अङ्क ४०साउन २०६६वर्ष ६

एक्ट्रेस

- प्रेमचन्द

 

रङ्गमञ्चको पर्दा खस्यो। तारादेवीले शकुन्तलाको अभिनय गरेर दर्शकहरूलाई मन्त्रमुग्ध पारिन्। उनले शकुन्तलाका रूपमा दुष्यन्तका सामुन्ने उभिएर ग्लानि, वेदना  र तिरस्कार जस्ता भावहरूलाई आग्नेय शब्दमा प्रकट गरेका बेला, दर्शकहरू शिष्टताका नियमहरू उलङ्घन गर्दै मञ्चतिर उन्मत्त भएर दौडिए र तारादेवीको प्रशंसा गर्न थाले। कतिपय त स्टेजमै पुगेर तारादेवीका खुट्टामै परे। पूरा स्टेज फूलहरूले भरियो, आभूषणहरूको वर्षा हुन थाल्यो। यदि त्यतिनै बेला मेनकाको विमानले उनलाई नउडाएको भए, त्यस भीडमभीडमा आठदस जनाको ज्यान त पक्कै जान्थ्यो होला। म्यानेजरले तुरन्तै आएर दर्शकहरूलाई धन्यवाद दिए र त्यही भाग अर्को दिन पुनः मञ्चन हुने वाचा गरे। अनि मात्र दर्शकहरूको मोह-उन्माद शान्त भयो। तर एकजना युवक त्यसबेला पनि मञ्चमै उभिइरहेका थिए। अग्लो कदका, तेजस्वी मुद्रा, देवताको जस्तै स्वरुप, कुन्दनझैँ रङ, मिलेको शरीर, मुखबाट ज्योति प्रस्फुटित भएझैँ भइरहेको थियो। कुनै राजकुमारजस्ता देखिन्थे।

सबै दर्शकहरू बाहिर निस्किएपछि उनले म्यानेजरलाई सोधे- 'के म तारादेवीलाई केही क्षणका लागि भेट्न सक्छु ?'

म्यानेजरले उपेक्षाभावले भने- 'यहाँ कुनै त्यस्तो नियम छैन।'

'तपाईँले मेरो पत्र उहाँलाई पुर्‍याइदिन सक्नुहुन्छ ?'

म्यानेजरले त्यही उपेक्षाका भावले भने- 'क्षमा गर्नुहोला, यो हाम्रो नियमविरुद्ध हुन्छ।'

युवकले केही भनेनन्। निराश भएर स्टेजबाट उत्रिएर बाहिर जान लाग्दा म्यानेजरले भने - 'एकछिन पर्खनुहोस् त ! तपाईँको कुनै कार्ड ?'

युवकले गोजीबाट एउटा कागजको टुक्रा निकालेर केही लेखे अनि दिए। म्यानेजरले त्यस टुक्रालाई उडेको नजरले हेरे - कुंवर निर्मलकान्त चौधरी ओ.बि.ई। म्यानेजरको कठोर मुद्रा कोमल भयो। कुंवर निर्मलकान्त - सहरका सबैभन्दा ठूला रइस ताल्लुकेदार, साहित्यका उज्ज्वल रत्‍न, सङ्गीतका सिद्धहस्त आचार्य, उच्च-कोटिका विद्वान्, आठ-दस लाख वर्षेनी नाफा गर्ने, जसका दानबाट देशका कैयन् संस्थाहरू चलेका थिए, यसबेला क्षुद्र प्रार्थीका रूपमा उभिएका थिए। म्यानेजर आफ्नो उपेक्षा भावमाथि लज्जित भए र विनम्र शब्दमा भने - 'क्षमा गर्नुहोला, मबाट अपराध भयो। म अहिले नै तारादेवीकहाँ हजुरको कार्ड लिएर जान्छु।'

कुंवरले उनलाई पर्खिने इसारा गरे र भने - 'होस्, अब छाडिदिनोस्, म भोलि पाँच बजे फेरि आउँला। यति बेला तारादेवीलाई कष्ट होला। उहाँको विश्रामको समय हो यो।

'उहाँले तपाईँका लागि यति कष्ट झेल्नुहोला, म एकै मिनटमा आइहाल्छु।'

तर कुंवर साहेब आफ्नो परिचय दिएपछि आफ्नो आतुरतामाथि संयमको पर्दा लगाउन विवश थिए। म्यानेजरलाई सज्जनताका लागि धन्यवाद दिएर भोलि आउने वाचा गरेर हिँडे।

--

तारा सफा र सजावट गरिएको कोठामा विचारमग्न भएर बसेकी थिइन्। रातिको त्यो दृश्य उनका आँखाअगाडि नाचिरहेको थियो। के यस्ता दिनहरू जीवनमा बारम्बार आउने गर्छन् र ? कति मानिसहरू उनको दर्शनका लागि व्यग्र थिए, मानौँ एकअर्कामा कड्‌किरहेका थिए। कैयन्‌लाई त उनले त्यत्तिकै उपेक्षा गरिन्। तर त्यस समूहमा एउटा दिव्य मूर्ति अविचलित बसिरहेको थियो। तिनका अनुहारमा कति गम्भीर अनुराग थियो, कस्तो दृढ सङ्कल्प थियो। यस्तो लाग्थ्यो मानौ तिनका दुई नेत्रहरू हृदयमा गाडिइरहेका छन्। आज फेरि ती पुरुषको दर्शन हुन्छ कि हुन्न भन्न सकिन्न। यदि आज देखेँ भने एकपल्ट कुराकानी नगरी जान नदिने विचार गरिन् ताराले।

यस्तै सोच्दै उनले ऐनामा आफ्नो अनुहार हेरिन् जुन फूलझैँ फक्रिएको थियो। कसले भन्थ्यो र यस्तो नवविकसित पुष्पले पैँतीसवटा वसन्तहरू पार गरिसकेको छ। त्यस कान्ति, कोमलता, चपलता  र माधुर्यले कुनै पनि नवयौवनालाई लज्जित बनाउन सक्थ्यो। ताराले एकपल्ट फेरि हृदयमा प्रेमको दियो जलाएकी थिइन्। यसभन्दा अघि बीस वर्ष पहिले उनलाई प्रेमको कटु अनुभव भएको थियो। त्यसबेला देखि उनी लगभग वैधव्य जीवन व्यतीत गरिरहेकी थिइन्। कैयन् प्रेमीहरूले उनलाई आफ्ना हृदयहरू उपहार दिन चाहे तर उनले कसैलाई एक दृष्टिले पनि हेरिनन्। तिनका प्रेमप्रस्तावहरूमा कपटको गन्ध उनलाई आउँथ्यो। तर ओह ! आज उनको हातबाट संयम फुत्किएको थियो। आज फेरि बीस वर्ष पहिलेकै बेदना बल्झिएको थियो। एउटा पुरुषको सौम्य रुप उनका आँखाको बाटो हुँदै हृदयमा बसेको थियो। उनले बिर्सनै सकिरहेकी थिइनन्। उनलाई मोटरमा जाँदै गरेको देखेकी भए सायद उनले यति ध्यान दिने थिइनन् तर उनलाई हातमा प्रेमको उपहार लिएको देखेर उनको मन स्थिर भएन।

अचानक दाईले आएर भनिन् - 'बाइजी, हिजोका सबै सामानहरू लिएर आऊँ ?'

ताराले भनिन् - 'पर्दैन, ल्याउनु पर्दैन। एकछिन पर्ख त, सामानहरू केके छन् ?'

'थुप्रो लागेको छ बाइजी केके भनूँ, असर्फिहरू, ब्रूचेज, कपालका पिनहरू, टाँकहरू, औँठीहरू सबै छन्। एउटा सानो बट्टामा सुन्दर हार पनि छ। मैले त्यस्तो हार अहिलेसम्म देखेकै छैन। सबै सन्दूकमा राखिदिएकी छु।'

'जाऊ त, त्यो सन्दूक यहाँ लिएर आऊ।'

दाईले सन्दूक ल्याएर टेबलमा राखिदिइन्। त्यसैबेला एउटा केटाले पत्र ल्याएर ताराको हातमा राखिदियो। ताराले त्यस पत्रलाई उत्सुकताले हेरिन् - कुंवर निर्मलकान्त ओ.बी.ई। केटालाई सोधिन् - 'यो पत्र कसले दियो ? तिनै रेशमी फेटा बाँध्नेले त हैन ?'

केटाले यतिमात्र भन्यो - 'म्यानेजर साहेबले दिनु भएको।' र तुरन्तै बाहिर निस्कियो।

सन्दूकमा सबैभन्दा माथि बट्टा देखियो। ताराले खोलेर हेरिन्। असली मोतीहरूको सुन्दर हार थियो त्यहाँ। अर्कापट्टि कार्ड पनि थियो। उनले त्यो कार्ड निकालेर पढिन् - कुंवर निर्मलकान्त.....। कार्ड उनका हातबाट झर्‍यो। उनी झ्वाट्टै कुर्सीबाट उठिन् र दौडँदै, कैयन् कोठाहरूलाई पार गर्दै म्यानेजरकहाँ पुगिन्। म्यानेजरले उभिएर उनको स्वागत गरे र भने - म हिजो रातिको सफलताको लागि तिमीलाई बधाई दिन्छु।'

ताराले नबसी सोधिन्- 'कुंवर निर्मलकान्त बाहिर हुनुहुन्छ ? केटाले पत्र हात लगाएर भाग्यो। मैले सोध्नै भ्याइनँ।'

'कुंवर साहेबको पत्र त हिजो तिमी जानेबित्तिकै भेटिएको थियो।'

'किन त्यति नै बेला मलाई नपठाइदिएको त ?'

म्यानेजरले सानो स्वरमा भने- 'मलाई लाग्यो तिमी आराम गर्दै होउली। दुःख दिन मन लागेन। र अर्को स्पष्ट कुरा मैले तिम्रो भेट कुंवर साहेबसँग गराएँ भने तिमीलाई गुमाउँछु भन्ने लागिरहेको थियो। म स्त्री भएको भए त्यति नै बेला उहाँको पछि लागि हाल्ने थिएँ। त्यस्तो देवरूप पुरुष त मैले आजसम्म भेटेकै थिएन। तिनै थिए नि रेशमी फेटा बाँधेका, अगाडि नै थिए, तिमीले पनि त देखेकी थियौ।'

ताराले अर्धनिद्रामा भनिन् - 'अँ देखेकी त थिएँ। उहाँ फेरि आउनुहुन्छ ?'

'अँ, आज पाँच बजे बेलुका। ठूलो विद्वान् हुनुहुन्छ र त्यसमाथि यस सहरको सबैभन्दा ठूलो रईस।'

'आज म रिहर्सलमा आउन्न।'

--

कुंवर साहेब आउँदै हुनुहुन्छ होला। तारा ऐनाका सामुन्ने बसेकी छन् र दाईले उसलाई सिँगारीरहेकी छन्। श्रृङ्गार पनि यस जमानामा एउटा विद्या हो । पहिले परिपाटीअनुसार मात्र श्रृङ्गार गरिन्थो । कविहरू, चित्रकारहरू र रसिकहरूले श्रृङ्गारको सीमा तोकिदिएका थिए। आँखाका लागि गाजल ठीक थियो, हातका लागि मेहदी र खुट्टाका लागि महावर । हरेक आभूषण आफ्नै विशेष अङ्गका लागि निर्दिष्ट थियो। अचेल त्यस्तो छैन। अचेल हरेक रमणीहरूले आफ्नो रुचि, सुबुद्धि र तुलनात्मक भावले श्रृङ्गार गर्छन्। आफ्नो सौन्दर्य कुन उपायले आकर्षणको सीमासम्म पुग्न सक्छ त्यही आदर्श हुन्छ उनीहरूमा। तारा ती सबै कलाहरूमा निपुण थिइन्। उनी पन्ध्र वर्षदेखि यस कम्पनीमा थिइन् र यस बेला उनले पुरुष हृदयसँग खेलेर जीवन बिताएकी थिइन्। कस्तो चितवनले, कुन मुस्कानले, कुन अंगडाईले, कपालको कुन फैलावटले पुरुषहरू भुतुक्कै हुन्छन् भन्ने कलामा उनीभन्दा बडी कसले जानेको थियो र ? आज उनले  सौन्दर्यका हतियारहरू छानेर निकालिन् र ती सबैले सुसज्जित भएर दीवानखानामा आउँदा यस्तो लाग्थ्यो मानौँ संसारको माधुर्यले उनलाई सम्मान गरिरहेको थियो। उनी टेबलका छेउमा उभिएर कुंवर साहेबको कार्ड हेरिरहेका बेला उनका कानहरू भने मोटरको आवाजतिर लागेका थिए। उनी चाहन्थिन् कुंवर साहेब यसै बेला आऊन् र उनलाई यही स्थितिमा देखून्। यसरी हेर्दा उनले उनको अङ्ग-प्रत्यङ्गहरूको सम्पूर्ण रूप हेर्न सक्थे। उनले आफ्नो श्रृङ्गार कलाले उमेरमाथि विजय पाएकी थिइन्। कसले भन्न सक्थ्यो र यी चञ्चल नवयौवना त्यस्तो उमेरमा पुगिसकेकी छन् जहाँ शान्तिको मात्र कामना हुन्छ, आश्रम जान मन आतुर हुन्छ र नम्रताले अभिमान अघि शिर झुकाउँछ।

तारादेवीलाई धेरै बेर पर्खनु परेन। कुंवर साहेब उनलाई भेट्न उनीभन्दा पनि आतुर थिए। दस मिनेट पछि नै उनको मोटरको आवाज आयो। तारा सम्हालिइन्। एकैछिनमा कुंवर साहेबले कोठामा प्रवेश गरे। ताराले शिष्टाचारको हात जोड्न पनि बिर्सिइन्। बुढेसकालमा पनि प्रेमको उद्विग्नता र लापरवाही कम हुँदोरहेनछ। उनी कुनै सलज्जा युवतीझैँ शिर झुकाएर उभिइरहिन्।

कुंवर साहेबले आउने बित्तिकै उनले गलामा लगाएको हार देखे। उनले हिजो दिएको उपहार उनका गलामा चम्किरहेको थियो। कुंवर साहेबलाई यति धेरै आनन्द कहिल्यै लागेको थिएन। एकछिनका लागि उनलाई लाग्यो जीवनका सबै इच्छाहरू पूरा भएका छन्। भने- 'मैले तपाईँलाई यति बिहानै दुःख दिएँ, क्षमा गर्नुहोला। यो समय पक्कै पनि तपाईँको आराम गर्ने थियो होला।'

ताराले शिरबाट झर्न लागेको साडीलाई सम्हाल्दै भनिन् - 'तपाईँको दर्शनले भन्दा धेरै आराम केले दिन सक्छ र ? यस उपहारका लागि तपाईँलाई मुरीका मुरी धन्यवाद दिन चाहन्छु। कहिले काँही हाम्रो भेट त भैरहन्छ नि हैन ?'

निर्मलकान्तले मुस्काउँदै भने - 'कहिले काँही मात्र हैन। सधैँ। तपाईँले भेट्न मन नगरे पनि दिनमा एकपल्ट तपाईँका द्वारमा शिर झुकाउन आएकै हुन्छु।'

ताराले पनि मुस्काउँदै उत्तर दिइन् - 'त्यसै बेलासम्म जबसम्म मनोरञ्जनको अर्को साधन भेटिँदैन, हैन ?'

'मेरा लागि यो मनोरञ्जनको विषय नै होइन। जीवन र मृत्युको कुरा हो। तपाईँ यसलाई ख्यालठट्टा वा विनोद सम्झिन सक्नुहुन्छ। तपाईँको मनोरञ्जनका लागि मेरो प्राण निस्किएछ भने पनि म आफ्नो जीवन सफल भएको मान्नेछु।'

--

दुई तर्फबाट नै माया-प्रीतिका वाचाहरू भए, दुवैले नास्ता खाए र अर्को दिनको भोजको निम्तो दिएर कुंवर साहेब हिँडे।

एक महिनाजसो भएको थियो। कुंवर साहेब दिनमा कैयन् पल्ट आउँथे। उनलाई एकैछिनको वियोग पनि असह्य हुन्थ्यो। कहिलेकाहीँ दुवै नदी किनारमा डुल्थे, कहिले पार्कका हरिया चउरमा बसेर घण्टौँ गफिन्थे, कहिले गाउनेबजाउने कार्यक्रम हुन्थ्यो। हरेक दिन नयाँ कार्यक्रमहरू बन्थे। सहरभरि ताराबाईले कुंवर साहेबलाई फँसाएको र उनको सम्पत्तिमा मोज गरिरहेको हल्ला थियो। तर ताराका लागि कुंवर साहेबको प्रेममात्र यस्तो सम्पत्ति थियो जसका अगाडि संसारको धनसम्पत्ति हेय थियो। उनलाई अगाडि देखेपछि उनलाई अरू कुनै कुराको इच्छा हुँदैनथ्यो।

