अङ्क 47चैत्र 2069वर्ष 9

तपाईँ गलत भन्नुहुन्छ आमा, म त्यही साने होइन !

 

- विश्व रन्जन

जबदेखि मेरा आँखा जवान भए

मेरो हृदय साँघुरो भयो

अब त्यहाँ नीलो आकाश कहाँ अट्छ र ?

अनि आमा

तपाईँ भन्नुहुन्छ म उस्तै छु

तपाईँको त्यही साने !

म त्यस्तो कहाँ छु र ?

मसित कहाँ छ त्यस्तो बक्स क्यामेरा ?

जसद्वारा म बेदाग सफा चित्रहरू खिच्थेँ

अब दृश्यहरूको तीखो पकड

लेन्समा मात्रै नभएर

फोकस र मनको गतिमा अल्झिएको छ

र निर्भर छ

आँखाहरूको तटस्थतामा

र यो सत्य हो आमा

अब मलाई यो उत्कृष्ठ क्यामेराको

प्रयोग आउँदैन

हरेक दृश्य बिग्रिन्छ

हरेक सत्य धुवैँ-धुवाँ हुन्छ

तपाईँ गलत भन्नुहुन्छ आमा

म त्यही साने होइन !

यी रूख, यी तारा, यो आकाश, त्यो जून

सबै साक्षी छन्

मैले कुनै बेला यिनका

तसबीरहरू खिचेको थिएँ।

 

त्यस गौँथलीलाई सोध्नु आमा

जसलाई घाइते देखेर मलमपट्टी गरेको थिएँ

त्यस नोकरलाई सोध्नु आमा

जसलाई पैसा चोरेर दिएको थिएँ

मसँग कुनै तर्क थिएन, कारण थिएन

किन मैले त्यसो गरेँ !

 

उस बेला लेन्स सफा थियो

क्यामेरा जता फर्काए पनि

सफा तसबीर आउँथ्यो

तर आज

फोकसको अन्दाज बिग्रिन्छ

मनको रिलको गति बदलिन्छ

आँखा स्थिर हुँदैनन्

लेन्समा धुलो जमेपछि

चित्र त बिग्रिने नै भयो

यिनै चित्रलाई ठीक पार्ने इच्छामा

म शब्दसँग खेल्छु

बुन्छु तिनकै जाल

तिनै मेरा ऐना बन्छन्

र बताउँछन् मेरो औकात !

 

तपाईँ गतल भन्नुहुन्छ आमा

म त्यही साने होइन !

--

हिन्दीबाट अनुवादः कुमुद अधिकारी।

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :