अङ्क ४२ | असोज २०६६ | वर्ष ६ |
प्रार्थना
-- माला वर्मा
सँधैको जस्तो म बिहान डुल्न निस्किएकी थिएँ। अनेक कुराहरू मनमा खेलिरहेका थिए। त्यसैबेला मेरा छेउमा फोहोर उठाउने ट्रक आएर अडियो। मैले सोचेँ ड्राइभरले बाटो सोध्न आँटेको होला। तर होइन...... उसले सर्टको माथिल्लो गोजीबाट लगभग पाँच वर्षको केटाको फोटो निकाल्यो। केटो साँच्चै मायालाग्दो थियो। मैले सोधेँ – ‘भन के चाहियो ?’
‘यो मेरो नाती तुषार हो। यो निकै बिरामी छ। अस्पतालमा जीवन-मृत्युबीच सङ्घर्ष गरिरहेको छ................।‘
मैले सोचेँ उसले पैसा माग्नका लागि भूमिका बाँधिरहेको छ। ऊ झूट बोलिरहेको छ, अथवा साँच्चै हो भने अस्पतालको बिल देखाउन आँट्दैछ। मेरो हात आफैँ पर्सतिर लम्कियो – ‘केही मदत गरूँ ?’
‘होइन, होइन, मलाई पैसा चाहिएको हैन। म सबैसित मेरो नातिका लागि भगवान् सित प्रार्थना गरिमाग्दैछु। मेरो प्यारो नाती छिटै जाति भएर घर आओस् भनी तपाईँ प्रार्थना गर्न सक्नुहुन्छ ?’
मैले गरेँ.................एक दिन हैन लगातार, कैयौँ दिनसम्म । मलाई थाहा छैन त्यसको असर त्यो बालकमाथि पर्यो या परेन तर मैले आफ्नै जीवनका कैयन् समस्याहरू हल भइरहेको महसुस गरिरहेकी छु।
--
हिन्दीबाट अनुवादः श्रीधर शर्मा
प्रतिक्रियाहरू |