अङ्क 45मङ्सिर 2068वर्ष 8

हिउँ

यो हिउँलाइ कुनै न्यानो वस्तुमा अनुवाद गर

जसले श्पर्शको लागी चलमलाएका

औँलाहरूलाइ चिसोले नडामोस् ।

 

न्यानो ठाउँतिर बसाइ सर्ने

रहरमा गति देऊ ।

आगोका भरिला कोइलाहरू बटुल

जसले चिसोलाइ खाइदिन्छ ।

कोइलाहरू जसमा

उज्यालो गुलुपको न्यानो हुन्छ ।

 

हिउँका नीला र जाडोले जीर्ण ओठहरू

तिम्रा ओठहरूमा बनेका छन ।

तिमीले उच्चारण गरेका शब्दहरू

जिब्रोका टुप्पामा जमिरहेछन् ।

 

तिम्रो मनबाट शुरू गर

त्यहाँ भएको हिउँ खन्याऊ

र निरन्तर खन्याइरहू त्यस बेलासम्म जुनबेला

तिम्रो त्वचा गृष्मको घामजस्तो रापिलो देखियोस

र ओठमा मुस्कानको रङ दलियोस ।

 

***

 

गेराहरू

एकाबिहानै भँगेराहरू चन्द्रमाबाट भर्खर झरेका

जस्तो गरी आँगनमा उफ्रन्छन् ।

 

उनीहरूको चिरबिर कलाकारको कुनै गीत जस्तो

गुन्जिन्छ ।

चुच्चाहरू उनीहरूको खुट्टा जस्तै

सुन्दर छन् । शरीर, घाँटी र पुच्छर

सुन्दर र साना छन् ।

 

उनीहरू साउती मार्दैनन

र ठुलो स्वरमा हाँस्तैनन् पनि

 

झ्यालको खापामा बरको हाँगाबाट झुन्डिएका पातहरू जसरी हल्लिदै

कोमल गिजाले अन्न चपाउँदै चिरबिर चिरबिर कुरा गरिरहन्छन ।

कुराहरू

काला बादलले डरलाग्दो बन्दै गएको आकासको बारेमा हैन ।

कुराहरू

बचेराहरू उडाएर लाने आँधिको बारेमा पनि हैन

उनिहरू उनीहरूकै मनका मीठा कुरा गरिरहन्छन

उनीहरूका खुट्टाहरू प्रसन्न हुँदाहुँदै

अनुहार हावामा भएको धुवाँले कालो बन्दै गएको छ

शरीरको आवरण कोमल हुँदाहुँदै आँखाहरू

मौन र विस्मित छन

गुडतिर पस्दै गरेको सर्प देखेर 

भयले शरीर कामिरहेछ

 

गुडमा उनीहरूका बचेराहरू

गुजुल्टिएर बसेका छन ।

 

***

 

पहाडका कुरा

पहाडका यी कुराहरू मेरा मन नजिक छन्

त्यसैले म पहाडका कुरा गरिरहेछु

म यहाँका पुड्के थुम्काहरूलार्इ

त्यहाँका गौरवशाली चुचुराहरूसँग जोडिरहेछु

 

यी थुम्काहरू जसलार्इ उनीहरू पहाड भन्छन्

शायद ‘थुम्को’ भन्ने उनीहरूसँग शब्दको अभाव छ

 

मन राखिदिन उनीहरूको म पनि यिनीहरूलार्इ

पहाड भनिरहेछु

 

पहाड भन्नलार्इ त्यत्रा भिरहरू देखेको

आकासलार्इ मुड्कि हानुलाझैँ माथि माथि सुरिएर जाने

चट्टानहरू देखेको

 

मैले  आफ्नै दिमागमा बोकेको पहाड कत्रो छ

मैले आफ्नै ढाडमा राखेको पहाड कत्रो छ

 

मेरी आमाले पहाडमा जन्मेर पहाड नै बोक्न

सिक्नुभएको थियो

हजुरआमाले पहाडमा जन्मेर पहाडकै

दोसल्ला ओढ्नुभएको थियो

 

पहाड छाडेर मधेस झरेपनि

पहाडनै बोल्नु हुन्थ्यो उहाँहरू

पहाडनै सुन्नुहुन्थ्यो हर समय

 

मधेसको हाम्रो घरमा

पहाडकै हावा चल्थ्यो

पहाडनै बस्थ्यो हामीसाथ

 

मलाइ लाग्छ

यी पहाडहरू पहाडहरू हैनन्

 

यिनीहरू समुद्रबाट यस्सो उठेका छन्

ढाड लुकाइ कुम मात्र उचालेर लमतन्न परी बसेका छन्

 

उनीहरू हरेक दिन सिँगारि बस्छन यिनीहरूलाई

र सप्ताहन्तमा खुट्टा लरखराउँदै

 

हिड्छन यिनीहरूमाथी

र भन्छन पहाड यिनीहरूलाई

 

त्यत्रा विशाल

पहाडहरूका उकाली ओरालीमा

कैयौँ बर्ष हिडेको मेरो मन मानेको छैन

 

तर मन राखिदिन उनीहरूको

यी थुम्काहरूलार्इ ‘पहाड’ भनिरहेछु ।

 

***

 

            मुकुल दाहाल

            मे, २०११, एबर्डिन, यु.के.

 

 

 

 

 

Share |

प्रतिक्रियाहरू

Ramji Timalsina
A poet writes himself! Whenever a Nepali reaches walks, talks and lives with Nepal whatever disorder it carries, the beauty stands out everything. So does Mukul.

sasi kumar upadhaya
simple and strong rythms on poems. very tender to heart.

sabita gautam dahal
I have red Mukul Dahal's collection, that is nice. His new poems are really soft and touching....congratulations....


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :