अङ्क ४१भाद्र २०६६वर्ष ६

म फेरि भेट्छु तिमीलाई

                                       - अमृता प्रीतम

 

म फेरि भेट्छु तिमीलाई

कहाँ ? कसरी ? जान्दिनँ

सायद तिम्रो स्मृतिको फिलिङ्गो बनेर

तिम्रै क्यानभासमा उत्रिन्छु

सायद क्यानभासमाथि

रहस्यरेखा बनेर

चुपचाप तिमीलाई हेरिरहन्छु।

 

या सायद घामको किरण बनेर

तिम्रै रङमा घोलिन्छु

या रङको अँगालामा बाँधिएर

तिम्रो क्यानभासमा कहीँ..... कतै....

तिमीलाई भेटिछोड्छु।

 

या सायद तिम्रो चस्मा बन्छु

र झरनाको पानी उडेझैँ

पानीका थोपा बनेर

तिम्रा शरीरमा दलिन्छु

अनि एउटा शीतलता बनेर

तिम्रा छातीमा टाँसिन्छु।

 

म अरू केही जान्दिनँ

यतिमात्र जान्दछु

समयले जे गर्छ

यही जन्ममा मेरा लागि गर्छ

यो शरीर सकिएपछि

सबै सकिन्छ।

 

तर चेतनाका धागाहरू

स्वप्निल कणका हुन्छन्

म तिनै कणलाई समाउँछु

तिनै धागालाई बेर्छु।

 

म तिमीलाई भेटिछोड्छु।

-0-

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :