अङ्क 43साउन 2067वर्ष 7

धर्म निरपेक्ष

- रामेश्वर काम्बोज हिमांशु

 

सहरमा साम्प्रदायिक दङ्गा भड्‌किएको थियो। केटाकेटीहरू भालाका टुप्पामा उफारिएका थिए। दुईजना दोबाटामा निस्किए। यसभन्दा अघि दुवैले एक अर्कालाई देखेका थिएनन्। दुवैका आँखाहरू रिसले रक्ताम्य भए। दुवै अलगअलग धर्मका थिए।

पहिलोले दोस्रोलाई आमाको छाडा गाली गर्‍यो र दोस्राले पहिलालाई बहिनीको। दुवैले आआफ्नो छुरा निकाले। छेवैमा हड्डी टोकिरहेको कुकुरले ङ्वार्र गर्‍यो। ती दुवै एक अर्कालाई मार्ने धम्की दिइरहेका थिए। हड्डी छोडेर कुकुर उनीहरूतिर हेर्न थाल्यो।

उनीहरूले छुरा एक अर्कामाथि प्रहार गरे। दुवै छटपटाएर दोबाटैमा डङरङ्ग लडे। वरिपरिको जमिन रगतले मुछियो।

कुकुरले छेउमा आएर दुवैलाई सुँग्यो। कान फट्फटायो। पालैपालो दुवैका शरीरमा पिसाब फेर्‍यो र आफूले छाडेको हड्डी टोक्न लम्कियो।

--

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

 

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :