अङ्क 44चैत्र 2067वर्ष 7

रङ्गभूमि

                                                                                                              - प्रेमचन्द

 

अघिल्लो अंङ्कबाट क्रमशः

 

सोफियाले कुंवर भरतसिंह को ठेगाना सोध्नका लागि कसैलाई खोज्दै थिइन् त्यसैबेला भवन अगाडिको पक्की चौतारामा दरी ओछ्याइयो। कैयन् मानिसहरू सितार, बेला, मृदङ्ग लिएर बसे र बाजालाई साथ दिँदै कैयन् नवयुवकहरू एउटै स्वरमा गाउन थाले -

शान्ति-समर में कभी भूलकर धैर्य नहीं खोना होगा,

बज्र-प्रहार भले सिर पर हो, नहीं किन्तु रोना होगा।

अरि से बदला लेने का मन-बीज नहीं बोना होगा

घर में कान तूल देकर फिर तुझे नहीं सोना होगा।

देश-दाग को रुधिर वारि से हर्षित हो धोना होगा

देश कार्य की सारी गठरी सिर पर रख ढोना होगा।

आंखें लाल, भवें टेढी कर, क्रोध नहीं करना होगा

बलि-वेदी पर तुझे हर्ष से चढ़कर कट मरना होगा

नश्वर है नर-देश, मौत से कभी नहीं डरना होगा

सत्यमार्ग को छोड़ स्वार्थ-पथ पैर नहीं धरना होगा।

होगी निश्चय जीत धर्म की वही भाव भरना होगा

मातृभूमि के लिए जगत में जीना औ मरना होगा।

सङ्गीतमा न लालित्य थियो, न माधुर्य। न कुनै जागृति भरिएको शक्ति। सामूहिक सङ्गीतमा जे हुनुपर्ने थियो त्यसमा थियो। त्यसमा भएको आत्मसमर्पण र पवित्र सन्देश विराट आकाशमा, नीलो गगनमा र सोफियाको अशान्त मनभरि गुञ्जिरहेको थियो। उनी यसभन्दा पहिले धार्मिक प्रवचन र सन्देशहरूमै रमेकी थिइन् र राष्ट्रिय सन्देश सुन्ने यो उनको पहिलो अवसर थियो। उनका रोम-रोमबाट त्यही ध्वनि ज्योति समान निस्कन थालेको थियो -

मातृभूमि के लिए जगत में जीना औ' मरना होगा।

उनका मनमा ती गाउने मानिसहरूसँग मिसिएर गाऊँ कि भन्ने तरङ्ग उठ्यो। हरेक थरिका उद्‌गार पनि मनमा आउन थाले - 'कुनै अर्कै देशमा गएर भारतको आर्तनाद सुनाउँथेँ। यहीँ उभिएर भन्दिन्छु म आफूलाई भारत सेवाका लागि समर्पित गर्छु। आफ्नै जीवनको उद्देश्यमाथि नै एउटा भाषण दिन्थें- हामी भाग्यलाई सरापेर रूनका लागि बनेका हैनौँ, आफ्नो दयनीय अवस्थामा रुनका लागि बनेका हैनौ।'

परिवेश त्यस्तै थियो। सोफियाको हृदयमा यिनै देशभक्तिका भावहरूले नृत्य गरिरहेका थिए।

सङ्गीत बजीरहेकै थियो। त्यसैबेला अचानक त्यसैका छेउमा भएको एउटा झुप्रामा आगो लाग्यो। मानिसहरू त्यहाँ पुग्दा नपुग्दै आगोले ठूलो रूप लिइसकेको थियो। पूरा मैदान उज्यालाले चम्किएको थियो र रूख-बिरूवाहरू प्रदीप्त प्रकाशले नुहाएझैँ लाग्थे। गाउने मानिसहरूले तुरुन्तै आफ्ना बाजा-गाजा छाडे, धोती सुर्किए, बाहुला मोडे र आगो निभाउन कुदे। भवनबाट कैयन् युवकहरू पनि त्यता लागे। कोही कुवाबाट पानी ल्याउन कुद्‌यो भने कोही आगामा पसेर भित्रका चीजबीजहरू बाहिर फ्याँक्न थाल्यो। कतै उत्ताउलोपन, हडबडी, भागदौड, होहल्ला, 'भाग-भाग'जस्तो हल्ला, आफू केही न गरेर अर्कालाई अह्राइरहने मान्छे, जो यस्ता बिपत्तिहरूमा सधैँ हुने गर्छन् -कोही थिएनन्। सबैले यस्तो सुचारू र सुव्यवस्थित तरिकाले आफ्नो काम गरिरहेका थिए कि एकै थोपा पानी पनि खेर गएको थिएन। अग्निको प्रकोप विस्तारै घट्दै गयो। मानिसहरू त्यति निर्भय भएर आगामा फाल हानीरहेका थिए मानौं त्यो कुनै जलकुण्ड होओस्।

अग्निको वेग शान्त हुन नपाउँदै अर्कातिरबाट आवाज आयो- 'कुद, कुद, मान्छे डुब्न आँट्यो ।' भवनको अर्को पट्टी पक्का पोखरी थियो, जसका किनारामा झाडीहरू थिए। किनारामा एउटा सानो नाउ कीलामा बाँधिएको थियो। आवाज सुन्ने बित्तिकै आगो निभाउने समूहमध्येबाट कैयन् मानिस निस्केर पोखरीतिर लम्किए र डुब्दै गरेको मानिसलाई बचाउन पोखरीमा फाल हाने। उनीहरूले झ्वाम्म फाल हानेको आवाज सोफियाले सुनिन्। उनलाई लाग्यो यो कस्तो ईश्वरको प्रकोप। एकै ठाउँमा दुई प्रमुख तत्वहरूको यस्तो विप्लव ! उनी त्यहाँबाट उठेर पोखरीतिर जानै लाग्दा एकजनालाई पानीको डोल बोकेर चिप्लिएको देखिन्। चारैतिर आगो शान्त भए पनि त्यो मानिस लडेका ठाउँमा ज्वालाहरू वेगले दन्किरहेका थिए। आगोको ज्वाला विकराल मुख बाएर त्यस अभागी मानिसतिर लप्कियो। सायद आगाका ज्वालाहरूले उसलाई निल्थे होलान् तर सोफिया विद्युत्-गतिले त्यता लम्किइन् र त्यस मानिसलाई बाहिर निकालेर ल्याइन्। यो काम निमेषभर मै सम्पन्न भयो। त्यस अभागीको ज्यान बच्यो, तर सोफियाको कोमल कायालाई आगाको ज्वालाले भेट्यो। ज्वालाको घेराबाट बाहिर निस्कने बित्तिकै उनी अचेत भएर लडिन्।

तीन दिनसम्म सोफियाका आँखा खुलेनन्। मन चाहिँ अनेकन् लोकहरूको भ्रमण गरिरहन्थ्यो। कहिले अद्भूत त कहिले भयावह दृश्यहरू देखिइरहन्थे। कहिले ईसा मसीहको सौम्य मूर्ति आँखा अगाडि आउँथ्यो त कहिले कुनै विदुषी महिलाको चन्द्रमुखको दर्शन हुन्थ्यो जसलाई उनले सेन्ट मेरी सम्झिन्थिन्।

चौथो दिन बिहान उनको आँखा खुल्दा आफूलाई एउटा सजिसजाऊ कोठामा पाइन्। गुलाफ र चन्दनको सुगन्ध कोठामा भरिएको थियो। उनका अगाडि तिनै महिला बसेकी थिइन् जसलाई सुषुप्तावस्थामा सेन्ट मेरी मानेकी थिइन्। सिरानेतिर एकजना वृद्ध पुरुष बसेका थिए जसका आँखाबाट दया बर्सिरहेको भान हुन्थ्यो। सायद यिनैलाई अर्धचेतन अवस्थामा उनले ईशा मसीह देखेकी थिइन्। स्वप्नको रचना स्मृतिहरूको पुनरावृत्ति त हो।

सोफियाले क्षीण स्वरमा सोधिन् - 'म कहाँ छु, आमा खोई ?'

वृद्ध पुरुषले भने - 'तिमी कुंवर भरतसिंहका घरमा छ्यौ। तिम्रा अगाडि रानी साहिबा बस्नु भएको छ। तिमीलाई अहिले कस्तो छ ?'

सोफियाले भनिन्- 'म ठीक छु। तिर्खा लागेको छ। आमा कहाँ हुनुहुन्छ, बाबा कहाँ हुनुहुन्छ ? तपाईंहरू को ?'

रानी - 'उहाँ डाक्टर गाङ्गुली। तीन दिनदेखि तिम्रो उपचार गरिरहनु भएको छ। तिम्रा बा-आमाको परिचय ?'

सोफियाले जबाफ दिइन्- 'मेरो बुबाको नाम जान सेवक हो। हाम्रो बङ्गला सिगरामा छ।'

यो सुनेर डाक्टरले भने - 'ए तिमी जान सेवककी छोरी हौ ? म उहाँलाई चिन्छु। अहिले नै खबर गर्छु।'

रानीले भनिन् - 'कसैलाई पठाऊँ ?'

सोफियाले भनिन् - 'हतार छैन। आइहाल्नुहुन्छ नि। मैले जसलाई तानेको थिएँ उसलाई कस्तो छ ?'

रानीले भनिन् - 'छोरी, ईश्वरका कृपाले ऊ राम्रो छ। उसलाई अलिकति पनि आँच लागेन। ऊ मेरो छोरा विनय हो। आउँदै होला। तिमीले नै उसको प्राण बचायौ। तिमी त्यसबेला दौडेर नपुगेकी भए, के हुन्थ्यो हुन्थ्यो ? म तिम्रो यस ऋणबाट कहिल्यै मुक्त हुन सक्तिनँ। तिमी मेरो वंश रक्षा गर्ने देवी हौ।'

सोफियाले भनिन् - 'आगो लागेका घरका सबै मानिसहरू बाँचे ?'

रानीले भनिन् - 'छोरी, त्यो सबै एउटा अभिनय मात्र थियो। विनयले यहाँ एउटा सेवा समिति बनाएको छ। सहरमा मेला लागेका बेला अथवा कतैबाट दुर्घटनाको समाचार आएका बेला समितिले त्यहाँ गएर सेवा-सहायता गर्दछ। त्यस दिन कुंवरले समितिको परीक्षा लिनका लागि त्यो अभिनय गरेका थिए।

डाक्टर बोले - 'कुंवर वास्तवमा देउता हुन्। कैयन् गरिबहरूको रक्षा गर्छन्। यो समिति केही दिन अघि बङ्गाल गएको थियो। यहाँ पनि सूर्य-ग्रहणका बेला नुहाउने गरिन्छ। लाखौँ यात्रीहरू टाढाटाढाबाट आउँछन्। त्यसैका लागि तयारी गरेको हो यो।'

त्यतिकैमा एउटी रमणी आएर उभ्भिइन्। तिनका अनुहारबाट उज्यालो दियोझैँ प्रकाशका किरणहरू छरिइरहेका थिए। गलामा मोतीको हारदेखि बाहेक उनको अरू कुनै आभूषण थिएन। लाग्थ्यो बिहानीको शुभ्र छटा मूर्तिमा परिवर्तित भएको छ।

सोफियाले उनलाई एकछिन हेरेपछि भनिन् - 'इन्दु, तिमी यहाँ ? आज कतिका दिनपछि तिमीसँग भेट भयो।'

इन्दु छक्क परिन्। तीनदिन देखि लगातार सोफियासँगै थिइन्, लाग्थ्यो कतै भेट भएकै हो तर कहिले र कहाँ भन्ने कुरा निश्चित गर्न सकिरहेकी थिइनन्। सोफियाको कुरा सुनेपछि स्मृति ताजा भएर आयो, आँखा चम्किए र अनुहारमा गुलाफ फुल्यो। भनिन् - 'सोफी, तिमी !'

दुवै सखीहरू एकअर्काको अँगालामा बाँधिए। यिनी तिनै इन्दु थिइन् जससँग सोफिया नैनीतालमा पढ्थिन्। सोफियालाई इन्दुको व्यवहार यति प्रेमिल हुन्छ भन्ने लागेको थिएन। इन्दु, पहिलेका कुरा सम्झेर कहिले रून्थिन्, कहिले हाँस्थिन् र कहिले सोफियालाई अँगालो हाल्थिन्। उनले आमासँग सोफियाको गुणगान गर्न थालिन्। आमा दुई सङ्गीहरूको प्रेम देखेर खुसीले गदगद भइरहेकी थिइन्। अन्त्यमा सोफियाले लाज मान्दै भनिन् - 'इन्दु, ईश्वरका लागि कृपया मेरो प्रशंसा नगर, नत्र म तिमीसँग बोल्दिनँ। यतिका दिनसम्म एउटा पत्र समेत लेखिनौ, अहिले देखावटी प्रेम गर्छ्यौ ?'

रानीले भनिन् - 'हैन छोरी सोफिया, इन्दुले मसँग कैयन् पटक तिम्रो चर्चा गरिसकेकी छन्। यहाँ त यिनी कसैसँग हाँसेर पनि बोल्दिनन्। तिम्रो बाहेक अरू कसैको प्रशंसा यिनले गरेको मलाई थाहा छैन।'

इन्दुले भनिन् - 'सखी, तिम्रो गुनासो ठीकै हो तर के गरूँ, मलाई चिठी लेख्‍न आउँदैन। त्यसमाथि तिम्रो ठेगाना मैले लिइनँ, त्यो ठूलो भूल भयो। ठेगाना चाल पाएको भए र तिमी हाँस्छ्यौ भन्ने डर मनको कुनै कुनामा भए पनि चिठी लेख्दी हुँ। केके लेखीरहन्थेँ कोनि, मेरो पत्र कहिल्यै सकिन्नथ्यो होला।'

कुँवर साहेब सोफियाको होस खुलेको र उनले बात मारेको चाल पाएपछि धन्यवाद दिन आए। उनी छ फिट अग्ला, ठूल्ठूला आँखा भएका, लामो कपाल र दाह्री पालेका थिए र त्यसबेला उनले बाक्लो कपडाको छोटो कुर्ता लगाएका थिए। सोफियाले यस्तो तेजस्वी स्वरूप कहिल्यै देखेकी थिइनन्। उनको रूप सोफियाले मनमा कल्पना गरेका ऋषिहरूकोजस्तै थियो। विशाल शरीरमा अटाएको विशाल आत्मालाई उनी आफ्ना दुई नेत्रले एकटक हेरिरहेकी थिइन्। उनी सम्मान प्रकट गर्न उठ्न खोजिन् तर कुँवर साहेबले नम्र र सरल स्वरमा भने- 'नानी, सुती रहौ, तिमीलाई उठ्दा कष्ट हुन्छ। ल म बसिहाल्छु। तिम्रा बासँग मेरो परिचय छ। तिमी मिस्टर सेवककी छोरी हौ भन्ने कहाँ थाहा थियो र ? मैले उहाँलाई बोलाएको छु तर तिमीलाई अहिल्यै जान कहाँ दिन्छु र ? यो कोठा अब तिम्रो भयो, यहाँबाट गएपछि पनि तिमीले हरेक दिन यहाँ आइरहनुपर्छ। (रानीसँग) जान्हवी, एउटा पियानो मगाएर यहाँ राखीदेऊ। अनि मिस सोहराबजीलाई बोलाएर सोफियाको एउटा तैलचित्र बनाउन लगाऊ। सोहराबजी निपुण छन्, तर म चाहन्न सोफियाले उनका सामुन्ने बस्नु परोस्। चित्रले यिनले महान सङ्कटका बेला गरेको रक्षाको सम्झना गराइरहने छ।'

रानीले भनिन् - 'केही अन्न दान पनि गरिदिऊँ ?'

यति भनेर रानीले डाक्टर गाङ्गुलीतिर हेरेर आँखा झिम्क्याइन्। कुँवर साहेब तुरन्तै बोले - 'फेरि त्यही स्वाङ ! यस जमानामा जो दरिद्र छ, उसले दरिद्रै बस्नु पर्छ। जो भोकै मर्छ उसले भोकै मर्नु पर्छ। जब घण्टा दुई घण्टाको मेहनतले खान पाइन्छ भने किन मान्छेले भोकै मर्ने कुनै कारणै छैन। दानले हाम्रो जातिमा जति अल्छे जन्माएको छ, त्यति संसारका सबै देशमा पनि छैनन् होला। किन दानलाई त्यति महत्त्व दिएको हो मैले बुझेको छैन।'

रानीले जबाफ दिइन् - 'तपाईँसँग सल्लाह नगर्नु ऋषिहरूको भूल थियो।'

'अँ म भएको भए सीधै भन्नेथिएँ - तपाईँहरू यो आलस्य, कुकर्म र अनर्थको बीउ रोपिरहनुभएको छ। दान आलस्यको मूल हो र आलस्य पापको मूल हो। त्यसैले दान नै सबै पापहरूको मूल हो। मूल नै नभए पनि पोषक त पक्कै होइन। दान चाहिँ हैन, चाहन्छ्यौ भने साथीभाइलाई एउटा भोज देऊ।'

त्यत्तिकैमा डाक्टर गाङ्गुलीले भने - 'सोफिया तिमी पनि राजा साहेबको कुरा सुनीरहेकी छ्यौ, तिम्रा प्रभु मसीहले त दानलाई ठूलो महत्त्व दिएका छन्, किन केही नबोलेकी ?'

सोफियाले इन्दुतिर हेरिन् र मुसुक्क हाँसेर आँखा तल पारिन् मानौँ भनिरहेकी थिइन् - आदर गर्छु नत्र जबाफ दिनै त असमर्थ त छैन।

सोफियाले मन मनै यहाँका मानिसहरूको पारस्परिक प्रेमको तुलना आफ्ना घरकाहरूसँग गरिररहेकी थिइन्। एक अर्कालाई कति प्रेम गरेका। आमाबाबु दुवै इन्दुका लागि ज्यान दिन तयार देखिन्छन्। मै अभागिनी रहिछु, कोही मेरो मुखै हेर्न चाहँदैन। यहाँ लडेको चार दिन भैसक्यो, कसैले वास्ता गरेन। खोज्दा पनि खोजेनन् होला। आमालाई कतै डुबेर मरी भन्ने लाग्यो होला। मनमनै खुसी भइरहनुभाको होला, समस्यै हट्यो भनेर। म यति सहृदय प्राणीहरूबीच रहन योग्य छैन। मेरो र यिनीहरूको के बराबरी !'

यहाँ पनि कसैको व्यवहारमा दयाको झलक मात्र पनि देखिँदैन थियो। तर सोफिया आफूलाई गरिएको आदरसत्कार देखेर आफ्नो दीनावस्थामाथि ग्लानि हुन्थ्यो। इन्दुसँग पनि शिष्टाचार गर्न थालेकी थिइन्। इन्दु सोफियालाई मायाले 'तिमी भन्थिन् भने, उनले 'तपाईँ भनेर सम्बोधन गर्थिन्।'

कुँवर साहेबले 'मैले मि. सेवकलाई सूचना दिएको छु, आउँदै हुनुहुन्छहोला' भनेका थिए। सोफियालाई कतै बुबा आइरहनुभएको छैन भन्ने डर पनि लाग्यो। 'आउने बित्तिकै मलाई जान भन्नुहोला। मेरा शिरमा फेरि त्यही बिपत्ति आइलाग्ने भो। इन्दुलाई सुनाऊँ कि ! केही न केही सहानुभूति त राख्ली नि। यो नोकर्नी पनि व्यर्थ यहाँ बसिरहेकी छ। इन्दु आइन् भने कसरी कुरा गरौँली। बुबा आउनु अघि इन्दुसँग एकछिन एकान्तमा बस्न पाए त कति राम्रो हुन्थ्यो। के
गरूँ ? इन्दुलाई बोलाउन पठाऊँ ? पियानो पो बजाऊँ कि क्या हो, सुनेर आउँछिन् कि !' यस्तै भावहरू आए सोफियाका मनमा।

उता इन्दु पनि सोफियासँग कुरा गर्न खोजिरहेकी थिइन्। रानीका छेउमा मन खोलेर कुरा गर्न सकिरहेकी थिइनन्। सोफियाका बाबु आएर छोरी लिएर गए भने आफू एक्ली हुन्छु भन्ने डर उनमा छँदै थियो। डाक्टर गाङ्गुलीले सोफियालाई धेरै नबोल्ने सल्लाह दिएका थिए र आज आरामले सुतीन् भने कुनै खतरा छैन भनेका थिए। त्यसैले इन्दुले मन लागेर पनि सोफियासँग कुरा गर्न सकिरहेकी थिइनन्। तर नौ बज्दाबज्दै उनी अधीर भइन्। सोफियाको कोठामा आइन्, सेविकालाई आफ्नो कोठा सफा गर्न पठाइ दिइन् र सोफियाको सिरानेनेर बसेर सोधिन् - 'कस्तो छ ? कमजोरी भएजस्तो त भएको छैन नि ?'

सोफियाले भनिन् - 'अलिकति पनि छैन। मलाई त आफू पूरै स्वस्थ भएको अनुभव भैरहेको छ।'

इन्दुले भनिन् - 'तिम्रा बाबाले तिमीलाई लिएर जानुभयो भने त मेरो प्राण जानेछ। तिमी उहाँकै बाटो हेरिरहेकी हौली। उहाँ आउने बित्तिकै खुसी हुँदै जान्छ्यौ हौली। मलाई फेरि कहिले सम्झिन्छ्यौ र ?' यति भन्दाभन्दै इन्दुका आँखाहरू सजल भए। हामी कहिलेकाहीँ मनोभावनाका अनुचित आवेशहरूलाई मुस्कानले छोप्छौँ। इन्दुका आँखाभरी आँसु थिए तर उनी मुस्कुराइरहेकी थिइन्।

सोफियाले भनिन् - 'तपाईँ मलाई बिर्सिन सक्नुहुन्छ तर म कसरी तपाईँलाई बिर्सिन सक्छु र ?' उनले आफ्नो हृदयको पीडा सुनाउन आँटेकी थिइन् तर सङ्कोच लागेर सुनाइनन् र कुरा फेरेर भनिन् - 'म तपाईँसँग भेट्न कहिलेकाहीँ आइहाल्छु नि।'

इन्दुले जबाफ दिइन् - 'म तिमीलाई यहाँबाट पन्ध्र दिनसम्म त जानै दिन्नँ। धर्मले बाधा नगर्दो हो त कहिल्यै जान दिने थिइनँ। आमाले तिमीलाई बुहारी बनाउनुहुन्थ्यो। तिमीबाट कति प्रभावित हुनु भएको छ। जता गए पनि तिम्रै चर्चा गर्नुहुन्छ। विनय पनि तिमीसँग मोहित भएझैँ लाग्छ। तिमी गयौ भने सबैभन्दा बढी दुःख चाहिँ उसैलाई हुनेछ। एउटा रहस्य भन्छु है, यदि आमाले तिमीलाई कुनै कुरा उपहार भनेर दिनुभयो भने अस्वीकार नगर्नु नि, उहाँको चित्त दुख्ला।

यस्तो प्रेममय अनुरोधले सङ्कोचका पर्खालहरू भत्काइदिए। जसले घरमा नित्य कटुभन्दा कटु शब्दहरू सुनीरहेको होस्, उसका लागि यी मधुर सहानुभूतिहरू आवश्यकता भन्दा बढी नै थिए। सोफियालाई आफ्ना मनका कुरा इन्दुलाई नभन्नु मित्रताको नियमबिरूद्ध लाग्न थाल्यो। उनले करूण स्वरमा भनिन् - 'इन्दु, यदि मेरो वशमा भए कहिल्यै पनि रानीको चरण छाडेर जाने थिइन। यस्तो स्नेह म अन्त कहाँ पाउँछु र ! तर भनेजस्तो कहाँ हुन्छ र ?'

इन्दुले यो भाव बुझ्न सकिनन् र स्वाभाविक सरलताले भनिन् - ' कतै बिहेको कुरा हुँदैछ कि क्या हो ?' उनका विचारमा बिहे देखि बाहेक केटीहरूले अरू कुरामा यति धेरै दुःखी हुनु पर्ने कारणै थिएन।

सोफियाले भनिन् - 'मैले त बिहे नगर्न निधो गरिसकेँ।'

इन्दुले भनिन् - 'किन ?'

सोफियाले जबाफ दिइन् - 'यसकारण कि बिहेका लागि मैले आफ्नो धार्मिक स्वाधीनता त्याग्नु पर्छ। धर्मले स्वतन्त्रताको घाँटी रेट्छ। म आफ्नो आत्मा कसैलाई पनि बेच्न चाहन्नँ। मलाई कुनै यस्तो ईसाई पुरुष भेटिने आशै छैन जसले मेरा धार्मिक शङ्काहरूलाई निर्मूल पार्न सक्ने उदारता देखाओस्। म परिस्थितिबाट पेलिएर ईसालाई ईश्वरको छोरा र मुक्तिदाता मान्न सक्तिनँ। विवश भएर प्रार्थना गर्न गिर्जाघर जान सक्तिनँ। म ईसालाई ईश्वर मान्न सक्तिनँ।'

इन्दुले भनिन् - 'मलाई त लाग्थ्यो, हामीभन्दा तिमीहरूकहाँ बढी स्वतन्त्रता होला। जता गए पनि एक्लै जान सक्छौ। यहाँ त बाहिर निस्कन गाह्रो छ।'

सोफियाले भनिन् - 'तर त्यति धेरै धार्मिक सङ्कीर्णता त छैन।'

इन्दुले भनिन् - 'छैन, कसैले कसैलाई पूजा-पाठका लागि जबरजस्ती गर्दैन। पिताजी नित्य गङ्गास्नान गर्नुहुन्छ, घण्टौँ शिवजीको आराधना गर्नुहुन्छ। आमा बिर्सेर पनि गङ्गा नुहाउन जानुहुन्न, न कुनै देवताको पूजा नै गर्नुहुन्छ। तर पिताजीले अनुरोध गरेको कहिल्यै सुनिएन। भक्ति त आफ्नो विश्वास र मनोवृत्तिमा भर पर्ने कुरा हो। हामी दाजु-बहिनीका विचारमा आकाश पातालको अन्तर छ। म कृष्णकी उपासिका हुँ भने विनय ईश्वरको अस्तित्वलाई स्वीकारै गर्दैनन्। तर पिताजीले हामी कसैलाई केही भन्नुहुन्न र हामी पनि कहिल्यै यस विषयमा विवाद गर्दैनौँ।'

सोफियाले भनिन् - 'हाम्रो स्वाधिनता लौकिक छ त्यसैले मिथ्या छ। तपाईँहरूको स्वाधीनता मानसिक छ र त्यसैले सत्य छ। वास्तविक स्वाधीनता त्यही हो जसले विचारको प्रवाहमा वाधा नपुर्‍याओस्। '

इन्दुले सोधिन् - ' तिमी गिर्जाघर कहिल्यै जाँदिनौ ?'

सोफियाले भनिन् - 'पहिले दुराग्रहले जान्थेँ, अचेल जान्नँ। त्यसैले घरका मान्छे साह्रै रिसाए। नराम्ररी तिरस्कार गरे।'

इन्दुले प्रेममय सरलताले भनिन् - 'उनीहरू रिसाएका होलान्, तिमी निकै रोयौ होली। यी प्यारा आँखाबाट आँसु बगे होलान्। म त कसैले रोएको हेर्नै सक्तिनँ।'

सोफियाले भनिन् - 'पहिले पहिले रुन्थेँ तर अचेल वास्ता गर्दिनँ।'

इन्दुले भनिन् - 'मलाई त कसैले केही भन्यो भने हृदयमा तीर बिझेझैँ हुन्छ। दिनभरी रोएरै बस्छु। आँसु केही गरे पनि थामिँदैन। त्यही कुरा बारम्बार मनमा आइरहन्छ। साँच्चै भन्छ्यौ भने मलाई कसैको रिसमा रुन आउँदैन, लाग्छ किन मैले उहाँलाई क्रोधित बनाएँ, के भूल भयो मबाट।'

सोफियालाई लाग्यो इन्दुले आफ्नो क्षमाशीलताले उनलाई लज्जित पार्न खोज्दै छिन, त्यसैले उनका निधारमा मुजा परे, भनिन् - 'मेरा ठाउँमा तपाईँ हुनु भएको भए त्यसो भन्नु हुने थिएन। तपाईँ आफ्ना धार्मिक विचारहरूलाई छाड्न सक्नुहुन्थ्यो र ?'

'के गर्थेँ भनेर त भन्न सक्तिनँ तर घरका सदस्यहरूलाई प्रसन्न राख्‍ने प्रयास गर्ने थिएँ।'

'तपाईँकी आमाले जबरजस्ती कृष्णको उपासना गर्नबाट रोक्नुभयो भने ?'

'हो, म मान्ने थिएँ। आमालाई रूष्ट पार्ने थिइनँ। कृष्ण त अन्तर्यामी हुन्, उनलाई प्रशन्न राख्‍नका लागि उपासनाको आवश्यकता पर्दैन। उपासना आफ्नै मनको सन्तोषका लागि त हो।'

सोफियाले आश्चर्यमिश्रित स्वरमा भनिन् - 'तपाईँलाई अलिकति पनि मानसिक पीडा हुँदैन थियो त?'

'हुन्थ्यो होला, तर आमाका लागि सबै सहन्थेँ।'

'अनि उहाँले तपाईँको इच्छाविरूद्ध बिहे गरिदिन खोज्नुभयो भने ?'

इन्दुले लजाउँदै जबाफ दिइन् - 'यो समस्या त हल भैसक्यो। आमाबाले जससँग उचित मान्नुभयो गरिदिनु भो। मैले एकै बचन केही भनिनँ।'

'अरे ! अनि कहिले ?'

इन्दुले भनिन् - 'दुई वर्ष भयो। (आँखा झुकाएर) मेरो वशमा भए उहाँलाई कहिल्यै वरमाला लगाउने थिइनँ, जीवनभरी कुमारी बस्नु परे पनि। मेरा स्वामी मलाई असाध्यै माया गर्नुहुन्छ। तर म उहाँको हृदयको चतुर्थांशको मात्र हक राख्छु किनकि बाँकी तीन भाग उहाँको सार्वजानिक कामका लागि हुन्छन्। एउटाको साटो चौथाई पाएर को सन्तुष्ट हुन सक्छ र ! मलाई त जौको पूरै विस्कुटभन्दा चौथाई बिस्कुट मन पर्छ, कमसेकम भोक त मर्छ। भोजनको यथार्थ उद्देश्य पनि त्यही त हो।'

सोफियाले भनिन् - 'तपाईँको धार्मिक स्वतन्त्रतामा बाधा त दिनुहुन्न ?'

'अहँ, उहाँलाई त्यत्रो फुर्सतै छैन।'

'त्यसो भए म तपाईँलाई बधाई दिन्छु।'

'यदि कुनै कैदीलाई बधाई दिन ठीक लाग्छ भने, देऊ।'

'बन्धन प्रेमको भए !'

'त्यस्तो भए मै तिमीसँग बधाई माग्थेँ। तर यहाँ त म बाँधिएँ, उहाँ मुक्त हुनुभो। म यहाँ आएको तीन महिनाजति भैसक्यो तर उहाँ तीनपल्ट भन्दा धेर आउनु भएको छैन, त्यो पनि एकएक घण्टाका लागि। यही सहरमा बस्नुहुन्छ, दस मिनेटमा गाडी आउन सक्छ तर त्यति फुर्सत नै कहाँ छ र ! अनि चिठीबाट काम चलाउन खोज्नुहुन्छ तर ती पनि सुरुबाट अन्त्यसम्म उहाँकै दुःखले भरिएका हुन्छन्। आज यो काम, भोलि त्यो काम, फलानोलाई भेट्नुछ, ढिस्कनाको स्वागत गर्नु छ। नगरपालिकाको प्रमुख के हुनुभो, राज्यै पाएजस्तो। जतिबेला पनि त्यतैका कुरा। सबै कामका लागि फुर्सतै फुर्सत, यहाँ आउन मात्र नभ्याउने। तिमीलाई अहिले नै भनी राख्छु, कुनै देशसेवक सँग बिहे नगर्नु। तिमी उनको फुर्सतकी मनोरञ्जन सामग्री मात्र हुनेछ्यौ।

'मैले त मन बनाइसकेँ, म सबैभन्दा पर, अलग रहन चाहन्छु जहाँ मेरो स्वाधीनतामा बाधा हाल्ने कोही हुने छैन। म सत्यमार्गमा बसूँ या कुपथमा हिडूँ, त्यसको जिम्मेवारी म आफ्नै टाउकामा लिन चाहन्छु। म वयस्क छु र आफ्नो हानीनोक्सानी हेर्न सक्छु। आजन्म कसैको सुरक्षाभित्र रहन चाहन्न, किनकि सुरक्षा भनेको पराधिनता मात्र हो अरू केही हैन।

'तिमी आफ्ना आमाबाबु अधीन बस्न चाहन्नौ ?'

'अहँ, पराधिनतामा प्रकार होइन, मात्राको मात्र अन्तर छ।'

'त्यसो भए मसँगै मेरा घरमा बस न त। म यसलाई आफ्नो सौभाग्य मान्ने छु। त्यसमाथि आमाले त तिमीलाई आँखाको नानी बनाएर राख्‍नु हुनेछ। म नभएका बेला उहाँ अत्तालिइरहनुहुन्छ। तिमीसँग बस्नुभो भने एकैछिन पनि नछोड्नुहोला। यहाँ तिम्रो स्वाधीनतालाई कसैले वाधा गर्ने छैन। भन, आमालाई भनौँ त।'

'अरे होइन, बिर्सेर पनि नभन्नु। मलाई मेरा आमाबाबुले एकरत्ती पनि गन्दैनन् भन्ने कुरा चाल पाउनु भयो भने मँ उहाँको नजरबाट तल झर्छु। जसको आफ्नो घरमा इज्जत हुँदैन त्यसको बाहिर पनि हुँदैन।'

'होइन सोफी, आमाको स्वभाव सोझो छ। जुन कुराले तिम्रो मनमा आफ्नो अनादरको डर छ त्यही कुरा आमाका लागि आदरको वस्तु हो। उहाँ आफैँ कुनै कुरामा आफ्नी आमासँग रिसाउनु भएको थियो र त्यही निहुँले अहिलेसम्म माइत जानु भएको छैन। हजुरआमा बितिसक्नुभयो र पनि आमाले क्षमा गर्नु भएन। सैयौँ पटक बोलाउन पठाएको पनि थियो, तर हेर्न सम्म जानु भएन। तिम्रो यो कुरा सुन्ने बित्तिकै तिमीलाई अझ बढी इज्जत गर्न थाल्नुहुनेछ।'

आँखाभरी आँसु पारेर सोफियाले भनिन् - 'साथी, मेरो इज्जत अब तपाईँकै हातमा छ।'

इन्दुले सोफियाको शिर आफ्ना काखमा राखेर भनिन् - 'तिम्रो इज्जत अब मलाई मेरै जत्तिको प्रिय छ।'

उता जान सेवकले कुँवर साहेबको पत्र पाएपछि पत्‍नीसँग भने - 'सुन्यौ, म त भन्दै थिएँ नि सोफिलाई कुनै आपद आइलाग्यो होला। यो हेर, कुँवर भरतसिंहको चिठी। तीनदिन देखि उनकै घरमा सुतिरहेकी छ। उनको कुनै झुप्रामा आगो लागेपछि ऊ पनि निभाउन थालिछ। त्यसैबेला अलिकति आगाले भेटेछ।'

मिसेज सेवकले भनिन्- 'यी सब बहाना हुन्। मलाई उसका कुनै कुरामा विश्वास लाग्दैन। जसको मन ईश्वरबाट टाढा छ, उसलाई ढाँट्न केको डर ? यहाँबाट बिग्रेर निस्केकी, घरबाट निस्कने बित्तिकै फूलको ओछ्यान भेटिन्छ भनेर सम्झेकी थिई होली। कतै शरण नपाएपछि यो पत्र लेखेकी। अब दाल-चामलको भाउ थाहा पाउँछे। ईश्वरले उसको कुविचारको दण्ड दिएको पनि त हुनसक्छ।'

जान सेवकले भने - 'चुप लाग। तिम्रो निर्दयता देखेर मलाई आश्चर्य लाग्छ। तिमीजस्तो कठोर मन भएकी स्त्री त मैले कहिल्यै देखेको थिइनँ।'

मिसेज सेवकले भनिन् - 'म त जान्न। तपाईँ जाने भए जानुहोस्।'

'देखिराखेकी छ्यौ, मलाई मर्ने पनि फुर्सत छैन। त्यही पाण्डेपुरवाला जमिनका विषयमा कुरा भैरहेको छ। यस्तो मान्छेसँग भिडियो कि केही गरे पनि पकडमा आउन सकिइरहेको छैन। गाउँका मान्छेलाई जसले सरल भन्छन्, गलत भन्छन्। तीभन्दा चलाख मान्छे भेट्न गाह्रो हुन्छ। तिम्रो यतिबेला केही काम छैन। गाडी मगाइदिन्छु, रबाफले जाऊ र उसलाई लिएर आऊ।'

ईश्वर सेवक त्यहीँ आँखा चिम्लिएर आराम कुर्सीमा बसेका थिए र ईश्वर-भजनमा मग्न थिए। जसरी बहिरो मान्छे महत्त्वपूर्ण कुरा अलिकति सुन्ने बित्तिकै सचेत हुन्छ, त्यसरी नै मोटरकारको कुरा सुनेर उनको ध्यान भङ्ग भयो। भने - 'मोटरकार किन चाहियो ? रूपैयाँले साह्रै पोल्यो कि क्या हो ? यसरी उडाउने हो भने त कुबेरको भण्डारले पनि पुग्दैन। गाडीमा नगए के रबाफ घट्छ? तिमेरको मोटर देखेर उहाँलाई केही हुनेवाला छैन, खुदाले उहाँलाई प्रशस्तै मोटर दिएका छन्। हे प्रभु, यस दासलाई आफ्नो शरणमा लेऊ। अब ढिलो नगर, छिटो जाऊ, मेरी प्यारी सोफी नचिनेका मान्छेकहाँ बसिरहेकी छ। कसरी यतिका दिन काटी होला। खुदाले उसलाई सही बाटो देखाऊन्। मेरा आँखा उसलाई खोजीरहेका छन्। त्यहाँ उसलाई कसले हेरचाह गर्दो हो ? धनीका घरमा गरिबहरूको के गुजारा हुन्छ र ?'

जान सेवकले भने - 'राम्रै भयो नि त। यहाँ भएकी भए दिनै डाक्टरको फिस तिर्नु पर्थ्यो।'

ईश्वर सेवकले भने - 'डाक्टरको के काम ? ईश्वरको दयाले म आफैँ अलिअलि डाक्टरी त गरीहाल्छु। घरका मान्छेको स्नेह डाक्टरको दवाईभन्दा कैयन् गुणा लाभदायक हुन्छ। म आफ्नी नातिनीलाई काखमा राखेर कलामे-पाक सुनाउँथेँ, उसका लागि ईश्वरसँग प्रार्थना गर्थेँ।

मिसेज सेवकले भनिन् - 'त्यसो भए तपाईँ नै जानु न त !'

ईश्वर सेवकले भने - 'खुसीले जान्छु, मेरो टाङ्गा झिकाइदेऊ। हामी सबैले जानु पर्छ। गलती गर्नेलाई प्रेमले मात्रै सत्मार्गमा ल्याउन सक्छ। म पनि जान्छु। धनीका सामुन्ने त दीन बन्नै पर्‍यो नि। तीसँग बराबरी गर्ने कुरा त आएन।'

जान सेवकले भने - 'मलाई अहिले सँगै नलानुहोस्, कुनै अर्कै अवसरमा जाऊँला। यतिबेला शिष्टाचार बाहेक केही काम हुँदैन। मैले उहाँहरूलाई धन्यवाद दिन्छु, उहाँहरूले मलाई। म यस परिचयलाई दैवी प्रेरणा मान्छु। आरामले भेट्छु। कुँवर साहेबको यस सहरमा प्रभाव छ। नगरपालिकाका प्रमुख उनकै ज्वाईँ हुन्। तिनले सहयोग गरे भने त्यो पाण्डेपुरवाला जमिन प्राप्त गर्न कुनै गाह्रो हुँदैन। केही भाग सेयर पनि लिन सक्छन्। तर आज यी सब कुराका लागि हैन।'

ईश्वर सेवकले भने - 'मलाई त तिम्रो बुद्धि देखेर हाँसो उठ्छ। जोसँग हात मिलाएर तिम्रा यतिका काम बन्न सक्छन्, तिनलाई भेट्न किन यति सारो सङ्कोच ? तिम्रो समय यति धेरै मूल्यवान छ कि आधाघण्टाको लागि पनि जान सक्तैनौ ? पहिलो भेटमै सबै कुरा छिनोफानो गर्ने ? यस्तो सुनौलो अवसर पाएर पनि तिमीलाई फाइदा लिन आउँदैन है ?'

जान सेवकले भने - 'तपाईँको आग्रह छ भने म नै जान्छु नि त। कुनै जरूरी काम गर्दै थिएँ, फेरि गरूँला। तपाईँले दुःख गर्नु पर्दैन। (श्रीमतीसित) तिमी जाने हो ?'

मिसेज सेवकले भनिन् - 'मलाई बित्थामा किन लानु हुन्छ? ठीकै छ नि त जान्छु।'

भोजन पछि जाने निधो भयो। अङ्ग्रेजी प्रथा अनुसार त्यहाँ दिउँसोको भोजन एक बजे हुन्थ्यो। बीचको समय तयारीलाई नै लाग्यो। मिसेज सेवकले आफ्ना आभूषणहरू निकालिन् जसले वृद्धावस्थामा पनि उनलाई आकर्षित गर्न छाडेका थिएनन्। उनले सबैभन्दा राम्रो गाउन र ब्लाउज निकालिन्। यस्तो सृङ्गार उनी विवाह-वार्षिकी देखि बाहेक अन्य अवसरमा गर्दिनथिन्। त्यसको उद्देश्य छोरीलाई यो देखाउनु थियो कि हेर तँ हिँड्दा मलाई केही भएको छैन, रोएर म मरेकी छैन। कोचवानलाई गाडी निकालेर धोइपखाली गर्ने निर्देशन दिइन्। प्रभु सेवकलाई पनि सँगै लाने निधो गरियो। तर जान सेवकले आफ्ना कोठामा गएर हेर्दा उनको अत्तोपत्तो थिएन। उनका टेबलमा दर्शनशास्त्रको एउटा ग्रन्थ खुलै थियो। लाग्थ्यो पढ्दापढ्दै कतै गएका छन्। वास्तवमा त्यो ग्रन्थ तीन दिन देखि त्यत्तिकै थियो। प्रभु सेवकलाई त्यसलाई बन्द गरेर राख्‍ने फुर्सत सम्म थिएन। उनी प्रातकालदेखि रात्री दुई प्रहरसम्म सहर घुमीरहन्थे। दुईपल्ट भोजनका लागि घर आउँथे। यस्तो कुनै स्कुल थिएन जहाँ उनले सोफियालाई नखोजेका हुन्। कुनै चिने जानेको मान्छे, कुनै मित्र बाँकी थिएनन् जसका घरमा गएर उनले सोधेका नहोऊन्। दिनभरीको कुदाकुद पछि राति निराश फर्किन्थे र ओछ्यानमा पल्टिएर घण्टौँ सोचिरहन्थे। कहाँ गई होला ? थाना जान्थे दिनमा द-दस पल्टसम्म र सोध्थे। समाचार पत्रहरूमा पनि सूचना दिएको थियो। त्यता पनि दिनमा कैयन् पटक गएर खोजीनीति गर्थे। उनलाई सोफीले सधैँका लागि विदा लिई जस्तो लाग्न थालेको थियो। आज पनि सधैँझैँ एकबजे लखतरान भएर निराश फर्किएका थिए तर आज उनलाई सोफिया भेट्टिइन् भन्ने शुभ समाचार जान सेवकले दिए।

-0-

अर्को अङ्कमा क्रमशः

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

 

 

 

Share |

प्रतिक्रियाहरू

Ram Dahal
Translation is lively. I liked your trans-creation.


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :