन तिम्रै हो ?'

'हो, हजुर मेरै हो, पितापुर्खाको त्यति निसानी मात्रै बाँकी रहेको छ।'

'त्यसो हो भने मेरो काम बन्यो। मलाई त अरू कसैको हो भन्ने लागेको थियो, कारोबार सफल हुने नहुने पनि दोधार थियो। तिम्रै रहेछ, अब चिन्ता रहेन। तिमीजस्ता त्यागी र सज्जनसँग धेरै झन्झट गर्नु पर्दैन। तिमीसँग त्यत्रो जमिन हुँदाहुँदै किन यस्तो भेष बनाएको ?'

'के गर्नु हजुर, भगवान्‌को जसो इच्छा हुन्छ त्यसै गरिरहेको छु।'

'अब तिम्रो विपत्ति टर्छ। बस्, तिमी यो जमिन मलाई देऊ, उपकारमाथि उपकार, लाभमाथि लाभ। तिमीलाई मागेजति मूल्य दिन्छु।'

'सरकार, पूर्खाहरूको निसानी यतिमात्र हो, बेचेर उनीहरूलाई के मुख देखाउँनु ?'

'यहीँ सडकछेउ एउटा इनार बनाइदिऊँला, तिम्रा पूर्खाहरूको नाम चलिरहन्छ।'

'साहेब, यो जमिनले टोलवासीहरूको ठूलो उपकार भएको छ। यहाँ कतै औँलोजति पनि चरन छैन। आसपासका सबै पशुहरू यहाँ चर्न आउँछन्। बेचेँ भने ती पशु कहाँ चर्लान् ?'

'चरनका लागि एक वर्षको कति लिन्छौ ?'

'केही लिन्न, मलाई भगवान्‌ले खान दिएकै छन्, किन पैसा लिनु ? अरू केही उपकार गर्न सक्तिनँ, यति मात्रै त हो।'

जान सेवकले आश्चर्यचकित भएर भने – 'तिमीले यत्रो जमिन चरन बनाएर छाडेका छौ। सोफियाले भनेझैँ साँच्चै तिमी त्यागका मूर्ति रहेछौ। मैले ठूल्ठूला मान्छेले पनि यति त्याग गरेको देखेको छैन। तिमी धन्य छौ। पशुहरूमाथि त यति धेरै दया गर्छौ भने मानिसहरूलाई कसरी निराश पार्न सक्छौ र ? म यो जमिन नलिउन्जेल तिमीलाई छाड्दिनँ।'

'सरकार, यो जमिन मेरै भए पनि म टोलवासीहरूसँग नसोधी केही भन्न सक्तिनँ। तपाईँ यसलाई किनेर के गर्नुहुन्छ ?'

'एउटा कारखाना खोल्छु जसले देश र जातिको उन्नति हुन्छ, गरिबहरूको उपकार हुन्छ, हजारौँ मानिसहरूको रोजीरोटी चल्छ। त्यसको जस पनि तिमीलाई जान्छ।'

'हजुर, टोलवासीहरूसँग नसोधी म केही भन्न सक्तिनँ।'

'ठीकै छ, सोध। म फेरि तिमीलाई भेटूँला। तर यति बुझिराख, मसँग कारोबार गरेर तिमीलाई घाटा हुनेछैन। तिमी जसरी खुसी हुनेछौ त्यसरी नै खुसी पारौँला। (गोजीबाट पाँच रूपैयाँ निकालेर) यो लेऊ, मैले तिमीलाई साधारण भिखारी सम्झिएको थिएँ, त्यसका लागि क्षमा गर।'

'हजुर म यी रूपैयाँ लिएर के गर्नु ? धर्मका नाताले दुई-चार पैसा दिनुहोस्, तपाईँको जय भनूँला। अरू कुनै कारणले म पैसा लिन्नँ।'

'तिमीलाई दुई-चार पैसा के दिऊँ र ? यही लेऊ, धर्मार्थ नै सम्झ।'

'हुँदैन साहेब, धर्म अब धर्म रहेन, तपाईँको स्वार्थ मिसिइसक्यो।'

जान सेवकले निकै आग्रह गर्दा पनि सूरदासले पैसा लिएनन्। हार मानेर उनी गाडीमा बसे।

मिसेज सेवकले सोधिन् - 'के कुरा भयो ?'

'हुन त भिखारी नै हो, तर एक नम्बरको घमण्डी। पाँच रूपैयाँ दिएको लिनै मानेन।'

'आस छ केही ?'

'जति सजिलो सम्झिएको थिएँ त्यति रहेनछ।'

उनीहरूको बग्गीले गति समात्यो।

­­­

क्रमशः .........

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

 

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :