अङ्क 45मङ्सिर 2068वर्ष 8

शरदमा गाउँ

- एकु घिमिरे

गाउँमा एकसाथ लहर चल्छ सुन्दर हुने

नदी शास्त्रीय धुन सुसेल्दै  ससाना भूरा नचाउँछ

आकाश हाम्रो झण्डाको किनारा पैँचो मागेर

नानीहरूको रङ्गीचङ्गी सपना उडाउन थाल्छ

सयपत्री घामको रङमा फक्रन्छ।

हिमाल बादलको बर्को खोलेर हाँस्छ

करेसाको काँक्रामा जूनको रङ पोतिन्छ

धानले धर्तीलाई दण्डवत गर्छ

आँगनमा थाङ्ग्रो उभिन्छ।

बारीभरी फुल्छ कोदो

कान्लाभरी साँचिन्छ घाँस उत्सवलाई

बाँसको तामाले लत्याएको भोटो फिरफिरे बनेर घुम्छन् कलिला हातहरूमा।

आमाहरूको भीड हुन्छ

कमेरे गैह्री र रातमाटे डाँडाहरूमा

झुप्राहरू बनाइन्छन् बेहुली जस्तै

प्रथम पटक दाह्री खौरिएको गालाजस्तै लाग्छन् गोरेटाहरू !

गरिबहरूको यात्रा हुन्छ साहूजीहरूकामा

साँच्चै, शरदमा साहु भगवान् बन्छ।

--

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :