अङ्क 47चैत्र 2069वर्ष 9

ऐना

                            --बद्रि भिखारी

 

अचानक

आमाले अनुहार हेर्ने

ऐना फुट्यो

टुक्रा-टुक्रा भयो

भुइँमा पोखियो।

 

मरेपछि मान्छे

मान्छे नभएजस्तै

फुटेपछि ऐना

ऐना नहुँदो रहेछ।

 

ऐना फुटेपछि

आमा

आफूबाट हराएको

आफ्नो अनुहार खोज्दै

टोलाइरहनुभयो।

 

ऐनामै हेरेर

लगाउनुहुन्थ्यो

सौभाग्यका सिन्दूर, टीका

पोते र चुराहरू

देख्नुहुन्थ्यो आफ्नो रङ्गीन प्रतिबिम्ब

 

ऐनामै हेरेर सम्झिनुहुन्थ्यो

सेती नदीझैँ

भित्रभित्रै बग्ने बैँसालु वय

ऐनामै थियो लुकेको

आफ्नो प्रिय संसार

ऐनामै हराए

ती सबै अलङ्कारहरू।

 

बिहान-बेलुका

आमाले अनुहार हेर्ने

ऐना फुटेपछि, यतिबेला

आमा,

हामीले दुःख हेर्ने ऐना हुनुभएको छ।

--

 

 

 

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :