अङ्क 47 | चैत्र 2069 | वर्ष 9 |
मन्त्रीको कुकुर
- रामयतन यादव
त्रिपाईमा टुक्रुक्क बसेको कुकुर आफ्नो लामो जिब्रो लपलप्याउँदै कुलरको चिसो हावाको आनन्द लिइरहेको थियो।
त्यसैबेला मन्त्रीज्यूले छेउछाउमा भएका मानिसलाई धाक दिने मनसायले सगर्व जुँगामा ताउ दिँदै भने - "हेर, यसपल्ट अमेरिकाबाट यही कुकुर ल्याएको छु।"
ऊ केही बोलेन। बोल्ने काम पनि आँखैबाट गर्ने हिसाबले उसले पहिले कुकुरलाई हेर्यो र फेरि मन्त्रीलाई।
"बुझ्यौ रामदिन" मन्त्रीले भने "यो दुर्लभ जातको कुकुर पूरै दस हजार डलरको हो।"
यसपल्ट पनि ऊ केही बोलेन। कुनै प्रतिक्रिया दिएन। मुखैमा आएका शब्दहरूलाई रोक्दै फेरि एकपल्ट कुकुरलाई हेर्यो, अलिकति मुसकुरायो। तर कुकुरलाई देखेर उसका आँखाहरूमा निराशाको हलुका बादल देखा पर्यो।
"केहो रामदिन, तिमीलाई कुकुर मन परेन ?" मन्त्रीले सोधे।
मन्त्रीको कुरा सुनेर उसका आँखामा रहेको निराशाको बादल पूरै अनुहारभरी फैलियो।
उसले बिस्तारै गलामा अड्किएका शब्दहरूलाई बाहिर सार्यो - "सर...अँ...त्यस्तो होइन...कुकुर त एकदम राम्रो लाग्यो.....तर...."
"तर के ..." मन्त्री तर्सियो।
"म हुँदाहुँदै तपाईँलाई कुकुर किन पाल्नुपर्यो भन्ने कुरा सोचिरहेको थिएँ।"
--
हिन्दीबाट अनुवादः कुमुद अधिकारी
प्रतिक्रियाहरू |