अङ्क ५० | पुस २०७२ | वर्ष १२ |
कोलाज
- विश्वरन्जन
मेरो अनुहारमा उम्रिएका चिराहरूलाई
ममात्र देख्नसक्छु
ठाउँठाउँमा भत्किएको म
भित्र कतै हरेक दिन फेरि भत्कन्छु
जसरी पिकासोको हरेक क्यानभासमा
देखिनु गुनेरिकाको भत्किएको सत्य
जसरी हुसेन आफैँले च्यात्नु ठुलो क्यानभास
र उडाइदिनु टुक्रैटुक्रा आकाशमा
जसरी पूरै आकाशमा ओछ्याइनु,
गुनेरिकाको दुःखसित र गुनेरिका मै टाँसिनु
फाटेको कालो ब्रोमाइड कागज
रगतका टाटा र फूलका टुक्राले
बनेको एउटा कोलाज
मेरो पनि एउटा सत्य छ
कोलाज, मेर्ज र मोन्टाज
भत्किएका सपना, च्यातिएका तसवीर र कालो रङको
केही चीसा पहाडहरू र रगतका छीटा
राता मैदानका टुक्रा र भोका बालकहरूको चित्कार
केही अफगानिस्तान
केही प्यालेस्टाइन
केही गुजरात
म जान्दछु
म भित्रको यस भयानक कोलाजलाई
उतार्नु पर्नेछ क्यानभासमा
र पतनको सीमामा रहेको
त्यस चित्कार जसरी
‘साउथ बी’ को लीलाम-घरमा
रङ्गीन रक्सी र पनीरका टुक्राबीच
बोली लगाउँछु यस कोलाजको
करोडौँ रूपैयाँमा यो पनि बिक्ने छ
हरेक व्यथाझैँ
जुन यस दुनियाँमा कहिलेदेखि हो कोनि
बजार बनीसकेको छ।
म पिकासो, मूर, हुसेन र मेहताझैँ
मभित्रको व्यथालाई
दुनियाँको बजारमा बेच्ने छु।
मलाई थाहा छ
मतिर फर्किएका कोलाजहरूसँग
धेरै समय बस्न सक्दिनँ।
-0-
(हिन्दीबाट अनुवादः कुमुद अधिकारी)
प्रतिक्रियाहरू |