अङ्क 46 | साउन 2069 | वर्ष 9 |
दुर्घटना
- अशोक माधव
कमला देवी सकुशल फर्किनुभयो। बुहारी, छोरा, नाति, नातिनी सबैजना उनीसितै टी.भी. हेर्न जमेका थिए। टी.भी. मा खबर आइरहेको थियो - 'रूपनगर नजिकै एउटा बस रूखसँग ठोक्कियो। पाँच जनाको मृत्यु, दस जना घाइते....।'
'र मेरी आमालाई कतै केही भएन।' भन्दै छोराले आमालाई अँगालो हाल्यो।
'अनि सासु कसकी हो नि !' भनेर लाडिँदै बुहालीले पनि अँगालो हाली।
'अनि मेरी हजुरआमा।' नाति पनि खुसी हुँदै उनको गाला सुमसुम्याउन थाल्यो।
'मेली पनि' निश्छल भावले भन्दै काखमा सुतेकी नातिनीले कोल्टे फेरी।
परिवारजनको मायाले सराबोर भिजेर बस दुर्घटना सम्झिँदा कमला देवी थर्र कामिन्। उनले आफ्नो जीवन रक्षा गरेकामा ईश्वरलाई धन्यवाद दिइन्।
त्यति नै बेला समाचारले सबैको ध्यान तान्यो - '....मुख्य मन्त्रीले मृतकका परिवारजनलाई दुई-दुई लाख र घाइते का निकट सम्बन्धीहरूलाई उपचारलाका लागि पचास-पचास हजार रूपैयाँ दिने घोषणा गरेका छन्।'
अचानक कोठाका वातावरणमा परिवर्तन आयो। छोरो चुपचाप उठेर बाहिर गयो। बुहारी पनि छोरो गएपछि लुसुक्क निस्किई। नातिले टी.भी.मा अर्कै च्यानल लगायो।
नातिनी निदाइसकेकी थिई। कमला देवीलाई अचानक आएको यो परिवर्तन दुर्घटनाभन्दा ठूलो लाग्यो। उनका आँखा रसाए। यतिबेला आफ्नो प्राण रक्षा गरिदिएकामा उनी भगवानलाई सरापी रहेकी थिइन्।
***
हिन्दीबाट अनुवादः कुमुद अधिकारी।
प्रतिक्रियाहरू |