अङ्क 44चैत्र 2067वर्ष 7

अवकाश

-- रवीन्द्रनाथ ठाकुर

फटिक चक्रवर्तीका मष्तिस्कमा तुरुन्तै एउटा तरङ्ग उठ्यो। एउटा ठूलो सखुवाको मुढो नदीको किनारमा मस्तूल बन्नका लागि लडिरहेको थियो। अन्त्यमा त्यसलाई धेरै केटाहरू मिलेर गुडुल्क्याउँदै लैजाने निधो गरियो।

आफूलाई आवश्यक परेका बेलामा नभेट्ता मुढो धनीको हैरानी र झर्कोको कुरा सोचेर सबै केटाहरू मख्ख परेका थिए र सहमतिमा यस प्रस्तावलाई स्वीकार गरेका थिए।

सबैजना मन दह्रो पारेर यो काम फत्ते गर्न तयार हुँदै गर्दा फटिक चक्रवर्तीको भाइ माखनलाल गम्भीर भएर त्यस मुढामा गएर बस्यो। केटाहरू उसको उदार उदासीनता देखेर केही दुःखी पनि भए। एकजना आएर उसलाई ठेलीहेर्‍यो पनि तर ऊ अलिकति पनि विचलित भएन। त्यो तत्वज्ञानी मानवले असमयमा नै सबै प्रकारका खेलहरूको सारहीनताका विषयमा चुपचाप बसेर विचार गरीरह्यो।

फटिकले आएर धाक देखाउँदै धम्क्यायो - 'सुन, तुरन्तै उठ नत्र अहिले कुटाइ खान्छस्।'

यस्तो कुरा सुनेर ऊ अरू स्थिरताका साथ त्यस आसनमा जमिरह्यो।

यस्तो अवस्थामा, सर्वसाधारणका सामुन्ने आफ्नो नेतागिरीको सम्मानका लागि भाइको गालामा एक झापड हिर्काउनु कर्तव्य हुन्थ्यो तर उसलाई त्यस्तो गर्न आँट आएन। फेरि उसको मुखाकृति यस्तो भयो मानौ - उसले चाह्यो भने उसलाई तुरुन्तै ठेगान लाउन सक्छ तर त्यसो गर्दैन किनकि पहिलेको भन्दा रोचक खेल उसले सोचिसकेको थियो। उसले सबैसमक्ष त्यस मुढालाई माखनसितै गुडुँल्क्याउने प्रस्ताव राख्यो।

माखनलाई लाग्यो, यसमा आफूलाई सम्मानै गरेको होला। अन्य संसारी कुराजस्तै यिनीहरूसँग हिँड्दा कुनै अप्ठ्यारो पर्छ भन्ने कुरा न माखनलाई लागेको थियो न अरूलाई। केटाहरू जम्मा भए र कम्मर कसेर मुढो पल्टाउन थाले - 'होस्टे, हैँसे, होस्टे हैंसे....। मुढो एक बल्ड्याङ पनि नपाउँदै त्यसमा बसेको माखन आफ्ना सबै गम्भीरता, गौरव र तत्वज्ञान समेत भुइँमा पछारियो।

यस खेलको सुरुवातमै यस्तै फलको आशा गरेका केटाहरू निकै खुसी भए तर फटिकलाई केही अप्ठ्यारो लाग्यो र ऊ अत्तालियो। माखन तुरुन्तै जमिनबाट उठेर फटिकमाथि जाइलाग्यो र कुनै पहलमान सरह हिर्काउन थाल्यो। फटिकको नाख मुख कोतरेर रूँदै घरतिर लाग्यो।

उता फटिक भने काँसका केही बुटा उखेलेर आधा डुबेको नाउमा गएर बस्यो र चुपचाप काँसका जरा चबाउन थाल्यो। त्यत्तिकैमा अर्कातिरबाट एटा नाउ आएर घाटमा अडियो। त्यसबाट एकजना अधेड सज्जन उत्रिए र फटिकसँग सोधे - 'नानी, चक्रवर्तीहरूको घर कता पर्छ ?'

फटिकले काँस चबाउँदै जबाफ दियो - 'उ त्यता...!' तर उसको इसारा सज्जनले बुझ्न सकेनन्। फेरि सोधे - 'कता ?'

'थाहा छैन।' भनेर फटिक फेरि काँसका जरा चबाउँदै रस चुस्न थाल्यो। ती सज्जन अरूकै सहयोग लिएर चक्रवर्तीहरूको घर खोज्न त्यहाँबाट हिँडे।

एकैछिनमा बाघा बाग्दीले आएर भने - 'फटिक बाबु, तपाईँलाई आमाले बोलाइरहनु भएको छ।'

फटिकले भने - 'अहँ, म जान्नँ।'

बाघा बाग्दीले उनलाई जबरजस्ती बोके। फटिकले भने रिसले चुर भएर हातखुट्टा फ्याँकिरह्यो। फटिकलाई देख्‍ने बित्तिकै आमा रिसले आगो हुनुभयो र सोध्नुभयो - 'तैँले फेरि माखनलाई कुटिस् ?'

फटिकले भन्यो - 'मैले कुटेकै हैन।'

'फेरि ढाँटिरहेको छ।'

'कुटेको हुँदै होइन। तपाईँले सोध्नुभयो माखनसँग ?'

माखनलाई सोध्ने बित्तिकै उसले पहिलेकै आरोपको समर्थन गर्दै भन्यो - 'हो कुटेको हो।'

फटिकलाई असह्य भयो। छेउमा पुगेर माखनका गालामा एक थप्पड लगायो र आमालाई पनि ठेल्यो।

आमाले कराउँदै भन्नुभयो - 'अरे तैँले ममाथि पनि हात उठाइस् ?'

त्यसै बेला ती अधेड सज्जन घरमा आइपुगे अनि भने- 'के भैरहेको छ तिमीहरूबीच ?'

फटिककी आमाले आश्चर्य र आनन्द मिश्रित स्वरमा भन्नुभयो - 'अरे दाइ आउनुभो ? कतिबेला आउनु भयो दाइ ?' भन्दै उहाँले दाजुलाई प्रणाम गर्नुभयो।

दाजु धेरै दिन अघि नोकरीका लागि पश्चिम जानुभएको थियो। त्यसैबीचमा फटिककी आमाका दुई सन्तान भए। उहाँको श्रीमान्‌को देहान्त पनि भयो, सन्तान बढेर यति ठूला भए तर दाजु एकैपल्ट पनि आउनुभएको थिएन।

त्यसपछि एकदुई दिन मजासँगै बिते। विदा हुनुभन्दा दुई दिन पहिले विश्वम्भर बाबुले बहिनीसँग केटाकेटीको पढाई र मानसिक विकासका विषयमा सोध्नुभयो। बहिनीले भन्नुभयो - 'फटिक साह्रै चकचके भएको छ, भनेको पटक्कै मान्दैन। पढ्नलेख्‍न पटक्कै ध्यान दिँदैन। माखन भने शान्त र सुशील छ। पढाई लेखाईमा पनि अगाडि नै छ। फटिकका कारण म निकै चिन्तित छु।'

त्यो सुनेर विश्वम्भर बाबुले फटिकलाई आफूसँग कलकत्ता लगेर पढाउने लेखाउने प्रस्ताव राख्‍नुभयो। विधवा भएकी फटिककी आमाले यो प्रस्ताव सहर्ष स्वीकार गर्नुभयो। उहाँले फटिकसँग सोध्नुभयो - 'के हो फटिक, मामासँग कलकत्ता जाने हो ?'

फटिकले खुसीले उफ्रिँदै भन्यो - 'पक्का जान्छु।'

फटिकलाई कलकत्ता पठाउँदा आमालाई केही अप्ठ्यारो थिएन। जहिले पनि उहाँलाई यसले कुनै दिन माखनलाई ठेलेर पानीमा झारिदिन्छ, टाउको फोरिदिन्छ अथवा कुनै दुर्घटना गराइदिन्छ कि भन्ने कुराको डर लागिरहन्थ्यो । तर पनि छोरो जाने भएपछि आमाको मन वेदनाले भरियो।

फटिक भने मामालाई 'कहिले जाने, कतिबेला हिँड्ने ?' भनेर दिक्क लगाइरहेको थियो। खुसीले ऊ रातभरी निदाउन सकेको थिएन। हिँड्ने बेलामा पनि उसले हर्षले विभोर भएर आफ्नो बाँसुरी, चङ्गा र चर्खा माखनलाई सधैँका लागि सुम्पियो।

कलकत्तामा माओली घर पुगेपछि सबैभन्दा पहिले फटिकको भेट माइजूसँग भयो। परिवार सदस्य सङ्ख्यामा अनावश्वयक वृद्धिले माइजू खुसी हुनुभयो भन्ने स्थिति थिएन। उहाँ आफ्ना तीन छोराहरूसित आफ्नै रुचिअनुसार गृहस्थी सञ्चालन गरिरहनुभएको थियो। अचानक त्यस वातावरणमा तेह्र वर्षको गाउँले केटोलाई मिसाउँदा घरमा आँधी आउने सम्भावना थियो। विश्वम्भरको उमेर त निकै भयो, तर बुद्धि अलिकति पनि आएन।

खासमा भन्ने हो भने बाह्र तेह्र वर्षको केटाकेटीजस्तो आपद् संसारमा अरू केही हुन्न। न ऊ घरको शोभा हुन्छ न कुनै काम गर्न लायक। न उसलाई देखेर माया उर्लिन्छ न उसको सोमत कसैलाई सुखकर हुन्छ। उसका मुखबाट तोते बोली निस्किए मान्छेले सम्झिन्छन् नक्कल पारीरहेको छ, राम्रो र स्पष्ट बोले भन्छन् बूढाहरूको नाटक गर्छ र ढिठ भएर कुरा गर्छ। लुगा-कपडाहरूको त्यति वास्ता नगरी अचान भद्दा तरिकाले बढ्दै जानु पनि मान्छेलाई उद्दण्डता नै लाग्छ। उसका बालापनको कोमलता र गलाको सुरीलोपन पनि हराउँदै जाँदा उसलाई अपराधी नै मानिन्छ। बालापन र युवावस्था(जवानी)का अनेकन् भुलहरू क्षमायोग्य मानिन्छन् तर यो उमेरको स्वाभाविक सहजता पनि नराम्रो लाग्छ, असहनीय लाग्छ।

यस्तो स्थितिमा बालकलाई पनि के लाग्छ भने संसारमा कतै पनि मिलेर बस्न नसकिने रहेछ, आफूलाई सधैँ लज्जित पाउँछ र आफ्नै अस्तित्व रक्षाका लागि याचक बनेझैँ महसुस गर्छ। तर यसै उमेरमा अरूको प्रेम प्राप्त गर्नका लागि मन अत्यन्त बेचैन पनि हुन्छ। यदि कसैको प्रेम पायो भने ऊ साँच्चै समर्पित हुन्छ। तर प्रायः मानिस यस उमेरका केटाकेटीसँग मायाप्रेम गर्न तयार हुँदैनन् तिनलाई यसो गर्नु भनेको टाउकामा चढाउनु हो जस्तो लाग्छ। त्यसैले उसको रूपरङ र हाउभाउ केही मात्रामा मालिक बेगरको कुकुरझैँ हुन आउँछ।

यस्ता अवस्थामा बालकहरूका निम्ति आमाको घरदेखि बाहेक अरू घरहरू नरक समान हुन्छन्। चारैतिर स्नेहशून्य वातारवणले उसको पाइलापाइला बिझाउँछ। यसबेला उसलाई नारी जाति कुनै श्रेष्ठ स्वर्गलोक की दुर्लभ प्राणीजस्तै लाग्छन्। त्यस्ताबाट उपेक्षा पाउनु उनीहरूका लागि असहनीय हुन्छ।

कलकत्ता आएपछि फटिकलाई सबैभन्दा धेरै नराम्रो लागेको कुरा आफूलाई माइजूको स्नेहशून्य आँखाहरूमा अशुभ ग्रहजस्तो तिरस्कृत पाउनु थियो। कहिलेकाहीँ माइजूले कुनै काम अराउँदा ऊ खुसीले मख्ख पर्थ्यो। त्यसै उत्साहले ऊ आवश्यकताभन्दा बढी काम गर्थ्यो र माइजू उसको उत्साहलाई कुल्चिँदै भन्नुहुन्थ्यो - 'भो अब छाडिदेऊ। गएर आफ्ना काममा ध्यान देऊ। पढ, लेख।' त्यसबेला आफ्नो मानसिक प्रगतिका बारे माइजूको यति धेरै चासो उसलाई कठोर र निष्ठुर लाग्थ्यो।

घरमा यस्तो अनादर थियो र बाहिर सास फेर्ने ठाउँ थिएन। चारैतिर पर्खालैपर्खालले घेरिएर बस्नु परेपछि उसले बारम्बार गाउँ सम्झिरहन्थ्यो।

ठूलठूला चङ्गा उडाउनका लागि ठूलठूला चौर, आफूले बनाएका अर्थहीन गीतहरू गाउँदै उद्देश्यविहीन हिँड्ने ती चौडा नदीका किनारहरू, दिउसो जतिबेला मन लागे पनि फाल हानेर पौडिन सक्ने त्यो साँघुरो नदी, साथीकेटाहरूको त्यो समूह, त्यो चकचक र स्वतन्त्रता विरोधी आमा उसका मनमा दिन रात आइरहन्थे र आफूलाई त्यतै तान्थे।

पशुझैँ सहज प्रेम, छेउमा आउने एउटा अन्धप्रवृत्ति, नदेखेका कुराका लागि अव्यक्त बेचैनी, गोधुलिका बेला आमाबाट छुटेको बाछाको जस्तै 'आमा, आमा' बोलाउने मौन क्रन्दन, यी सबैकुरा त्यस लज्जित, सशङ्कित, दुब्लो, पातलो र नराम्रो केटाका हृदयमा अनायास गुन्जिरहन्थे।

विद्यालयमा ऊजस्तो मूर्ख र पढ्न मन नपराउने विद्यार्थी कोही थिएन। केही कुरा सोध्यो भने ऊ मुख बाएर उभिइरहन्थ्यो। मास्टरले पढाएका बेला भारी लादेको गधाझैँ चुपचाप सुनीरहन्थ्यो। खेल्ने छुट्टी भएका बेला ऊ झ्यालका छेउमा बसेर टाढा-टाढाका घरका छतहरू हेरिरहन्थ्यो। दिउसो, छतमा केटाकेटीहरू खेल्न निस्किएको देखेपछि उसको मन पनि व्याकुल हुन्थ्यो।

एक दिन मनमा दृड निश्चय गर्दै हिम्मत जुटाएर उसले मामासँग सोध्यो - 'मामा, आमा भएठाउँ कहिले जानू ?'

मामाले भन्नुभयो - 'स्कुल छुट्टी भएपछि। कार्तिकको दुर्गापूजामा। थुप्रै दिन बाँकी छन्।'

एक दिनको कुरा। फटिका किताबहरू हराए। एक त उनलाई पाठ याद गर्न गाह्रो हुन्थ्यो त्यसमाथि किताब हराएपछि ऊ असहाय भयो। मास्टरले पनि दिनै उसलाई पिट्न र बेइज्जत गर्न थाले। स्कुलमा यस्तो सम्म भयो कि उसका मामाका छोराहरू पनि ऊसँगको सम्बन्ध स्वीकार गर्नका लागि लाज मान्न थाले। फटिकको सानो बेइज्जतीमा पनि अरूभन्दा धेरै खुसी व्यक्त गर्न थालेका थिए।

धेरै सहन नसकेपछि अपराधीझैँ अनुहारले उसले माइजूसामु गएर एक दिन भन्यो - 'मेरा किताब हराए।'

माइजूले ओठका किनारमा रिस रेखाङ्कित गर्दै भन्नुभयो - 'राम्रै भो। तिम्रा लागि म पाँचपटक किताब किन्दिन सक्तिनँ।' फटिक केही नभनी फर्कियो। अर्काको पैसा खर्च गराएर बसेको थाहा पाएपछि उसलाई आमासँग साह्रै रिस उठ्यो। आफ्नो दीन-हीन हालतमा ऊ माटैमा गाडिएझैँ भयो।

त्यसदिन स्कुलबाट फर्केपछि उसको टाउको दुख्न थाल्यो र जीउ सकसकाउन थाल्यो। ज्वरो आएको कुरा उसले बुझ्यो र यो पनि बुझ्यो कि यस्तो हालतमा ऊ माइजूका लागि बोझदेखि बाहेक केही बन्न सक्तैन। माइजूले यस बिरामीलाई अनावश्यक बखेडाका रूपमा हेर्नेछिन्। बिरामीका बेला आफूजस्तो मूर्ख केटालाई आमाले बाहेक अरू कसैले स्याहार र सेवा गर्न सक्तैनन् भन्ने सोचेर ऊ लजाउन थाल्यो।

अर्को दिन बिहान फटिक कहीँ पनि भेटिएन। उसलाई चारैतिर खोज्न मान्छेलाई अनावश्यक भाग-दौड गर्नुपर्‍यो। कतै पत्तो नलागेपछि अन्त्यमा विश्वम्भर बाबुले थानामा सूचना दिनुभयो।

दिन पूरै बितिसकेपछि बेलुका विश्वम्भर बाबुका घरअगाडि एउटा गाडी आएर रोकियो। त्यसबेला घनघोर पानी परिरहेको थियो र सडकमा घुँडासम्म पानी थियो।

पुलिसका दुई जवानले फटिकलाई गाडीबाट निकालेर विश्वम्भर बाबुका छेऊमा पुर्‍याइदिए। शिरदेखि खुट्टासम्मा भिजेको र हिलैहिलाले पुरिएको, आँखा र मुख राता-राता पार्दै ऊ थरथर कामीरहेको थियो। विश्वम्भर बाबुले उसलाई बोकेर भित्र लानुभयो।

माइजूले उसलाई देख्‍ने बित्तिकै भन्नुभयो - 'किन अर्काको छोराका लागि आफूलाई फँसाउनुहुन्छ ? यसलाई किन घर नपठाएको ?' वास्तवमा यसै घटनाको चिन्ताले उहाँले दिनभरी केही खान पिन गर्नुभएको थिएन। माइजूले आफ्नै छोराहरूमाथि पनि क्रोधवर्षा गरिसकेकी हुनुहुन्थ्यो।

फटिक रून थाल्यो र भन्यो- 'म त आमाभए ठाउँ नै गइरहेको थिएँ नि, यिनले फर्काएर ल्याए।'

फटिकको ज्वरो धेरै बढ्यो र उसले रातभरी ऐया-आत्थो गरिरह्यो। विश्वम्भर बाबुले डाक्टर बोलाएर ल्याउनुभयो।

फटिकले एकपल्ट राताराता आँखा पारेर छतका बिमलाई गहिरो दृष्टिले हेर्‍यो र भन्यो - 'मामा, मेरो छुट्टी भएको हो ?'

विश्वम्भर बाबुले रूमालले आँसु पुछ्नुभयो र फटिको ज्वरोले रापिएको पातलो हात आफ्ना हातमा लिएर उसकै छेऊमा बसिरहनुभयो।

फटिक फेरि बर्बराउन थालेको थियो - 'आमा, मलाई नकुट्नुहोस्। आमा म साँचो भन्दै छु, मैले केही गरेको छैन।'

अर्को दिन होस आउँदा फटिकले आशापूर्ण दृष्टिले कोठाको चारैतिर हेर्‍यो। कसैलाई नदेखेपछि चुपचाप भित्तातिर कोल्टे फर्किएर सुत्यो।

विश्वम्भर बाबुले उसको मनको कुरा बुझेर भन्नुभयो - 'फटिक नानी, तिम्री आमालाई बोलाउन पठाएको छु।'

त्यसको अर्को दिन पनि बित्यो। डाक्टरले चिन्तित र उदास स्वरमा हालत गम्भीर भएको कुरा बताए।

विश्वम्भर बाबुले पिलपिलाउँदो उज्यालामा रोगीका छेऊमा बसेर बहिनीको प्रतीक्षा गरिरहे।

फटिक जहाजको खलासी झै, त्यस्तै स्वरमा -'एक बाँस भेटिएन, दुई बाँस भेटिएन।' भन्न थाल्यो। कलकत्ता आएका बेलामा केहीबेर उसले आफ्नो यात्रा स्टिमरमा गरेको थियो। त्यस स्टिमरको खलासीले पानीमा डोरी हालेर त्यसै भन्दै पानीको गहिराई नापेको थियो। फटिक जरोले थलिएर बरबराउँदा तिनै खलासीको नक्कल गरिरहेको थियो। तर जुन समुद्रको यात्र बालक गरिरहेको थियो, त्यस समुद्रको गहिराई डोरी हालेर नाप्न नसकिने कुरै थिएन।

यस्तै बेला फटिककी आमा आँधीझैँ कोठामा छिर्नुभयो र ठूलो स्वरमा रून थाल्नुभयो। विश्वम्भर बाबुले मुश्किलले उहाँलाई रूनबाट रोक्नुभयो। उहाँ फटिकको ओछ्यान छेऊ जानु भयो र पछारिनुभयो र कराउन थाल्नुभयो - 'फटिक, मेरो नानी, मेरो छोरा, बाबु....'

मानौ फटिकले सजिलो तरिकाले यसको उत्तर दियो - 'हँ ।'

आमाले फेरि बोलाउनु भयो - 'अरे फटिक, मेरो छोरा !'

फटिकले विस्तारे कोल्टे फेर्‍यो कुनै मान्छे विशेषलाई लक्ष्य नगरी गम्भीर स्वरमा भन्यो - 'आमा, अब मेरो छुट्टी भयो। म अब घर जाँदैछु......। आमा !'

---

बङ्गालीबाट अनुवादः कुमुद अधिकारी।

 

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :