अङ्क ४१ | भाद्र २०६६ | वर्ष ६ |
छाया
- सीताकान्त महापात्र
धेरै दिनदेखि देखिरहेथेँ
उनी उभिएकी थिइन्,
शिर झुकाएर, खुट्टा जमाएर
मेरो प्रवेशद्वारै अगाडि
अडिग मूर्तिझैँ।
उनले चाहेको भए अचानक प्रवेशद्वार खोलेर
भित्र आउन सक्थिन्
बरन्डा, बैठककोठा हुँदै
सिधै मेरो शयनकक्षमा पनि आउन सक्थिन्
मेरा पुस्तकहरू, मेरा विचारहरू
मेरो बाँकी जिन्दगी, मेरा सपनाहरू
जे पनि लान सक्थिन्
तर ती मूर्ख केही गर्दिनन्
यहाँसम्म कि हिचकिचाउँदै- लजाउँदै
अरूहरूजस्तै
चौतारामाथि बसेर
'महाराज-महाराज' भनेर पनि बोलाउँदिनन्।
यहाँबाट बाटो फेरेर फर्किन्नन् पनि
घाम, ताप, चिसो, ओस सबै सहेर
चाँदनी रातमा डराउने पुत्लाजस्तै
त्यहीँ त्यसरी नै उभिइरहन्छिन्।
प्रवेशद्वार पनि त खुल्दैन
तर उनी यस्तो जादू जान्दछिन् कि
मेरा सबै सपनाहरूमा उपस्थित हुन्छिन्
त्यसपछि छोराछोरी, पत्नी र म आफैँ
मेचमा आमुन्ने-सामुन्ने बसेका हुन्छौँ
चिया पिउँदा पनि लाग्छ
हामी सबै नीलो गगनका टिलपिलाउँदा नक्षत्रहरू हौँ
अचानक सबै कुराहरू अनौठा लाग्छन्
कुनै कुरा पूरा नगरीकनै
म बेमन चूप लाग्छु।
हुनसक्छ उनकै डरले
घर अगाडिको रूखमा बसेर गाउने चराहरू
जसका गीतहरू सोच्थेँ, मात्र मेरा लागि हुन्
फुर्र उड्छन्
बोट-बूट्यान कमजोर र खिनौटा देखिन्छन्
चाँदनी पनि मधुरो लाग्छ
अनि लाग्छ,
उनी त्यसैगरी
अझ केही दिन त्यहीँ जमिन् भने
चाँदनी पूरै कालो हुनेछ,
चराले गाउन भुल्नेछन्
शब्दहरू कहीँ हराउनेछन्।
नोकर-चाकर, पत्नी र छोराछोरी जसलाई सोधे पनि
भन्छन् – खोई कहाँ छिन् त ?
प्रवेशद्वारमा त नाङ्गो हावाबाहेक केही छैन
म हरेक उपाय लगाउँछु
उनलाई ससम्मान घरभित्र लैजान
र असफल हुँदा लाग्छ
डर देखाउँदै धम्क्याउँदै दुस्मनझैँ लखेटूँ।
तर केही फाइदा छैन
के दिन, के रात
के असार, के फागुन
शिर झुकाएर
सपनामा देखिएकी सपनाजस्तै
उनी त्यहीँ उभिइरन्छिन्।
-0-
हिन्दीबाट अनुवादः कुमुद अधिकारी
आभार, सुभाष नीरव, सेतु साहित्य,(www.setusahitya.blogspot.com) नयाँ दिल्ली
जन्म 17 सेप्टेम्बर 1937, उडिया भाषाका प्रख्यात कवि। तीसभन्दा बढी कविता कृतिका सर्जक। ज्ञानपीठ पुरस्कार, सरला पुरस्कार, साहित्य अकादमी पुरस्कार साथै अन्य सम्मानहरूबाट सम्मानित। सम्प्रति नेसनल बुक ट्रस्टका अध्यक्ष।
प्रतिक्रियाहरू |