अङ्क ५०पुस २०७२वर्ष १२

मुन्सी प्रेमचन्दको उपन्यास रङ्गभूमिको दसौँ भाग

अघिल्लो अङ्कबाट अगाडि......

धर्मभीरूतामा जहाँ अनेक गुणहरू छन्, त्यहीँ एउटा अवगुण पनि छ, त्यो सरल हुन्छ। पाखण्डीहरूको दाउपेच त्यसमा सजिलै चलिहाल्छ। धर्मभीरू मानिस तार्किक हुँदैनन्। उनीहरूको विवेचना शक्ति पनि शिथिल हुन्छ। ताहिर अलीले दुईजना विमाताहरूको कुरा सुनेपछि, उनका हृदयमा घोर अशान्ति व्याप्त भएको थियो। उनी बारम्बार खुदासँग आशीर्वाद माग्थे, नीति-ग्रन्थहरूमार्फत आफ्ना शङ्काहरूको समाधान गर्ने कोसिस गर्थे। जसोतसो दिन बित्यो र साँझ पर्ने बित्तिकै उनी मिस्टर जान सेवककहाँ गए र विनीत भावमा भने - "हजुरको निगाहमा एउटा खास कुरा बिन्ती बिसाउन आएको हुँ। अनुमति भए भनूँ ?"

जान सेवकले भने - "हुन्छ, भन्नु न भन्नु। कुनै नयाँ कुरा हो कि ?"

ताहिर अलीले भने - "हजुरले त्यस अन्धाको जमिन लिने विचार त्यागिदिनुभए, मनासिब हुनेथ्यो । हजारौँ बाधाहरू छन्। सूरदास एक्लो मात्रै नभएर पूरा टोल नै झगडा गर्न तम्सिएको छ। खास गरी नायकराम पण्डा निकै बिच्किएको छ। ऊ डरलाग्दो मानिस हो। धेरै पल्ट फौजदारी मुद्दामा परिसकेको छ। यस्ता जम्मै बाधाहरू हटेता पनि, म चाहिँ हजुरलाई त्यसको साटो कुनै अर्कै जमिन हेर्नका लागि अनुरोध गर्दछु।"

जान सेवकले सोधे - "किन ?"

ताहिरले भने - "हजुर, यो सबै श्रापको काम हो। सैयौँ मानिसहरूको काम त्यही जमिनबाट चल्छ, सबैका गाईवस्तु त्यहीं चर्छन्, बरियाँतहरू त्यहीँ बस्छन्, प्लेगको महामारीमा मानिस त्यहीँ झुप्रो हालेर बस्छन्। यदि त्यो जमिन फुत्कियो भने पूरै जनसङ्ख्यालाई अप्ठ्यारो पर्छ र मानिसहरूले हामीलाई मनमनै सराप्छन्। यसको श्राप अवश्य लाग्नेछ।"

जान सेवकले हाँस्दै भने - "श्राप मेरै टाउकामा त बर्सिन्छ होला नि ! म त्यसको भारी बोक्न सक्छु।"

ताहिर अलीले भने - "हजुर, म पनि त तपाईँकै छेऊमा बसेको छु। त्यस श्रापबाट म कसरी बच्न सक्छु र ? अझ मलाई नै टोलवासीहरूले गद्दार सम्झिन्छन्। हजुर त यहाँ बस्नुहुन्छ, म त आठै प्रहर उनीहरूकै आँखा अगाडि बस्छु, सधैँ उनीहरूको आँखामा बिझाइरहन्छु, स्वास्नीमानिसहरूले पनि बाटो हिँड्दै गर्दा दुईचार कुरा सुनाएरै छाड्छन्। बाल-बच्चा भएको मान्छे हुँ, खुदा नै जानून्, के हुन्छ के हुन्न। आखिर सहरका छेउछाउमा अरू नै जमिन पनि पाइन्छ नि।"

 

धर्मभीरूता आधुनिकहरूका दृष्टिमा हास्यास्पद लाग्छ। विशेषगरी एउटा युवामा त्यो अक्षम्य मानिन्छ। जान सेवकले कृत्रिम क्रोध धारण गरेर भने - "मेरा पनि त बाल-बच्चा छन्। म डराउँदिन भने, तपाईँ किन डराउनुहुन्छ ? के मेरा बालबच्चाको माया मलाई लाग्दैन भन्ने लाग्छ तपाईँलाई ? कि म खुदासँग डराउँदिन ?"

 

ताहिरले भने - "तपाईँ साहबे-एकबाल(ठूलो धनी मानिस)  हुनुहुन्छ। तपाईँलाई श्रापको डर लाग्दैन। एकबालहरूसँग श्राप पनि काम्छ। खुदाको क्रोध त गरिबमाथि मात्र बर्सिने हो।"

जान सेवकले भने - "यस नयाँ धर्म-सिद्धान्तका जन्मदाता सायद तपाईँ नै होला, किनकि मैले आजसम्म ऐश्वर्यसँग ईश्वरीय कोप पनि डराउँछ भन्ने कुरा सुनेको छैन। जबकि हाम्रा धर्म-ग्रन्थहरूमा त धनीहरूलाई स्वर्गको द्वार पनि बन्द गरिन्छ भनी लेखिएको छ।"

ताहिरले भने - "हजुरले मलाई यस झमेलाबाट टाढै राख्ता राम्रो होला।"

जान सेवकले भने - "आज तपाईँलाई यस झगडाबाट टाढै राखौँला, भोलि तपाईँलाई पशु हत्याबाट खुदा रिसाउँछन् भन्ने शङ्का लाग्यो र आफूलाई छाला खरीदबाट टाढै रहन मन लाग्यो भने, मैले कुनकुन कुरामा तपाईँलाई टाढा राख्ने र कहाँसम्म ईश्वरको प्रकोपबाट रक्षा गर्ने ? त्यसभन्दा राम्रो त तपाईँलाई आफैँबाट टाढा राखे भैहाल्यो नि। मसँग बस्ता तपाईँलाई ईश्वरीय प्रकोपको सामना पनि गर्नुपर्छ।"

मिसेज सेवकले भनिन् - "यदि तपाईँलाई ईश्वरीय प्रकोपको त्यति धेरै डर लाग्छ भने, हाम्रामा तपाईँका लागि काम छैन।"

ताहिरले भने - "मैले हजुरको सेवा गर्न नमानेको कहाँ हुँ र, मैले त मात्रै......।"

मिसेज सेवकले भनिन् - "तपाईँले हाम्रो हरेक आज्ञा पालना गर्नु पर्छ, त्यसमा तपाईँको खुदा खुसी होस् या बेखुसी। हामी हाम्रा काममा तपाईँको खुदालाई हस्तक्षेप गर्न दिँदैनौँ।"

ताहिर अली हतास भए। मनलाई सम्झाउन थाले - "ईश्वर दयालु छन्, के उनले म कस्तो साङ्लामा बाँधिएको छु भन्ने देख्तैनन् र ? यसमा मेरो के नियन्त्रण छ र ? यदि स्वामीको आज्ञा पालना गरिनँ भने परिवार कसरी पाल्न सक्छु? बर्सौँसम्म यता र उति कुद्दाकुद्दै बल्ल यो एउटा स्थायी जागिर हातमा आएको छ। यसलाई छाडेँ भने फेरि त्यस्तै हण्डर खाँदै हिँड्नु पर्छ। अहिले अरू केही नभए पनि दाल-रोटी त कमाइरहेको छु।" यसरी गृहचिन्ताले आत्मचिन्तनलाई घात गर्दछ।

ताहिर अलीले निरूत्तर हुनुपर्यो। बिचराले आफ्नी जहानका सबै गहना बेचिसकेका थिए।  अब बाँकी सुनको एउटा टुक्रा पनि थिएन। माहिर अली अङ्ग्रेजी पढ्थे। उनका लागि राम्रा लुगा सिलाउनु पर्थ्यो, महिनैपिच्छे शुल्क बुझाउनु पर्थ्यो। जाबिर अली र जाहिर अली उर्दू मदरसामा पढ्थे, उनीहरूकी आमाले तिनलाई पनि "अङ्ग्रेजी स्कुलमा भर्ना गराइदेऊ, उर्दू पढेर के चपरासीगिरी गर्नु, अङ्ग्रेजी जाने भने कुनै न कुनै अफिसमा छिरीहाल्छन्", भनेर दैनिक कचकच गर्थिन्। भाइहरूको लालन-पालनमा उनका आफ्ना आवश्यकताहरूलाई ठेस लाग्थ्यो। पाइजामा यति धेरै ठाउँमा टालेको थियो कि कपडाको यथार्थ रूप थाहा हुन्नथ्यो। नयाँ जुत्ता त उनले सायद पाँच वर्षमा पनि पाएनन्। माहिर अलीका पुराना जुत्ता लगाएरै चित्त बुझाउनु पर्थ्यो। सौभाग्यले माहिर अलीका खुट्टा ठूला थिए। सकेसम्म उनी भाइहरूलाई कुनै दुःख हुन दिँदैनथे। तर कोहीकोही बेला हात साँघुरो हुँदा भाइहरूका लागि नयाँ लुगा सिलाइदिन सक्तैनथे, शुल्क बुझाउन ढिलो हुन्थ्यो, वा खाजा पाइन्नथ्यो वा मदरसामा जलपानका लागि पैसा हुन्नथ्यो, त्यस्ताबेला दुवै आमाहरूले व्यङ्ग्य र कटुक्तिहरूले उनको हृदय छियाछिया बनाउँथे। काम नभएका बेला उनी धेरै जसो, आफ्नो बोझ हलुका बनाउन, श्रीमती र छोराछोरीलाई माइत पठाउँथे। उपहासबाट बच्नका लागि एकाध महिनाका लागि बोलाउँथे र फेरि कुनै न कुनै बहाना निकालेर उतै फर्काउँथे। उनी जबदेखि जान सेवकका शरणमा थिए, एक प्रकारले भन्दा उनका राम्रा दिनहरू आएका थिए, भविष्यको चिन्ता उनलाई थिएन। माहिर अलीको उमेर पन्ध्रभन्दा बढी भैसकेको थियो। अब सबै आशाहरू उनैमा केन्द्रित थिए। उनी सोच्थे - "जब यसले मेट्रिक पास गर्छ, साहेबलाई भनेर पुलिसमा भर्ना गरिदिन्छु। पचास रूपैयाँ भन्दा कम तलब त पाउँदैन नै। दुई भाइको आम्दानी मिलाउँदा अस्सी त भैहाल्छ। अनि जीवनमा केही आनन्द आउँछ। त्यसबेला सम्म जाहिर अलीले पनि हात-खुट्टा सम्हाल्छ, त्यसपछि त आनन्दै आनन्द। बस अब अप्ठ्यारो भनेको तीन चार वर्षको मात्र हो।" जहानसँग प्रायः झगडा हुन्थ्यो। उनी भन्थिन् - "यी भाइ-बन्धु एउटै काम लाग्दैनन् नि। अवसर पाउने बित्तिकै पखेटा फड्कारेर हिँड्छन् र तिमी हेरेकोहेऱ्यै हुन्छौ।" ताहिर अली यस्तै कुरामा जहानसँग रिसाउँथे। उनलाई घरमा आगो लगाउने विषको पोको भनेर रुवाउँथे।

आशाहरू र चिन्ताहरूले त्यसरी थिचिएको मानिसले मिसेज सेवका कटु वाक्यहरूको कसरी जबाफ दिन्थे र। स्वामीको कोपले ईश्वरको कोपलाई परास्त गरिदियो। व्यथित आवाजमा भने - "हजुरको नुन खान्छु। तपाईँको इच्छा मेरा लागि खुदाको हुकुम(आज्ञा) जत्तिकै हो। किताबहरूमा मालिकहरूलाई खुसी राख्न तिनै तरिकाहरू लेखेका छन् जुन खुदालाई खुसी पार्न गरिन्छन्। तपाईँसँग नुनको सोझो गरिनँ भने मैले खुदालाई कसरी मुख देखाउनु ?"

जान सेवकले भने - "हो, अब आउनुभो नि सोझो बाटामा। जानुहोस् आफ्नो काम गर्नुहोस्। धर्म र व्यापारलाई एउटै तराजुमा जोख्नु मुर्खता हो। धर्म धर्म हो र व्यापार व्यापार, जसको परस्पर कुनै सम्बन्ध छैन। संसारमा जीवित रहनका लागि मानिसलाई व्यापारको आवश्यकता पर्दछ, धर्मको पर्दैन। धर्म व्यापारको श्रृङ्गार हो। त्यो त धनाधिशहरूलाई मात्र सुहाउँछ। खुदाले तपाईँलाई प्रशस्त सम्पत्ति दिए, अवकाश छ, घरमा फाल्टु रूपैँयापैसा छन् भने नमाज पढ्नुहोस्, हज गर्नुहोस्, मस्जिद बनाउनुहोस्, कुवा खनाउनुहोस्, तब धर्म हुन्छ, पेट खाली राखेर खुदाको नाम लिँदा पनि पाप हुन्छ।"

ताहिर अलीले झुकेर सलाम ठोके र घर फर्किए।

-0-

क्रमशः.................

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :