अङ्क ४१भाद्र २०६६वर्ष ६

देशभक्त

- रवीन्द्रनाथ ठाकुर

 

मान्छे भन्छन्, अचेल अङ्ग्रेजी पढ्नेहरूको भविष्य अन्धकारमय छ। अङ्ग्रेजी पढ्नु र भट्टी चलाउनु एउटै हो। एकसेएक एम.ए. र बी.ए. पास गरेर त्यत्तिकै बरालिई हिँड्छन् र तिनलाई कसैले सोध्दासम्म पनि सोध्दैनन्। तर म यी सब कुराको विरोध गर्छु। म अङ्ग्रेजी पढेर नै डाक्टर भएको हुँ। अङ्ग्रेजी शिक्षाको विरोध गर्नेहरूले एकपल्ट आँखा खोलेर मतिर त हेरून्।

सोमबार थियो। सवा नौ बजेतिर मेरा मित्र बाबू सन्तोषकुमार बी.एस.सी. एकजना युवा रोगीलाई लिएर मेरो औषधालयमा आए। ती रोगी व्यक्तिको व्यक्तित्व यस्तो थियो - उमेर त्यस्तै उन्नाइस-बीस होला, तनक्क परेको जीउ, गहुँगोरो रङ, सुन्दर अनुहारमा ठूलठूला सुन्दर आँखाहरू, लामो र रूखो केशरासी र स्वदेशी तर मैला वस्त्र लगाएका। खोइ किन हो, ती युवकलाई देखेर मलाई ठूलो प्रशन्नताको अनुभव भयो।

सन्तोषकुमारले ती मान्छेको परिचय गराउँदै भने - 'यिनी नदिया जिल्ला निवासी ललितकृष्ण बोस हुन्, तर यिनी धेरैजसो ललित नामले चिनिन्छन्। एम.ए. पढ्दै थिए, तर कुनै कारणले छाडिदिए।'

मैले हाँस्दै सोधेँ- 'अचेल के गर्नुहुन्छ त ?'

उत्तर सन्तोषकुमारले नै दिए - 'दुई महिना अघिसम्म यिनी किरण प्रेसमा प्रुफरिडर थिए। तर काम मन नपरेर छाडिदिए। अस्तिका दिनदेखि ज्वरोले पीडित छन्, राम्रो दवाई दिनुहोला।'

मैले यी युवकलाई पहिले पनि कतै देखेझैँ लाग्यो। तर कहाँ र कसरी सम्झिन सकिरहेको थिइनँ। जाँचेर ती युवकलाई नै भनेँ- 'तपाईँ आवश्यकताभन्दा धेरै परिश्रम गर्नुहुन्छ जस्तो लाग्यो। ठीकै छ, दुई दिनमै आराम भैहाल्छ।'

ललित मृदुभाषी थिए। म उनका कुरादेखि मुग्ध र प्रभावित भएँ। दवाई दिँदै भनेँ - 'तीनतीन घण्टाको फरकमा खानुहोला। खानेकुरामा दूध र साबुदानादेखि बाहेक केही खान पाउनुहुन्न। भोलि आएर फेरि एकपल्ट जचाउँनुहोला।'

ललित हाँस्न थाले। जानेबेलामा मैले उनलाई भोलि पक्कै आउन भनेँ तर उनले त्यही बेलुका आउँछु भने।

यसरी प्रतिदिन बिहान-बेलुका उनी मकहाँ आउन थाले। म उनको व्यवहारदेखि खुसी थिएँ। घण्टौँसम्म यताउतिका कुरा भइरहे। उनको नाम ललित वास्तवमै सार्थक थियो। उनी मान्छे नभएर देवताझैँ थिए। विस्तारै उनको आवतजावत मेरा घरमा हुन थाल्यो र हुँदाहुँदै स्थिति यस्तो आयो कि उनी मेरै घरमा बस्न थाले।

मेरो छोरो उमाशङ्कर आठमा पढ्थ्यो। ललितले भने - 'म यिनलाई बङ्गाली सिकाउँछु। बङ्गाली साह्रै मिठो भाषा हो।' म पनि त्यही चाहन्थेँ। ललितले त्यसै दिनदेखि उमाशङ्करलाई बङ्गाली पढाउन थाले।

चाडपर्वका बेला बङ्गालमा धेरै रमाइलो हुन्छ अझ कलकत्ताजस्तो सहरमा त भन्नै पर्दैन। यहाँ चाडपर्वमा विशेष चहलपहल हुन्छ। विशेष गरी दुर्गापूजाका बेलामा असाधारण चमकधमक हुन्छ। दसैँका दिन प्रायःजसो सबै बाटाहरूमा भीड हुन्छ। हरेक मान्छे आफ्नै धुनमा व्यस्त देखिन्छ। दुर्गाको झाँकी निस्कने बेलामा 'जय महाकाली' को जयघोषले आकाश नै गुञ्जायमान हुन्छ, जसलाई सुन्दा हृदयमा अनुपम उल्लास उत्पन्न हुन्छ। त्यसदिन ललितसँगै हामी सबै दुर्गाको शोभायात्रा हेर्न गएका थियौँ। अरू दिनभन्दा आज उनी अलिक बढी रहस्यमय देखिइरहेका थिए। प्रत्येक देवी-स्थानमा उनी मूर्तिलाई नमन गर्थे, कहिले उनका आँखाहरू राताराता हुन्थे भने कहिले रसाइरहेका हुन्थे। कोहीबेला उनी हर्षातिरेकले विह्वल हुन्थे र कोहीबेला सर्वदा मौन भई यताउति हेर्न थाल्थे। मैले निकै प्रयत्‍न गर्दा पनि उनको यो उपक्रमलाई बुझ्न सकिरहेको थिइनँ। सोध्ने आँट पनि आएन।

हामी पछाडिपट्‌टि एउटा आठ-नौ वर्षको बालकसँग उभिएकी एउटी बूढी थिइन्। उनलाई सम्भवतः अथाह जनसमूहका कारण कतै जाने आँट आइरहेको थिएन। उनी माग्ने थिइन्। गरिबीले गर्दा पेट ढाडमा गएर टाँसिएको थियो। उनले दाहिने हात माग्नका लागि पसारेकी थिइन्।

केटाले अनुनय-विनयको स्वरमा भनिरहेको थियो - 'बाबा, भोकालाई केही देऊ, परमेश्वरले तिम्रो भलो गर्लान्।'

तर संसारमा भोकालाई कसले वास्ता गर्छ र ? गरिब बूढीतिर कसैले पनि हेरिरहेको थिएन। हरेक मान्छे आफैँमा मस्त थिए।

केटाले बूढीसँग भन्यो - 'घण्टौँ बितिसक्यो, अहिलेसम्म दुई पैसामात्र पाइएको छ। आज दूर्गापूजाका दिन केही बढी पाइन्छ कि भन्ने लागेको थियो। कराउँदाकराउँदै घाँटी सुकिसक्यो तर कसैले केही सुन्दैन। भीडका मान्छेहरूमा मानवता मानौँ मरिसकेको छ। लाग्छ, यहीँ प्राणत्याग गरूँ।' यति भनेर केटो रुन थाल्यो।

बूढीका आँखा आँसुले भरिए। उनले भनिन् - 'नानी हाम्रो भाग्यै फुटेको रहेछ। हिजो सातू खान छ पैसा पाइएको थियो। आज त त्यो पनि देखिँदैन। भोकै सुत्‍नुपर्छ कि क्या हो ? पक्कै पनि यो हाम्रो नराम्रो कर्मको फल हो।' उनले लामो सास फेरिन् र फाटेको सप्कोले केटाको आँसु पुछिदिइन्। केटो फेरि श्रद्धालुहरूसँग विन्ती गर्न थाल्यो - 'बाबा, भोकालाई हेर, परमेश्वरले तिम्रो भलो गर्लान्।'

तर त्यत्रो जमातमा गरिबको चासो लिने कोही थिएन। भीड त्यति ठूलो थियो कि यस गरिबको विन्तीलाई ध्यानले सुन्ने कोही थिएन। ललित त्यतिबेला ती बूढीतिर हेरिरहेका थिए। तिनको दीनदशा देखेर उनको हृदय व्याकूल भयो। उनले आफ्नो गोजी छामे, जुन खाली भेटियो। अर्को गोजीमा हात हाल्दा केही कागजका टुक्राहरूमाझ एउटा आठ आना फेला पर्‍यो। त्यसले ललितको निराशालाई प्रशन्नतामा बदल्यो र उनको अनुहार दीप्त भयो। त्यो आठआना उनले बूढीका हातमा राखिदिए।

बूढीलाई आठआनाले पाँच-दस रूपैयाँको चिट्ठाबाट दस-बीस हजार प्राप्त गर्दाको खुसीभन्दा धेरै गुणा बढी खुसी दियो। हर्षले फेरि उनका आँखा रसाए र उनी एकोहोरिएर ललितलाई हेर्न लागिन्। उनको हृदयले ललितलाई असीम आशीर्वादहरू दिइरहेको थियो। मलाई यस कुराले आश्चर्चयकित बनायो। मैले पनि त्यस बूढीलाई अनेकन् पटक देखेको थिएँ र केही सहायता गरूँ भन्ने पनि लागेको थियो तर आँट गरिनँ। कहिले मनले उसलाई केही दिऊँ भन्थ्यो भने कहिले आ यस्ता कुराले के हुन्छ र भन्ने लाग्थ्यो। संसारमा कति गरिब छन् कति, ककसलाई सहायता गरेर सक्नु ?'

ललित कहिलेकाहीँ भोकै पनि बस्थे। उनले कहिल्यै एक पैसाको पान समेत खाएका थिएनन्। उनी मेरा दृष्टिमा अत्यन्त मितव्ययी थिए। उनले यसरी दान दिएको देखेर मेरो आश्चर्यको सीमा रहेन। त्यसै राति सपनामा मैले उनका अनेकन् विशेषताहरू देखेँ। ती सत्य थिए वा असत्य थाहा त भएन तर ज्योतिषका हिसाबले ती सत्य नै थिए। किनकि राति मलाई अढाई बजेमात्र निद्रा लागेको थियो र त्यो सपना मैले रात्रिको अन्तिम प्रहरमा देखेको थिएँ। भन्छन् अन्तिम प्रहरका अधिकांश सपनाहरू सत्य हुन्छन्।

ललितको सङ्गतमा आएपछि उमाशङ्करमा पनि आश्चर्यजनक परिवर्तनहरू हुन थाले। ऊ गाडी बेगर घरबाहिर ननिस्कने मान्छे, ललितसँग प्रतिदिन कौसौँकोस डुल्न जान थाल्यो। उसको सिनेमा हेर्ने लत पनि छुट्यो, व्यक्तिगत विलास र आडम्बर प्रदर्शनको व्यसनलाई पनि उसले तिलाञ्जली दियो। अङ्ग्रेजी शिक्षासँग उसलाई घृणा हुन थालिसकेको थियो। ऊ पक्का स्वदेशीझैँ भएको थियो।

आइतबारका दिन मैले गार्डन पार्टीको आयोजना गरेको थिएँ, आनन्द आइरहेको थियो। म आफ्ना मित्रहरूको सत्कारमा लागेको थिएँ।

उता उपेन्द्रकुमार, गोपाल, उमाशङ्कर र ललितबीच गोप्य कुराहरू भैरहेका थिए। तिनले के कुरा गर्दैथिए भनेर म भन्न त सक्तिनँ किनकि म पार्टीको आयोजन र स्वागत सत्कारमा लागेको थिएँ। अर्को कुरा म तिनीहरूबाट टाढै थिएँ। बीचबीचमा उनीहरू खित्का छाडेर हाँस्थे अनि मेरो ध्यान उनीहरूतिर तानिन्थ्यो।

गोपाल बाबूलाई म निकै अघिदेखि चिन्छु। उनी सन्तोषकुमारका बहिनी ज्वाईँ हुन्। प्रेमिल स्वभावका छन् र सोख गर्नमा एक नम्बरमा आउँछन्।

आज उनको हातमा नाडीघडी थिएन, रेशमी कमेजमा सुनको टाँक पनि गायब थियो, कपाल पनि फेसनको थिएन।

मैले सन्तोषलाई विस्तारै भनेँ - 'के कुरा हो, आज त भाइ साहेब अर्कै रङमा छन्। पहिलेको जस्तो ताहुर-माहुर देखिएको छैन। आखिर कुरा के हो ? केही बुझिएको छैन।'

सन्तोषले हाँस्दै भने - 'अचेल यिनमा स्वदेशी रङ चढेको छ। कैयन् महिनादेखि यिनी यस्तै छन्। तपाईँले उनलाई यो पोसाकमा आजै हो देखेको ?'

'हो, त्यसैले त मलाई आश्चर्य लागेको।'

सन्तोषले केही उपेक्षाको भाव लिएर भने - 'हामीलाई के खाँचो र ! जसलाई जे मन लाग्छ गरोस्। बारम्बार सम्झाउँदा पनि सम्झँदैनन् भने के लाग्छ र ? धेरै भन्दा पनि आफ्नै प्रतिष्ठा घट्छ। जस्तो करनी त्यस्तै भरनी भनाइ त जगत् प्रसिद्धै छ। कारागारमा गएर जाँतो पिँध्नुपरेपछि दालभातको भाउ चाल पाइहाल्छन्।'

'ठीकै भन्यौ।' मैले भनेँ - 'अचेल जमानाको हावा केही फेरिँदैछ। ललितलाई पनि स्वदेशीको सनक चढेको छ। म स्वदेशीहरूको विरोधी हुँ र देशभक्तहरूलाई म फुटेको आँखाले पनि हेर्न सक्तिनँ तैपनि म ललितको स्पष्टवादिता र सात्विकतादेखि मुग्ध छु। उनका रूचि मलाई राम्रा लाग्छन्।'

'उनी जतिसुकै स्पष्टवादी भए पनि तपाईँको जस्तो धाक उनको देखिँदैन। तपाईँले पाश्चात्य पोसाक लगाएर हिँड्दा अशिक्षित मनुष्यहरू डरले काम्छन् र तिनले तपाईँलाई नमस्कार गरेर आफैँलाई गौरवान्वित ठान्छन्।'

मलाई हाँसो उठ्यो र सन्तोष पनि हाँस्न थाले।

त्यस राति गहिरो निद्रामा सपना देखिरहेका बेला कसैले मलाई हल्लाएर उठायो। म हडबडाउँदै उठेँ र उठाउने मानिसलाई हेरेँ। ऊ मेरो नोकर रामलाल थियो हातमा लालटिन लिएर उभिएको।

उसको अनुहार खस्केको थियो र शरीर थर्थरी कामिरहेको थियो। मैले हडबडाएर सोधेँ - 'के भो रामलाल ? किन कामेको ?'

रामलालले थर्थराउँदो स्वरमा भन्यो - 'बाबू, पुलिसले घर घेरिसकेको छ।'

म कुनै चोर या बदमास त थिइनँ। पुलिसको नाम सुन्ने बित्तिकै अत्तालिएर उठ्ने र त्यहाँबाट भाग्ने कुरै भएन। एक दुई बेइमानी कामहरू लुकेर अवश्य गरेको थिएँ तिनै मेरा आँखा सामु आए। अब पुलिस मलाई नै पक्रिन आएको हो भन्ने कुरा विश्वास भयो।

पुलिसले अचानक घेराउ गरेपछि मेरो चेतना हराएझैँ भयो। म साहस बटुलेर तल ओर्लिएँ। रामलालले भन्यो - 'आज्ञा दिनु त, दुईचार हात देखाएर पुलिसवालाहरूलाई भुइँमा पछारूँ ?'

मैले भने - 'खबरदार, बिर्सेर पनि त्यसो नगर्नु। पुलिससँग सम्बन्ध बिगार्नु राम्रो हुँदैन।'

द्वार खोल्दा दुई-तीनजना सर्जेन्ट, एकजना श्वेत वस्त्रधारी बङ्गाली र आठ-दस सिपाहीहरू कोठामा आए।

बङ्गाली बाबूले बदामी कागज गोजीबाट निकालेर मलाई देखाउँदै भने - 'यो पक्रिने पुर्जी हो। तपाईँको घर विद्रोहीहरूको गुप्त योजनास्थल रहेछ। हामीलाई विद्रोही पक्रिनु छ।'

ममाथि बज्रपात भएझैँ भयो। मलाई लाग्यो सम्भवतः मै विद्रोही हुँ र मैलाई पक्रिन पुर्जी काटिएको छ। त्यही लिएर पुलिस आएको छ। यदि फाँसीबाट बचेँ भने कालापानीमा पुर्‍याइन्छु। आफ्ना लागि यिनै सजायहरू सोचिरहेको थिएँ।

मैले कामेको स्वरमा भनेँ - 'विद्रोही, त्यो पनि मेरा घरमा। तपाईँ के भन्दै हुनुहुन्छ ? म त सरकारको शुभ चाहने मान्छे हुँ। यसै वर्ष त मलाई 'रायसाहेब'को उपाधि दिइएको हो। तपाईँलाई भ्रम भयो होला।

एउटा सर्जेन्ट गर्जेर बोल्यो - 'म कालो मान्छे होइन र गोरो मान्छेले कहिल्यै झुटो बोल्दैन।'

बङ्गाली बाबूले केही रिसाएको मुद्रामा भने - 'पुलिसलाई भ्रम हुँदैन। भ्रम प्रायः डाक्टरहरूलाई हुने गर्छ।'

मैले सोधेँ - 'विद्रोहीको नाम के हो ?'

'शरद कुमार।'

'बङ्गाली हो ?'

'हो।'

'कहाँको मान्छे हो ?'

'श्रीरामपुरको।'

मेरा टाउकाबाट विपत्ति टरेझैँ लाग्यो। नाम सुनेपछि मुखमा मुस्कान आउन थाल्यो। मैले भनेँ - 'महाशय, त्यो नाम गरेको व्यक्ति मेरा घरमा छैन।'

'कुनै अर्कै बङ्गाली तपाईँको घरमा छ कि ?'

'अँ एउटा सोझो केटो छ, मेरा छोरालाई बङ्गाली पढाउँछ।'

तिनै श्वेतवस्त्रधारी बङ्गालीले भने - 'हो उसैको खोजी हो। उसको वास्तविक नाम शरदकुमार हो। पुलिस महिनौँदेखि ऊपछि लागेको छ तर पनि हात लाग्दैन।'

मैले आश्चर्यचकित भएर भनेँ- 'ऊ त नदिया जिल्लाको मान्छे हो, तपाईँ भन्नुहुन्छ अपराधी श्रीरामपुर निवासी हो।'

'ती सबै उसका चाल हुन्। ऊ श्रीरामपुरकै हो। उसका पिताको नाम हृदयनाथ हो र उनी प्रसिद्ध जमिन्दार हुन्।'

मैले फेरि सोधेँ - 'उसको अपराध के हो त ?'

उत्तर इन्स्पेक्टरले दिए - 'विद्रोह ! एउटा गोप्य संस्थासँग उसको सम्बन्ध छ। बम बनाउने, चोरी-डकैती गर्ने, हत्या गर्ने, लुट्ने आदि उसका देशसेवाहरू हुन्।'

यस्तो कुरा सुनेर मलाई हाँसो उठ्यो। मैले भनेँ - 'तपाईँ महानुभावहरू सत्रअठार वर्षको बङ्गाली ठिटोलाई विद्रोही भन्दै हुनुहुन्छ। यो पनि कतै मान्ने कुरा हो र ? एउटा साधारण व्यक्ति पक्राउ गर्न यति धेरै पुलिस ?'

चारजना सिपालीलाई द्वारमा खटाएर घरको सघन खानतलाशी सुरु भयो। सियो खोजेझैँ खोज्दा पनि ललित कतै भेटिएन। तर उसको कोठामा एउटा पत्र भेटियो जसलाई पढेर सबै मुखामुख गर्न लागे। लेखेको थियो -

'इन्स्पेक्टर साहेब !

नमस्ते

म फेरि भागेँ। तपाईँका पुलिसले कुरा बुझे होलान्, म कति भयानक मान्छे हुँ। अलिक सतर्क रहनु होला।

भारत माताको तुच्छ सेवक,

शरद।

बङ्गाली बाबूले आफ्नै टाउको हिर्काउँदै भने - 'सबै रणनीति फेल खायो। बजियाले फेरि झुक्यायो। महिनौ गरेको मेहनत पानीमै मिल्यो।'

पुलिस निराश भएर फर्कियो। उमाशङ्करसहित हामी सबै ललितका लागि आँसु बगाउन थाल्यौँ। ललितसँग हाम्रो स्नेह निकै गाढा भएको थियो र उसको यो कामले मलाई आश्चर्यमा पारेको थियो।

महाशय ! म त्यही डाक्टर हुँ र मेरो डाक्टरी मजैले चम्किएको छ। उमाशङ्करले पनि म्याट्रिक पास गरिसक्यो। ऊ पनि दिनप्रतिदिन परिवर्तित भैरहेको छ। आफ्ना हातले गिलासमा पानी पनि नहाल्ने ऊ अचेल गरिबहरूको सेवाका लागि सधैँ तत्पर रहन्छ।

ललितपछाडि स्वयम्‌सेवकको ज्यूँदो चित्र मैले उमाशङ्करमै देखेको छु।

एकदिन बसिरहेका बेलामा ललितलाई सम्झेर मेरा आँखा रसाए। स्मृतिमा ऊसँगको पुरानो प्रेम बौरिएर आयो। त्यसैबेला उमाशङ्कर कोठाभित्र छिर्‍यो। उसका हातमा एउटा अङ्ग्रेजी अखबार थियो साथै उसका आँखा आँसुले भरिएका थिए र उसको अनुहार उदास थियो। उसले भरिएको स्वरमा भन्यो - 'ललितलाई आजीवन देश निकालाको दण्ड दिइएको छ। उनी अपराधी थिएनन्। उनी देशका सच्चा सेवक, स्वतन्त्रताका पुजारी, सहृदयी र सबैसँग प्रेम गर्ने मानिस थिए। ललितको उद्देश्य काटमार गर्ने, लुट्ने थियो या विद्रोह त्यो त म भन्न सक्तिनँ तर म उनको स्पष्टवादिता र सरलताबाट साह्रै प्रभावित थिएँ। मलाई उनीमाथि पूर्ण विश्वास थियो।'

उमाशङ्करका शब्दहरू सुनेर मेरो हृदय हल्लियो। ऊ विचार व्यक्त गर्ने बित्तिकै रून थालिसकेको थियो।

मैले पनि धेरै सहन सकिनँ। आफ्ना आसुँ पुछेँ र भनेँ - 'उमाशङ्कर ललितलाई हेर्नका लागि मन व्याकुल भैरहेको छ, ऊ कहिले आउँछ ?'

तर उमाशङ्करसँग यस प्रश्नको केही जबाफ थिएन। ऊ हिक्का छोड्दै रोइरहेको थियो। मैले उसको स्थिति हेरिरहन सकिनँ। हृदय द्रवित भयो र चिन्ता र क्रोधका भावनाहरू उत्पन्न भए।

 -0-

­­­

बङ्गालीबाट अनुवादः कुमुद अधिकारी।

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :