अङ्क ४९ | भदौ २०७२ | वर्ष १२ |
निद्राजीवी
-- खलील जिब्रान
मेरा गाउँमा एउटी महिला र उसकी छोरी बस्थे। दुवैलाई निद्रामा हिँड्ने रोग थियो। एउटा शान्त बगैँचामा, बाक्लो कुहिरो लागेको बेला, निद्रा मै हिँड्दा आमाछोरी आमुन्ने-सामुन्ने भए।
आमाले छोरीतिर हेरेर भनिन् - "तँ, मेरी शत्रु ! मेरो जवानी जति तँलाई हुर्काउन-बढाउन मै बर्बाद भयो। तैँले लहरा बनेर मेरो उमङ्गको वृक्षलाई नै नास सुकाइदिइस्। मैले तलाई जन्मिँदै मारीदिएको भए बेस।"
त्यसमा छोरीले जबाफ फर्काइ - "ऐ, स्वार्थी बूढी ! तँ म र मेरो सुखको बीचमा पर्खालझैँ उभिएकी छेस्। मेरो जीवनलाई पनि आफ्नै जीवनजस्तो पतझड बनाउन चाहन्छेस् तँ त मरेकै भए बेस।"
त्यतिखेरै कुखुराको भाले बास्यो र दुवैजना ब्यूँझिए।
आमाले छक्क पर्दै छोरीलाई भनिन् - "अरे, मेरी प्यारी छोरी, तिमी !"
छोरीले पनि आदरसाथ भनी - "हजुर, मेरी प्यारी आमा !"
-0-
अनुवादः कुमुद अधिकारी
प्रतिक्रियाहरू |