अङ्क 43साउन 2067वर्ष 7

पिँजडाको कुखुरो

-- दुर्गादास चट्टोपाध्याय

 

हरेक दुई-तीन वर्षमा डेरा सरिरहनु बानेश्वरको नियति भैसकेको थियो। पहिले सोदपुर, त्यसपछि नवविवाहित दुलहीलाई लिएर डनलप ब्रिज। तीन वर्ष त्यहाँ बसेर बेलूर। बेलूर आएपछि केही हानी त भएको थिएन बरू केही लाभ नै भयो। यहाँबाट उनको कर्मस्थल लिलुवा निकै नजीक थियो। कारखानाको छुट्टी भएपछि बेलुका उनी श्रीमती र छोराछोरीलाई लिएर गङ्गा-किनारमा हावा खान निस्कन्थे। तर त्यस डेराको पनि समय सकिनासाथ अर्कातिर सर्नु पर्‍यो।

अब उनी दक्षिणी कोलकाताको चेतला बजारको छेउको एउटा बस्तीमा बस्न थाले। त्यसो त यहाँको कोठा अहिलेसम्म बसेका कोठामध्येकै राम्रो थियो। छानो चुहिने डर थिएन। दुईवटा झ्याल पनि थिए। दस वर्षमा उत्तरी कोलकाताबाट दक्षिणी कोलकातासम्म पुग्दा वास्तविक जीवनसँग परिचित हुने राम्रो मौका बानेश्वरलाई जुर्‍यो। यसरी डेरा फेर्नु उनलाई पिँजडा फेर्नुझैँ लागिरहेको थियो। त्यसैले होला उनले कसैसँग घनिष्ट सम्बन्ध बनाएनन् न कसैसँग लडाईँझगडा नै गरे। सबैतिर मेलमिलाम र सम्झौता गर्नु नै उनको जीवनको अहम् सर्त बन्यो। प्रतिवाद जस्तो शब्द उनले सुनेका त थिए तर यसलाई ब्यवहारमा कहिल्यै ल्याएनन्।

चेतलाबाट उनको कर्मस्थल लिलुवा निकै टाढा छ। तर घरभाडा सस्तो भएकै कारण अरू कष्टहरू उनलाई साना लाग्छन्। तीनजनाको परिवार छ उनको र त्यही परिवारका लागि आवासको पिँजडा फेरेको फेर्‍यै गर्नुपर्छ उनले। नयाँ ठाउँमा आउने बित्तिकै अर्को ठाउँका बारेमा सोचिहाल्नुपर्छ उनले।

चेतला आएको छ महिनासम्म एक रूपैयाँसम्म जम्मा गर्न सकेका थिएनन् बानेश्वरले। घरधनीसँग दुई वर्षको सम्झौता भएको छ। अझै अठाह्र महिना बाँकी छन्। तर त्यसपछाडि अर्को पिँजडा कता खोज्ने होला ? बजारको स्थिति दिनानुदिन खस्किँदै गइरहेको छ। कारखाना पनि राम्रो हालतमा छैन। अघिल्लो महिनाको तलब पनि पूरा पाइएको छैन। यस्तैयस्तै अनेक अशुभ चिन्ताहरू लिएर बानेश्वर पैदल हिँडिरहेका छन्। चेतला बजारभित्रैको सर्टकट बाटोबाट बसस्ट्यान्ड पुग्न सकिन्छ।

सधैँ उनी यसै बाटोबाट कारखाना जानका लागि निस्कन्छन्। तर अचानक आज उनी कुखुराको पिँजडातिर हेर्नेबित्तिकै विचलित हुन्छन्। उनले हेर्दाहेर्दै एउटा मानिसले पिँजडाको सानो ढोकाबाट हात छिराएर कुखुराको टाउको समात्छ र हँसियाले च्वाट्टै छिनाल्छ। कुखुराको शरीर पिँजडैभित्र एकछिन छटपटाएपछि शान्त हुन्छ। घटना त सामान्यै हो तर यसले बानेश्वरभित्र नराम्रो डर छिराइदिन्छ। उनलाई लाग्छ, यो घटना सामान्य पटक्कै होइन।

बसमा चढिसकेपछि पनि यस घटनाले उनलाई पछ्याउन छाडेको छैन। उनलाई लाग्छ, ‘बिचरा कुखुरो एक पछाडि अर्को गर्दै कतिवटा पिँजडामा सर्दै चेतला आइपुगेको होला। अहँ होइन होइन..। यस्ता उटपट्याङ कुराहरू किन मेरा दिमागमा आइरहेका छन्। म त मान्छे हो, कुखुरो होइन। कुखुरा र मान्छे पनि कतै एउटै हुन सक्छन् ?’

बेलैमा उनी कारखानाको गेटमा पुग्छन् तर भित्र जान सक्तैनन्। गेटमै लक-आउटको सूचना झुन्डिइरहेको हुन्छ। श्रमिकहरू बाहिर उभिएर नाराबाजी गरिरहेका छन्। उनी पनि तिनीहरूसँग मिसिएर आवाज मिलाउने कोसिस गर्छन् तर उनको गलाबाट मान्छेको आवाज निस्किँदैन। कुखुरो कराएझैँ आवाज आइरहेको हुन्छ। उनी हातले गला छाम्छन् र सुमसुम्याउन थाल्छन्। अरे उनको शिर त छैन, कहाँ गयो, उनी बारम्बार हातले शिर खोज्न थाल्छन्।

 

¯¯¯

 

अनुवादः कुमुद अधिकारी

 

जन्मः 26 मे 1958, पश्चिम बङ्गालको बीरभूम जिल्लाको पाँचरा गाउँमा।

तीन दसकदेखि साहित्यका विविध विषयमा संलग्न। खूनीर शास्ती चाई, तेजा दुई कथासङ्ग्रह, हलफ, कोटना राखी एलबमें र अलौकिक चाभीवाला तीनवटा काव्यसङ्ग्रह प्रकाशित। सम्पादित कथा सङ्ग्रह अल्पो कथार गल्पो पनि प्रकाशित। लगभग पाँच संस्थाहरूबाट पुरस्कृत एवम् सम्मानित। कैयन् कथाहरूको हिन्दीमा अनुवाद।

सम्प्रतिः ट्रान्सपोर्ट व्यवसायमा संलग्न।

 

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :