अङ्क ४२असोज २०६६वर्ष ६

कविको हृदय

--रवीन्द्रनाथ ठाकुर

 

भगवान् विष्णु चाँदनी रातमा बसेर मनमनै विचार गरिरहनुभएको थियो - 'म सोच्ने गर्थेँ, मनुष्य सृष्टिको सबैभन्दा सुन्दर रचना हो, तर मेरो विचार गलत साबित भयो। हावाको झोँकाबाट हल्लिने त्यो कमलको फूललाई म जीवमात्रमा अत्यन्तै पवित्र र सुन्दर देखिरहेको छु। उसका पातहरू भर्खर सूर्यको सान्निध्य पाएर चम्किएका छन्। ती यति आकर्षक छन् कि म तिनबाट दृष्टि हटाउन सकिरहेको छैन। मनुष्यहरूमा त्यस्तो कुनै वस्तु विद्यमान छैन।'

विष्णु भगवानले लामो सास तान्नुभयो र एकछिन पछि फेरि सोच्न थाल्नुभयो - 'आखिर आफ्नो शक्तिद्वारा मैले मनुष्यमा एउटा नयाँ अस्तित्व उत्पन्न गर्नुपर्छ जुन फूलमा कमलजस्तै होस्। जुन पृथ्वी र आकाश दुवैका लागि सुख र प्रशन्नताको कारक होस्। हे कमल ! तिमी सुन्दर युवती बन र मेरा सामुन्ने आऊ।'

पानीमा कृष्णा-पक्षीको पखेटा तरङ्गित भएझैँ एउटा हलुका तरङ्ग उत्पन्न भयो र रात प्रकाशमान भयो। चन्द्रमा पनि पूरै प्रकाशका साथ चम्किन लागिन्। तर एकैछिनमा सबै शान्त भयो मानौँ सबै जादू सकिएको छ। भगवान्‌सामु कमल मानवीय रूपमा थिइन्।

उनको यति सुन्दर रूप थियो कि स्वयम् देवताहरू पनि आश्चर्यचकित हुन्थे होलान्। तिनै सुन्दरीलाई सम्बोधित गर्दै भगवान् विष्णुले भन्नुभयो - 'तिमी यसभन्दा पहिले तलाउको फूल थियौ, अब मेरी कल्पनाकी फूल हौ। मसँग कुरा गर।'

ती सुन्दर युवतीले विस्तारै बोल्न सुरु गरिन्। उनको बोली बिहानीको हावाको झोँकाले कमलका पातहरू हल्लाउँदा निस्केको आवाजझैँ थियो।

'महाराज तपाईँले मलाई मानवीय रूपमा परिवर्तित गर्नुभएको छ। भन्नुहोस्, मलाई कुन स्थानमा बस्ने आज्ञा गर्नुहुन्छ ? महाराज पहिले म फूल हुँदा हावाका झोँक्काहरूबाट डराउँथे र आफ्ना पातहरू बन्द गर्थेँ। म आँधी र वर्षाबाट पनि भयाक्रान्त हुन्थेँ, बिजुली चम्किँदा त्यसको कड्काइले मेरो हृदय डराउँथ्यो, म सूर्यको डढाउने प्रकाशबाट पनि डराउँथेँ। तपाईँले मलाई कमलबाट यस अवस्थामा पुर्‍याउनु भएको छ, त्यसैले मेरो प्रकृति पहिलेको जस्तै छ। म पृथ्वीबाट र जेजस्तो पृथ्वीमा छ त्यसबाट डराउँछु। अब मलाई आज्ञा दिनुहोस् म कहाँ बसूँ ?'

विष्णुले ताराहरूतिर दृष्टि दिनुभयो, एकछिन केही सोच्नुभयो र भन्नुभयो - 'के तिमी नागराजको शिखरमा बस्न चाहन्छ्यौ ?'

'हुँदैन महाराज, त्यहाँ हिउँ छ र मलाई चिसोदेखि डर लाग्छ।'

'त्यसो हो भने तलाउको पुछारमा तिमीलाई सीसाको महल बनाइदिऊँला।'

'जलका गहिराईमा सर्पहरू र भयानक जनावरहरू हुन्छन्, मलाई त्यहाँ डर लाग्छ।'

'त के तिमीलाई सुनसान उजाड स्थान रूचिकर लाग्छ ?'

'होइन महाराज, बनको तुफानी समीर र बादलको भयावह कड्काइ म कसरी सहन गर्न सक्छु र ?'

'त फेरि तिमीलाई बस्न कुन स्थान निधो गरौँ त ! अँ अजन्ताका गुफाहरूमा साधु बस्छन्, तिमी एउटा गुफामा अलग्गै बस्ने हो ?'

'महाराज, त्यहाँ साह्रै अँध्यारो छ र मलाई अँध्यारोसँग साह्रै डर लाग्छ।'

भगवान विष्णु घुँडामनि हात राखेर एउटा शिलामा बस्नुभयो र उसकै सामुन्ने विचारमग्न हुनुभयो। ती स्त्री लज्जितझैँ उभिइरहिन्।

निकैबेर पछि उषा-किरणले पूर्व दिशाको आकाशलाई प्रकाशित बनायो। जब सरोबरको जल, ताडीका रूखहरू, हरिया बाँसहरू सुनौला भए, गुलाबी बकुल्ला, नीला सारस, र श्वेत हाँसहरू पानीमा र मयूर जङ्गलमा गाउन थाले तब वीणाको मस्त गरिदिने लयका साथ प्रेमगीत सुनिन थाल्यो। भगवान अहिलेसम्म  संसारको फिक्री गरिरहनुभएको थियो, प्रेमगीत सुनेर झसङ्ग हुनुभयो र भन्नुभयो - 'हेर कवि वाल्मीकिले सूर्यलाई नमस्कार गरिरहेका छन्।

केही समयपश्चात् ती चाँदनीलाई छोप्ने पहेलोँ रङका पर्दाहरू हटे र सरोबरका छेउमा कवि वाल्मीकि प्रकट भए। मनुष्यका रूपमा बदलिएको कमलको फूल देखेर उनले वाद्ययन्त्र बजाउन छाडे। वीणा उनका हातबाट खस्यो र दुवै हात लत्रिए। उनी उभिएको उभियै भए मानौँ सर्वदा किंकर्तव्यविमूढ भएका छन्।

भगवान्‌ले सोध्नुभयो - 'वाल्मीकि,  के भयो किन चुप लागेको ?'

बाल्मीकिले भने - 'महाराज, आज मैले प्रेमको पाठ पढेको छु।' यतिभन्दा धेरै उनले केही भन्न सकेनन्।

अचानक विष्णु भगवानको मुहार उज्यालो भयो। उहाँले भन्नुभयो - 'सुन्दर कामिनी, तिम्रालागि बस्नयोग्य स्थान भेटियो। जाऊ कविका हृदयमा गएर बसोबास गर।'

भगवान्‌ले वाल्मीकिको हृदयलाई सिसाझैँ निर्मल बनाइदिनुभएको थियो। सुन्दरी नवनिर्वाचित ठाउँमा प्रवेश गरिरहेकी थिइन्, तर जसै उनले वाल्मीकिको हृदयको गहिराईको अनुमान गरिन्, उनको अनुहार पहेँलो भयो र उनमा भयले जरा गाड्यो।

विष्णुलाई फेरि आश्चर्य लाग्यो। भन्नुभयो - 'के, कवि हृदयमा पनि बस्न डराउँछ्यौ ?'

'महाराज तपाईँले मलाई कस्तो ठाउँमा बस्ने अनुमति दिनुभो ? मलाई त त्यो एउटै हृदयमा नागराजको शिखर, अचम्मका जन्तुहरूले भरिएको असीम जलको गहिराई र अजन्ताका अँध्यारा गुफाहरू सबै दृष्टिगोचर भैरहेका छन्। त्यसैले महाराज म भयभीत छु।'

यो सुनेर भगवान विष्णु हाँस्नुभयो र भन्नुभयो - 'मनुष्यका रूपमा परिवर्तित सुमन, सुन। यदि कवि हृदयमा हिँउ छ भने तिमी वसन्त ऋतुको हावाको झोँका बन्नेछ्यौ, जसले हिँउलाई सजिलै पगाल्न सक्छ। यदि जलको गहिराई छ भने तिमी त्यस गहिराईकी मोती बन्नेछ्यौ। यदि खाली बन हो भने त्यसमा तिमीले सुख र शान्तिको बीऊ छर्नेछ्यौ। यदि अजन्ताको गुफा हो भने तिमीले त्यस अन्धकारलाई सूर्यको किरणलेझैँ प्रकाशवान बनाउनेछ्यौ।'

यसैबीच कविले साहस बटुलिसकेका थिए। उनीतिर फर्केर हेरेपछि भगवान् विष्णुले यति मात्रै भन्नुभयो - 'जाऊ, यो वस्तु मैले तिमीलाई दिएँ, यसलाई लेऊ र सुखी अनि प्रशन्नचित्त भएर बस।'

 

­­­--

बङ्गालीबाट अनुवादः कुमुद अधिकारी

 

 

 

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :