अङ्क ५० | पुस २०७२ | वर्ष १२ |
रहर फुल्ने मौसम
–इन्द्रकुमार श्रेष्ठ "सरित्"
रहर कहिले आरूको फूलझैं फुल्छ
कहिले चरी बनेर गगनमा मगन हुन खोज्छ
नवीन बिहानी लागेको
नयाँ घामको आँचललाई गरेर स्नेहालु स्पर्श
घण्टहरूझैँ ध्वनि छरेर
रहर
सुगन्ध भई हावामा फैलिन खोज्छ।
प्राप्ति नयाँ /चेतना नयाँ/ सोंच नयाँ
युगौंदेखि साँचेका सपना नयाँ
तर......
शैली पुरानै/मानसिकता पुरानै/ परिणति पुरानै
उफ ! थुनिन्छ श्वास
चेाकमा/गल्लीमा/गाउँमा/शहरमा
नारा छ/ जुलुस छ/ हडताल छ
चक्का जाम र बन्दको लहर छ
छ केवल नवीन शब्द प्राप्तिको उत्कट अभिलाषा
तर अधिकार माग्नेहरूको भीडमा दबिएका छन्
कर्तव्य, दायित्व र अनुशासन
शब्दरूपी अर्थहरू टायरको धुलोमा दबिएका छन्
टायरको धुवाँमा छोपिएका छन्
परास्त गरिसकेपछि अधिनायकत्वलाई
पुग्नुपर्ने गन्तव्यको नहोस् अन्यौल
यात्रा त सुरुमात्रै भएको छ
असमानता र बेथितिका जङ्घारहरु नाघेर
नयाँ नेपालको निर्माण गर्न
भ्रमहरुलाई चिरेर
आत्मश्लाघाहरूलाई पैतालाले टेकेर
अझै धेरै हिँड्नु छ
विजयको खुशियालीमा
नयाँ नेपालको झण्डा फहराउनु छ।
-0-
तरहरा (सुनसरी), हालः काठमाडौं
![]() | प्रतिक्रियाहरू |