तर एक महिनासम्म प्रेमको यस बजारमा घुम्दा पनि तारालाई आफूले खोजेको वस्तु नभेटेको अनुभव भयो जसका लागि उनको आत्मा व्याकुल थियो। उनी कुंवर साहेबबाट अपार र अतूल प्रेमको कुरा, साँचो र निष्कपट प्रेमको कुरा सधैँ सुन्थिन् तर त्यहाँ 'विवाह' भन्ने शब्दले कहिल्यै ठाउँ पाएको थिएन। यस्तो लाग्थ्यो मानौँ, तिर्खाएको व्यक्तिले बजारमा पानीबाहेक सबैथोक प्राप्त गरिरहेको छ। तिर्खा मेटिएपछि सायद अरू कुराहरूतिर रूचि जाओस् तर तिर्खाएकालाई त पानी नै सबैभन्दा मूल्यवान् वस्तु हो। उनलाई कुंवर साहेबले एक इसारामा ज्यान पनि त्याग्न सक्छन् भन्ने कुरा थाहा थियो तर कुंवर साहेबका मुखबाट विवाहको कुरा निस्किँदै निस्किँदैन ? यस विषयमा पत्र लेखेर बताउँदा हुन्थ्यो कि ? के कुंवरले विनोदको वस्तु ठानेका छन् उनलाई ? यस्तो कुरा त उनलाई सह्य हुनेछैन। कुंवरको एउटा सङ्केतमा उनी आगामा हामफाल्न तयार थिइन् तर यस्तो अपमान सहन गर्ने क्षमता उनमा थिएन।  यसभन्दा अघि भने कुनै शौखिन रइससँग उनी एक-दुई महिना बिताउन सक्थिन् र त्यही समयभरीमा उसलाई निचोरनाचोर पारेर आफ्नो बाटो तताउन सक्थिन्। तर यहाँ कुरा अर्कै थियो। तर प्रेमको बदला प्रेममात्र हुन्छ। कुंवर साहेबसँग उनी निर्लज्ज जीवन बिताउन सक्तिनथिन्।

 

      उता कुंवर साहेबका दाजु-भाइहरू पनि सोझा थिएनन्। उनीहरू जसरी भए पनि ताराको सम्बन्ध छुटाउन चाहन्थे। अन्तै कुंवर साहेबको बिहे गरिदिनु एउटै सफल उपाय उनीहरूलाई लाग्यो र त्यो तिनीहरूले गरे पनि । उनीहरूलाई कुंवर साहेबले एक्ट्रेससँग बिहे नै गर्छन् भन्ने त लागेको थिएन तर कहीँ कतै आफ्नो रियासतको कुनै भाग उनका नाममा गरिदिने हुन्, अथवा उनका बालबच्चालाई उत्तराधिकारी बनाउने हुन् कि भन्ने डर चाहिँ अवश्य थियो। कुंवर साहेबमाथि चारैतिरबाट दबाब बढ्न थाल्यो। यहाँ सम्मकि युरोपियन अधिकारीहरूले समेत उनलाई बिहे गर्ने सल्लाह दिए। त्यस दिन साँझमा कुंवर साहेबले ताराबाई नजिक गएर भने – ‘हेर तिमीलाई एउटा कुरा भन्छु, नाईँ नभन्नु।‘ ताराको हृदय उफ्रिन तयार भयो। भनिन् – ‘भन्नुहोस् के कुरा हो ? यस्तो के कुरा छ जो तपाईँलाई टक्र्याएपछि म धन्य हुन सक्छु ?’

      कुरा मुखबाट निस्कने बित्तिकै ताराले स्वीकार गरिन् र हर्षोन्मादको हालतमा रुँदै कुंवर साहेबका खुट्टामा लडिन्।

      एकछिन पछि ताराले भनिन् – ‘म त निराश भएकी थिएँ। तपाईँले धेरै परीक्षा लिनु भयो।‘ कुंवर साहेबले ओठ टोके मानौँ कुनै अनुचित कुरा सुनेका छ।

      ‘त्यसो होइन तारा। तिमीले मेरो याचना स्वीकार गर्छ्यौ भन्ने विश्वास लागेको भए कदाचित म पहिलो दिनमै तिमीसँग प्रेमको भिक्षा माग्ने थिएँ। तर म आफूलाई तिम्रो योग्य पाउँदिन। तिमीसँग सद्‍गुणै सद्‍गुण छन् तर म जे छु, त्यो त तिमी जान्दछ्यौ। मैले जीवनभरी तिम्रो उपासना गर्ने निधो गरेको थिएँ। सायद कुनै बेला तिमीले प्रशन्न भएर नमागीकनै वरदान दिन्थ्यौ। बस, यति नै मेरो अभिलाषा थियो। यदि मसित केही गुण छ भने यतिमात्र हो कि म तिमीसँग प्रेम गर्छु र आफ्नै क्षुद्रतासँग लज्जित हुन्छु। तिमी मेरा लागि सांसारिक नभै स्वर्गीय हौ। आश्चर्य लागेको छ, म खुशीले यतिबेला पागल किन भैरहेको छैन।

कुंवर साहेबले धेरैबेरसम्म आफ्ना मनका कुरा गरिरहे। उनको वाणी यति धेरै प्रगल्भ भएको थिएन।

तारा शिर झुकाएर सुनिरहेकी थिइन्। तर उनका अनुहारमा आनन्दको साटो एकप्रकारको क्षोभ र लज्जा मिसिएको भाव प्रकट भैरहेको थियो। यो पुरुष यति सरल हृदय, यति निष्कपट, यति विनीत र यति उदार हुनसक्छ ? भन्ने लागिरहेको थियो।

अचानक कुंवर साहेबले सोधे – ‘त्यसो हो भने मेरो भाग्योदय कहिले हुन्छ त तारा ? कृपा गरेर धेरै दिन पर नजाओस् है।‘

ताराले कुंवर साहेबको सरलताबाट परास्त भएर चिन्तित स्वरमा भनिन् – ‘कानूनी कुरा के गर्नुहुन्छ ?’

कुंवर साहेबले तत्परताले उत्तर दिए – ‘यस विषयमा तिमी निश्चिन्त बस तारा, मैले वकिलहरूसँग कुरा गरिसकेको छु। एउटा कानून यस्तो छ जसले गर्दा तिमीहामी प्रेमसूत्रमा बाँधिन सक्छौँ। त्यसलाई सिविल म्यारिज भन्छन्। आज नै त्यो शुभ साइत छ, हैन त ?’

‘म बिहानै आउँछु। तिमी तयार भएर बस्नू है।

तारा शिर झुकाएर बसिरहिन्। मुखबाट एउटै शब्द पनि निस्किएन।

कुंवर साहेब जानुभयो तर तारा त्यहीँ मूर्तिझैँ उभिइरहिन्। पुरुषका हृदयसित त्यति धेरै क्रीडा गर्ने यी चतुर नारी अहिले किन यति विमूढ छिन् ?

--

बिहेका लागि एक दिनमात्र बाँकी छ। तारालाई सबैतिरबाट बधाई प्राप्त भइरहेका छन्। थिएटरका सबै मानिसहरूले आआफ्नो गच्छे अनुसार उनलाई उपहार दिएका छन्, कुंवर साहेबले पनि आभूषणहरूले भरिएको सिँगारदानी दिएका छन्, उनका अन्तरङ्ग मित्रहरूले पनि केही न केही पठाएका छन् र पनि ताराको सुन्दर अनुहारमा हर्षका रेखाहरू देखिएका छैनन्। उनी क्षुब्द र उदास छिन्। उनका मनमा चार दिनदेखि बारम्बार एउटै प्रश्न उठिरहेको छ - 'के कुंवर साहेबसँग विश्वासघात गरूँ ? जुन प्रेमका देवताले उनका लागि आफ्नो कुल-मर्यादालाई पनि तिलाञ्जली दिए, आफ्ना बन्धुबान्धवहरूसँग नाता तोडे जसको हृदय हिमकणझैँ निष्कलङ्क छ, पर्वतझैँ विशाल छ, उनीसँग कसरी यस्तो नीचता गर्न सक्छु । आफ्ना जीवनकालमा मैले कैयौँ युवकहरूसँग प्रेमको अभिनय गरेँ, कैयन् प्रेमका मतवालाहरूलाई सपना देखाइसकेकी थिएँ, तर यस्तो दुविधा कहिल्यै भएको थिएन। कहिल्यै मेरो हृदयले मलाई नै तिरस्कार गरेको थिएन। यसको कारण यस्तो अनुराग मैले अन्त कतै नभेटेरै हो त !' यी अहम कुराका जबाफ कहीँ कतै ताराले भेटेकी थिइनन्।

के उनले कुंवर साहेबको जीवन सुखी बनाउन सक्छिन् ? अवश्य। यस कुरामा उनलाई लेसमात्र पनि सन्देह थिएन। भक्तिका लागि कुन यस्तो वस्तु छ, जुन असाध्य छ, तर के उनले प्रकृतिलाई धोका दिन सक्छिन् र ? डुब्दै गरेको सूर्यमा मन्ध्यान्हको जस्तो प्रकाश सम्भव छ र ? असम्भव। त्यो फूर्ति, त्यो चपलता, त्यो विनोद, त्यो सरल छवि, त्यो तल्लीनता, त्यो त्याग, त्यो आत्मविश्वास उनले कहाँबाट ल्याउँछिन्, जसको सम्मिश्रणलाई यौवन भन्दछन्। अहँ उनले जति चाहे पनि, कुंवर साहेबको जीवनलाई सुखी बनाउन सक्तिनन्। बूढो गोरू कहिल्यै बहरहरूसँग हिँड्न सक्तैन।

आह ! उनले किन यस्तो स्थिति सिर्जना हुन दिइन् ? उनले किन कृत्रिम साधनहरू र बनावटी श्रृङ्गारले कुंवर साहेबलाई धोकामा राखिन् ? यति सबै भैसकेपछि कसरी उनले भन्छिन् कि 'म त रङ्गाइसकिएकी गुडिया हुँ, जवानी त मबाट कहिले भाग्यो भाग्यो, अब त त्यसको पदचिन्ह मात्र बाँकी छ।'

रात्रिको बाह्र बजेको थियो। तारा टेबलका सामुने यस्तै चिन्ताहरूले घेरिएर बसेकी थिइन्। टेबलमा उपहारहरूको थुप्रो थियो। तर उनले कुनै चीजतिर पनि आँखा उठाएर हेरेकी थिइनन्। मात्र चार दिन पहिलेसम्म उनी यिनै कुराहरूमा मरिमेट्‌थिन्। उनी सधैँ यस्ता कुराहरू खोज्थिन् जसले समयका चिह्नहरूलाई मेटाउन सकोस्, तर अब उनलाई तिनै कुराहरूसँग घृणा लागिरहेको थियो। प्रेम सत्य हो। सत्य र मिथ्या एकै ठाउँमा बस्न सक्तैनन्, उनलाई यो भान भैरहेको थियो।

ताराले सोचिन् - 'भागेर कतै जाऊँ कि क्या हो ? कुनै यस्तो ठाउँमा जाऊँ जहाँ कसैले नचिनोस्। केही दिनमा कुंवर साहेबको बिहे भएपछि आएर सबै वृत्तान्त सुनाउँदा भैहाल्यो। यतिबेला कुंवरमाथि बज्रपात हुनेछ। उनको के हालत हुने हो। तर अब यो देखि बाहेक अरु कुनै उपाय पनि छैन। उहाँका दिनहरू रोएको रोयै काटिनेछन् तर यसमा उहाँलाई जति दुःख भए पनि म प्रियतमसँग छल गर्न सक्तिनँ। मेरा लागि यस स्वर्गीय प्रेमको स्मृति, यसको वेदना नै प्रशस्त छ। यसभन्दा बढी मेरो अधिकार पनि रहन्न।

दाईले आएर भनिन् - 'बाईजी, हिँड्नुहोस् अलिकति भोजन गर्नुहोस्, बाह्र बजीसक्यो।'

ताराले भनिन् - 'अँह, खान्न, मलाई भोक छैन। तिमी गएर खाऊ।'

'नभुल्नुहोला नि म पनि तपाईँसँग जान्छु।'

'लुगा राम्राराम्रा छन् होला नि हैन।'

'मलाई राम्रो लगाएर के गर्नु छ र ? तपाईँको जडौरीले पनि भैहाल्छ।'

दाई गइन्। ताराले घडी हेरिन्। साँच्चै बाह्र बजिसकेको थियो। अब छ घण्टा मात्र बाँकी छ। बिहानै कुंवर साहेब उनलाई विवाह-मन्दिरमा लिएर जानका लागि आउछन्। हे भगवान् जुन वस्तुलाई तिमीले यतिका दिनसम्म उनीबाट टाढा राख्यौ त्यही आज किन यसरी सामुन्ने ल्याएका ? यो पनि तिम्रै लीला हो।

ताराले सेतो साडी लगाइन्। सबै आभूषणहरू खोलेर राखिदिइन्। तातो पानी छँदै थियो। साबुन पानीले हात-मुख धोइन् र ऐनाअगाडि गएर उभिइन्। - खोइ कहाँ गयो त्यो छवि, त्यो ज्योति जसले आँखाहरूलाई लोभ्याउँथ्यो। रूप त त्यही थियो तर त्यो कान्ति कहाँ गयो। अझै पनि उनी यौवनको स्वाङ गर्छिन् ?

तारालाई त्यहाँ एकैछिन पनि बस्न कठिन भयो। टेबलमा फैलिएका आभूषण र विलासका सामग्रीहरूले उनलाई गिज्याइरहेको भान भयो। यस्तो कृत्रिम जीवन असह्य भयो, खस का टाटी र बिजुलीका पङ्खाहरूले सजाइएको शीतल भवन उनलाई भट्टीसमान लाग्न थाल्यो।

उनले सोचिन्- 'भागेर कहाँ जाऊँ ? रेलबाट भागौँ भने भाग्न सक्तिनँ। बिहानै कुंवर साहेबका मानिसहरूले चारैतिर खोज्नेछन्। उनी यस्तो बाटोबाट हिँड्नेछिन् जता कसैको ध्यान नजाओस्।

ताराको हृदय यतिवेला गर्वले फुलेको थियो। उनी दुःखी पनि थिइनन्, निराश पनि थिइनन्। उनले फेरि कुंवर साहेबसँग भेट गर्नेछिन् तर त्यो निस्वार्थ संयोग हुनेछ। प्रेमद्वारा बनाइएको मार्गमा हिँड्दा दुःखी र निराश किन हुने ?

