अङ्क ४९ | भदौ २०७२ | वर्ष १२ |
टुक्रा टुक्रा युवती
- असगर वजाहत
दुईजना प्रेमीहरू। दुवै सुन्दर। दुवै पढेलेखेका। दुवै बेरोजगार। दुवै दिल्लीमा।
"दो दीवाने शहर में आबो-दाना ढूँढ़ते है, आशियाना ढूँढ़ते है" भनेझैँ दुवैले दाना-पानी खोजिरहेका। बास खोजीरहेका। होइन। यी प्रेमीहरू मात्रै जागिर खोजीरहेका किनकि जागिर पाएपछि त दाना-पानी र बास भेटिइहाल्छ। लता र राहुल दुईटा नाम होइनन्। लता, लता श्रीवास्तव हुन्। उनी एक वर्ष अगाडि इलाहाबादबाट दिल्ली आएकी हुन्। साथमा आमा छिन् र छन् बाबु पनि। अर्थात् बाबुको पेन्सन छ र त्यसैको भरमा एम.बी.ए पढेकी लता जागिर खोजीरहेकी छिन्। जागिर भेटिइरहेको छैन र राहुलको केही भरोसा छ। राहुल लखनऊबाट आएका हुन्। राहुल सिंह। सिभिल इन्जिनियरिङ गरेका। परिवार लखनऊ मै। दिल्लीमा प्रेम छ - लता छिन्।
तला पाँचवटा परौठा बनाएर ल्याउँछिन्। अचार आमाले हालेको हो। दुवैजना जागिरको अन्तर्वार्ता दिँदा दिँदा थाकेर लोदी गार्डेनलाई आफ्ना कथा-व्यथा सुनाउँछन्। राहुल दुईवटा परौठा खान्छन्। लताले एउटा खान्छिन्। दुवैले आइ.आइ.सिमा आएर पानी पिऊँछन्। सीसाबाहिरको दुनियाँ हेर्छन्।
राहुल पानीमा रोडा फ्याँक्छन्। लता हेरिरहन्छिन्। राहुलको अनुहार उनलाई आफ्नो हातजस्तै लाग्छ। पूरै आफ्नै। उनी राहुललाई हेरिरहन्छिन्। राहुल फर्किएर उनलाई चुम्छन्। उनी दुई वटा परौठा राहुलको थैलामा हाल्दिन्छिन्। नभए राति के खान्छन् त !
राहुल भन्छन् - "सुन......." र थुप्रै बेर केही पनि भन्दैनन्।
धेरै बेर पछि लता भन्छिन् - "सुनेँ।"
दुवै एक अर्काका मनमा ससाना रोडाहरू फ्याँकिरहन्छन्।
"हामी दुवै पन्छी भए ।"
"किन हामी दुवै बादल भए।"
"किन, हामी दुवै पुल भए।"
"कुन पुल ?"
"त्यही, जसको छाय़ाँ तल पानीमा परिरहेको छ।"
"यो पुल त टेढो छ।"
“सबै पुलहरू टेढा हुन्छन्।“
“तिम्रा चप्पल देखाऊ त।“
“किन ?आफ्नो टाउकामा हिर्काउँछौ ?
“हैन......तिम्रा टाउकामा।“
“लेऊ........”
“आधा सोल छैन त।“
“आधा-आधा त्यस्ता कैयन् चीजहरू छैनन्।“
“तिम्रा खुट्टा पोल्दैनन् ?”
“तिमीबाटै सिकेको हुँ।“
“के ?”
“हो’लाई ‘होइन’ भन्न।“
“ठीकै छ...छाडिदेऊ, सपना देखौँ।“
“बुबाले ‘रिटायरमेन्ट बेनिफिट’का रूपमा पाएको आठ लाख रूपैयाँले मैले एम.बी.ए. गरेकी हुँ।“
“यो कुरा त तिमीले पहिले नै भनी सकेकी हौ।“
“सधैँ भन्न चाहन्छु।“
“किन ?”
“ती पैसामा आमाको अधिकार थियो।“
“हाम्रो अधिकार एउटा जागिरमा पनि छैन ?”
“किन छैन.........सपना देख।“
“यार म एउटा कुराले पिरोलिएको छु।“
“केले ?”
“भन।“
“हेर, आधा दिन बितिसक्यो।“
“स्मार्ट कार्ड’मा पैसा छन् ?”
“अँ, छन्।“
“देखाऊ ?”
“हेरेर कसरी भन्छौ ?”
“मेट्रो स्टेसनमा चेक गर्छु।“
“किन ?”
“हुन्न...नत्र तिमी फेरि पैदल।“
“वाकिङ इज गुड फर हेल्थ।“
“ढाँट्नु पनि गुड फर हेल्थ।“
“यार ठूल्ठूला मान्छेका कुरामा तिमी आफ्नो फितला कुरा नजोड।“
“हुन्छ।“
“भोलि म सेठीकहाँ जान्छु।“
“त्यही सेठी।“
“हो, त्यही सेठी।“
“उसले फेरि त्यही कुरा गर्नेछ।“
“म पनि त्यही कुरा गर्नेछु।“
“अनि गएर हुने के त ?”
“त नगएर हुने के ?
“सेठीजी मलाई जागिर चाहियो।“
सेठीले उनलाई तलदेखि माथिसम्म हेर्यो। एउटै दृष्टिमा उसले सम्पूर्ण कुरा नाप्यो। पहिले पनि नापेकै थियो।
“तिम्रा लागि कुनै कुराको कमी कहिल्यै छैन। मैले पहिले नै भनी सकेको छु।“ सेठीले अर्थपूर्ण र अश्लील मुस्कुराहट छाड्यो।
‘इन्टरनेसनल फेसन वर्ल्ड एन्ड एक्स्पोर्ट’ को मालिक जगन सेठी। बीस करोडको ‘टर्न ओभर’ । सयजना स्टाफ। आठवटा फ्याक्ट्रि।
“जागिर....” उसले भनी।
“कुनै जागिर छैन...........मेरो अर्डर मात्र सुन्न चाहन्छ्यौ .... मलाई ‘अर्डर’ दिन चाहन्नौ ?” सूर्तीको गन्ध परसम्म फैलियो।
“काम।“
“कस्तो काम ?”
“यो सो विन्डो छ नि....नयाँ लुगा लगाएका डमी राखेको ठाउँ... त्यहाँ म पनि उभिन सक्छु।“
“डमी मोडल हुने हो ?”
“हो।“
“हीराले आफूलाई चिन्दैन।“ ऊ फतफतायो !
अर्को दिनदेखि लता सो विन्डोमा उभिन थाली। अन्य डमी मोडलहरूसँग उभिन उसलाई राम्रो लाग्थ्यो किनकि हेर्नेले उसलाई पनि ‘डमी’ नै ठान्थे।
“सुन, मैले जागिर पाएँ त” उसले फोनमा साउती मारी।
“ओ नो।“ राहुलको खुसीले भरिएको आवाज।
“ओ यस।“
“कहाँ यार ?”
“सेठीकहाँ।“
“अर्थात्....”
“अर्थात् जागिर हो....आफैँलाई बेचेकी हैन।“
“थ्याङ्क गड।“
“किन ?”
“बेचेकै भए पनि म के गर्न सक्थेँ र ?”
“सिट।“
“कुन सेक्सनमा छ्यौ ?”
“सोरूममा....आउने बित्तिकै हेर न।“
“आउने बित्तिकै हेर्नु....अर्थात्?”
“आऊ त..।“
“ल।“
लता दिनभरि सो विन्डोमा उभिन्थि। बेलुका राहुल आउँथ्यो। ऊसँग चिया पिउँथी र घर जान्थी।
“तिमीलाई राम्रो लाग्छ ?”
“राम्रो लाग्छ...म त चाहन्छु, त्यहीँ उभिइरहूँ।“
“अर्थात् ?”
“म तिनीहरूसँग गफ गर्छु।“
“कोसँग ?”
“त्यहाँ उभिएका अरू ‘डमी’हरूसँग।“
“मतलब के हो..?”
“हामी सँगै हाँस्छौँ।“
“मतलब के हो..?”
“हामी लन्च पनि सँगै गर्छौँ।“
अलिक दिन पछाडि लता सो विन्डोबाट निस्कनै छाडी। राहुल भेट्न आउँदा ऊ “हुन्छ” वा “हुन्न” मै कुरा गर्थी। अनि लता बोल्न छाडी। ऊ रात-दिन उभिइरहन्थी। राहुललाई देखेर कहिलेकाहीँ हलुका मुस्कुराउँथी। पछि ऊ मुस्कुराउन पनि छाडी। अनि आँखा झिम्क्याउन छाडी। र विस्तारै सास फेर्न पनि छाडी।
एक दिन राहुल रिसाएर सो रुममा आयो र सेठीसँग भन्यो – “यो मेरी प्रेमिका हो....यसलाई सोकेसबाट बाहिर निकाल।“
सेठीले भन्यो – “तिमी आफैँ निकाल।“
राहुल सोकेस भित्र पस्यो। लतालाई उसले बोक्न खोज्यो तर लता काँचको कोमल फूलदानीझैँ झर्यामझुरूम भई ! टुक्रा टुक्रा भएर टाढा टाढा छरिइ।
-0-
हिन्दीबाट अनुवादः कुमुद अधिकारी
प्रतिक्रियाहरू |