अचानक उनलाई विचार आयो - कतै कुंवर साहेबले उनलाई त्यहाँ नभेटेर शोक विह्वलतामा अनर्थ गर्ने हुन् कि। यस्तो कल्पनामात्रले उनका रौँ ठाडा भए। एकछिनका लागि उनको मन कायर भयो। फेरि उनी टेबलछेउ गएर पत्र लेख्‍न थालिन्-

प्रियतम,

मलाई क्षमा गर्नुहोला। मैले आफूलाई तपाईँको दासी बन्ने योग्य पनि पाइनँ। तपाईँले देखाएको प्रेमको स्वरूपको मैले यस जीवनमा आस गरेकी थिइनँ। मेरा लागि यति नै प्रशस्त भयो। म जतिन्जेल बाँच्छु, तपाईँको प्रेममा मग्न भएर बाँच्छु। मलाई लाग्छ प्रेमको स्मृतिमा प्रेमको भोगमा भन्दा धेरै आनन्द लुकेको हुन्छ। म फेरि आउँनेछु, तपाईँको दर्शन गर्नेछु, तर त्यतिबेला मात्रै जतिबेला तपाईँले बिहे गर्नुहुन्छ। यो नै मेरो फर्किने सर्त हुनेछ। मेरा प्राणका प्राण मसँग नरिसाउनू। यी तपाईँले दिएका आभूषणहरू म नववधूका लागि छाडेर जाँदैछु। तपाईँको प्रेमको पहिलो उपहार, यो मोतीको हारमात्र लिएर जाँदैछु। म करजोडी बिन्ती गर्छु, कृपया मेरो खोजी नगर्नुहोला। म तपाईँकै हुँ र सधैँ तपाईँकी नै रहनेछु........।

तपाईँकी,

तारा।

पत्र लेखिसकेर ताराले टेबलमा राखिन्, मोतीको हार गलामा लगाइन् र बाहिर निस्किइन्। थिएटर हलबाट सङ्गीतको ध्वनि आइरहेको थियो। एकछिनका लागि खुट्टा बाँधिएझैँ लाग्यो। पन्ध्र वर्ष पुरानो सम्बन्ध आज छुट्तै थियो। अचानक उनले म्यानेजर आउँदै गरेको देखिन्। उनको हृदयको धड्कन बढ्यो। उनी तुरुन्तै भित्तामा टाँसिइन्। म्यानेजर ओझेल हुने बित्तिकै उनी पनि बाहिर निस्किइन् र केही गल्लीहरू पार गरेपछि उनले गङ्गातिर जाने बाटो पक्रिइन्।

गङ्गा तट सुनसान थियो। केही साधु-वैरागीहरू धुनी लगाएर पल्टिएका थिए। केही यात्रीहरू पनि कम्बल ओछ्याएर सुतेका थिए। गङ्गा नदी विशाल सर्पझैँ बगिरहेकी थिइन्। एउटा सानो नाउ किनारामा लागेको थियो। माझी नौकामा बसेको थियो।

ताराले माझीलाई बोलाइन् - 'माझी, मलाई पारी पुर्‍याउँछौ ?'

माझीले भन्यो - 'यति राती त नाउ जाँदैन।'

तर दोब्बर ज्यालाको कुरा सुनेर उसले बहना उठायो र नाउ खोल्दै भन्यो - 'सरकार, पारी कहाँ जाने हो ?'

'पारी एउटा गाउँमा जानु छ।'

'यतिबेला कुनै साधन भेटिँदैनन्।'

'केही फरक पर्दैन, तिमी मलाई पारी पुर्‍याउ मात्र।'

माझीले नाउ खियाउन थाल्यो। तारा नाउमा बसेर त्यसको मन्द गतिसँगै स्वप्न साम्राज्यमा विचरण गरिरहिन्।

यसै बेला एकादशीको चन्द्रमा पृथ्वी पारी आफ्नो उज्ज्वल नौका खियाउँदै व्योम-सागर तर्न लाग्यो।

--0--

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :